कारोबार


लगानी सम्मेलन : के–के भए सम्झौता र समझदारी?

पर्यटन र आईटीमा लगानीकर्ता आकर्षित
लगानी सम्मेलन : के–के भए सम्झौता र समझदारी?

लगानी सम्मेलन


नेपालखबर
बैशाख १७, २०८१ सोमबार २२:३, काठमाडौँ

लगानी सम्मेलनमा एक दर्जन बढी हस्ताक्षर भएका छन्।

२ दिनसम्म चलेको सम्मेलनले पर्यटन, सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न सम्झौता र समझदारी गरेका हुन्। 

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलन सफल भएको बताउँदै केही परियोजनामा समझदारी भएको र शोकेस गरिएका आयोजनामा थप प्रतिबद्धता आउने बताए। 

एक दर्जन बढी समझदारीमा तथा सम्झौता भएको सीईओ भट्टले बताए। १५२ आयोजनामध्ये १९ परियोजनाको आशयपत्र माग गरिएको उनको भनाइ छ।   

सम्मेलनमा १२ वटा फरक–फरक सेसन भएका छन्। भारत, चीन, बेलायत, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापानलगायतका ठूला अर्थतन्त्र भएका मुलुकबाट सहभागी रहेका थिए। त्यस्तै बहुराष्ट्रिय वित्तीय संस्थाबाट पनि सहभागी रहेका थिए। सबैभन्दा बढी भारतीय र चिनियाँ लगानीकर्ता सम्मेलनमा आएको बोर्डले जनाएको छ। 

३० बढी विदेशी लगानीकर्ताले विभिन्न मन्त्रीसँग भेट गरी आफ्ना चासो राखेका थिए। ५५ बढी देशका २५ सय बढी सहभागी भएको लगानी बोर्डले जनाएको छ। जसमा ८ सय विदेशी प्रतिनिधि थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको सुरुवात गरेका थिए। सम्मेलनको अन्त्य गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल इमर्जिङ देशको रुपमा विकास हुँदै आएको बताएका छन्। 

लगानी सम्मेलनमा यस प्रकारका सम्झौता भएका छन्-

वसन्त चौधरीको ग्रुपले डेटा सेन्टर बनाउने सम्झौता
सम्मेलनकै दौडान बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्मेलनमा भएको यो पहिलो हस्ताक्षर थियो। 

डेटा सेन्टर, क्लाउड सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दईपक्षीय सहमति भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी छन्। 

योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 
डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन।

नेपाल-मलेसिया लगानी प्रवर्द्धन
नेपाल र मलेसियाबीच द्विपक्षीय लगानी प्रवर्द्धन गर्ने समझदारी भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा मलेसियाली उद्योग वाणिज्य महासंघबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो।

हङकङको बोर ग्रुपले होटलमा लगानी गर्ने 
हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। नेपालको साखः ग्रुपसँग मिलेर लुम्बिनी प्रदेशमा होटल सञ्चालनमा ल्याउन लगानी गर्ने भएको हो। 
 
लगानी सम्मेलनको अवसरमा काठमाडौंमा दुई ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको बोर्डले जनाएको छ।

सार्वजनिक निजी साझेदारी प्रवर्द्धनमा साझेदारी 
नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स (नाप)बीच समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर गरे। समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ । 

नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभा सम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयुक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन्।

नेक्सजेनले ६ अर्ब लगानी भित्र्याउने 
नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रा.लि.बीच लगानी सम्झौता भएको छ।

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार सोसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरे। 

कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्बबराबर छ। 

सम्झौतापत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको छ।

रारा तालमा अस्ट्रेलियाबाट लगानी, रिसोर्ट खोलिने
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे।

मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङ्स प्रालिका शाहले बताए।

समुद्री सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ।

उनले भने, ‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो। परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी चाँडै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’

आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुनेछ। एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत् क्षेत्रमा लगानी छ।

९ अर्ब १३ करोडका लगानी स्वीकृत 
लगानी सम्मेलनको अवसर पारेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेका छन्।

मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई सोमबार प्रमाणपत्र समेत दिएका छन्। स्वीकृतमध्ये एउटा व्यक्तिगत लगानी चिनियाँ छ। जसको बहुउद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता छ।

त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ। यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ। बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुने भनिएको छ।

तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ। यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने उल्लेख छ। 

चेम्बर अफ कमर्स र क्रोएसियाबीच समझदारी
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ।

काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ। क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलसमक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो। चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।

त्यस्तै, लगानी सम्मेलनमा मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीहरुले चासो देखाएका छन्। गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्समा लगानी गर्न पनि चासो देखाएका छन्। 

कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनामा चासो राखेका छन्।

विभिन्न लगानीकर्तासँग छलफल भइरहेकाले अन्तिम सम्झौता भइसकेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .