कला


कस्तो जनावरको कथा हो ‘एनिमल’?

कस्तो जनावरको कथा हो ‘एनिमल’?

श्रीजु सरल
मंसिर १६, २०८० शनिबार १९:५५, काठमाडौँ

पछिल्लो समय भारतीय सिनेमा मान्छेभित्रको जनावरको उत्खनन् गर्न लागिपरेको छ। बाघको जस्तो मनोवृत्ति बोकाएर सलमान खानलाई बलिउडले सालौंदेखि हिँडाइरहेकै छ। त्यसो त पछिल्लो समय दक्षिण भारतका विजय थलपतिलाई पनि सिंह बनाएर हाप्सिलोसँग निर्देशक लोकेश कनगराजले भिडाएकै हुन्। सलमानको 'टाइगर'ले मनोवृत्तिसम्म बाघलाई बोकेर हिँड्दा यता विजयको 'लियो'ले सिंहको मनोवृत्ति मात्र नभएर प्रवृत्तिलाई नै बोकेर हिँड्ने चेष्टा गरेको छ। यहीबीच 'कबिर सिंह' निर्देशक सन्दीप रेड्डी भांगाले जनावरको प्रवृत्तिलाई सम्पूर्ण रूपमा एउटा मान्छेभित्रबाट उत्खनन् गरेर बाहिर ल्याएका छन्। 

पब्लिक रिभ्यु

 

कहिलेकाहीँ मान्छेको दुर्गुणबारे गुनासो गर्दै हामी भनिरहेका हुन्छौँ नि- मान्छेभन्दा त बरु पशु ठीक! त्यो वास्तवमै ठीक रहेछ कि रहेनछ त्यसमाथि विचार-विमर्श गर्न हामीलाई भांगाको 'एनिमल'ले एउटा बाटो खोलिदिएको छ। खैर, ठीक-बेठीकलाई साइड लगाएर हामी एकैछिन फिल्मकै कुरा गरौँ?

एनिमलमा भांगाले रणबीर कपुरलाई वास्तवमै एनिमल बनाएका छन्। रणबीरको पात्र रणविजयको सोच्ने ढंगदेखि जिउने तौरसम्म जंगली छ। फिल्मले रणविजयलाई एउटा 'अल्फा मेल पर्सनालिटी' भएको पुरुषको रूपमा देखाएको छ। बेटा, ओमेगा, गाम्मा, डेल्टा, सिग्मा, जेटा जस्ता विविध व्यक्तित्वमध्ये अल्फालाई सबैभन्दा बहिर्मुखी र शक्तिशाली लक्षण भएको मानिन्छ। 

भनिन्छ, अल्फा व्यक्तित्वका पुरुषमा नेतृत्वको भोक ज्यादा हुनेगर्छ। रणविजयको चरित्र पहिल्याउँदा पनि स्थिति-परिस्थितिमा नेतृत्व लिने मौकामा उसले सधैँ चौका हानेकै देखिन्छ। चाहे त्यो स्कुले फुच्चे हुँदा होस् या त फेरि बाबुको पनि बाबु बन्दै गर्दा होस्। तर, खोज्नुपर्ने कुरा यो हो, फिल्मले यसलाई जनावरको प्रवृत्तिसँग कहाँ र कसरी जोडेको छ त? आउनुस्, त्यो जोइन्ट पत्ता लगाऔँ।

रणविजय र एनिमल
जनावरहरू कस्ता हुन्छन्? बलिया हुन्छन्। ती दिमागभन्दा मांशपेशी बढी चलाउँछन्। सिंह र बाघजस्ता शक्तिशाली जनावर पनि (भर्खरैको छावालाई छोडेर) एउटा वयस्क हात्तीमाथि हत्तपत्त जाइलाग्दैनन्। किनभने, हात्ती बाघ र सिंहभन्दा मांशल हुन्छ। फिल्ममा रणविजयले लिएको नेतृत्व पनि बल र शक्तिको दममा नै हो। त्यसो त उसले दिमाग नै नचलाएको भने होइन, तर, रणनीतिभन्दा बल र शक्तिको प्रयोग नै उसले ज्यादा गरेको छ। एउटा व्यावसायिक घरानाको सदस्य हुनुको आडमा शक्ति र स्वस्थ-तन्दुरुस्त शारीरिक अवस्थाको आडमा बलको प्रयोग गर्न उसले भारी सुविधा पाएको छ। 

यीबाहेक रणविजयका अन्य प्रवृत्ति पनि छन् जुन पाशविक छन्। जसरी पशु आफ्नो परिवारप्रति प्रेम देखाउँछन्, आफ्नो परिवारको रक्षाको लागि ज्यानको बाजी राखेर पनि लड्छन् तर, अन्यप्रति तिनको संवेदनशीलता देखिँदैन, ती हिंस्रक हुन्छन्। ठीक त्यसैगरी रणविजय पनि आफ्नो परिवारप्रति संवेदनशील छ, परिवारलाई प्रेम गर्छ, परिवारको लागि गोली खान्छ, ज्यान दाउमा लगाउँछ तर, अन्यप्रति भने उसको हृदयमा रत्तिभर पनि संवेदनशीलता देखिँदैन। 

यस्तै, जनावरहरूमा अर्को एउटा प्रवृत्ति हुन्छ। ती आफ्नो इलाकामा अन्यलाई घुस्न दिँदैनन्, छेउछाउ देखे भने पनि लखेटिहाल्छन्। बर्थडे फोटोशुटको बेला रणविजयलाई कुनै सदस्यको उपस्थितिले बिझाउँछ। परिवारसँग जोडिए पनि परिवारभन्दा बाहिरको सदस्य फ्यामिली फोटोभित्र अटाउने भयो भन्ने पीरमा ऊ यति विचलित भइदिन्छ कि अन्त्यमा ऊ स्वयं नै हातको बुढी औंलाजस्तै अन्य औंलाभन्दा अलग्गै उभिनपुग्छ। 

त्यसो त, बुबा बिरामी भएपछि नेतृत्व गर्न पाएको मौकामा उसले गेटभित्र कसलाई छिराउने र कसलाई नछिराउने नियम पनि त बदल्न भ्यायो। अनि, परिवारको सुरक्षाका लागि बडीगार्ड नै राख्दा पनि ऊ आफ्नै रगत खोज्दै केरलाबाट पञ्जाबसम्म पुगेको छ। परिवारभन्दा बाहिरका मान्छेप्रति भरोसा गर्न नसक्ने यो गुण हुन त मान्छेमा पनि नहुने होइन, तर यो मान्छेको भन्दा ज्यादा पशुको गुण हो। उबर, पठाओ, इन्ड्राइभजस्ता बिजनेस फस्टाउँदै जानुले पनि यो कुरा त प्रमाणित गरेकै छ।

रणविजय कुन जनावर?
यदि फिल्मभित्रका सानाभन्दा साना प्रप्स पनि संयोगको उपज होइन र योजनाबद्ध हो भने हुनसक्छ भांगाले रणविजयको पात्रमार्फत् बाघको चरित्र चित्रण गर्न खोजेका हुन्। प्रश्न यो हो- रणविजयले सापटी लिएको 'टाइगर एक्स' आखिर संयोग हो कि योजना? तर, यसलाई हामी आफै पनि खोतल्ने कोसिस गरौँ न, हुन्न? 

भनिन्छ बाघ हिंस्रक हुँदाहुँदै पनि एउटा शालीन र संयम प्राणी हो। आवश्यक नपरी बाघले आक्रमण गर्दैन र सकेसम्म झगडा रोक्न नै खोज्छ। अब रणविजयलाई हेरौँ, ऊ पनि फिल्ममा जति नै हिंस्रक देखिएको भए पनि उसले गरेको हिंसा प्रतिवाद थिए। र अन्तिमको 'वान-अन-वान' भिडन्तमा पनि उसले विपक्षीलाई सम्झौताको मौका दिएको हो। 

रणविजयमा भेटिएको संयमकै अर्को उदाहरण- जब बाबुमाथि गोली हान्नमा संलग्नता पुष्टि भइसक्छ र पनि उसको आडैमा भएको उक्त दोषीमाथि ऊ जाइ लागिहाल्दैन। बरु त्यसको असर आफ्नो परिवारमा के पर्नसक्छ त्यसको सान्त्वना मनाउन ऊ व्यस्त भइदिन्छ। 

र दोषीलाई कब्जामा लिइसकेपछि पनि ऊ अन्य दोषीको पहिचान हतारहतार उबाट निकाल्न खोज्दैन। रणविजयमा यस्ता संयमता भेटिएका उदाहरण फिल्ममा अरू पनि छँदैछन्। 

विभिन्न वाइल्ड-लाइफसम्बन्धी अध्ययनले बाघले पिसाबको गन्धका आधारमा अन्य जनावरको उमेर, लिङ्ग, प्रसुति, स्वास्थ्य आदिको पहिचान गर्नसक्छन् भन्ने बताउँछ। रणविजयले गीताञ्जलीबारे गरेको पूर्वानुमानले बाघमा हुने यही गुणको संकेत गरेको त होइन? 

अनि भनिन्छ, बाघको सबैभन्दा कमजोर भाग भनेको अनुहारको भाग हो। आँखा, नाक, कान आदिमा ताकेर हान्ने हो भने बाघलाई लडाउन सकिन्छ। के योबारे जानेरै रणविजय त्यसरी घाइते भएको हो? त्यो हेडफोनको किस्सामा पनि त्यसै त्यति जोड दिइएको होइन कि?

अन्तिमको भिडन्तलाई नै सम्झिउँ न। सुरुवातमा रणविजयले एकपछि अर्को पञ्च लगाइरहेकै थियो तर अचानक एउटा घटनापछि टेबल पल्टिन्छ नि होइन? आँखा, नाक, कानमध्ये आखिर कुन अंगले पो उसलाई धोका दिएको हो? जे होस् त्यो अंग बाघको लागि अति महत्त्वपूर्ण मानिन्छ। बाघले खतराको आभास आखिर त्यही अंगको आडमा गर्ने न हुन्। 

यस्तै, शारीरिक संसर्गको कुरा गर्ने हो भने पनि बाघले २ देखि ३ बघिनी राख्ने कुरा जगजाहेर छँदैछ। भावना कति थियो या थिएन भन्ने बहस बेग्लै होला तर रणविजय बहुगामी होइन भन्न त कसैगरी मिल्दैन नै। 

ए सर्टिफिकेट
एनिमल एडल्टका लागि बनेको 'ए सर्टिफिकेट' प्राप्त  फिल्म हो। त्यसैले फिल्ममा एडल्ट जोक्स र कतिपय ठाउँमा न्युडिटी पनि देख्न सकिन्छ। यसलाई कसरी हेर्ने? सबैको दृष्टिकोण फरकफरक होलान्। खैर, निर्देशक भांगाले भने फिल्मको थिमलाई ध्यानमा राखेर यस्ता चिज राखेको बुझिन्छ। हामी जनावरको बस्ती पुग्दा तिनलाई नग्न हिँडिरहेको पाउँछौँ। र त्यसका लागि तिनलाई हामी (तथाकथित) सभ्य मानिसलाई जस्तो एडल्ट सर्टिफिकेट लिइरहनुपर्दैन। 

फिल्ममा पनि तथाकथित सभ्य मानिसलाई एडल्ट जोक्स र न्युडिटीसँग समस्या भएकै देखिन्छ। तर, रणविजय, अबरार, गीताञ्जली लगायत अन्य केही सीमित पात्रहरूका लागि भने ती कुराहरू सामान्य भएको देखाइएको छ। किनभने तिनको पाशविक चरित्रमाथि नै फिल्मले कथा भनिरहेको छ। 

उता अबरारमा भने नग्नता मात्र नभएर हिंसाको मात्रा पनि अझै बढी देखाइएको छ। रणविजयभन्दा हिंस्रक एनिमल अबरार हो कि जस्तो पनि देखिन्छ। 

त्यसो त विशुद्ध पत्नीव्रता त रणविजय पनि होइन। तर, अबरारलाई भने पत्नीप्रति समेत असंवेदनशील र  हिंस्रक देखाइनुले उसको चरित्र अझै जंगली लाग्छ। 

महिला पात्र 
त्यसो त चरित्रकेन्द्रित सिनेमा त्यसमा पनि जनावर प्रवृत्ति उजागर गर्ने उद्देश्यले बनेको। यस्तो सिनेमा हेर्दै गर्दा सबै चरित्र उत्तिकै शक्तिशाली अपेक्षा गर्नु एक हिसाबले मुर्ख्याइँ त हो यद्यपि, एक महिलाको नजरबाट हेर्दा भने फिल्ममा पुरुष पात्रहरूले महिला पात्रहरूलाई दबाएको देखिन्छ नै। यो बुझिन्छ, पुरुषहरू फिल्ममा यसकारण हिंस्रक छन् किनभने फिल्ममा उनीहरूको पाशविक चरित्र देखाइएको छ। तर, पाशविक चरित्र त महिलाभित्र पनि त हुन्छ। यो बुझिँदैन, फिल्मले पाशविक पुरुषसँग महिलालाई भने मान्छे नै भइरहन किन लगाइरहेको छ?

फिल्मले मज्जा दिइरहेको छ यो पक्का हो तर, उठ्न खोजिरहेका प्रश्नलाई टिप्नु सचेत दर्शकको जिम्मेवारी पनि हो।

त्यसैले, कसले जित्ने, जित्ने नजित्ने त्यो बेग्लै कुरा। जसरी रणविजयको जंगली व्यवहारको प्रतिरोध र प्रतिवाद गीताञ्जलीले गरेकी छ, त्यस्तै प्रतिवाद गर्ने चेत अन्य महिलाहरूमा किन छैन? 

बाबु र छोरा
फिल्ममा रणविजय पनि आफ्नो धनाढ्य बाबुबाट बोझ बोकेर हुर्किएको छ। बाबुसँग बिताएको कुनै पनि सुन्दर र शान्त पलको सम्झना उसँग छैन। त्यसमाथि, बिजनेसका ठूला-ठूला कुरा गरेर ठिक्क पार्ने एउटा आफन्तसँग दाँजेर उसको बाबुले उसलाई सधैँ निम्न र निकम्मा देखाउँछन्। बाबुको प्रेमको लागि बच्चैदेखि तड्पिएको रणविजय आखिर एकदिन आफ्नो ज्यानको बाजी लगाएर बाबुको सुरक्षामा खटिन्छ।

मनोवैज्ञानिक डी चार्ल्ज विलियमका अनुसार बाबु र छोराबीचको अधिकांश सम्बन्धमा छोराले सधैँ चरणबद्ध रूपमा पाँच किसिमका संघर्ष गर्ने गर्छ।

पहिलो चरण आदर्शीकरण (आइडिअलाइजिङ) मा छोरा आफ्नो बाबुलाई आफ्नो हिरो बनाउँछ। यो चरणमा आफ्नो बाबुजस्तो राम्रो मान्छे दुनियाँमै कोही छैन जस्तो लाग्छ उसलाई। उसलाई ठूलो भएपछि म पनि मेरो बाबुजस्तै बन्नेछु भन्ने लाग्छ। 

दोस्रो चरण कलह (डिस्कर्ड) को हो जब बाबुसँग उसको मतभेद हुन थाल्छ। आफूले बाबुलाई कति प्रेम गरेको हुन्छ छोराले त्यो सन्देश बाबुसम्म पुर्याउन सक्दैन र छोराले आग्राको कुरा गर्दा बाबुले गाग्राको कुरा गर्छ। जसकारण दुईबीचको अहं टक्कर पर्छ। यो युद्धमा बाबु र छोराबीच वियोग पनि आइपर्नसक्छ। 

तेस्रो चरण विकास  (इभल्भिङ)मा छोरा आफ्नो बाबुभन्दा आफू फरक छु भन्ने महसुस गर्न थाल्छ। ऊ बाबुभन्दा फरक भएरै पनि आफू बाबुभन्दा श्रेष्ठ र शक्तिशाली छु भन्ने देखाउन चाहन्छ। बाबु र छोराबीच यो समयमा कोभन्दा को सही, को बढी शक्तिशाली भन्ने प्रतिस्पर्धा नै चल्छ। 

मनोवैज्ञानिक चार्ल्जका अनुसार चौथो चरण स्वीकारोक्ति (असेप्टेन्स) को हो। जहाँ छोराले बाबुलाई र बाबुले पनि छोरालाई बुझ्दै जान्छ कि एकले अर्कोसँग जुन व्यवहार गरे त्यो किन गरे? जसकारण यो चरणमा आइपुगेर दुईजना फरकफरक भएरै पनि एकअर्काको फरक स्वभावलाई जस्ताको त्यस्तै स्वीकार गर्न थाल्छन्। 

पाँचौं चरण बिँडो थाम्ने प्रक्रिया (बिकमिङ अ लिगेसी) को हो। जहाँ छोराले बाबुको ठाउँमा आफूलाई उभ्याउँछ र बाबुले पनि छोराको नेतृत्वलाई आत्मसात गरिदिन्छ। बाबु र छोराले एकअर्काप्रति गर्व गर्ने चरण हो यो। 

एनिमलमा पनि यी सबै चरण क्रमैसँग देखाइएको छ। तर, फिल्मको पहिलो हाफ आरामले र दोस्रो हाफ हतारले बगेको हुँदा पछिल्लो दुई चरण अघिल्लाजस्तै स्पष्ट भने लाग्दैनन्। 

बाबु र छोराबीचको कुरा हुँदै गर्दा केही प्रश्न जन्मिए- के रणविजय बाबुको प्रेम पाउने चक्करमा एनिमल हुन पुगेको हो? या फेरि उसको बाबुले भनेजस्तै उभित्रको अपराधीले पो बाबुलाई प्रेम गर्ने बहानामा मोज गरिरहेको छ?

आखिर, रणविजय एनिमल हो कि क्रिमिनल?

केही मीठा, केही झुटा कुरा
स्पोइल नगरी भन्नुपर्दा एउटा दृश्यमा रणविजय कुनै पात्रले आफ्नो लागि उभिदिँदा उसलाई सम्झिरहने वचन दिन्छ तर, कथाको अन्त्यसम्म पनि ऊ त्यो पात्रलाई फर्केर पनि हेर्दैन। 

यस्तै, अर्को एउटा पात्र छ जसलाई रणविजयले कुनै वचन दिएको त थिएन तर, जसको रक्षा गर्नु उसको मात्र नभएर सिङ्गो फिल्मकै जिम्मेवारी थियो। तर, पात्र र निर्देशक दुवै यहाँनेर चुकेका छन्। यी फिल्मका केही झुटा कुरा हुन्। 

अब केही मीठा कुरा गरौँ। भनिन्छ, दृश्यको हकमा अभिव्यक्तिको सबैभन्दा बलियो माध्यम आँखा हो। आँखाबाट पात्रको संवेदना स्पष्ट र बलियोसँग अभिव्यक्त हुने हुँदा क्लोज अप सट लोकप्रिय पनि छ। तर, एनिमलमा यस्ता पनि दृश्य छन् जहाँ पात्रहरू अनुहार ढाकेर आउँछन् र पनि तिनको बडी ल्याङ्वेजबाटै तिनले  महसुस गरिरहेको संवेदना दर्शकलाई पनि टड्कारो महसुस हुन्छ। 

यस्तै, साउन्डकै लागि मेटल मास्कको प्रयोग गरिनुले निर्देशक भांगाको कलात्मक चेत मीठो र सुन्दर रहेको आभास दिन्छ।

मीठो कुरा गरिरहँदा गीतको कुरा गर्न पनि त छुटाउन भएन। पञ्जाब पुगेर हौसलाका लागि भनेर ल्याइएका भाइहरूले एक्सन चलिरहँदा पृष्ठभूमिमा पञ्जाबी योद्धा अर्जन सिंह नलवाको इतिहास सम्झाएर गाइदिन्छन्। गीत अर्थपूर्ण त छँदैछ साथै यसको बिट पनि एक्सनसँग मीठोगरी मिसिँदा यसले फिल्मलाई थप मीठो बनाउन सघाएको छ। अर्जन सिंह नलवा सिख इतिहासमा नाम लेखाउन सफल योद्धा हुन्। 

साथै, अन्तिमको वान-अन-वान भिडन्तमा पृष्ठभूमिमा बजेको 'सारी दुनियाँ जलादेङ्गे' ले पनि पात्रको संवेदनालाई महसुस गराउन मीठो र सुन्दर भूमिका खेलेको छ। 

यस्तै, बाबु र छोराबीचको त्यो संवादको दृश्य ट्रेलरमा जति मीठो लाग्छ कथाको बहावमा त्यो संवादको मिठास दुई गुणा महसुस भइदिन्छ। साथै, यो फिल्म हेर्ने हरेक युवाले (चाहे आज या भोलि) आफ्नो सन्तानप्रति  जिम्मेवारीबोध पक्कै महसुस गर्नेछ। 
अनि, रणबीर र बबीको पात्रबीच देखाइएको कन्ट्रास्ट सोचविचारयुक्त लाग्छ जुन फिल्मको अर्को मीठो पक्ष हो। 

छोट्याउँदा के बिग्रिन्थ्यो?
३ घण्टा २१ मिनेटको फिल्म आफैमा लामो हो। स्पोइल नगरी भन्नुपर्दा केही प्रविधिको प्रयोग कथाले मागेको भन्दा पनि कथामा घुसाइएको जस्तो लाग्दैन भन्न सकिँदैन। जसलाई नराख्दा पनि त्यसले कथालाई बिगार्ने थिएन। 

त्यसो त 'भाइलेन्ट सिनेमा कस्तो हुन्छ देखाउनेछु' भनेर बनाइएको जंगली फिल्ममा स्वस्तिक चिह्नको प्रयोग हुनु फिल्म रिलिज हुनुअघि नै विवादास्पद बनेको थियो। नाजीको चिह्नस्वरूप स्वस्तिकको चिह्न प्रयोग गरियो भनेर यसको आलोचना भएको थियो। फिल्ममा एउटा दृश्य कथाले मागेको नभएर त्यही आलोचनाको जवाफका लागि मात्रै पो राखिएको हो कि भन्ने महसुस हुन्छ। जुन नहुँदा पनि फिल्मको खास कथामा कुनै नकारात्मक असर भने पर्ने थिएन। 

के पुगेन?
ट्रेलर हेरेर उत्साहित दर्शकहरूले त बबीको पात्र अन्यायमा परेको देख्ने नै भए। बाँकीलाई पनि यो पात्र आयो र गयो जस्तो मात्रै लाग्दा खल्लो महसुस हुनेछ। गराउन सक्ने जति प्रतीक्षा गराइसकेर जसरी धमाकेदार शैलीमा बबीको पात्रलाई देखाइयो र जुन धमासका साथ उसको व्यक्तित्व बुनियो त्यसको तुलनामा यो पात्रलाई फिल्ममा यथेष्ट समय र भूमिका नपुगेकै हो। 

भारतीय सिनेजगतमा फरक किसिमको स्वादमा बनेको यो फिल्ममा कलाकारहरूले गरेको काम कस्तो छ त?  

अनिल कपुर, बबी देओल, तृप्ति दिम्री, लगायतका कलाकारले आ-आफ्नो पात्रलाई न्याय गरेका छन्। रश्मिका मन्दानाको पनि अभिनयमा खोट लगाउन सक्ने ठाउँ त छैन यद्यपि, डायलग डेलिभरीमा भने उनले अझै मेहनत गर्नुपर्ने हो कि?

अभिनयकै कुरा गर्नुपर्दा रणविजयको भूमिकाका लागि निर्देशक भांगाले रणबीर कपुरलाई नै किन रोजे फिल्म हेरेपछि स्पष्ट हुने नै छ। अर्को शब्दमा भन्नुपर्दा रणबीरलाई 'द राइजिङ सुपरस्टार' को उपाधि दिनु अतिशयोक्ति पक्कै हुनेछैन।

जाँदाजाँदै, यो फिल्म रणबीरका फ्यानहरूका लागि लुक्सको हिसाबले पनि महत्त्वपूर्ण फिल्म हुनेछ। क्लाइमेक्सपछि उठेर हिँडिनहाले दर्शकले बोनस क्लाइमेक्स पाउनेछन् जहाँ रणबीर कपुरको बुचर पात्रसँग पनि दर्शकले भेट गर्न पाउनेछन्। 

साँच्चै, 'एनिमल पार्क' पनि बनाएपछि त दर्शकले निर्देशक भांगालाई 'भाइलेन्ट डिरेक्टर' को उपाधि कसो नदेलान्? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .