कला


सामबहादुर, कंग्रेस र गोर्खा

सामबहादुर, कंग्रेस र गोर्खा

श्रीजु सरल
मंसिर २३, २०८० शनिबार १४:३२, काठमाडौँ

सन्दीप रेड्डी भांगाको 'एनिमल' र मेघना गुलजारको 'साम बहादुर' एकैदिन बाहिरिएका सिनेमा। भांगाको एनिमल पहिला हेरिसकेर क्यूएफएक्स सिनेमा हलहरूमा प्रदर्शन भइरहेको गुलजारको 'साम बहादुर' हेर्न बस्दा लागेको थियो, संसारसँग लडेर आफ्नो देशको रक्षा गर्न अझै कति गुणा 'जनावर', अझै कति गुणा बहुलाउन जरुरी हुँदो हो!

तर, पितामोह र देशभक्ति पृथक सिद्ध भए। पहिलोमा पागलपनले काम गर्दोरहेछ भने दोस्रोमा होसमा हुनु जरुरी रहेछ। खैर, हामी मोहबाट बाहिर निस्किएर यतिबेला भक्तिपथतिरै लागौँ।

साम बहादुर, भारतका प्रथम फिल्ड मार्शल 'साम हर्मुसजी फ्रामजी जमशेदजी मानेक्श' (छोटकरीमा साम मानेक्श)को जीवनमा आधारित रहेर तयार पारिएको बायोपिक सिनेमा हो। सामको नामको अनौठो लम्बाइको कारण पनि उनलाई अनेकौं उपनाम मिल्ने गर्थे। अनेकौं उपनाममध्ये उनलाई सबैभन्दा प्यारो थियो गोर्खा सिपाहीले दिएको उपनाम- साम बहादुर! र फिल्मको नाम पनि उनको मनप्रिय उपनामबाटै राखिएको छ।

त्यसो त नाममा के नै राखेको छ र? आउनुस्, हामी निर्देशक गुलजारको कामको कुरा गरौँ। फिल्मले आखिर सामको चित्र दुरुस्तै उतार्यो कि उतारेन? त्यो चित्र हेरेपछि सामलाई अघि जान्दै नजान्ने दर्शकले कति चिन्लान्? अभिनेता विक्की कौशलको अभिनय कौशल कस्तो देखियो? साथै, तपसिलका कुरा पनि तपसिलमा आउँदै रहलान्।

फिल्मको सुरुवाती दृश्यतिर सामलाई अनुशासनहीन देखाइएको छ जसको फलस्वरूप उनले सजायसमेत भोग्नुपरेको छ। तर, यिनै साम पछि गएर भारतकै पहिलो फिल्ड मार्शल भएर तमाम भारतीय आर्मीलाई अनुशासन सिकाउँछन्।

अब उनको वास्तविक जीवनलाई खोतलौँ। साम खासमा डाक्टर बन्न चाहन्थे, लन्डन गएर पढ्न चाहन्थे। तर, पाइला-पाइलामा बिठ्याइँ गरिरहनुपर्ने सामको चुलबुले स्वभावका कारण उनका बुबाले उनलाई अर्काको देश पठाउने निर्णय लिन सकेनन्, जब कि उनका दुई भाइ इन्जिनियर पढ्न देशबाहिरै थिए। बुबाले डाक्टरी पढ्न लन्डन नपठाएकै आवेगमा उनले मिलिटरी फारम भरे र ख्यालख्यालमै उनको नामसमेत निस्कियो।

यसरी ख्यालख्यालमै मिलिटरी छिरेका चुलबुले स्वभावका साम आर्मीप्रति बिस्तारै गम्भीर हुन थाले। यही तथ्यलाई मेघनाले २ घण्टा २८ मिनेटभित्र खाँदेर देखाउन 'अनुशासन'लाई प्रप्स बनाएकी पो हुन् कि?

सामको निर्भीक व्यक्तित्व र चुलबुल स्वभावलाई गुलजार र कौशलले वास्तवमै सुन्दर ढंगले एकैसाथ पस्किन सकेका छन्। तर, टिनु सुरेशको मिसन रानीगञ्ज जहाँनेर चुकेको थियो, मेघना गुलजारको साम बहादुर पनि त्यहीँनेर चुकेको छ। सामलाई एउटा निडर र आँटिलो आर्मी अफिसर चित्रण गर्ने चक्करमा मेघनाले उनी सबैभन्दा पहिला एउटा मानिस हुन् भन्ने कुरा लगभग बिर्सिएकी छन्। त्यत्रा युद्ध भए, ज्यान दाउमा थियो, घर-परिवार दूरमा। बर्दीको इज्जत, देशको गरिमा सबै बन्दुकको नालमा। ट्रिगर दब्नासाथ कि वार कि पार हुने अवस्था कैयौंपटक आए। तर, साम कहिल्यै भावुक देखिएनन्। ठीक छ, आफ्ना आर्मी जवानको माझमा हुन नसक्लान् तर, परिवारको साथमा या फेरि एकान्तमा त भावुकता पोखिँदा हुन्थ्यो कि? के वास्तविकता पनि साम कहिल्यै आम मानिस जसरी धड्किएनन् होला?

खैर, साम मानेक्श आफैमा सेन्स अफ ह्युमर भरपूर भएका मान्छे थिए। मलाई शंका लाग्छ, उनमा त्यही सेन्स अफ ह्युमर नहुन्थ्यो त ९ जापानी गोली खाएका उनी बाँच्थे? अनि मेघना निर्देशित यो सिनेमालाई अर्को एउटा मिसन रानीगञ्ज हुन के कुराले रोक्थ्यो?

प्रश्नको बहावमै अर्को एउटा प्रश्न पनि हुत्याइहालूँ। साँच्चै, तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको निधनपछि उनकी सुपुत्री इन्दिरा गान्धी प्रधानमन्त्री भइहालेकी होइनन्। त्यसबीच ३ पटक गरेर प्रधानमन्त्रीको कुर्सीमा २ जना फेरिए। र त्यहीबीच पहिलो भारत-चीन युद्ध भएको थियो जहाँ सामको नेतृत्वदायी उपस्थिति जगजाहेर छँदैछ। तर, फिल्मले नेहरु र गान्धीलाई मात्र सामसँग जोड्न चाहेको कुरा अनौठो लाग्छ।

साथै, तत्कालीन रक्षामन्त्री भीके कृष्ण मेननलाई जुन मुद्दामा जति नकारात्मक देखाइयो, त्यसमा नेहरु सरकार र उनको कंग्रेस दलको पनि उत्तिकै संलग्नता भएको कुरा साम मानेक्शका समकालीन आर्मी अफिसरहरूले पनि बोल्दै आएका कुरा हुन्। तर, फिल्ममा भने सामविरुद्ध गरिएको षड्यन्त्रको सम्पूर्ण जिम्मेवारी मेननको थाप्लोमा थोपरिएको छ।

सन् १९७३ मा अवकाश लिएका सामले सन् २००८ मा प्राण त्यागे जुनबेला कंग्रेसकै सरकार थियो। मनमोहन सिंह प्रधानमन्त्री थिए। तर, ज्यानको बाजी राखेर जीवनको ४० वर्ष देशका लागि सुम्पिएका उनको अन्त्येष्टिमा कंग्रेस सरकारले कुनै चासो वा उपस्थिति देखाएन।

त्यसो त भूतपूर्व नौसेना अधिकारी हरेन्द्र सिक्काले त आफ्नो मर्जी नमानेपछि कंग्रेस सरकारले सामसँग बाचुञ्जेल मात्र नभएर मृत्युपश्चात पनि बदला लिएको आरोप नै लगाएका छन्।

भनिन्छ, उनलाई जीवनभर कंग्रेस सरकारले तलबसमेत दिएन। भारतका मिसाइल म्यान भनेर चिनिने अब्दुल कलामले सन् २००७ मा आफ्नो राष्ट्रपतिकालको अन्त्यतिर सामलाई भेट्न जाँदा १.१६ करोड (भारतीय) रुपैयाँ बराबरको चेक (बक्यौता तलब) बुझाएका थिए। र अर्को साल ९४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

सामले पाएको यो दु:ख, पीडा र कंग्रेस सरकारले उनीप्रति गरेको ज्यादती पटकथाकार एवं निर्देशक गुलजारले नदेखेकी नै हुन् त? फिल्मले त इन्दिरा र सामले हातेमालो गरेर देशलाई बचाएको र अवकाशपछि सामले बाँकी जीवन आफ्नो परिवारसँग खुसीखुसी बिताएको कथा मात्रै सुनाएको छ।

खैर, सामको जीवनको अन्तिम वाक्य थियो- 'आइ एम् ओके' जसलाई भने गुलजारले बडो कलात्मक ढंगले फिल्ममा देखाएकी छन्।

इन्दिरा र सामबीचका द्विअर्थी संवादले फिल्ममा स्वाद थप्ने काम गरेको छ भने सामपत्नी सिल्लुको चरित्र चित्रणले 'एउटा सफल पुरुषको पछाडि एउटी प्रेरक-समझदार नारी उभिएकी हुन्छे' भन्ने भनाइलाई स्थापित गर्न मद्दत गरेको छ। 

अभिनयको कुरा गर्नुपर्दा विक्की कौशल साम बहादुरको भूमिकामा खरो उत्रिएका छन्। सिल्लुको भूमिकामा सान्या मलहोत्रा र इन्दिराको भूमिकामा फातिमा सना शेख पर्फेक्ट कास्ट लाग्छन्।

साँच्चै, सामबहादुरको चर्चा गर्दा गोर्खाको कुरा भुल्न पाइयो त? खैर, गोर्खा आर्मीको युद्धका दृश्य भने अपेक्षा गरिएजसरी हेर्न नपाइए पनि फिल्मले र साम बहादुरले गोर्खा सैनिकलाई एउटा गरिमामय भूमिका दिएर सम्मान भने गरेकै छन्।

क्यूएफएक्स सिनेमा हलबाट निस्कँदै गर्दा साम बहादुरको एउटा भनाइ मनमा आइरह्यो– ‘यदि कुनै सिपाही मर्नसँग डराउँदिनँ भन्छ भने या त त्यो झुट बोल्दैछ या त त्यो गोर्खा हो!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .