कला


ऋतिकको 'फाइटर'लाई माफी कि स्याबासी?

ऋतिकको 'फाइटर'लाई माफी कि स्याबासी?

श्रीजु सरल
माघ १५, २०८० सोमबार ७:११, काठमाडौँ

‘पठान’को चर्चा पूर्णतया नसेलाउँदै निर्देशक सिद्धार्थ आनन्दले आफ्नो निर्देशनको अर्को एउटा एक्सन-थ्रिलर सिनेमा बलिउडलाई दिएका छन्- फाइटर!

बिहीबारदेखि क्यूएफएक्सलगायत देशभरका हलमा प्रदर्शन भइरहेको यो फिल्ममा एरियल कम्ब्याटलाई सक्दो महत्त्वका साथ देखाउन खोजिएको छ। निर्देशक आनन्दले यो फिल्मको कथा भारतीय सेनाका पूर्वसैनिक रेमन चिबसँगको सहकार्यमा लेखेका हुन्। भूतपूर्व सेना चिबका बाबु पनि इन्डियन एयर फोर्स (आईएएफ) मा थिए। 

ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर, करण सिंह ग्रोभर, रिसभ सहनीलगायत कलाकार मुख्य भूमिकामा छन्। आउनुस्, फिल्मका विविध पक्ष केलाउँदै फाइटरको शक्ति मापन गर्ने एउटा प्रयास गरौँ।

१. कथा
ल्मले आईएएफको एउटा फाइटर पाइलटले कसरी आफ्नो टिमलाई विपक्षीको एम्बुसमा पार्छ र कसरी बचाउँछ भन्ने कथा सुनाउँछ। तर, कथाको जग सधैँझैँ भारत र पाकिस्तानको दुश्मनीलाई नै बनाइएको पाउँदा दर्शक थोरै झिँझिन सक्छन्।

यद्यपि, कथामा मुख्य खलनायकलाई अफगानिस्तानबाट झिकाइएको छ। तर, पाकिस्तानले भारत र भारतले पाकिस्तानलाई गर्ने भन्दा ज्यादा घृणा यो अफगानीले भारत र भारतीयलाई गरेको देख्दा अनौठो खुलदुली दर्शकमा जाग्न सक्छ। र, त्यो खुलदुलीको जवाफ फिल्मको अन्त्यसम्म पनि नभेटिँदा कथा जमिनबिना बगिरहेको नदीको कल्पना गर्न मन भइदिन्छ।

२. पात्र

अजर अख्तर : त्यसो त फिल्ममा कथाको सुरुवात पनि खलनायकबाटै भएको हो। सुरुवातमा धमाकेदार शैलीमा देखाइएको यो भिलेनको आवरणमा त भरपुर काम भएको देखिन्छ, तर चरित्र निर्माणमा समय र मगजको पर्याप्त लगानी हुन नसकेको हो कि जस्तो लाग्छ।

एउटा अफगानी नागरिक ऊ, भारतप्रति किन यति धेरै घृणा गर्छ भन्ने जवाफ दिन त फिल्म असमर्थ छ नै। साथै अगाडि बडो धमास दिइरहेको यो भिलेन जब हिरोको सामुन्ने पर्छ तब अचानक ऐरेगैरेझैँ देखिन थाल्छ। त्यस अर्थमा फिल्मले यो पात्रलाई न्याय गर्न सकेको छैन।

सुखी : देशका बेस्ट फाइटर पाइलटहरूको एउटा टिम देखाइएको छ। जसमध्ये सुखी एउटा अरूभन्दा अलि भिन्न छ। जतिबेलै खाइराख्नुपर्ने ऊ अरूभन्दा अलि मोटो छ। अरूले जस्तो शरीरलाई चुस्तदुरुस्त उसले राखेको छैन। उसलाई टिमका अरू साथीले उसलाई पंगु बनाइरहन्छन्। फाइनल मिसनमा जाँदा पनि उसकै एयर क्राफ्ट जफत हुन्छ र उसले एक मुक्का पनि फर्काउन सक्दैन।

तर, बिझ्ने कुरा यी होइनन्। उसको शिरमा भएको तरबान हो। शिख या फेरि पन्जाबीहरू मजाक नबुझ्ने गरी मन्द बुद्धिका हुन्छन्? पछार्नु नपछार्नु, जित्नु हार्नु त दोस्रो कुरा तर, दुश्मनले रगत छदाउने गरी धुलो चटाउँदा उसमा एक मुक्का फर्काउने हिम्मत पनि हुँदैन होला त? त्यस्तो हो भने ऊ इन्डियन एयर फोर्सको बेस्ट फाइटर पाइलटमा कसरी राखिन्छ?

फिल्मले सस्तो मनोरञ्जनका लागि समस्त शिख समुदायलाई भद्दा मजाकको विषय बनाएको छ।

मिनी : मिनी, जो 'म्याक्स' सपना देख्छे। छोरी भएकै कारण उड्न हुँदैन वा फाइटर पाइलटमा भर्ती हुन सुहाउँदैन भनिएकी ऊ सफल भएर देशभरका तमाम महिलाका लागि प्रेरणाको स्रोत बन्न चाहन्छे। एक हिसाबले अन्तिममा फिल्मको नायकलाई बचाउन पनि उही पुगेकी हुन्छे। तर, स्याबासी नायकले मात्र पाएको छ। जब कि त्यो अवस्थामा नायकले स्याबासी होइन, बरु माफी पाउनु मात्र पनि काफी हुने थियो।

एउटा पुरुष नायकको अस्तित्व रहुन्जेल महिला नायक ओझेलमा परिरहनै पर्ने हो? ए, साँच्चै पहिला त ऊ नायक कि नायिका पो त है? उफ्!

साची : साची, जो फिल्मको मुख्य पात्रको विगतको सबैभन्दा ठूलो साक्षी हो र सबैभन्दा पुरानो साथी पनि! ऊबाट नै फिल्मले नायकको ब्याक स्टोरी नायिका र सँगसँगै दर्शकले थाहा पाउँछन्। खैर, उसको पृष्ठभूमि फिल्मले नखोतलेको भए पनि यो पात्रको उपस्थितिले फिल्मलाई यथेष्ट न्याय गरेको छ। झट्ट हेर्दा सानो र सामान्य भूमिका पाएको यो पात्र नहुन्थ्यो त फिल्ममा जति पनि मिठास भेटिन्छ त्यति मिठास पक्कै भेटिने थिएन।

प्याटी : भारतको बेस्ट फाइटर पाइलट, प्याटीमा स्वाग ठीकै छ तर, अक्कड राम्रै मात्रामा छ। जसका कारण पटकपटक उसका कारण टिम दुश्मनको फन्दामा परिरहन्छ। ऊ स्लो मोसनमा चस्मा घुमाउँदै आउँदैन, ऊ हिँड्दा हावामा सर्ट पनि उड्दैन। ऊ परेका बेला आफैँ भाडा माझ्छ। उसलाई एकैपटक चकलेटी बोय र माचो म्यान देखाउन खोजिएको छ।

कतै त ऊ पिल्पिलाएर आँसु झार्नसमेत ठिक्क परेको छ। तर, ऊभित्र निश्चित विषयमा यति धेरै आत्मविश्वास छ कि त्यसले उसमा एक किसिमको जिद्दीपन जन्माइदिएको छ। जसले समस्या निम्त्याउँछ र जसको भरपाई उसले गर्नुपर्ने हुन्छ। तर, फिल्मको अन्तिमसम्म पनि उसले आफ्नो जिद्दीपन कायमै राख्छ र आफ्नो समस्या र कमजोरीप्रति आत्मसमीक्षा गर्दैन। बरु, उसको कमजोरीलाई ढाकछोप गर्दै उसको सिनियर ऊसँग माफी माग्छ।

र, यहाँनेर त्यस सिनियरले माफी प्याटीसँग कम स्टार अभिनेता ऋतिक रोशनसँग ज्यादा मागेको जस्तो लागिदिन्छ।

साथै, त्यति प्राकृतिक रूपमा चित्रण गरिएको यो पात्रलाई फिल्मको अन्त्यतिर सुपर ह्युमन बनाउन खोजिएको छ। त्यसो त उसले फलामे डन्डी एक मुक्का हानेर भाँचिदिएको छैन, कुटेको त मान्छे नै हो, भत्काएको त खिरिला काठको तख्ताले बारेको भित्ता नै हो। तर, भिलेनलाई १० मुक्का खुवाउँदा आफूले १ मुक्का पनि नखाने हिरो कति सुपर हिरो होला त भन्ने दर्शकले सोच्ने नै भए। जुन बहुतै दिक्कलाग्दो सोचाइ हो।

मानौँ, भोकाउने र खाने काम मैदानमा पनि सुखीकै मात्र हो।

३. एक्सन
एक्सन-थ्रिलर जनरामा बनेको यो फिल्म बलिउडका अन्य एक्सन फिल्मभन्दा किन पनि भिन्न छ भने अन्य फिल्ममा बाइक, गाडी, हेलिकप्टर उडाएर फाइट गर्थे भने यसमा एयरक्राफ्ट नै उडाएर युद्ध गरिएको छ। 

एरियल कम्ब्याट सम्भवतः बलिउडमा पहिलोपटक यसै फिल्ममार्फत देखाइएको हो। फिल्मका कतिपय दृश्य सन् २०२२ को हलिउड फिल्म 'टप गन २' अर्थात् 'टप गन: म्यावेरिक'बाट प्रेरित लाग्छन्।

एरियल कम्ब्याटमा प्रयोग भएका प्राविधिक शब्द र अवधारणासँग परिचित नहुँदा पनि आमदर्शकले लिनसक्ने जति मज्जा फिल्मबाट लिन सक्दैनन्। यसप्रति सजग भएर फिल्मले केही दृश्यमा प्राविधिक ज्ञानलाई सरल ढंगले प्रस्तुत गर्ने प्रयास गर्नुपर्थ्यो कि?

सम्झिँदा सम्झना हुनु र सम्झिन नखोज्दा पनि सम्झिरहनुमा अवश्य केही फरक हुँदो हो। त्यसरी सम्झिन नखोज्दै सम्झिरहिने दृश्य भने एक्सनबाट केही निस्किन सक्यो जस्तो लाग्दैन। यद्यपि, किसिम-किसिमका स्टन्ट देख्न पाइने हुँदा एरियल एक्सनले फिल्म हेरुन्जेल दर्शकलाई मजैले बाँधेर राख्नेछ।

४. संवेदना
त्यसो त फिल्ममा कथानकदेखि, चरित्र निर्माण, पात्र विकास, पटकथा लेखन, संवाद र कथावाचनसम्म सबै पक्ष उत्तिकै सबल हुन जरुरी छ। तर, कहिलेकाहीँ यी तमाम पक्षमध्ये कुनै एक कमजोर भएमा पनि त्यसले पात्र वा कथाको संवेदनामा नकारात्मक असर पुर्‍याउन सक्छ।

त्यसो त ज्योतिष विज्ञानलाई बिम्ब मान्दै फिल्मलाई लग्न र ती तमाम पक्षलाई ग्रह मानिलिने हो भने कहिलेकाहीँ एउटा ग्रह निचो हुँदा लाग्ने दोष अर्को ग्रह उचो हुँदा भरपाई हुन पनि सक्छ। त्यस्तै यस फिल्ममा पनि पात्र विकासमा समस्या देखिन्छ। संवाद पक्ष पनि हुनुपर्ने जति सबल देखिँदैन। यद्यपि, पात्रहरूबीचको सम्बन्धलाई फिल्मले अति सबलतासाथ उन्न सकेको छ। जहाँबाट पात्र तथा कथामा हामी संवेदना भेटाउँछौँ।

विशेषगरी पात्रहरूबीचको दोस्तीले हामीलाई मीठोगरी छुन्छ। त्यसो त दोस्तीबाहेक अन्य केही दृश्यले पनि छातीलाई थाहै नदिई गह्रौँ बनाउँछन् भने केही दृश्यमा पत्तै नपाई आँखा भरिएर आउनसक्छन्।

ह्युमर भने प्रशस्तै भए पनि कतै सस्तो त कतै भद्दा लागिदिन्छ। अमिलो-पिरो ट्वाक्क हुँदाहुँदै पनि स्वस्थ मजाक गर्न सक्नु सानो देखिए पनि सानो चुनौतीको विषय होइन।

५. प्रविधि
फिल्मको प्राविधिक पक्षको कुरा गर्नुपर्दा सिनेम्याटोग्राफीले कतै बिझाउने या फेरि कतै मन लोभ्याउने काम पनि गर्दैन।

एरियल कम्ब्याटका लागि प्रयोग भएका भिजुअल इफेक्ट्स सन्तोषजनक नै लाग्छन्। रेड नोजले छोडेर प्याटी र साथीहरूले छलेको मिसाइल कति कतिखेर तपाईंको आँखा छेडेर जान खोज्नेछ। यस्तो बेला थ्रिडी एनिमेसनमा अझै बढी मिहेनत पुगेको भए १०० मा ९९ नम्बर दिन सोच्नुपर्ने थिएन।

त्यसो त फिल्मको ब्याकग्राउन्ड स्कोरलाई पनि दर्शकले राम्रै स्कोर दिनेछन्।

जाँदाजाँदै, फिल्मले नौलो कथा नभने पनि बलिउडका लागि इतिहास रच्दै बलिउड दर्शकका लागि नौलो  एक्सन भने पस्किएकै छ। सदाबहार सन्तोषजनक अभिनय गर्ने दीपिकाका फ्यानले त फिल्म हेर्ने नै भए।

फिल्ममा देखाइएको दोस्तीका दृश्य, क्यामियोमा सन्जिदा सेखको अभिनय र मुख्य भूमिकामा ऋतिकको आँखाको भाषाका लागि फिल्म हेर्नलायक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .