कला


गोर्खा वारियर : हिउँ र पानीको कथा

गोर्खा वारियर : हिउँ र पानीको कथा

श्रीजु सरल
फागुन १७, २०८० बिहिबार ९:११, काठमाडौँ

डाँडाकाँडा देखिनेगरी टाढाबाट खिचिएको दृश्य बिस्तारै नजिकिँदै हजुरबुवा, नाति र मानेमा पुगेर स्थिर भइदिन्छ। हजुरबुवा मानेलाई फूल चढाएर ढोग्छन्। नाति जिज्ञासा जताउँछ, किन फूल चढाएको हजुरबुवा? यसरी कथाको ढोका उघ्रन्छ। गोर्खाली अर्थात् नेपालीहरूको एउटा गर्विलो इतिहास स्क्रिनमा बग्न थाल्छ।

यसअघि पनि हंसिया, वीरविक्रम, ब्लाइन्ड रक्स, वीरविक्रम २, लगायत फिल्महरूको निर्देशन गरिसकेका मिलन चाम्स यसपटक गोर्खा वारियर लिएर आएका छन्। फिल्म क्यूएफएक्स लगायत देशभरका विभिन्न हलहरूमा प्रदर्शनरत छ। गोर्खा सैनिकको कथागाथा विश्वभर धेरैभन्दा धेरै सुन्न पाइन्छ, पढ्न पाइन्छ। तर, हेर्न भने पक्कै पनि थोरै मात्र पाइन्छ। तर, खुसीको कुरा, पछिल्लो समय गोर्खाहरूको गौरवशाली कथामाथि फिल्म बन्ने क्रम नेपालमा बढिरहेको पाइन्छ। गोर्खाको थाहा भइरहेकै कथा, गोर्खा वारियरमा भने कसरी आएको छ त? आउनुस् अब फिल्मकै कुरा गरौँ।

कथा
नोभेम्बर ११ मा सकिएको प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) मा बेलायतका तर्फबाट जर्मनविरुद्ध युद्ध लड्न ९० हजार गोर्खा सैनिक झिकाइयो। जसमध्ये झण्डै २० हजार घाइते भए भने ६ हजारले ज्यान गुमाए। बहादुरीका साथ लडेर बेलायतलाई युद्ध जिताएका कारण सन् १९१५ मा लुज, फ्रान्सको लडाइँका लागि कुलवीर थापा र सन् १९१८ मा प्यालेस्टाइनको लडाइँका लागि करनबहादुर रानालाई बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गर्दै सम्मानित गरेको थियो।

विश्वयुद्धको अन्त्यतिर दुश्मनहरूले अपहरण गरेका आफ्ना साथीहरूलाई मात्र १९ वर्षीय करनबहादुरले दुश्मनकै घेराभित्र घुसेर बचाएका थिए भने आफै पनि घाइते कुलवीरले घाइते ब्रिटिस सैनिक र घाइते गोर्खा सैनिकलाई सुरक्षित स्थानमा लुकाएर दुश्मनहरूलाई घाइते अवस्थामै पनि हराएका थिए र साथीहरूसहित उनी आफू पनि सकुशल फर्किन सफल भएका थिए।

फिल्मभित्र हामी कुलवीर वा करनबहादुरलाई त देख्दैनौँ तर, उस्तै बहादुरी निभाइरहेको पात्र बिर्खबहादुरलाई भने देख्छौँ। बिर्खले मलाया इमर्जेन्सी (सन् १९४८-१९६०) का बेला मलाया जंगलमा बेपत्ता पारिएका आफ्ना साथीहरूलाई कसरी बचाउँछ र दुश्मनहरूसँग कसरी लड्छ? फिल्मको कथा यसकै वरिपरि घुमेको छ। साथै, अर्कोतिर बिर्खको घर-परिवारको पीडादायी कथा पनि सँगसँगै अघि बढेकै छ।

खैर, १९१८ मै सकिएको प्रथम विश्वयुद्धको प्रसङ्गबाट सुरु गरेर १९४८ मा सुरु भएको मलाया इमर्जेन्सीको कथा किन भनियो भन्नेमा चाहिँ दर्शक स्पष्ट हुन सक्दैनन्।

कथावाचन
प्यारलल न्यारेटिभ्समा कथा भन्ने यो फिल्मले युद्धको कथा र परिवारको व्यथालाई सँगसँगै लैजान खोज्छ। फिल्मले एकातिर गर्व र जितको कथा भनिरहँदा अर्कोतिर पीडा र वियोगको कथा पनि सुनाइरहेको छ।

यी दुई कथालाई जोड्न वा सान्दर्भिक तुल्याउन संयोगहरूको प्रयोग गरिएको छ, त्यो भने अलि आउटडेटेड लाग्छ। सपना जस्ता कुराहरूले दुई संसारको यथार्थलाई जोड्न खोजिएको कुरा अर्थपूर्ण र भावपूर्ण हुँदाहुँदै पनि स्वाभाविक लाग्दैन। जोड्नकै लागि जोड गरिएको महसुस भइदिन्छ।

पात्र
मूख्य पात्र बिर्ख बहादुरको भूमिकामा रितेश चाम्सलाई देख्न सकिन्छ। आफू स्वयं भूतपूर्व सैनिक रहिसकेका रितेशले निभाएको बिर्खबहादुर कर्तव्यनिष्ठ सैनिक हो। निडर र हक्की स्वभावको ऊ आफू हँसी-मजाक गर्दैन तर, आफ्नो फौजी टोलीका लागि ठट्टा गर्ने मौका भने सिर्जिरहन्छ। उसको घर-परिवारसँगको दृश्य पनि देखाइएको हुँदा यो पात्रसँग बग्न हामीलाई त्यति गाह्रो हुँदैन। तर, निर्भीक व्यक्तित्व देखाउने चक्करमा फिल्मले उनको संवेदनालाई आवश्यकभन्दा बढी नै दबाउन खोजेको महसुस भइदिन्छ।

यस्तै, सुरज तमुले निभाएको पात्र बलेको चरित्र भने अलि पृथक छ। यस पात्रको माध्यमबाट लेखक समेत रहेका निर्देशक चाम्सले कथामा प्राण भर्न खोजेका छन्। आफ्नो सेन्स अफ ह्युमरले दर्शकहरूलाई हँसाइरहने बलेसँग दर्शकहरू तुलनात्मक रूपमा बढी जोडिन्छन् पनि।

उता स्वदेशमा आमा, ठूली र गाउँलेहरूको पात्रलाई पनि सक्दो जीवन्त बनाउन कोसिस गरिएको देखिन्छ। पात्रहरूको हुलिया, लवज र जीवनशैलीमार्फत् पुरानो समयमा दर्शकहरूलाई पुर्याउने प्रयास प्रशंसनीय लाग्छ। पात्रहरू राम्रैसँग लेखिएका भए पनि दृश्यहरू सलल बग्न नपाउँदा तिनले छुनुपर्ने जति भने छुन सक्दैनन् कि?

कला
जीवन र मृत्यु दुवैको पर्वाह नगरी बन्दुक भिरेर तटस्थ मुटु लिएर हिँडिरहेका छन् सैनिकहरू। कुनै एउटाले अचानक एम्बुसमा टेक्छ, र अब खुट्टा हल्लिनासाथ पड्किएर ऊ खरानी र कोइलामा परिणत हुनेवाला छ। बाबजुद, ऊ आत्तिँदैन, हल्लिँदैन। आफू त जसै पड्किनु छँदैछ, ऊ बरु संयम भएरै साथीहरूलाई सुरक्षित दूरीमा रहन सुझाउँछ। उसको यो संयमजस्तै छ जंगलको हरियो पनि! न त चञ्चल मात बोकेको जीवनको वासन्ती हरियो न त रुखिँदै, पहेलिँदै गइरहेको मृत्युको हेमन्ती हरियो!

उता स्वदेशमा गाउँ सेतै छ- कफनको रङजस्तै। जताततै मृत्युको भय सलबलाइरहेजस्तै। हिउँले ढाकिएका डाँडाकाँडा सेता, घर सेता, आमा र ठूलीहरू पनि सेतै। गाउँमा मानौं रगत नै छैन, प्राण नै छैन। गाउँघरको प्राण साच्चै, कता पो पुगेको छ?

उता जंगलमा मुसलधारे झरी परिरहन्छ, गाउँमा भने हिउँ। परिवारको मृत्यु भय पल्टनको भन्दा चिसो हुँदोरहेछ कि?

फिल्ममा प्रयोग भएको अर्को मीठो बिम्ब हो, धुवाँ। हेर्दाहेर्दै आँखैअघि हराइसक्ने धुवाँ। ती सेता-निला धुवाँ युद्धमा होमिएका तिनै जवानहरूजस्तै!

प्रविधि
अधिकांश समय दृश्य सुहाउँदो धुन पृष्ठभूमिमा बज्दा दर्शकहरूलाई मज्जै लाग्नेछ। तर, कतिपय बेला कमजोर दृश्यलाई बलियो बनाउनकै लागि धुनको बल प्रयोग भएको हो कि जस्तो लाग्दा दर्शक झिँझिन सक्छन्।

त्यसो त लङ शटबाटै सुरु भएको फिल्म बढीजसो पात्र कस्तो सेरोफेरोमा छ भन्ने जानकारी दिनुपर्दा बढी प्रयोग भएको छ। ठूलीले चिठी पाउँदा र लेखाउँदा प्रयोग भएको टु शट्स, पात्रहरू भावुक हुँदै गर्दा लिइएको क्लोज अप शट्सहरू प्राय हामीले देखिरहेकै शट्स हुन्। जंगलको बाक्लोपन बुझाउन खिचेका एरियल शट्सहरू पनि सुन्दर लाग्छन्। बलेले सजाय पाउँदा लिइएको लो एङल शट भने सम्झनलायक लाग्छ।

रितेश चाम्स, सुरज तमु, रेबिका गुरुङ लगायतका कलाकारहरूले पात्रलाई न्याय नै गरेका छन्। तथ्यगत अस्पष्टता हुँदैनथ्यो र पुरानो कथा भए पनि कथा भन्ने शैली नयाँ अपनाएको भए फिल्म अझै राम्रो बन्न सक्ने ठाउँ बचेकै देखिन्छ। नेपालीहरूको कर्तव्यनिष्ठा, निर्भीकता, साहस र क्षमताको गौरवमय गाथालाई हराउन नदिने इमानदार प्रयासले बनेको यो फिल्म हिउँ र पानीको कथा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .