कला


अगस्त्य : उत्तरोत्तर सस्पेन्स, दक्षिणै दक्षिण एक्सन

अगस्त्य : उत्तरोत्तर सस्पेन्स, दक्षिणै दक्षिण एक्सन

श्रीजु सरल
फागुन १९, २०८० शनिबार १६:५७, काठमाडौँ

सहर रूपी जंगलका ब्वाँसो र सिंहको कहानी। कोही तपाईंलाई कथा सुनाउन बसिसकेको छ। राता बत्ती बाल्दै अँध्यारोमा कमिलाको ताँतीजस्तै लस्करै गाडी हिँडिरहेछन्। गाडी तब गन्तव्य पुग्छ र केही धोक्रा भुइँमा लडाइन्छ। तीमध्ये एउटामा हलचल देखिन्छ। त्यो हलचललाई शान्त बनाइसकेपछि एउटा खाल्डो खन्ने जमर्को गरिन्छ। तर, त्यत्तिकैमा इन्ट्री हुन्छ एउटा मांशल युवकको। जसले एक-एकलाई घुमाई-घुमाई धुलो पारेर भुइँमा सुताउँछ। घटनास्थलमा प्रहरी आइपुग्छन्। तर, सबैलाई भुइँमा लडाइछोडेको युवक भाग्ने प्रयास गर्दैन। किन? त्यता पनि पुगिएला। खैर, आफैले अधमरो बनाएर छोडेका एक-एक घाइतेलाई एउटा फोटो देखाउँदै ऊ सोध्छ- सौर्य कहाँ छ भन्?

'अगस्त्य : द अनब्रेकेबल' नाम दिइएको सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको यो फिल्म पात्र सौर्यको वरिपरि घुम्छ। सौर्य आखिर को हो? उसको खोजी किन भइरहेको छ? पहिलो कुरा त ऊ हराएको नै कसरी थियो? अनेक प्रश्नहरू शृङ्खलाबद्ध आइदिन्छन्। तर,

पात्रमा बिस्तारै छिरिएला, अहिले फिल्मकै कुरा गरौँ। फिल्मको कथा के हो? कसरी भनिएको छ? जनरा कुन हो र त्यस जनरालाई फिल्मले कत्तिको न्याय गर्न सकेको छ?

कथा
फिल्मको भाषालाई नछोडेरै यसको कथा भन्ने हो भने यो एउटा 'हो' र 'होइन' को कथा हो। भएकै कथा तर, नभएको कथा। अथवा यस्तो भनूँ, भइरहने तर, नभइदिएको होस् लाग्ने कथा।

तपाईं नेपाली सिनेमा हेर्ने मात्रै नभएर नेपाली समाजलाई नियाल्दै समेत आइरहनुभएको छ भने ख्याति श्रेष्ठदेखि, निर्मला पन्त हुँदै अहिले शालीन पोखरेलसँग घटेका घटनाहरूको त पक्कै खबर राख्नुभएको हुँदो हो। यस्तै भइरहने घटना नभइदियोस् लाग्दै गर्दा आइपरेका अन्य अनेकौं घटनाहरूको संगालो हो, अगस्त्य।

जसले नभइदियोस् सोच्यो ऊसँग आखिर केके भयो? या फेरि के भएन? तर, भयो चाहिँ के? जे होस्, कथा यही नै हो।

पटकथा
फिल्मको कथा राम्रो छ। तर, फिल्म राम्रो हुन कथा राम्रो भएर पुग्दैन। कथा ठीक छ तर, पटकथा ठीक हुन सकेको छैन भने फिल्म बिग्रिने सम्भावना हुन्छ। पटकथा लेख्दै गर्दा संवाद लेखनको पाटो पनि अति महत्त्वपूर्ण हुन्छ।

अगस्त्यको हकमा भने संवाद पक्ष उपेक्षामा परेको हो कि? प्रमोद अग्रहरीको पात्र 'त्रिपाठी' का लागि केही हदसम्म डायलग लेखनमा मेहनत गरेको देखिए पनि मुख्य पात्रद्वय सौर्य र निशानको डायलगमा उति ध्यान दिइएको जस्तो महसुस हुँदैन।

फिल्ममा कुनै पनि पञ्ची डायलग यी पात्रहरूबाट आउँदैनन्। बरु, मल्लिका महतको पात्र 'चाँदनी' का केही डायलगहरू दर्शकले हल छोडेर फर्किसक्दा पनि सम्झिरहन सक्छन्।

कथावाचन
संवादमा देखिएको यो समस्या कथावाचनको कारण पनि आएको हुनसक्छ। थर्ड पर्सन न्यारेटिभ्समा कथा भन्ने यो फिल्मले पात्रहरू स्वयंलाई भने बोल्ने मौका कति दिने भन्ने ठम्याउन नसक्दा पो यस्तो भएको हो कि? शंका गर्न सकिन्छ।

खैर, फिल्मको कथावाचनको कुरा गर्नुपर्दा हामीलाई कथावाचक उर्फ थर्ड पर्सनले कहिले सीधै संसार देखाउँछ (क्यामराको आँखाबाट) त कहिले संसारको कल्पना गर्न (भोइस ओभरमार्फत्) लगाउँछ। क्यामराबाट प्रत्यक्ष हेर्न सुविधा पाइरहँदा अचानक भोइस ओभर सुनेर कल्पना गर्नुपर्दा उति मज्जा लाग्दैन।

विशेषगरेर फिल्मको क्लाइमेक्सतिर भोइस ओभरको भर पर्नुपर्दा कथा त बुझिन्छ तर, कथावाचकलाई कतै निस्किहाल्ने हतारो परेछ कि जस्तो भने महसुस हुन्छ। यसरी अन्त्यमा पनि भोइस ओभरका कारण पात्रहरूबीच के-कस्ता संवाद भए दर्शकले सुन्न पाउँदैनन्। बरु दर्शक स्वयंले कल्पना गर्नुपर्ने हुन्छ।

फिल्मको उत्कर्षमा पुग्दै गर्दा दिइएको यो जिम्मेवारी दर्शकलाई अलि भारी लाग्नसक्छ। कथामा आउने एकपछि अर्को ट्विस्ट बुझ्न ध्यान दिने कि संवाद कल्पना गरेर बस्ने?

जे होस् फिल्म हेर्दा 'मज्जा' आउने-नआउने भन्ने कुराको एउटा निर्णायक संवाद पनि हो।

पात्र
भनिहालियो, पात्रहरू कुनै पनि स्मरणीय वा उल्लेखनीय डायलग बोल्दैनन्। दु:खद कुरा यो अवश्य हो तर, यति मात्रै होइन।

सौर्य चाँदनीसँग आफ्नोबारे कुरा गर्छ। त्यो पृष्ठभूमिको मान्छे आज यो ठाउँमा? कसरी? दर्शकलाई खसखस लाग्छ तर, मेटिँदैन। पात्रलाई हामी चिन्ने मौका नै पाउँदैनौँ। जबकि, चिनाउने ठाउँ फिल्मले पाएको थियो। कथा स्वयंले पनि पात्रको परिचय टड्कारो मागिरहेकै थियो। मध्यान्तरतिर पात्रको परिचय दिइन्छ पनि, तर के दिइन्छ? - 'यो एउटा दिवाना हो!' जुन कुरा फिल्मको सुरुवात देखि नै दर्शकलाई थाहा छँदैछ।

निशान र सौर्यको दोस्ती कति लोभलाग्दो छ है? तर, कसरी यति गहिरो दोस्ती भयो? यो प्रश्नको जवाफ पनि दिन्छ फिल्मले। तर, एक लाइनमा- 'उनीहरूले २-४ कामहरू मिलेर गरेका छन्।' बस्?

त्यसो त यो पहिलो च्याप्टर मात्र हो, त्यसमाथि पनि सस्पेन्स थ्रिलर। आशा गरौँ पात्रहरूबारे आउँदो च्याप्टरमा अवश्य खुलदुली मेटिएला।

सस्पेन्स अपरेशन
साँच्चै, सस्पेन्स थ्रिलर नेपाली सिनेजगतमा कम देखिने जनरा हो। एउटा फिल्मले सस्पेन्स जनरामा अटाउनका लागि अन्य धेरै पक्षलाई आफूमा अटाउन सकेको हुनुपर्छ। तीमध्ये केही विशेष पक्षबारे हामी कुरा गरौँ न त। यो जनरालाई फिल्मले कति न्याय गर्न सकेको छ बुझेर हेरौँ।

१. पूर्वचित्रण (फोरस्याडोइङ)
सस्पेन्स सिनेमामा हुनपर्ने एउटा प्रमुख विशेषता हो पूर्वचित्रण अथवा फोरस्याडोइङ। अथवा पात्र नदेखाइँदै उसको छायाँ देखाउनु। अर्थात्, पात्र भित्र्याउनुअघि नै ऊ आउँदैछ है भन्ने खबर दिनु। घटना घट्नुअघि नै यस्तो हुनसक्छ है भनेर दर्शकलाई इशारा दिँदै गर्नु।

सौर्य को हो थाहा नहुँदै निशानले ग्याङ्स्टरहरूसँग लडेर सौर्यको खोजी गर्नु पूर्वचित्रणको एउटा उदाहरण हो। चाँदनीसँग पटकपटक अप्रत्याशित भेट हुनु यिनीहरूबीच केही विशेष त पक्कै हुन्छ भन्ने पूर्वसङ्केत हो।

जे होस्, पूर्वचित्रणमा फिल्मले राम्रो काम गरेको छ जसले फिल्मलाई सस्पेन्सफुल बनाउन सघाएको छ।

२. गति (पेसिङ)
जब एउटा विशेष घटनाक्रमपछि फिल्म अर्को-अर्को घटनामा दर्शकलाई अल्झाउने कोसिस गर्छ यसले फिल्ममा गति निर्माण हुन्छ। दर्शक हिँड्न छोड्दैन तर अघिल्लो विशेष घटनाबारे सोच्न पनि छोड्दैन। ऊ हिँड्दै सोच्दै गर्छ।

तर, फिल्ममा जब गति कमजोर हुन्छ तब दर्शक रोकिएर त्यो विशेष घटनाबारे सोच्न थाल्छ। ध्यान दिनुपर्ने के हो भने हलभित्र पस्नु दर्शकको लागि हवाइजहाजभित्र छिर्नुजस्तै हो। उडानको बीचमा जब जहाज अघि बढ्दैन र हावामै तैरिरहन्छ तब दर्शकलाई छटपटी हुन्छ। यस्तो  छटपटीमा दर्शक अब गन्तव्य कस्तो होला भन्ने नसोचेर मरिन्छ कि बाँचिन्छ सोच्न थाल्छ। जसले सस्पेन्सको स्वाद बिगारिदिन्छ।

फिल्ममा पनि पहिलो हाफमा कथा नै छैन भन्दा फरक पर्दैन। भूमिका बाँधेरै सकिने पहिलो हाफभरि सौर्यले जम्मा दुइटा काम गर्छ भाग्छ र चाँदनीलाई सम्झिन्छ। भाग्छ, चाँदनीलाई सम्झिन्छ। फेरि भाग्छ र फेरि ... बुझिहाल्नुभयो। र जब फिल्ममा यसरी एउटै दृश्य दोहोरिन्छ, तेहेरिन्छ, फिल्मको गति अचानक चिथोरिन्छ। घाइते गति मानौँ घचक्क रोकिन्छ। दर्शकहरू हावामा तैरिरहेको जहाजमा छटपटाए झैँ महसुस गरिदिन्छन्- सोचेजस्तो बनेको छैन क्या हो फिल्म? टिकटको पैसा त असुल होला? बोरिङ छ क्या हो फिल्म? होइन, त्यो प्यान्ट कति समातेको?

३. द्वन्द्व (कन्फ्लिक्ट)
फिल्मको प्रमुख पात्रलाई जब समस्या पर्छ, कुनै कुरा पत्ता लगाउन वा पूरा गर्न ऊ संघर्ष गर्छ तब फिल्ममा एउटा द्वन्द्व सिर्जना हुन्छ। द्वन्द्व सस्पेन्सको नभइनहुने विशेषता हो। पात्र सफल होला कि नहोला त? दर्शकको मनमा द्वन्द्वले ठूलो खुलदुली जगाउँछ। र खुलदुली नै सस्पेन्सको घर हो।

अगस्त्यले द्वन्द्वको निर्माण भने राम्रोसँग गरेको छ। कतै सौर्य खोज्ने नाममा, कतै चाँदनी खोज्ने नाममा। या कतै न्याय खोज्ने नाममा। जे होस्, फिल्मले द्वन्द्व निर्माणमा शतप्रतिशत मेहनत गरेको छ।

४. अधमरण (क्लिफह्याङ्गर)
अधमरण अर्थात् आधा जीवन, आधा मरण! मरिन्छ कि बाँचिन्छ भन्ने स्थिति। क्लिफह्याङ्गर अर्थात् एउटा भीरमा लगेर दर्शकलाई झुण्ड्याइदिनू! ध्यान दिनुपर्ने कुरा यो हो कि, फिल्मले त्यो अक्करे भीरमा पात्र वा घटनालाई मात्र होइन दर्शकलाई पनि लगेर झुण्ड्याइदिन्छ।

तपाईंलाई कहिल्यै तपाईंको साथीले चरम बिन्दूमा पुगिसकेको कुरालाई बीचमै रोकेर कुरो टारेको छ? त्यस्तो हुँदा तपाईं के भन्नुहुन्छ? - 'कि त कुरै न निकाल् नत्र निकालिसकेपछि अब पूरा गर्!' अगस्त्य तपाईंको त्यस्तै अर्को साथी हो। भन्न त भन्छ तर एक-दुईपटक (कहाँनेर त नभनौँ) अधमरो बनाइदिन्छ। भीरमा लगेर झुण्ड्याइदिन्छ।

यस्तो कुरा थाहै नपाई झण्डै मरेको! झण्डै फिल्म यत्तिकै सकिएको! धन्न!

५. पलटा (ट्विस्ट)
सस्पेन्स सिनेमामा कथाले पलटा मार्नु सुन्दर कुरा हो। दर्शकहरू खुसीखुसी मूर्ख बन्न रुचाउने भनेकै सस्पेन्स (या अरू जनरामै पनि) फिल्ममा ट्विस्ट आउँदा हो।

ट्विस्ट कहाँनेर छ भनेँ भने त फेरि स्पोइल भइजाला तर जे होस्, छ। फिल्मले ट्विस्टमा गरेको कामलाई सन्तोषजनक भन्न सकिन्छ।

६. छल (रेड हेरिङ)
मूर्ख बनाउनु मात्र सस्पेन्स सिनेमाको काम होइन तपाईंलाई छलेर अर्कै बाटो हिँडिदिने हर्कत पनि यसैले नै गर्छ। रेड हेरिङको बारेमा बुझियो भने अझै स्पष्ट होला। माछालाई लामो समयसम्म टिकाएर राख्न धुवाँमा सेकाउने एउटा प्रक्रिया हुन्छ जसले माछाको रङलाई बदलेर रातो देखाउँछ। यही प्रक्रियालाई भनिन्छ रेड हेरिङ।

फिल्मको सस्पेन्सलाई अलि परसम्म होल्ड गरेर राख्न जब दर्शकसँग छलकपट गरेर यस्तो होला कि जस्तो लाग्ने (तर नहुने) झुटो इसारा दिइन्छ त्यसलाई रेड हेरिङ भनिन्छ। यसरी छलिन पाउँदा दर्शक त खुबै रमाउँछन् नै सस्पेन्स जनरा पनि निकै खुसी हुन्छ।

अगस्त्यले घरी पिन्टुसँग डराई डराई हिँड्ने रवीन्द्र झाको पात्र कुशवाहसँग त घरी, जज साहबसँग त घरी निशानसँगै पनि यसको प्रयोग गरेर जनरालाई खुसी पारेको छ। त्यसो त यो सिङ्गो फिल्म आफैमा एउटा छल नै हो! माछा, माछा ... भ्यागुता!

७. नाटकीय विडम्बना (ड्रमाटिक आइरनी)
फिल्ममा कहिलेकाहीँ कथाभित्र के भइरहेछ दर्शकलाई अघि अघि नै थाहा हुन्छ नि है?  दर्शकलाई नै थाहा भइसकेपछि त सस्पेन्स नै भएन नि होइन? होइन तर, यो पनि सस्पेन्स नै हो। किनभने, दर्शकलाई अघि थाहा भइसकेको कुरा पात्रलाई भने अझै थाहा भएको हुँदैन। बिचरा पात्र!

यो बिचरो अज्ञानी पात्र कहिलेकाहीँ अगाडि भइरहेको दुश्मनलाई चिन्दैन, खोजिरहेकै मान्छेसँग भेटेर उही मान्छे खोज्न हिँडिदिन्छ, नमरेको पात्रलाई मर्यो भन्ने ठानिदिन्छ, यस्तै यस्तै अनेक भ्रममा बाँच्छ बिचरा। उसकै कथा हो नि हुन त, तर विडम्बना उसैलाई थाहा छैन, बरु हामीलाई थाहा छ! नाटकीय! होइन त?

यो पनि एउटा सस्पेन्स हो, दर्शकको लागि नभएर योपटक पात्रको लागि। अगस्त्यमा यस्तो सस्पेन्स छ कि छैन त? मनग्ये छ चिन्ता नगर्नुस्।

८. समानान्तर पटकथा (प्यारलल प्लटलाइन्स)
जब फिल्ममा दुई पात्र, दुई घटना एकसाथ तर छुट्टाछुट्टै लोकमा बग्छन् तब तिनले दर्शकको मनमा एउटा खुलदुली पैदा गर्छन्। ती दुई कथाहरूको मिलनबिन्दू कहाँ होला? ती पात्रहरू कहिले र कसरी भेटिन्छन् होला? घटनाहरू एकअर्कोसँग सम्बन्धित होलान् त? भए कसरी होलान्?

यसरी कथाकै सम्बन्धमा जिज्ञासा जन्मिनु नै दर्शकलाई फिल्मले बाँध्नु हो। सस्पेन्स जनरा खुसी हुनु हो।

समग्रमा के भन्न सकिन्छ भने नेपालमा कम बन्ने सस्पेन्स जनरामा अगस्त्यले एउटा दरिलो पाइला चालेको छ। यो जनरामा अगस्त्यले आगो बाल्यो भनिहाल्न त सकिन्न तर एउटा अपेक्षाको झिल्को अवश्य पनि बाल्न सकेको छ।

जाँदाजाँदै, अभिनयमा सौगात मल्लले अगस्त्यमार्फत् अर्को एउटा उचाइ चढेका छन्। फिल्म हेरेर निस्किसकेपछि सौर्यको भूमिकामा सौगातलाई बाहेक कसैलाई सोच्ने दुस्साहस कुनै दर्शकले गर्नसक्ने छैन। नाजिर हुसेनले पनि गरिरहेको भन्दा बेग्लै भूमिकामा पनि आफू काबिल छु है भन्ने देखाउन सकेका छन्। प्रमोद अग्रहरीलाई खलनायकी यहाँ पनि फापेकै देखिन्छ। अभिनयकै कुरा गर्नुपर्दा छुटाउनै नहुने अनुहार अगस्त्यबाट पक्कै विजय बरालको हो। छोटो समयका लागि देखिएका उनले फेरि पनि आफ्नो भर्साटायल अभिनय कौशललाई साबित गरेका छन्। रवीन्द्र झा, शिशिर वाङ्देल सदाबहार लाग्छन्। मल्लिका महतको संघर्ष मनासिब गतिमा देखिन्छ।

सस्पेन्स जनराको विस्तृत कुरा हुँदै गर्दा एक्सन छायाँमा परेको हो कि जस्तो लागेन तपाईंलाई? चिन्ता नगर्नुस्, यस्तो यहाँ मात्रै भएको हो। फिल्मभित्र एक्सन पनि आफ्नो फर्ममा नै छ। यही रफ्तारमा एक्सनले गति लिने हो भने नेपाली सिनेमामा मासलक्षित एक्सन सिनेमाको भविष्य उत्तरोत्तर (कि दक्षिणै दक्षिण?) अघि बढ्ने पक्का छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .