ad ad

कला


रातो सुटकेसले भन्ने ऐनाभित्र र बाहिरको कथा

रातो सुटकेसले भन्ने ऐनाभित्र र बाहिरको कथा

श्रीजु सरल
बैशाख ३, २०८१ सोमबार १९:३२, काठमाडौँ

भूतको कथा सुनाउँदा सुनाउँदै पनि देशको राजनीतिमाथि विचारविमर्श र वैदेशिक रोजगारीमा पुगेका श्रमिकहरूको स्थितिमाथि विश्लेषण गर्न सकिन्छ है भन्ने कल्पना यसअघि कसैले गर्न सक्थ्यो होला? त्यो फिडेल देवकोटाले गरे। दशकौँदेखि वृत्तचित्र बनाइरहेका देवकोटाको यो पहिलो फिल्म निर्देशन हो।

फिल्मभित्र स्मृति र गन्तीमा आउने पात्र मात्र चारजना छन्। सिनेमा भूतको कथा सुनाउन भनी बसेको छ। तथापि, फिल्मले देशको द्वन्द्वकालीन कथादेखि वर्तमान सामाजिक अर्थराजनीतिक कथा पनि सुनाउन भ्याएकै छ। यो एउटा यात्राकथा हो जसले हामीलाई देवी खुसी पार्न चढाइएका ऐनैऐनाको भित्ता हुँदै दु:खी महिलैमहिला भएको एउटा गाउँसम्म पुर्‍याउँछ। ती दु:खी महिलाका पुरुषहरू कहाँ गए होलान्? के ती पनि ऐनाजसरी कतै चढाइए? चढाइए भने कसलाई खुसी पार्न? तिनका महिला त दु:खी छन्! यदि सौभाग्यवश तपाईंभित्रको धैर्य डगमगाएन भने फिल्मले तपाईंभित्र यस्ता अनेकौं प्रश्न जन्माइदिनेछ।

भेनिस फिल्म फेस्टिवलमा प्रिमियर गरिएको यो फिल्म 'रातो सुटकेस' उर्फ 'द रेड सुटकेस'को कथावाचन किताबजस्तै लाग्छ। किनभने यसमा प्रिफेस छ, त्यसपछि प्रोलग अनि फोरवर्ड र बल्ल मात्र खाँटी कथामा प्रवेश गर्छ सिनेमा। यद्यपि, भाषा भने सिनेमाकै छ। आउनुस्, दृश्य भाषामा किताबी शैलीमा कथा भन्ने यो सिनेमाका पत्रहरू पल्टाउन थालौँ।

प्रिफेस (परिचय)
अँध्यारोमा आवाज आउँछ। दोहोरो कुराकानी सुनिन्छ। लोग्ने-स्वास्नीको गफ रहेछ, बुझ्न गाह्रो हुँदैन। चकमन्न रातमा उनीहरू आफ्नी छोरीको नाम राखिरहेका छन्। लोग्ने परदेशमा छ। स्वास्नी घर-देशमै, घरमै। अब त अँध्यारो हट्छ कि, अब त पर्दा उघ्रिन्छ कि? दर्शक झिँजिन्छन् अँध्यारो देखेर, पात्रको अनुहार देख्न नपाएर। दर्शकलाई लाग्न सक्छ- 'होइन, यस्तो फिल्म बनाउने दुस्साहस गर्ने निर्देशकचाहिँ को हुन्?' त्यसपछि स्क्रिनमा लेखिन्छ- अ फिडेल देवकोटा फिल्म।

निर्देशकलाई डर छैन दुस्साहस गर्नुमा। रह्यो प्रश्न- त्यत्रोबेर किन अँध्यारो? पर्दा किन नउघारेको? कारण के हुनसक्ला त? अँध्यारोमा खिचिएको वा रातिमा खिचिएको दृश्य भएकैले मात्र होला त? अहँ, पक्कै नहोला। बरु, रातिको समयमा, अँध्यारोमा बत्ती निभाइसकेर सुत्दै गर्दाको वार्तालाप भएको हुनाले हो। पर्दा त बन्द छँदै थिएन। दृश्य नै त्यही थियो, मलिनताको!

हो, बत्ती निभाइसकेपछिको दृश्य हो- बरु छामछाम छुमछुम गर्नुस् न। सम्झनुस्, या फेरि कल्पना गर्नुस् न- बत्ती निभाइसकेपछि दूर-दुनियाँमा रहने आफ्नै मायालुसँग निदाउनुभन्दा ठीक अघिको त्यो सुमधुर वार्तालाप। साँच्चै, कतिपय वार्तालाप उज्यालो निदाइसकेपछि नै गरिन्छन्।

खैर, यो काइदामा निर्देशकले सिनेमा कस्तो हुनेछ भन्ने कुरा सिनेमाकै भाषामा भनेका छन्। दर्शकसँग सिनेमाकै भाषामा धैर्य मागेका छन्। एउटा फरक स्वादका लागि तयार हुन पूर्वनुरोध गरेका छन्। दर्शक रिझाउनकै लागि यहाँ पात्रहरूलाई छिटोछिटो वा धेरै र ठूला कुराहरू बोल्न लगाइने छैन।

प्रोलग (उपक्रम)
एउटा पिकअप भ्यानको ड्राइभर झिसमिसे बिहानमा चिया सक्न पनि भ्याउँदैन। कामबाट फोन आउनासाथै ऊ बाँकी चिया तु फ्यालेर कुद्छ। आफ्नो कामप्रतिको उसको बफादारी लोभलाग्दो देखिन्छ। ऊ विदेशबाट आएको स्वदेशी लास बोक्ने काम गर्छ। अर्थात् लासको बाकस।

कहिलेकाहीँ लासको बाकससँगै अर्को बाकस पनि आएको हुन्छ- लाल बाकस अर्थात् रातो सुटकेस, जसमा मृतकका सामानहरू हालेर पठाइने गरिन्छ। फिल्मको नाममै पनि छ- रातो सुटकेस। ड्राइभरले हेर्दा पनि नहेरेको त्यो रातो सुटकेसभित्र के छ होला है? त्यो रातो सुटकेस कतै खस्ने, हराउने, चोरी हुने या त्यसभित्रबाट केही अनौठो कुरा पो फेला पर्ने हो कि? दर्शकलाई उत्सुकताका अनेक पोका फुकाउन छोडिदिएर गाडी एयरपोर्टबाट अगाडि बढ्छ। गाडी अगाडि बढेसँगै कथा पनि अगाडि बढ्छ। मानौँ, यात्रामा निस्किनका लागि कथा स्वयं पनि जुत्ता लगाउँदैछ।

फोरवर्ड (प्राक्कथन)
जसै गाडी राजमार्गमा देखापर्छ कथा पनि जुत्ता लगाएर मैदानमा उत्रिसक्छ। कथाले लगाउने जुत्ता भनेको 'जनरा' हो। यसो भनौँ, सडकमा हामी कथालाई मिस्ट्री ब्रान्डको जुत्तामा झुलुक्क देख्छौँ। त्यसपछि पनि कथा हाम्रो गाडीसँगसँगै दौडिन्छ तर, कथा गौण छ, गुप्त छ। कथाले बोकेको रातो सुटकेस र गाडीले बोकेको रातो सुटकेस साटिने त होइन? अथवा दुई सुटकेसबीच के सम्बन्ध छ? रहस्य बिस्तारै खुल्दै जाला।

बडी (कथा)
लास बोकेर हिँडिरहेको मानिसको मनस्थिति कस्तो हुँदो हो है? होइन, यो ड्राइभर कस्तो ज्याद्रो? यसलाई डर लाग्दैन? मान्छे हो, त्यो पनि नेपाली! नेपाली समाज त तपाईं-हामीलाई थाहै छ, डर त पक्कै लाग्दो हो। तर, सबैजना डराउने हो भने त्यो काम कसले गर्ने? कसै न कसैले त गर्नैपर्यो।

त्यसो त ड्राइभर उति डराएझैँ देखिँदैन। यो उसको हरेक दिनको रुटिन नै त हो। फेरि पनि, लास बोकेको मानिसको मनस्थिति तरकारी-फलफूल बोक्नेकै जस्तो

स्वाभाविक पक्कै हुँदैन। जति लुकाउन खोजे पनि, त्यो मान्छे भित्र.... कतै भने सशङ्कित नै रहँदो हो। कसैले गाडीतिर हेर्दा मात्र पनि उसलाई अनौठो लाग्दो हो। मानौँ कुनै बच्चा एउटै ठाउँमा आँखा कतिबेरसम्म टिकाउन सक्छु भन्ने अभ्यास गर्दैछ। संयोगले उसका आँखा त्यही गाडीमा पर्‍यो। यस्तोमा त्यो सशङ्कित ड्राइभरलाई कस्तो महसुस हुँदो हो?

कुनै बच्ची भर्खरै आफ्नो बाबा वा मामालाई विदेश उडाएर फर्केकी हुनसक्छे। आकाशतिर हवाइजहाजलाई हेर्दै बाइ गरेकी हुनसक्छे। बाइ नफर्काउने चिजलाई बाइ गर्न उसलाई मज्जा लागेको हुनसक्छ। ऊ गुडिरहेको त्यही गाडीलाई हेरेर बाइ गरिदिनसक्छे बदलामा बाइ फर्किँदैन भन्ने जान्दाजान्दै पनि। उसका लागि यो अति सामान्य कुरा हुनसक्छ, ख्यालठट्टा हुनसक्छ। तर, लास बोकेर अपरिचित गन्तव्यतर्फ हिँडिरहेको एउटा ड्राइभरका लागि यी सब कुरा असामान्य लाग्दो हो, अस्वाभाविक लाग्दो हो।

हाम्रो ड्राइभर बीपी राजमार्गको ऐनैऐना टाँसिएको भित्ताअगाडि पुगेर रोकिन्छ। त्यहाँ उसले एउटा ऐना देवीको नाममा पहिले नै चढाइसकेको हुँदोरहेछ। त्यही ऐनामा ऊ धुपबत्ती चढाउँछ र सुरक्षित यात्राको मनोकामना गर्छ। रिठ्ठेभिरस्थित यो भित्तामा ऐना टाँस्दा भवितव्य, दुर्घटना टरेर जाने जनविश्वास रहँदै आएको छ। वि.सं. २०६८ साल, असोज २६ गते त्यही भिरमा सडक दुर्घटनामा परी ४१ यात्रु एकै चिहान भएको घटना त तपाईंलाई थाहै होला। त्यसपछि पहिलोपटक त्यो भित्तामा कसैले देवीको नाममा ऐना चढाएर सुरक्षित यात्राका लागि प्रार्थना गर्‍यो। भनिन्छ, ऐना चढाउन थालेपछि रिठ्ठेभिरमा त्यस्ता ठूला दुर्घटना भएका छैनन्।

खैर, हामी ड्राइभरलाई नछोडौँ। हामी त उसको मनोदशा बुझ्न खोज्दै थियौँ। हो, बाहिर नदेखिएको होस् तर भित्र त ऊ डराएकै रहेछ। पख्नुस् त, गाडीसँगसँगै कथा पनि त कुदिरहेको छ नि। उसलाई पनि त बिर्सन भएन। कथा त कथा हो, उसलाई दुर्घटित हुने भय नै भएन। बस्, लगाएको जुत्ता अर्थात् जनरा फुस्किन, च्यात्तिन भएन। हाम्रो ड्राइभरलाई पछ्याउँदै, नियाल्दै हिँडिरहेको कथाचाहिँ आखिर के भन्छ त? कथा यो भन्छ कि ड्राइभर यतिबेला दुई लोकमा छ। एउटा ऐनाबाहिरको लोकमा र अर्को ऐनाभित्रको लोकमा।

उसको कुरा बुझ्न दर्शकलाई अलि समय लाग्नसक्छ, तर, उसँग धेरै समय छैन। यही स्थिति बोध गरेकाले हुनसक्छ, कथा आफूलाई बुझ्नसक्ने अर्को कथालाई सहयोगका लागि गुहार्छ।

केही सहयोग गरूँ? भन्दै उतिखेरै दोस्रो कथा हाजिर भइहाल्छ। दोस्रो कथाले पहिलो कथालाई गर्नुपर्ने सहयोग यत्ति हो कि केही समयका लागि ड्राइभरलाई त्यतै कतै भुलाइदिनुपर्नेछ। यो सहयोगी देखिने कथालाई पक्कै केही भन्नु छ हाम्रो ड्राइभरसँग सायद यस्तै लाग्छ र बिग्रिएको गाडी ठीक भइसक्दा पनि ऊ कथालाई साथ दिन एकैछिन त्यतै अलमलिने निर्णय गर्छ। त्यसो त डराइरहेको मान्छे ऊ रातको यात्राभन्दा बास बस्न पनि उत्तम ठान्दो हो।

दोस्रो कथा ड्राइभरलाई भुलाउन सफल हुन्छ। पहिलो कथा आफ्नो गन्तव्यमा पुग्छ र आफ्नो लक्ष्य पूरा गर्छ। यहीँनेर घटित हुन्छ म्याजिक रियालिजम्। अर्थात् ऐनाभित्रको लोकमा घट्ने ऐनाभित्रको यथार्थ।

विम्ब
कथा, पहिलो कथा, दोस्रो कथा ... कथा सुन्दासुन्दै बोर त हुनुभएन? तर, फिल्मको सिनेम्याटिक ब्युटीले तपाईंलाई बोर हुन दिँदैन। बस्, तपाईंले देख्न भने जानेको हुनुपर्छ।

हुस्सुले निलै पारेको झिसमिसे बिहानमा मलिनो जंगलको बीचोबीच रातो सुटकेस गुडाउँदै एउटा नीलो मान्छे हिँड्छ। त्यसो त ड्राइभर बास बस्नुअघिको साँझ पनि त्यस्तै रङको थियो। एउटा गाढा हरियो रूखले आकाशलाई दुई भागमा बाँडिदिएको थियो- नीलो आकाश अनि गुलाबी आकाश।

नीलो आकाश अर्थात् आकाश मात्र, खाली आकाश, रित्तो आकाश, शून्य आकाश, चिसो आकाश, मृत आकाश! यथार्थको आकाश!

गुलाबी आकाश अर्थात् उज्यालो आकाश, घामका किरण अलिअलि बाँकी भएको आकाश, आशा नमरेको आकाश! सपनाको आकाश!

कथावाचन
कथाहरू आफै कथा भन्न निस्किएको कथा हो यो सिनेमाको कथा। हामी घरी कथाकै कथा सुन्छौँ त घरी ड्राइभरको कथा सुन्छौँ।

त्यो रातो सुटकेस गुडाएर हिँड्ने नीलो मान्छेको कथा सुनेर ड्राइभरको कथा सुन्न फर्किँदा कथा निकै अगाडिसम्म बगिसकेको हुन्छ। ड्राइभरलाई बास दिने जवान आफ्नो दु:खद कहानी सुनाउँदो थियो। तर, सुटकेसवालालाई पछ्याउने हुँदा यता भूपू जवानको कथा उजस्तै भूतपूर्व भइसक्छ। उताको अलिकति सुन्दा, यताको अलिकति छुट्छ। र यताको सुन्दा उताको छुट्छ। तर, जति सुनिन्छ त्यति नै पर्याप्त लागिदिन्छ।

पात्रहरू यसरी लेखिएको छ कि मानौँ तिनलाई लेखिएको हुँदै होइन। बस् कतै उनीहरूकै दुनियाँमा पुगेर उनीहरूले थाहै नपाउने गरी उनीहरूलाई देखिएको मात्रै हो।

सौगात मल्लको ड्राइभर पात्रलाई हेरौँ। उसको आँखामा जतिबेलै एउटा संशयबोध टिलपिलाउँछ। विपिन कार्कीको पात्र भूपू सैनिक जवानको आँखामा हेर्दा जतिबेलै एउटा चिसोपनाको आभास हुन्छ। दुईजनाको बातचित ठ्याक्कै त्यस्तै सुनिन्छ, जस्तो दुई अपरिचित अस्वाभाविक स्थितिमा भेटिँदा गर्न सक्छन्।

लास बोकेर हिँडिरहेको मान्छेको मनस्थितिमा बसेर एउटा अनौठो देखिने अपरिचितसँग जति अड्कलेर बोल्नुपर्ने हो, ड्राइभर पात्र त्यति मात्रै बोल्छ। जुन आनाकानीमा बोल्नुपर्ने हो, त्यही आनाकानीमा बोल्छ। अन्य पात्रबीच पनि बातचितको शैली यही छ।

उनीहरूबीचको संवाद नअड्किएरै, नरोकिएरै फ्याट्टफ्याट्ट बोल्ने हो भने सिनेमा एउटा सर्ट फिल्म बन्ने थियो होला। तर, उनीहरूको चरित्रले जुन गहिराइ बोकेका छन् त्यसो गरिएको भए त्यो गहिराइ भेटिने थिएन। यसलाई अर्को शब्दमा यसरी भनूँ, कुनै पनि सर्ट फिल्मका पात्रलाई धीमा गतिमा बोल्न लगाउँदैमा त्यो रातो सुटकेस बन्न सक्दैन। बर्थडे मनाउन पिकनिक हिँडेका पात्र र तिनको उत्साहको कथालाई तपाईं यही अन्दाजमा भन्न सक्नुहुन्न। यो लास बोक्नेको कथा हो, सास या लास कुर्नेको कथा हो, लासको कथा हो, प्रतीक्षा, अनिश्चय र भयको कथा हो।

आइसक्रिम स्टलमा आइसक्रिम पर्खेर उभिने र अन्तर्वार्ताको लागि पालो कुरेर बस्नेका लागि 'दुई मिनेट' उति नै समय होइनन्। त्यो दुई मिनेटभित्र पात्रको हृदयमा के-के मात्र घट्छ या के-के मात्र घट्न सक्दैन?

पात्रहरूको वार्तालापबीच जहाँजहाँ मौनता छ, त्यहाँत्यहाँ छटपटाहट छ। जहाँ केही छैन, त्यहाँ धेरै थोक छ। रातो सुटकेस त्यो ती 'मिनेटहरू' खिच्दैन। बरु ती मिनेटभित्रका छटपटी, असमञ्जस, औत्सुक्य र संशय जस्ताको त्यस्तै उतार्छ पात्र र दृश्यहरूमार्फत्। रातो सुटकेसलाई धेरै कुरा भन्नु छैन। थोरै कुरालाई गहिराइदेखि भन्नु छ।

उपसंहार
कथावाचनको कुरा पनि गरियो, अब फेरि कथातिरै फर्कौँ। साँच्चै, हामी कहाँ पुगेका थियौँ? अँ, ड्राइभर बास बसुञ्जेलमा पहिलो कथाले आफ्नो लक्ष्य पूरा गरिसकेको छ। एउटा म्याजिकल रियालिजम घटिसकेको छ। ऐनाभित्रको लोकमा एउटा यथार्थ घटिसकेको छ।

अब, धनबहादुर विकको लास बोकेर ड्राइभर धनबहादुरको दैलोमा पुगिसकेको छ। धनबहादुरकी स्वास्नी गुलियो निद्राबाट ब्युँझेर भर्खरै विपनाको अमिलो भुइँमा पछारिएकी छे। भर्खरै जन्मिएकी छोरीलाई नाम दिन मात्रै भ्याएकी उसले आफ्नो लोग्ने गुमाएकी छे। यो यथार्थमाथि उसलाई विश्वास गर्न नै गाह्रो हुन्छ। जबसम्म उसलाई पूर्णतया स्थितिमाथि विश्वास भइसक्छ, तब उसलाई जोडले रोइदिन मन लाग्छ, होस हराएर ज्यान फालिदिन मन लाग्छ। तर, ऊ रुन पाउँदिन। किनभने, भित्र उसकी अबोध बच्ची रोइदिन्छे। बच्चाकी आमाले अबोध भइदिन, रोइदिन पाउँछे र? जसै, उसले आशालाई बँचाएरै छाड्नु छ। ऊ रुन्न, ज्यान फाल्दिन।

परिस्थितिले उसलाई ज्यान फाल्न दिँदैन। ऊसँग परिस्थितिले दस्तखत माग्छ- मालिक्नी! अब यो जिम्मेवारी सम्पूर्णतया तेरो हो!

पुनश्च:
ड्राइभर एउटा कथालाई उतै छोडेर फर्किन्छ। संशङ्कित ऊ बल्ल आफ्नो भय पखाल्छ। खोलाको पानीले गाडी पखालेजस्तै।

म:म: खुवाइकन बास दिएको भूपू जवानलाई दिएको आफ्नो वचन ऊ सम्झन्छ- फर्किँदा पस्छु नि है। तर, उसको भूमिका सकिइसकेको थियो। फर्किँदा ऊ त्यो ठाउँमा भेटिँदैन। उसको चिया पसल जहाँ बसेर उनीहरूले लोकल रक्सी घुट्क्याएका थिए, त्यो पनि बन्द देखिन्छ। पसलअघि कसैले काँडेबार लगाइदिएको छ। भूपू सैनिक जवान पनि कथा भइसकेको रहेछ।

के जवान एउटा कथा मात्र थियो? कतै ड्राइभर पनि कथा नै त थिएन? ऐनाभित्रको ड्राइभर त आफै पनि त एउटा भ्रम हो। भ्रमले भ्रमलाई त भेट्न सक्दो हो कि? खैर, उसले सुरुमा भनेकै थियो-

'यहाँ जवानहरूको भविष्य हुँदैन।'
'मेरो न आज छ न भोलि!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .