युक्रेनी सेनाका कमान्डर इन चिफले मोर्चाको अवस्था खराब हुँदै गएको बताएका छन्। रुसले आक्रमण गरिरहँदा आफूहरु पूर्वी दोनेस्क क्षेत्रमा पछि हटेको जर्नेल अलेक्सान्द्र सिर्स्कीको भनाइ छ।
अमेरिकाले हालै दिने घोषणा गरेको हतियार मोर्चामा नपुग्दै युक्रेनी सेनालाई केही पछाडि धकेल्न रुसले जोडबल लगाइरहेको छ। हाल सैन्य संख्या र हतियारमा रुसको हात माथिबाट छ।
गत साता अमेरिकाले युक्रेनका लागि ६१ अर्ब डलर सहयोग दिने प्याकेज पारित गरेको छ।
तर, सो सहयोगअन्तर्गतको हतियार युक्रेन पुगिसकेको छैन।
‘मोर्चाको अवस्था खराब भएको छ,’ जर्नेल सिर्स्कीले टेलिग्राममा लेखेका छन्।
फेब्रुअरीयता लडाइँ चलिरहेका केही स्थानमा आफूहरु पछि हटेको पनि उनले पुष्टि गरे।
आराम गरेका सैन्य टुकडीले मोर्चामा पालो दिन थालेको पनि उनको भनाइ छ।
सिर्स्की फेब्रुअरीमा युक्रेनको सेनापति भएका थिए। उनका पूर्ववर्ती वालेरी जालुज्नी र राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीच मनमुटाव भएपछि जालुज्नीलाई हटाइएको थियो। एजेन्सी
Shares
प्रतिक्रिया