ad ad

जीवनशैली


नयाँ वर्षको दिन लिनुस् यस्ता प्रण, जसले सुधार्न सक्छ तपाईंको जीवन

नयाँ वर्षको दिन लिनुस् यस्ता प्रण, जसले सुधार्न सक्छ तपाईंको जीवन

डा. ओममूर्ति अनिल वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् (फोटो/भिडिओ : सरोज नेपाल)


डा. ओममूर्ति अनिल
चैत ३०, २०८० शुक्रबार ६:४३, काठमाडौँ

नयाँ वर्ष क्यालेन्डरको अरु दिन जस्तै हो। तर, नयाँ वर्षलाई हामी विशेष बनाउन पनि सक्छौँ। विभिन्न अध्ययन अनुसन्धानले नयाँ वर्षको दिन कसैले कुनै पनि प्रण गर्छ भने त्यो मानिसको जीवनमा लागू हुने सम्भावना बढी देखाएको छ। त्यसैले धेरैले नयाँ वर्षको दिन केही न केही प्रण गर्ने गरेका छन्। 

संसारभरका मानिसले नयाँ वर्षलाई फरकफरक तरिकाले मनाउने गरेका छन्। एकथरी मान्छे छन्, उनीहरु नयाँ वर्षलाई रमाइलोका रुपमा हेर्छन र रमाउँछन्। अर्काथरी मानिस हुन्छन्, नयाँ वर्षबाट केही नराम्रो बानी छोड्ने र केही राम्रा बानी अंगाल्ने प्रण गर्छन्। यसरी धेरै मान्छेले नयाँ वर्षको उपहारका रुपमा आफ्नो दैनिकी बनाइराखेका हुन्छन्। 

म पनि प्रत्येक वर्ष केही न केही योजना बनाउँछु। जरुरी छैन, बनाएका हरेक योजना कार्यान्वयन गर्नै पर्छ। तर, कुनै पनि योजना बनाउनु भनेको सफलताको पहिलो कदम हो। कुनै पनि कुराको सुरुवात गर्नु नै आधा सफलता पाउनुजस्तै हो। 

यदि नयाँ वर्षको दिनमा तपाईंले चुरोट, मदिरा छोड्ने योजना बनाउनु भयो, पानपराग गुट्खा खान्नँ भनेर आफैँलाई भन्नु भयो भने सफल हुन सक्नु हुन्छ। म नयाँ वर्षमा यो छोड्छु, त्यो गर्छु भनेर कसैलाई भन्नु पर्दैन, आफैलाई भन्ने हो। छोडिसकेपछि बरु अरुलाई पनि भन्दा हुन्छ। तपाईंले गरेको त्यो सकारात्मक काम अरुका लागि पनि प्रेरणा बन्न सक्छ। 

म यो गर्छु भनेर तपाईंले गर्दै गरेको अठोट चाहिँ आफ्नै मनसँग गर्ने हो, त्यो पनि आफूलाई मनाएर। लहलहैमा लागेर कुनै अठोट गर्नु भयो भने त्यो काम लाग्दैन। विश्वकै ट्रेन्डलाई अध्ययन गर्ने हो भने नयाँ वर्षको दिन अठोट गर्नेको कुरा सफल हुने दर ५० प्रतिशत रहेछ। 

त्यसैले तपाईं पनि नयाँ वर्षको दिन केही न केही अठोट गर्नुहोस्। आफैले के गर्ने भनेर सोच्न सक्नु भएको छैन भने तपाईंले आफ्ना लागि गर्न सक्ने केही अठोट यस्ता हुन सक्छन्। म जे गर्न सक्छु त्यो मात्रै अरुलाई पनि भन्न सक्छु। 

१. मर्निङ वाक
तपाईं नियमित रुपमा मर्निङ वाक गर्न सक्नु हुन्छ। हरेक दिन बिहान ३० मिनेटसम्म हिँड्ने बानी बसाल्नु भयो भने स्वास्थ्यका लागि लाभदायक हुन्छ।

२. खानपानमा सुधार
कसैको चाहिनेभन्दा धेरै, कसैको कम खाने बानी हुन्छ। खानपानमा मात्रा मिलाएर स्वस्थकर खानाको प्रण गर्न सक्नु हुन्छ। कोल्ड ड्रिङ्क्स, चुरोट खाने बानी छ भने नखाने प्रण गर्न सक्नु हुन्छ। 

३. तौल घटाउने योजना
यो एक वर्षमा म यति केजी आफ्नो तौल घटाउँछु भनेर प्रण गर्न सक्नु हुन्छ। दुब्लोपना भएका मानिसहरुले तौल बढाउने प्रण गर्न सक्नुहुन्छ। 

४. मोबाइलबाट टाढा बस्ने
मैले यो नयाँ वर्षबाट मोबाइलमा भुल्ने समय घटाउने प्रण गरेको छु। मोबाइलको समयले मेरो व्यक्तिगत र पारिवारिक समय खोसिरहेको छ। तपाईंलाई पनि त्यस्तै भएको हुन सक्छ। 

५. बिहान चाँडो उठ्ने
मेरो आफ्नै समस्या हो, म बिहान ढिलो उठ्छु। धेरै समयदेखि चाँडो उठ्ने प्रयास गरिरहेको छु। व्यावसायिक जिम्मेवारीले पनि म राति अबेरसम्म बस्नु पर्छ। त्यसैले समस्या भैरहेको छ। तपाईंमा पनि यो समस्या हुन सक्छ। बिहान चाँडो उठ्नु स्वास्थ्यका हिसाबले राम्रो हो। 

६. पारिवारलाई समय छुट्याउने 
घरबाहिर निस्कने, घर फर्किने। परिवारसँग समय बिताउने समयको तालिका बनाउन सकिन्छ। 

७. नकारात्मक कमेन्ट नगर्ने
यदि तपाईं सामाजिक सञ्जाल चलाउनु हुन्छ भने कुनै पनि पोस्टमा नकारात्मक कमेन्ट नगर्ने प्रण गर्नुहोस्। पोस्ट नकारात्मक लाग्न सक्छ, तर नकारात्मक कमेन्ट नगर्नुस्। मैले लामो समयदेखि यो अभ्यास गरिरहेको छु। यसले मानिसको मस्तिष्कमा सकारात्मक उर्जा प्रवाह गर्छ। नकारात्मक विचारले हाम्रो आफ्नै जीवनलाई असर गरेको हुन्छ। त्यसैले पनि यो बानी तपाईंको स्वस्थकर जीवनका लागि सहयोगी बन्न सक्छ।  

(डा. ओममूर्ति अनिल वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .