दरबार हत्याकाण्डको एउटा तथ्यबारे बोल्दा एमाले अध्यक्ष केपी शर्मा ओली नराम्रोसँग चिप्लिएका छन्। युवराज दीपेन्द्रले लगाएको टोपीको अवस्थितिबारे ओली यसरी चिप्लिएका हुन्।
चलचित्र ‘नमेटिने घाउ’ को आइतबार राजधानीमा शुभमुहुर्त कार्यक्रममा सहभागी अध्यक्ष ओलीले ‘दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका थिएनन्’ भन्ने क्रममा दीपेन्द्रको भनिएको टोपीबारे पनि टिप्पणी गरेका थिए।
राजा वीरेन्द्रको वंशनाश हुने गरी २०५८ जेठ १९ गते राति दरबार हत्याकाण्ड भएको थियो।
घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरिएको थियो। आयोगमा तत्कालीन सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता एवं एमाले महासचिव माधवकुमार नेपाललाई पनि राखिएको थियो। तर, पछि माधव नेपाल त्यसमा सहभागी भएनन्।
आयोगले तथ्य विवरण संकलनका क्रममा युवराज दीपेन्द्रको टोपी त्रिभुवन सदन परिसरभित्रको सानो पोखरीमा २६ जेठमा भेटेको थियो।
ओलीको दाबीअनुसार, जाँच आयोग दरबारभित्रको घटनास्थलमा पुगेका बेला काठमाडौँमा चार–पाँच दिनदेखि पानी परिरहेको थियो।
अर्थात्, चार–पाँच दिनदेखि काठमाडौँमा पानी परिरहेकाले त्यो टोपी भिजेको अवस्थामा भेटिनुपर्नेमा आयोगले ओभानो भेटेको ओलीको दाबी छ।
‘जेठ १९ गतेको घटनामा २६ गते जाँच आयोग दरबारभित्रको घटनास्थलमा जाँदा पानी परिरहेको थियो। चार–पाँच दिनदेखि काठमाडौँमा पानी परिरहेको थियो, त्यसबेला दीपेन्द्र मारिएको भनिएको पोखरी छेउमा एउटा ओभानो टोपी तैरिरहेको थियो,’ ओलीले भनेका छन्, ‘चार–पाँच दिनदेखि पानी परिरहेको ठाउँमा ओभानो अवस्थामा दीपेन्द्रले लगाएको भनिएको टोपी भर्खर राखेको जसरी भेटियो, त्यो उत्तानो परेर रहेको छ। ओभानो अवस्थामा यस्तो पनि नाटक हुन्छ? त्यो टोपीमा एक थोपो पानी पनि परेको थिएन।’
ओलीले भनेको के सत्य हो भने जाँच आयोग २६ जेठमा दरबारभित्रको घटनास्थल पुगेको थियो। त्यसक्रममा उसले त्रिभुवन सदनभित्रको दरबार हत्याकाण्डस्थल, हतियार र गोली भेटिएको बाहिरी बगैँचा, पिस्तोल र दीपेन्द्रको टोपी भेटिएको सानो पोखरीको अवलोकन गरेको थियो।
त्यसक्रममा घटनास्थलबाट हातहतियार र गोली, मारिएका राजपरिवारका सदस्यहरूका कपडा, जुत्ता–चप्पल लगायतका सामग्री भेटिएका थिए।
आयोगले त्यहाँभित्र गरेको सम्पूर्ण अवलोकनलाई भिडियो रेकर्ड गरेको थियो। साथै, हत्याकाण्डस्थल त्रिभुवन सदन र बाहिरी भागमा सम्पन्न सम्पूर्ण प्रक्रियाको तस्बिरसमेत खिचिएको थियो।
त्यसक्रममा खिचिएका सम्पूर्ण तस्बिरहरु नेपालखबरसँग सुरक्षित छन्।
दरबार हत्याकाण्डमा दीपेन्द्रले प्रयोग गरेका भनिएका हतियार बाहिरी बगैँचामा भेटिएका थिए। हतियार भेटिएको त्रिभुवन सदन परिसरको बाहिरी भाग भने पानीले भिजेको उपलब्ध तस्बिरहरूले देखाउँदैनन्।
ओलीले दाबी गरेजस्तो साँच्चै काठमाडौँमा चार–पाँच दिनदेखि पानी परिरहेको थियो भने त्रिभुवन सदनबाहिरको चौर (बगैँचा) भिजेको तस्बिरमा पनि देखिनुपर्ने हो।
ओलीले ‘दीपेन्द्र मारिएको भनिएको पोखरी छेउमा एउटा ओभानो टोपी तैरिरहेको थियो’ भनेका छन्। उनको भनाइमा, त्यो टोपी भर्खर राखिएजस्तो ओभानो अवस्थामा थियो।
‘त्यो टोपीमा एक थोपो पानी पनि परेको थिएन’ यो विवरणका साथ ओलीले प्रश्न गरेका छन्, ‘ओभानो अवस्थामा यस्तो पनि नाटक हुन्छ?’
अब आयोगले खिचेको त्यो टोपीको तस्बिर हेरौँ र ओलीको भनाइ दाजौँ।
निश्चय नै, टोपी त्रिभुवन सदन परिसरको सानो पोखरीमा उत्तानो अवस्थामा भेटिएको थियो (हेर्नुहोस् तस्बिर)। तर ओलीले दाबी गरेजस्तो टोपी ओभानो अवस्थामा थिएन।
खुम्चिएको अवस्थामा रहेको टोपीभित्र थोरै पानी जमेकाले न त्यो पूरै तैरिरहेको थियो, न त पूरै डुबेको अवस्थामा थियो।
बरु, केही दिनदेखि पानीमा रहेकाले होला, टोपीमा लेउ देखिन थालिसकेको थियो।
आइतबारको कार्यक्रममा अध्यक्ष ओलीले दरबार हत्याकाण्डसम्बन्धी आयोगमा राखिएका तत्कालीन एमाले महासचिव नेपाललाई आफूहरूले आयोगबाट फिर्ता गराएको सन्दर्भ पनि उल्लेख गरेका छन्।
‘त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल आफै छानबिन समितिमा बस्नुभएको थियो,’ ओलीले भनेका छन्, ‘यो ड्रामा (नाटक) मा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्यौँ।’
अर्थात्, आयोगबाट महासचिव नेपाललाई फिर्ता गराइएको जस लिने प्रयास पनि ओलीले गरेका छन्।
ओलीले दीपेन्द्रको निधन भएपछि राजा घोषणा गरिएका ज्ञानेन्द्रलाई ‘कुशको राजा’ को संज्ञा पनि दिएका छन्।
‘ज्ञानेन्द्र शाह भनेको राजा होइन,’ ओलीको टिप्पणी छ, ‘बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी (ज्ञानेन्द्र शाह) कुशको राजा हुन्।’
तर, एमालेका तत्कालीन महासचिव नेपाललाई छानबिन आयोगबाट आफूहरूले फिर्ता गराएको र ज्ञानेन्द्र कुशको राजा भएको जिकिर गरेका ओलीले त्यसबेला आफ्नो पार्टीले राजा भएकोमा ज्ञानेन्द्रलाई बधाई दिएको कुरा भने बिर्सेका छन्।
एमाले स्थायी कमिटीको बैठकले नै ज्ञानेन्द्रलाई राजाको रूपमा स्वीकार गर्दै बधाई ज्ञापन गरेको थियो।
ज्ञानेन्द्र गद्दीमा बसेपछि २३ जेठ २०५८ मा एमाले स्थायी समितिको बैठक बसेको थियो। त्यो बैठकमा ओली पनि सामेल थिए।
बैठकपछि जारी विज्ञप्तिमार्फत् एमालेले ज्ञानेन्द्र शाह राजा घोषित हुनुलाई महत्त्वपूर्ण अवसर मान्दै बधाई ज्ञापन गरेको थियो।
‘२०५८ साल जेठ २२ गते श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव नेपाल अधिराज्यको श्री ५ महाराजाधिराज होइबक्सेको छ,’ त्यसमा भनिएको थियो, ‘यस महत्त्वपूर्ण अवसरमा नेकपा (एमाले) श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवप्रति हार्दिक बधाई ज्ञापन गर्दछ।’ (कान्तिपुर, २४ जेठ २०५८)
‘अहिले देश एउटा गम्भीर परिस्थितिबाट गुज्रिरहेको परिप्रेक्ष्यमा मुलुकको संवैधानिक राजा र राष्ट्राध्यक्षका हैसियतमा निर्वाह गर्नुपर्ने एउटा गहन दायित्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको काँधमा आइपरेको छ,’ विज्ञप्तिमा थप भनिएको थियो, ‘मौसुफको कार्यकालमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई संरक्षण तथा सुदृढ गर्न संविधान, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई परिपालन र सुदृढ गर्न एवं सम्पूर्ण नेपाली जनतालाई प्रगति र समुन्नतिको बाटोमा अझ अघि बढाउन थप योगदान पुग्नेछ भन्ने हाम्रो पार्टीले विश्वास लिएको छ।’
शनिबार (१३ माघ) मा वीरगन्जमा आयोजित आफ्नो ‘नागरिक अभिनन्दन’ कार्यक्रममा लिखित सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको सन्दर्भमा आफू र आफ्नो परिवारप्रति प्रहार भएकोमा गुनासो प्रकट गरेका थिए।
‘सत्य सधैँ सत्य हुन्छ, असत्य कहिल्यै विजयी हुँदैन,’ उनले भनेका थिए, ‘हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो।’
उनको थप भनाइ थियो, ‘२०५८ मा घटेको विनाशकारी घटना, जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो।’
पूर्वराजा शाहको यही गुनासोको ओलीले प्रतिवाद गर्ने क्रममा दरबार हत्याकाण्डको प्रतिवेदनमाथि प्रश्न उठाए, हत्याकाण्ड युवराज दीपेन्द्रले नगरेको दाबी गरे र पोखरीमा भेटिएको युवराज दीपेन्द्रको टोपीको अवस्थितिको व्याख्या गर्दै आफ्नो दाबीलाई पुष्टि गर्ने प्रयास गरे।
तर, त्यो टोपी ओलीले दाबी गरेजस्तो ओभानो भने थिएन। न त उनले भनेजस्तो काठमाडौँमा चार–पाँच दिनदेखि पानी नै परिरहेको थियो।
यदि पानी परिरहेको थियो भने त्रिभुवन सदन परिसरको त्यो सानो बगैँचा त्यो बेला खिचिएको तस्बिरमा ओसिलो देखिनुपर्ने हो।
Shares
प्रतिक्रिया