इलाम–२ मा यसअघिका निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच कसले बाजी मार्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो। यस क्षेत्रमा एमालेसँग जित निकाल्न कांग्रेस झण्डै तीन दशकदेखि प्रयासरत छ।
यसपटकको उपनिर्वाचन यहाँ धेरै परिदृश्य नयाँ देखिँदै छन्। यहाँका मतदातादेखि उम्मेदवारसम्मै भन्छन्, यस्तो चुनाव कहिल्यै देखिएको थिएन।
यसपालि प्रतिस्पर्धामा उत्रिएका प्रमुख दल र उम्मेदवारले प्रतिष्ठाकै विषय बनाएका छन्। प्रत्येक पार्टीका धेरै प्रभावशाली नेताहरूको इलाममा दौडधुप बढी नै छ। त्यसैले यहाँको होटल व्यवसायदेखि ट्याक्सी र टेम्पोको व्यापारसमेत चम्केको छ।
चुनाव–सिर्जित यी दृश्य त छँदै छन्, केही पात्र पनि नयाँ छन् यसपालि।
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमको उपस्थितिले चुनावमा नयाँपन दिएको छ, जसले यहाँको मतान्तर रोचक बनाउँदै छन्।
यद्यपि, यहाँको निर्वाचनमा दुई ठूला दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रको कम्तीमा ६० प्रतिशत भूगोल डुलेर मतदातासँग कुराकानी गर्दा एमाले र कांग्रेसकै उम्मेदवारबीच जितका लागि प्रतिस्पर्धा हुने निष्कर्षमा पुग्न सकिन्छ। उनीहरूको बीचमा मतान्तर कति हुन्छ भन्नेचाहिँ रास्वपाका लिम्बु र स्वतन्त्र उम्मेदवार थेगिमले कुन पार्टीको कति मत काट्छन् भन्नेमा भर पर्नेछ।
निर्वाचनको माहोल हेर्दै एक हप्ता इलाममा रहने क्रममा मतदाता, सुरक्षाकर्मी, स्थानीय शिक्षक, सामाजिक कार्यकर्ता र स्वयं चुनाव प्रचारमा खटिएका राजनीतिक कार्यकर्ताहरूसँग कुरा गर्दा एमाले–कांग्रेसले ६० देखि ६५ प्रतिशत मत अझै ‘होल्ड’ गरिरहेका देखिएको छ, जो यसअघिका मुख्य प्रतिस्पर्धी पार्टी हुन्। रास्वपाका लिम्बु र स्वतन्त्र उम्मेदवार थेगिमले भोट काट्दा पनि एमाले र कांग्रेसमा अडिएको यो मत नै उनीहरूमध्ये एकले जित्ने प्रमुख आधार हो।
कांग्रेसको अर्को रणनीति
नेपाली कांग्रेस र नेकपा एमालेको यहाँ हाराहारी उपस्थिति छ। अघिल्लो चुनावमा सुवास नेम्बाङसँग दुई सयभन्दा कम मतान्तरमा कांग्रेसका डम्बर खड्का पराजित भएका थिए। तर, यो बिर्सनुहुँदैन कि त्यस चुनावमा कांग्रेसलाई माओवादी, एकीकृत समाजवादीलगायत तत्कालीन सत्ता गठबन्धनको सहयोग थियो। एमाले उम्मेदवार नेम्बाङ एक्लैजसो मैदानमा थिए।
यहाँ कांग्रेसले आफ्नो सांगठनिक मत सुरक्षित गर्ने मुख्य रणनीति अख्तियार गरेको छ। यसपालि पहिचान पक्षधर, नयाँ वा रास्वपाले एमालेकै मत काट्ने उसको विश्लेषण छ। त्यसैले कांग्रेसले जातीय पहिचानको पक्ष वा विपक्षमा कुनै अभिव्यक्ति दिएको छैन।
पार्टी महामन्त्री विश्वप्रकाश शर्मा निरन्तर यहाँ कांग्रेसका पक्षमा चुनावी नतिजा ल्याउने गरी खटिएका छन्। टिकटको टुंगो लाग्नुअघि नै मतदाताको ‘मुड’ बुझेका शर्माले पार्टीभित्रको आन्तरिक कचिंगल मिलाउनसमेत निकै कसरत गर्नुपरेको थियो।
अर्का महामन्त्री गगन थापासमेतलाई इलाम उतारेर उनले कांग्रेसमा मनमुटाव बाँकी नरहेको पुष्टि गर्ने प्रयास गरे। किनभने, यहाँका मतदाताले टिकटका अर्का आकांक्षी भेषराज आचार्यलाई मन पराउने भएकाले खड्कालाई सहयोग नहुने हो कि भन्ने भय कांग्रेसजनमा अझै छ।
आचार्य यहाँबाट पहिलो नम्बरमा टिकटका लागि सिफारिस पनि भएका थिए। तर, केन्द्रबाट खड्काले टिकट हात पारेपछि अहिले आचार्य खेमाको असन्तुष्टि कम गराउने प्रयास महामन्त्री शर्माले गरिरहेका छन्।
लामो समयदेखि इलाममा कांग्रेसकै राजनीति गरिरहेका एक नेताका अुनसार, कांग्रेसलाई पार्टीभित्रको असन्तुष्ट भोट रास्वपातर्फ जाला भन्ने डर सुरुदेखि नै छ। रास्वपाकै नेताहरू पनि यसपटक विद्रोही मत अर्थात् ‘घण्टी कांग्रेस’को भोट तान्न सकिने बुझाइमा छन्।
इलामकै छिमेकी जिल्ला झापाका नेता शर्माको लक्ष्य खड्कालाई जिताएर तनहुँ–१ मा व्यहोर्नुपरेको हारको क्षतिपूर्ति गर्ने हो। तनहुँकै उदाहरण दिएर शर्माले पार्टीभित्रको असन्तुष्ट खेमालाई फकाउन सफल भएको एक नेता बताउँछन्। तर, ठेकेदारको परिचय बनाएका खड्काप्रति मतदातालाई सहजरूपमा आकर्षित गर्न नसकिएको ती नेताको भनाइ छ।
कांग्रेसले यसअघि पाएको करिब १५ प्रतिशतजति मत रास्वपा र स्वतन्त्रतिर बाँडिने अनुमान छ भने यसअघि कांग्रेसलाई समर्थन गरेको माओवादीले यसपालि एमालेलाई सघाएको छ। अघिल्लो चुनावमा कांग्रेसलाई मत दिएको एकीकृत समाजवादीका आफ्नै उम्मेदवार छन्।
त्यसैले कांग्रेसले सुरुदेखि नै पहिचान पक्षधरका गतिविधिको उल्टो लाभ लिने रणनीति लिएको छ। जनजाति मत केही पहिचान पक्षधरतिर ढल्किने र केही विभिन्न दलबीच बाँडिने भएकाले गैरजनजाति मत एकत्रित गर्ने प्रयासमा कांग्रेस देखिएको छ।
चुनावको दिन नजिकै आइसक्दा भने कांग्रेसको रणनीति फेरिएको छ। अहिलेसम्म गैरजनजाति मत एकत्रित गरिरहेको कांग्रेसले अब पहिचान पक्षधरको भोटमा आँखा लगाएको छ। पहिचान पक्षधरको तीन हजारदेखि पाँच हजारसम्म मत तान्न सक्दा सुहाङ नेम्वाङसँग ‘नेक टू नेक’ प्रतिस्पर्धामा उत्रिन सकिने र उस्तै परे जित हात पर्ने कांग्रेसको पछिल्लो आकलन हो।
पहिचान पक्षधरको मत तान्न कांग्रेसले उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बु र धर्मगुरु आत्मानन्द लिङ्देनसँग विभिन्न चरणमा छलफल बढाइरहेको कांग्रेसका केही नेता र सुरक्षा अधिकारीहरूको भनाइ छ। पहिचान पक्षधरहरू पनि एमालेभन्दा आफूहरूसँग नरम रहेको कांग्रेसको बुझाइ छ।
महामन्त्री शर्माले किराँत सभ्यता र संस्कृति संरक्षणको पक्षमा आफू रहेको देखाउन लारुम्बा पुगेर धर्मगुरु आत्मानन्द लिङ्देनसँग पनि भेट गरिसकेका छन्। कांग्रेस नजिकिन खोजिरहेको र अन्तिममा ठूलो संख्यामा भोट परिवर्तन हुन सक्ने संकेत पहिचान पक्षधरहरूले पनि गरेका छन्।
‘हामी हार्ने नै अवस्था भयो भने बरु कांग्रेसलाई सहयोग हुन सक्ला, एमालेलाई हुँदैन,’ इलाम नगरपालिकामै बसेर चुनाव प्रचारमा खटिएका थेगिम पक्षधर एक अगुवाले मंगलबार नेपालखबरसँग भने।
माओवादीबाट क्षतिपूर्ति हुने एमालेको आकलन
एमालेसँग यसपालि सुवास नेम्बाङजस्तो हेभिवेट उम्मेदवार छैन। तर, सुवास नेम्बाङकै जस्तो मिजास भएका उनका छोरालाई उसले मैदानमा उतारेको छ। पार्टीको बलियो संगठन हुँदाहुँदै पनि सुवासको जस्तो प्रभावशाली व्यक्तित्वको कारण प्राप्त हुने मत यसपालि एमालेले नपाउन सक्छ।
पछिल्ला चुनावहरूमा युवा र नयाँप्रतिको आकर्षण देखिएका कारण एमालेको मत त्यसरी अन्यत्र नबहकियोस् भनेर अध्यक्ष केपी शर्मा ओलीले ३५ वर्षीय सुहाङलाई अघि सारेको बुझ्न गाह्रो छैन। यसले केही हदसम्म काम गरेको पनि देखिन्छ।
सुहाङ र उनका प्रचारक तुलनात्मक रूपमा उत्साही पनि देखिए। पहिलेदेखि सुवासलाई मत दिइरहेका मतदातामा सहानुभूतिको भाव पनि देखिन्छ। यति हुँदाहुँदै पनि पहिचान पक्षधरले एमालेको मताधारमा केही धक्का दिन सक्ने देखिएको छ।
यसअघि एमालेलाई मत हालेका धेरै नै मतदाता एमालेप्रति प्रतिबद्ध देखिए। केही सुवासप्रतिको सहानुभूतिका कारण पनि यसपालि मत नबदल्ने पक्षमा भेटिए। हामीसँग पुराना दल र नेताप्रतिको वितृष्णा ‘होलसेल’मा व्यक्त गर्नेहरूमध्ये पनि अधिकांशले नयाँ कुन रोज्ने भनेर स्पष्ट त भनेनन् नै, कुनै संकेत पनि गरेनन्।
एमालेले पार्टी अध्यक्ष ओलीलाई नै एक साताभित्र दुईपटक इलाम पुर्याएको छ।
मंगलबारेमा सभा आयोजना गरेर संगठित मत एकीकृत गर्न खोजेको एमालेले चुलाचुलीमा पनि बुधबार आमसभा राखेको थियो।
यही क्षेत्रबाट जितेका सुवास लामो समय ओलीका विश्वासपात्र रहे। सुवासले २५ वर्षसम्म जितेको यो क्षेत्र कुनै हालतमा जित्नुपर्ने पार्टी पंक्तिलाई स्पष्ट निर्देशन दिएका ओली दुई पटकसम्म फिल्डमा पुगे।
पछिल्लो समय एमालेले पहिचान पक्षधरतिर डाइभर्ट भइरहेको आफ्नो पुरानो मत आफैँसँग रोक्न हरसम्भव प्रयास गरिरहेको छ। बुधबारको सभामा ओली पहिचान पक्षधरप्रति नरम देखिए। उनले जनजातिको छोरालाई आफ्नै पार्टीले संविधान सभाको अध्यक्ष बनाएको, कानुनमन्त्री बनाएको प्रसंग झिके।
त्यसो त, सुवासको ठाउँमा सुहाङबाहेक अन्य एमाले नेतालाई टिकट दिएको भए जित्न कुनै चुनौती नभएको एमालेकै अर्का एक नेता बताउँछन्।
सुहाङलाई अहिले परिवारवादको आरोप छ। ‘राजाको छोरा राजा’ भएजस्तै देखिएको भन्दै एमाले पंक्तिमै पनि असन्तुष्टि छ। तर, त्यो असन्तुष्टि मतदानमै देखिन्छ कि देखिँदैन भन्ने स्पष्ट छैन।
एमालेले इलाम नगरपालिकाबाहेकमा ‘लिड’ गर्न सकिने आकलन गरेको छ। इलाम नगरपालिका कांग्रेसको गढ भएकाले त्यहाँ एमाले दोस्रो हुन सक्ने आन्तरिक हिसाब छ।
अघिल्लो स्थानीय तहको निर्वाचनको मतले पनि यहाँ कांग्रेस बलियो देखिन्छ। यहाँका १२ मध्ये ९ वटा वडा कांग्रेसले जितेको थियो। यी सबै वडाको मत विश्लेषण गर्दै एमाले र कांग्रेस आ–आफ्नो भोट संगठित गर्नेतिर देखिन्छन्।
कांग्रेसले अन्तिम समयमा पहिचान पक्षधरको मत तान्न प्रयास गर्दैगर्दा एमाले भने आफ्नो पुरानो मत सकेसम्म पहिचान पक्षतिर कम जाओस् भनेर सतर्क देखिएको छ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बु लामो समयदेखि सुवास नेम्वाङलाई सहयोग गर्दै आएका एमाले समर्थक हुन्। धर्मगुरु आत्मानन्द लिङ्देनले पनि यसअघि नेम्वाङलाई नै सहयोग गर्दै आएका थिए। अहिले तिनै धर्मगुरुको समेत सहयोगमा डकेन्द्रसिंह थेगिम लिम्बु पहिचानको नारा दिएर स्वतन्त्र उम्मेदवार बन्नु एमालेका लागि ठूलै चुनौती हो।
तर अर्को पक्ष के छ भने यही बेला एमालेले माओवादी केन्द्रको समेत समर्थन पाएको छ। डकेन्द्रसिंह थेगिमले काट्ने मत माओवादीबाट पूर्ति हुने एमालेको आकलन छ।
कांग्रेस–एमालेबीच ‘नेक टू नेक’
पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुको पक्षमा पछिल्ला दिन माहोल बढेको छ।
चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकामा उनको प्रभाव देखिने स्तरमा बढेको छ। उनका समर्थकहरू पुराना दलप्रतिको वितृष्णा उजागर गर्ने र जातीय मुद्दालाई अघि सार्ने आक्रामक प्रयासमा देखिन्छन्।
थेगिमका समर्थकहरू किराँत धर्मगुरु लिङ्देनको पनि साथ मिल्ने आशामा छन्। तर, मतदानको अन्तिम समयमा धर्मगुरुसँग कांग्रेसको प्रयास सफल भएको खण्डमा यो भोट थेगिमले नपाउन पनि सक्छन्।
त्यसो त कांग्रेसको प्रयास धर्मगुरुका समर्थकको मात्र होइन थेगिमकै भोट पनि तान्ने हो। अन्तिम अवस्थामा पहिचान पक्षधरको भोट तान्न सक्दा मात्र सुहाङलाई टक्कर दिन सकिने कांग्रेसको आकलन छ।
थेगिमको प्रभाव देउमाई र इलाम नगरपालिकामा कमजोर छ।
यसअघि पहिचान पक्षधरहरू यहाँ एक हुँदैनथे। आ–आफ्नो आस्थाका आधारमा व्यक्ति हेरेर भोट खसाल्थे।
यसपटक पहिचानवादी समूह एक बनेको छ। विशेष गरी कोसी प्रदेश नामाकरणपछि पहिचानपक्षधर बढी संगठित र एकीकृतरूपमा परिचालित भएका छन्।
त्यसैले थेगिमले चुनाव नजिते पनि यसअघि एमाले र कांग्रेसका नाममा खसेको मतको उल्लेख्य हिस्सा पाउन सक्नेछन्।
रास्वपाले इलाममा आफ्नो जरो गाड्न भएभरको कसरत गरेको देखिन्छ। पार्टी सभापति रवि लामिछानेदेखि प्रायः सबै सांसदलाई इलाम पुर्याएको पनि थियो। तर, नयाँ दलमा जसरी सहरी क्षेत्रका मतदाताको आकर्षण हुन्थ्यो, इलाममा त्यो हुन सकेको छैन।
युवा र नयाँ मतदाता घण्टीतिर आकर्षित देखिए पनि उनीहरूले रास्वपा उम्मेदवार मिलन लिम्बुलाई विश्वास गर्न नसकेको देखियो। माओवादी पृष्ठभूमि भएका लिम्बुलाई यहाँका पहिचानवादीहरूले ‘धोकेबाज’ भनेर प्रचार गरिरहेका छन्।
देशका अन्य भूगोलभन्दा इलामको चुनावमा विशेष गरी पहिचानको मुद्दासँग ‘हेलचक्र्याइँ’ गर्नु रास्वपाका लागि प्रत्युत्पादक बन्ने देखिएको छ।
कुनै बेला पहिचानका कडा पक्षधर देखिएका मिलनलाई उम्मेदवार बनाएर बुधबारको अन्तिम चुनावी सभामा सभापति रवि लामिछानेले नै ‘बरु चुनाव हार्न तयार छौँ, तर एकल पहिचानको पक्षमा रास्वपा छैन’ भनेर मुख खोले। रविले ‘कुनै जाति, धर्म र समुदायको पहिचानको पक्षमा’ आफ्नो पार्टी नभएको भनेपछि अब निर्वाचनमा मिलनलाई यही अभिव्यक्ति भारी पर्न सक्नेछ।
खासमा यहाँ मिलन र रास्वपाको मिलन हुन सकेको छैन। त्यसैले उनीहरूको मताधार पनि छुटिन सकेको छैन।
तर, पनि रास्वपाको देशव्यापी प्रभावका कारण पहिलाभन्दा बढी मत यहाँ घण्टीमा खस्न सक्नेछ।
यस हिसाबले हेर्दा रास्वपा वा स्वतन्त्रमध्ये कसैले पनि आफ्नोतिर लहर पैदा गर्न सकेको देखिएन। केही हदसम्म थेगिमका पक्षमा चर्का नारा र प्रतिबद्ध कार्यकर्ता बढी देखिए। तर, उनीहरूका गतिविधि सीमित क्षेत्रमा थिए। सिंगो निर्वाचन क्षेत्रकै मतदातालाई प्रभावित पार्ने खालको उपस्थिति उनको पनि देखिएन।
इलाम २ को बढीमा २५ देखि ३० प्रतिशत मत रास्वपा र पहिचान पक्षधरमा बाँडिन सक्ने देखिएको छ।
रास्वपा र स्वतन्त्रले गरी १५ देखि २० हजार मतको क्षति पुराना दललाई गराउन सक्नेछन्।
पेचिलो बन्दै गएको इलाम–२ को निर्वाचनमा अन्ततः मुख्य प्रतिस्पर्धा पुरानै दलको हुने स्पष्ट देखिएको छ। तर, नयाँ उदाएको दल र पहिचानवादीको मुद्दाले प्रतिस्पर्धात्मक भोट भने कम हुने भएको छ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक कम मत खस्ने आकलन छ।
१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम–२ मा ६० प्रतिशत मत खस्ने अनुमान गर्दा कुल मत संख्या करिब ६९ हजार हुन सक्छ। अघिल्लो चुनावमा ३० हजार २० मत ल्याएर सुवास नेम्बाङले जित्दा निकटतम प्रतिद्वन्द्वी खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए।
अहिले रास्वपा र स्वतन्त्र उम्मेदवारले केही बढी मत काट्ने भएकाले जित्ने उम्मेदवारले २० देखि २५ हजार हाराहारी मत पाउन सक्छ।
यस्तोमा कांग्रेस–एमालेले आफ्नो संगठित र प्रतिबद्ध मतको सुरक्षालाई नै मुख्य रणनीति बनाएका छन्। कम्तीमा आफ्नो मत मुढा वा घण्टीतिर नजाओस् भन्ने उनीहरूको प्रयास देखिन्छ। त्यसपछि मात्र उनीहरू अर्काको मताधारमा घुस्ने रणनीतिमा छन्।
एमाले उम्मेदवार सुहाङ नम्र देखिन्छन्। उनले चुनावी तयारीको सुरुवातदेखि अहिलेसम्मै सभामा चर्को भाषण गरेका छैनन्। विवादबाट बच्न हरसम्भव प्रयास उनीसहित शीर्ष नेतृत्वबाटै भयो।
बुवाको प्रभावपूर्ण ‘विरासत’ रहेको यस क्षेत्रमा भएका विकासलाई उनले धेरै भइसकेको भनेर प्रचार पनि गरेका छैनन्। बरु, बुवाको सपनालाई आफूले पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार अन्तिम चुनावी सभामा पनि उनले सोही प्रतिबद्धता व्यक्त गरेका छन्, जसले सुहाङप्रति मतदाताको नकारात्मक भावना कमजोर हुँदै गएको छ।
कांग्रेस भने एमालेको जनजातिप्रति नकारात्मक भाष्य स्थापित गरेरै भए पनि भोट तान्ने प्रयास गरिरहेको छ।
यसअघि कोसी प्रदेश नामकरणका बेला प्रदेशभरिका १४ जना सभापतिले विज्ञप्ति निकालेका थिए। जसले पहिचान पक्षधरको भोट फकाएर कांग्रेसले आफूतिर तान्न सक्छ।
एमालेबाट भड्किएर पहिचानवादी पक्षतिर ढल्किएको तीनदेखि पाँच हजार मत तान्ने कांग्रेसको अन्तिम प्रयास सफल बने कांग्रेस–एमालेबीच ‘नेक टू नेक’ हुने सम्भावना छ।
एमाले र कांग्रेसपछिको स्थानका लागि रास्वपा र पहिचान पक्षधर थेगिम प्रतिस्पर्धामा देखिन्छन्। पछिल्लो दिनमा रास्वपापले पहिचान पक्षधरको विश्वास जित्न नसक्नु, सामाजिक सञ्जालमा आलोचना बढ्नु र एमाले–कांग्रेसको मताधार भत्काउन सक्ने गरी कुनै एजेन्डा स्थापित गर्न नसक्नुलगायत कारण मिलनलाई कठिन हुँदै गएको छ।
तस्बिरहरू : सरोज नेपाल
Shares
प्रतिक्रिया