राजनीति


इलाम–२ : ३ हजार ६ सय मत पाएका मिलनलाई देउमाईबाट मात्रै १६८२

इलाम–२ : ३ हजार ६ सय मत पाएका मिलनलाई देउमाईबाट मात्रै १६८२

नेपालखबर
बैशाख १७, २०८१ सोमबार २२:३२, काठमाडौँ

गत शनिबार भएको उपनिर्वाचनको मतगणना आउने क्रम जारी छ। इलाम क्षेत्र नम्बर २ मा पछिल्लो जानकारी अनुसार देउमाई नगरपालिकाको मतगणना सकिएको छ। 

देउमाई नगरपालिकामा ९ वटा वडा छन्। तीमध्ये ८ वटामा नेकपा एमाले पहिलो स्थानमा छ। 

वडा नम्बर ६ मा भने नेपाली कांग्रेसले ल्याएको मत धेर देखिन्छ। यो वडामा एमालेका सुहाङ नेम्वाङले ६ सय १९ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले ६ सय २५ मत ल्याएका छन्। 

अन्यमा भने सुहाङले नै धेरै मत ल्याएका छन्। 

अन्य पालिकामा भन्दा देउमाईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूलाई धेरै भोट खसेको देखिन्छ। 

अहिलेसम्म लगभग ३ हजार ६ सय ९ मात्रै मत ल्याएका लिम्बूले देउमाईबाट मात्रै १ हजार ६ सय ८२ मत ल्याएका छन्। 

यसअघि गणना भएका फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली, माई लगायतका ठाउँमा भन्दा यहाँ घण्टीलाई केही बढी मत खसेको छ।

फाकफोकथुमका ७, चुलाचुलीका ६, माङसेबुङका ६ र माई ३ गरी २२ वटा वडामा ल्याएकै बराबरको मत मिलनले देउमाई एउटै पालिकाबाट पाएका छन्। 

देउमाईमा रास्वपाको चहलपहल बाक्लो थियो। मंगलबारेमा रास्वपाको कार्यालय नै स्थापना गरेर चुनावी अभियान चलाइएको थियो। 

कांग्रेस र माओवादी मिल्दा पनि त्यतिबेला देउमाईमा ठूलो मतान्तरसहित एमालेले गाउँपालिका अध्यक्षमा जित हात पारेको थियो। 

अहिले माओवादी एमालेतिर छ। सोही भएर पनि एमालेले यहाँबाट मतान्तर बढाउने बुझाई राखेको थियो। 

सोही अनुसार एमालेले पाएको मत हेर्दा उल्लेख्य देखिन्छ पनि। रास्वपाले यहाँ एमालेको संगठनको भोट काट्न सकेको देखिएन। यद्यपि अन्य पालिकाको तुलनामा देउमाईमा रास्वपाले केही बढी मत पाएको हो। 

यही पालिकामा पर्ने मंगलबारे बजारमा एमाले, रास्वपा, पहिचान पक्षधर, कांग्रेस लजगायतले सभा गरेका थिए। 

अहिले इलाम नगरपालिकाको मतगणना जारी छ। लगभग ५० हजार मतगणना हुँदा नेकपा एमालेका सुहाङ नेम्बाङले आफ्नो मतान्तर फराकिलो बनाएका छन्।

कूल १ लाख १५ हजार ८ सय ८९ मतादाता रहेको यो क्षेत्रमा ६९ हजार २ सय ८७ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए। 

फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, देउमाई, माईको ६,७,८ र इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा यो क्षेत्रमा पर्छन्। 

यहाँ १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .