समाज


मैवाखोलामा कक्षा ८ को परीक्षा : जाँचमा सहभागी १७८ जना, उत्तीर्ण भए केवल पाँचजना

मैवाखोलामा कक्षा ८ को परीक्षा : जाँचमा सहभागी १७८ जना, उत्तीर्ण भए केवल पाँचजना

फाइल तस्बिर


रासस
चैत २६, २०८० सोमबार १४:१७, काठमाडौँ

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँचजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी एक सय ७८ जनामध्ये पाँचजना मात्रै विद्यार्थी उत्तीर्ण भएका हुन्। 

गाउँपालिकामा ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का ती विद्यार्थी परीक्षामा सामेल थिए।

जसमध्ये चारवटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ।

शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुईवटा सामुदायिक विद्यालय रहेका छन्।

दुईवटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन्। आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।

उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ। 

'शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठूलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ, अध्यक्ष वनेमले भने, 'विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ।'

यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .