ad ad

समाज


कमाइको १० प्रतिशत बुवाआमाका लागि छुट्याउनुपर्छः मन्त्री चौधरी

कमाइको १० प्रतिशत बुवाआमाका लागि छुट्याउनुपर्छः मन्त्री चौधरी

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १६:१६, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत बुवाआमाका लागि खर्च गर्नुपर्ने बताएकी छन्।

सुनसरीको गढी गाउँपालिका-६, सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति छोराछोरीले बुवाआमाको खर्च बेहोर्ने बाध्यतात्मक व्यवस्था आवश्यक रहेको बताएकी हुन्।

'ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो,' मन्त्री चौधरीको भनाइ थियो, 'अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्ना बुवाआमाका लागि खर्च गर्नुपर्छ।'

सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरिन्। 

त्यस्तै अपांगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको उनको धारणा थियो।

त्यस्तै कतिपय अपांगता भएका व्यक्तिको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन्।

राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको उनको भनाइ थियो।

देशैभरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न कतिपय कानुनमा परिवर्तन आवश्यक रहेको धारणा पनि उनले राखिन्।

यसैबीच मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरेकी छन्।

उनले सुनसरीको गढी गाउँपालिका-६, सत्तरझोडामा आयोजित एक कार्यक्रमका बीच १२० परिवारलाई झुल वितरण गरेकी हुन्।

गर्मी बढेपछि तराईमा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल वितरण गरिएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .