ad ad

खेल


एकै ओभरमा ६ छक्का हानेर नयाँ वर्षको सुरुवातमै दीपेन्द्रले दिलाएको खुसी

मोजाको बल बनाएर क्रिकेट खेल्ने दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने
एकै ओभरमा ६ छक्का हानेर नयाँ वर्षको सुरुवातमै दीपेन्द्रले दिलाएको खुसी

गोकुल जोशी
बैशाख १, २०८१ शनिबार २२:२७, कञ्चनपुर

वर्ष ०८० नेपाली क्रिकेटका लागि स्वर्णिम रह्यो। आईसीसी विश्वकपमा स्थान बनाउनुका साथै एसीसी प्रिमियर कपको उपाधि जित्यो। भारत र पाकिस्तानजस्ता क्रिकेटका हस्तीसँग प्रतिस्पर्धा गर्ने अवसर नेपाली क्रिकेट टोलीले पायो। 

त्यसबाहेक क्रिकेट खेलाडी पनि आफ्नो खेल कलाले चम्किन पुगे। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो अर्धशतक बनाउने दुर्लभ विश्वकीर्तिमान रचे। 

क्रिकेटमा चम्किएका उनै दीपेन्द्रले वर्ष ०८१ को सुरुआतमै कीर्तिमान बनाए। नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बने।विश्वका क्रिकेट हस्तीसँग नाम दर्ज गराउन सफल भए।

शनिबार एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्। ओमनमा जारी एसीसी टी–२० प्रिमियर कपमा दीपेन्द्रले कतारका मिडियम पेसर कम्रन खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गरेर इनिङ सकाए। 

२१ बलको सामना गरेका दीपेन्द्रले नेपालका लागि ६४ रनको योगदान गरे। २१० रनको योगफल तयार पारेको नेपालले कतारलाई ३२ रनले पराजित गर्दै वर्ष ०८१ को सुखद् सुरुवात गर्‍यो। 

दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गर्ने ५ औँ अन्तर्राष्ट्रिय खेलाडी बन्दै विश्व क्रिकेटका हस्तीसँग नाम दर्ज गराउन सफल भए। भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकप र वेस्ट इन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ के टी–२० आई सिरिजमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए।

यस्तै, दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले सन् २००७ को एक दिवसीय विश्वकप र अमेरिकाका जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआईमा एकै ओभरमा ६ छक्का प्रहार गरेको रेकर्ड छ।

गत वर्ष ०८० (सेप्टेम्बर)मा दीपेन्द्रले मंगोलियाविरुद्धको टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए। त्यसबेला दीपेन्द्रले ९ बलमै ५० रन पूरा गरेर विश्वकीर्तिमान बनाएका थिए।

कठिन संघर्षका बीच सुदूरपश्चिमबाट उदाएका क्रिकेटर दीपेन्द्र अहिले नेपाली टोलीका एक भरपर्दा खम्बा भइसकेका छन्। र, आफ्नो जादूमय क्रिकेट कलाले विश्वमाझ नेपाललाई चिनाउँदै छन्।

दीपेन्द्रको क्रिकेट लगाव
कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौरमा दीपेन्द्रको घर छ। दीपेन्द्र बिहानै ५-६ किलोमिटर हिँडेर क्रिकेट सिक्न महेन्द्रनगर खुलामञ्च र कबर्ड हल पुग्थे।

विसं २०५६ सालमा जन्मिएका दीपेन्द्रले कक्षा १० सम्मको पढाइ गाउँकै विद्यालयबाट गरेका थिए।

त्यसपछि उनले उच्च शिक्षा सनराइज कलेज, महेन्द्रनगरमा लिए। कलेज पढ्दै गर्दा उनी त्यहाँबाट विभिन्न ठाउँमा क्रिकेट खेल्न गए। त्यसै क्रममा प्रदर्शन गरेको जादुमयी क्रिकेट कलाले उनी राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए। 

‘ऊ (दीपेन्द्र) निकै मिहेनती थियो। उसमा क्रिकेटको जुनुन छ। त्यहीँ जुनुनले कति धेरै दुःखकष्ट छिचोल्दै आज ऊ यो स्थानमा पुगेको हो,’ १३ वर्ष कञ्चनपुरमा क्रिकेट प्रशिक्षण गराएका वीरेन्द्र शाही भन्छन्, ‘उसको आफ्नै तरिकाको खेल छ। क्रिकेटको जस्तो सुकै जिम्मेवारी पनि उसले सजिलै ह्याण्डल गर्न सक्छ।’

शाहीले दीपेन्द्रलाई प्रशिक्षण गरेका थिए। उनले करिब १३ वर्ष कञ्चनपुरमा क्रिकेट प्रशिक्षकको भूमिका निर्वाह गरे। उनै शाही अहिले क्रिकेट प्रशिक्षकका रूपमा कर्णाली प्रदेशमा छन्। 

‘त्यो खेल्ने पिच नै थिएन। सुरुमा मञ्चमा अभ्यास गराउँथ्यौँ। दीपेन्द्रको परिवारको अवस्था पनि खासै राम्रो थिएन,’ शाहीले भने, ‘दगुरेरै क्रिकेट अभ्यास गर्न आउथ्यो। विश्वमाझ देशलाई चिनाउँदा निकै हर्षित छु।’

उनका अनुसार, दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा आफूलाई प्रमाणित गरेका छन्। दीपेन्द्र सुरुमा पेस बल फाल्थे। पछि ढाडको समस्याले गर्दा बलिङमा चुनौती देखिएपछि उनी स्पिन बल फाल्न थालेका हुन। 

शाही भन्छन्, ‘उनी मजाले टिकेर पनि खेल्न सक्छन्। आक्रामक खेल्न पनि समस्या छैन।’

मोजाको बल, गह्रा नै मैदान
दीपेन्द्र सानैदेखि खेलकुदमा रुचि राख्थे। विद्यालयमा हुने हरेक खेलमा सहभागी भएर उनी प्रथम स्थान हासिल गर्थे। क्रिकेटमा लगाव धेरै थियो, उनको।

दीपेन्द्र ठाउँठाउँमा हुने क्रिकेट टुर्नामेन्ट खेल्न गइरहन्थे। गाउँमा क्रिकेट मैदान हुँदैनथे। बल पनि भेटाउन गाह्रो हुन्थ्यो। 

कहिले खेती भित्र्याएपछि खाली बनेका गह्रालाई मैदान बनाउँथे त कहिले खोला किनारका चौरलाई। बल नहुँदा मोजाभित्र भुस राखेर पनि क्रिकेट खेल्थे, दीपेन्द्र।

‘खेलमा सानैदेखि रुचि हो। गह्रा, खोला किनारमा मोजाको बल बनाएर क्रिकेट खेल्थ्यो,’ स्थानीय मनोज महराले भने। 

दीपेन्द्रसिंह ऐरीको महेन्द्रनगरस्थित घर

कीर्तिमानसम्म दीपेन्द्र
२४ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। त्यसअघि उनी उमेर समूहको नेपाली टोलीमा थिए। 

त्यहाँ उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका थिए। आईसीसी विश्वकप लिग च्याम्पियनसिपमा तत्कालीन कप्तान पारस खड्का घाइते भए। उनको विकल्पमा ऐरीले केन्याविरुद्धको खेलमा डेब्यू गरे।

अहिले उनै पारस नेपाल क्रिकेट संघ (क्यान) को सचिव निर्वाचित भएकै साता ऐरीले विश्व कीर्तिमान रचे।

अलराउन्डर ऐरी अहिले नेपाली क्रिकेट टोलीका बलिया खम्बाका रूपमा चिनिन्छन्। सन् २०१८ मा नेदरल्यान्डस्विरुद्धको खेलबाट उनले नेपाली टोलीबाट ओडीआईमा डेब्यु गरेका हुन्।

उनी नेपाल प्रहरीको क्रिकेट क्लबमा पनि आबद्ध छन्। दीपेन्द्रले फ्रेन्चाइज लिगसमेत खेल्ने अवसर पाएका छन्। 

खेलकुदप्रेमी परिवार
बुवा गगनसिंहका ४ छोरा र ४ छोरी गरेर ८ सन्तान छन्। तीमध्ये दीपेन्द्र साइँला हुन। उनी मध्यम वर्गीय परिवारको प्रतिनिधित्व गर्छन्। 

बुवा गगन वन विभागमा वन रक्षक पदमा काम गर्थे। विसं २०३३ सालमा जागिरे भएका उनी केही वर्षअघि निवृत्त भए। 

त्यति मात्रै होइन, गगनसिंह तेक्कान्दो र भलिबलका खेलाडी पनि हुन्। सशस्त्र प्रहरीमा जागिरे छोरी राजमती पनि क्रिकेट खेल्छिन्।दीपेन्द्रका जेठा दाइ रमेश र माइला भूपेन्द्र पनि क्रिकेट खेल्थे। जिल्लास्तरमा उनीहरूले क्रिकेट खेलेको थिए।  

भारतलाई हराएको त्यो खेल
नेपालले छिमेकी भारतलाई क्रिकेटमा अहिलेसम्म एकपटक मात्रै हराएको छ। १९ वर्षमुनिको टोलीले क्रिकेटको महारथी मानिने भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा ऐरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

उनी यू–१९ एसिया कप २०१७ को त्यो खेलमा नेपालका कप्तान थिए। सो खेलमा उनले भारतविरुद्ध ८८ रन बनाएका ‘म्यान अफ द म्याच’ बनेका थिए। 

नेपाली राष्ट्रिय टोलीमा तुलनात्मक रूपमा सुदूरपश्चिम क्षेत्रका खेलाडीको बाहुल्य छ। पर्याप्त खेल संरचना र खेलकुद प्रतियोगिताको अभावकै बीच उदाएका क्रिकेट खेलाडीले नेपाली क्रिकेटको उज्ज्वल भविष्य कोरिरहेका छन्।

अझै पनि सहर तथा ग्रामीण क्षेत्रमा थुप्रै नवप्रतिभावान् खेलाडी रहेकाले त्यस्ता खेलाडीलाई मूलधारमा ल्याउनुका साथै क्रिकेटको विकासका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा खेलप्रेमीको जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .