त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड महिला भलिबल क्लब काठमाडौँमा जारी सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा आर्मीलाई ३–१ को सेटमा हराउँदै डायमन्डले तेस्रो स्थान हासिल गरेको हो।
पहिलो सेट २६–२४ ले गुमाएको डायमन्ड त्यसपछिका तीन सेटमा विजय प्राप्त गर्दै तेस्रो भएको हो।
डायमन्डले दोस्रो सेट २५–२२, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो।
तेस्रो भएसँगै डायमन्डले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने भएको छ।
चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ पाउनेछ।
आजै हुने फाइनलमा साविक उपविजेता एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् भने विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया