ad ad

बागमती


निकुञ्जको जरायो सिकारमा मुछिए कांग्रेस सांसद खड्का, हुनसक्छ ६ महिना जेल

निकुञ्जको जरायो सिकारमा मुछिए कांग्रेस सांसद खड्का,  हुनसक्छ ६ महिना जेल

बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का। तस्बिर : नेपालखबर


सुनिता विष्ट
माघ २३, २०७९ सोमबार १२:६, हेटाैंडा

बागमती प्रदेशसभाका एकजना सांसद पर्सा राष्ट्रिय निकुञ्जको जरायो चोरी सिकारमा मुछिएका छन्। 

निकुञ्जको जरायो सिकार प्रकरणमा बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्कासहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरिसकेको छ।

गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा प्रवेश गरी भएको वन्यजन्तु सिकारबारे अनुसन्धान थालिएको थियो।

यो सिकार प्रकरणमा दुईजना प्रदेशसभा सदस्य र पर्साका एकजना गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जना मुछिएका हुन्। ती सबैजनालाई निकुञ्ज प्रशासनले कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय गरिसकेको छ।

बागमती प्रदेश सभा सदस्य खड्कालाई पनि वनजन्यु चोरी सिकारीमा दोषी ठहर गर्दै सजायको निर्णय भइसकेको छ।

जरायो सिकारमा संलग्न बागमती प्रदेशसभा सदस्य खड्का, मधेश प्रदेशसभा सदस्य प्रमोदकुमार जयसवाल, पर्साको सखुवापर्सौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल र सञ्जीव शाही निकुञ्जको वनजन्यु चोरी सिकारी घटनामा मतियार रहेको निष्कर्षसहित सजाय तोकिएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम उनीहरुलाई सजायको निर्णय भइसकेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले नेपालखबरलाई बताए। 

बागमती प्रदेशसभा सदस्य खड्काको हकमा आफ्नो नाममा दर्ता रहेको बन्दुक अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको निकुञ्जले ठहर गरेको छ। त्यही हतियारबाट निकुञ्जको वन्यजन्तु सिकार गरेको देखिएकाले हातहतियार खरखजाना ऐन, २०२९ बमोजिम थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ। 

निकुञ्जका सूचना अधिकारी खड्काका अनुसार बागमती प्रदेश सभा सदस्य खड्कालाई दोहोरो कारबाही हुने भएको छ।

यस्तो छ ऐन, के होला कारबाही? 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ मा सजाय उल्लेख गरिएको छ।

‘कसुर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानीजानी मद्दत दिएमा त्यस्तो मद्दत गर्ने मतियारलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ। तर गैँडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसुर गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजायसरह नै सजाय हुनेछ’, ऐनमा भनिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार प्रदेश सभा सदस्य खड्काले कसुरदारकोभन्दा आधा सजाय पाउने सूचना अधिकारी खड्काले बताए।

‘मुख्य कसुरदारलाई २० देखि ३० हजारसम्म जरिवाना र ६ महिना देखि १ वर्षसम्म जेल सजाय हुन्छ। त्यसको आधा अर्थात १० देखि १५ हजार जरिवानासहित ३ देखि ६ महिनासम्म जेल सजाय हुने छ,’ उनले भने।

यस्तै, हातहतियार खरखजाना ऐन, २०२९ बमोजिम थप कारबाहीका लागि सांसद खड्कालाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उनले जानकरी दिए। प्रहरीले मुद्दा दायर गरेर थप अनुसन्धानका लागि मुद्दा अदालतमा पठाउने उनी बताउँछन्।

निर्दोष छु : खड्का 
यता जरायो चोरी सिकार घटनामा मुछिएका साांसद खड्का आफू निर्दोष रहेको बताउँछन्। यसमा आफ्नो कुनै सग्लंनता नभएको बताउँदै कुनै पनि घटनामा नमुछिएको दाबी उनले गरेका छन्। 

‘मेरो घरमा राखेको बन्दुक कसैले चारेर दुरुपयोग गरेको हो, म त्यतिबेला काठमाडौं थिएँ’, उनले भने, ‘पर्साको ठकुवा पर्सौनी गाउँपालिका १ मा मेरो ८ बिघामा माछा र भैंसी फार्म छ। लाखौं माछापालन भइरहेको छ। ५० वटा भैंसी छन् फार्ममा। मसँग लाइसेन्सवाला बन्दुक थियो', उनले भने, 'सुरक्षाका लागि मैले मेरो कोठामा राख्ने गरेको थिएँ। धेरै समय काठमाडौं बस्ने भएकोले फार्म हेर्न तीनजना राखेको छु। तर उनीहरुले पनि बन्दुकबारे थाहै नभएको बताएका छन्। एकजना कर्मचारी प्रहरी थुनामै छ।’

प्रक्राउ परेका विशाल सहनीले भने कोठाबाट आफैँले बन्दुक झिकेर लगेको बयान दिएको सांसद खड्काले बताए। तर, आफ्नै घरको बन्दुक अरुको हातमा कसरी पुग्यो भन्ने आफूलाई थाहा नभएको बताएर खड्का पन्छिन खोजेको निकुञ्ज प्रशासन बताउँछ।

निलम्बन होलान् खड्का?
जरायो चोरी सिकारको अभियोग लागेका सांसद खड्का सांसद पदबाट निलम्बित हुन सक्ने कानुन व्यवसायी बताउँछन्।

‘यदी निकुञ्जको अभियोग ठहर भए उहाँलाई पक्राउ गर्न प्रदेश सभा सभामुखको सहमति लिनुपर्ने हुन्छ। पक्राउ परेपछि उहाँको पद निलम्बनमा रहन्छ। फौजदारी कसुर ठहर भएमात्रै सांसद पद जाने हो,’ मकवानपुरका कानुन व्यवसायी बालकृष्ण अधिकारीले भने।

खड्का गत मंसिर ४ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसबाट विजयी भएका हुन्।

नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलालाई पराजित गर्दै खड्का बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। 

खड्का ९ हजार ७३१ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी एमालेका निरौलाले ८ हजार ४०५ मत प्राप्त गरेका थिए।

निरौलासँग १३ सय २६ मतान्तरले विजयी भएर खड्का बागमती प्रदेश सभा सदस्य बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .