ad ad

बागमती


बजेटको आकार घटाएर ल्याउने तयारीमा बागमती सरकार

बजेटको आकार घटाएर ल्याउने तयारीमा बागमती सरकार

नेपालखबर
जेठ २१, २०८० आइतबार १४:४३, हेटाैँडा

बागमती प्रदेश सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेटको तयारीमा जुटेको छ। लक्ष्यअनुसार राजस्व परिचालन हुन नसकेको पृष्ठभूमिमा सानो आकारको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ।

विज्ञले भने कम लगानीमा बढी प्रतिफल दिने तथा अनुत्पादक र फजुल खर्च कटौती गर्ने बजेट ल्याउन सुझाव दिएका छन्।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ७० अर्ब ९ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको थियो। बजेट ठूलो आकारमा ल्याए पनि लक्ष्य अनुसार खर्च हुने सम्भावना नदेखेपछि आर्थिक मन्दीलाई मध्यनजर गर्ने भन्दै बजेटको आकार घटाउने तयारीमा लागेको बताइएको छ।

प्रदेश सरकारले वैशाख मसान्तसम्ममा कुल बजेटको १७ अर्ब ११ करोड ८ लाख रुपैयाँ मात्र खर्च भएको छ। चालु खर्च १२ अर्ब ६७ करोड ३७ लाख अर्थात ४७.१५ प्रतिशत र पुँजीगत खर्चतर्फ २९.८२ प्रतिशत अर्थात् १२ अर्ब ५४ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ।

बजेट खर्च न्यून रहेको बागमतीमा आगामी आर्थिक वर्षको लागि बजेटको आकार घटेर ल्याइने प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बताउँछन्। प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा तथा नयाँ व्यवसायी जन्माउने बजेट ल्याउने दाबी गरेका छन्।

यसपालि प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटको तुलनामा घटाएर ल्याउने योजना रहेको मुख्यमन्त्री जम्मकट्टेल बताउँछन्।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पनि बजेटको आकार घटेर आउने बताए। योजनाहरुको विस्तृत अध्ययन गरेर आर्थिक मन्दीलाई ध्यानमा राखेर प्रदेश सरकारले बजेट ल्याउने तयारीमा रहेको मन्त्री लामाको भनाई छ।

त्यसो त, लक्ष्यअनुसारको राजश्व संकलन नहुनु, पूँजीगत खर्च निराशाजनक हुनु, आर्थिक वृद्धि नकारात्मक हुनुजस्ता कारणले मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै अर्थविदले कम लगानीमा बढी प्रतिफल आउने बजेट ल्याउन सुझाव दिएका छन्।

फजुल र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर कार्यान्वयन गर्न सकिने बजेट ल्याउनुपर्ने अर्थविद्को सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .