ad ad

बागमती


समयमै कार्यविधि नबन्दा सञ्चालनमा आएन धुलो दूध कारखाना

समयमै कार्यविधि नबन्दा सञ्चालनमा आएन धुलो दूध कारखाना

तस्बिर : सुनिता विष्ट


सुनिता विष्ट
पुस २९, २०८० आइतबार १६:३९, हेटौंडा

बागमती प्रदेश सरकारले ४७ लाख रुपैयाँ खर्चिएर धुलो दूध कारखाना निर्माण गर्यो। किसानहरूले भोग्नुपर्ने मिल्क होलिडेको समस्या न्यूनीकरण गर्ने भन्दै राज्यकोष लगानीमा कारखानाको संरचना निर्माण पनि भयो। 

तर किसानहरू पछिल्लो केही हप्तादेखि अघोषित मिल्क होलिडेको मर्कामा छन्। प्रदेश सरकारले झण्डै ४ वर्ष लगाएर बनाएको कारखाना सञ्चालनमा ल्याउन कार्यविधि बनाउन नसक्दा राज्यकोषको लगानी खेर जाने अवस्था आएको छ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा निर्माण सुरु भएको पाउडर प्लान्ट केही साताअघि मात्रै तयार भएको छ। 

प्रदेशका किसानहरूको व्यग्र प्रतिक्षामा रहेको कारखाना जेनतेन वर्षौँपछि सम्पन्न भयो। कारखाना बनेपनि यसलाई सञ्चालनमा ल्याउन कार्यविधि नबन्दा यस्तो समस्या आएको प्रदेश दूग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्दव सापकोटा बताउँछन्। 

मन्त्रालयले आवश्यक कार्यविधि निर्माण गरेपछि कुनै संस्थालाई जिम्मा दिएर धुलो दूध कारखाना सञ्चालनमा ल्याइने उनले बताए। 

उनका अनुसार डिडिसीलाई केही बर्षको लागि ठेक्कामा लगाइने तयारी भइरहेको हो। जसका लागि आवश्यक कार्यविधि निर्माणकै चरणमा रहेको सापकोटाको भनाइ छ।  

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको उक्त पाउडर प्लान्ट एक वर्षभित्रै पूरा गर्ने सर्तमा इजी इन्फ्रा कम्पनीले ठेक्का लिएको थियो। 

तर कोरोना महामारी, लकडाउनजस्ता कारण देखाउँदै तेस्रो पटक म्याद थपेको कम्पनीले केही साताअघि मात्रै निर्माण सकाएको हो। 

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पौष १६ गते उक्त पाउडर प्लान्टको शिलान्यास गरेका थिए। 

एक वर्षभित्र काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सहमतिमा इजी इन्फ्रा कम्पनीले ठेक्का सम्झौता गरे पनि ठेक्का सम्झौतापछि कोरोना माहामारीले काममा बाधा पुर्‍याएको भन्दै तीन पटकसम्म म्याद थप्दै काम गरेको थियो। 

गत असोज महिनाको पहिलो हप्ताभित्रै पाउडर दूधको उत्पादन सुरु गर्ने लक्ष्य लिएकोमा केही ढिलाइ भएको स्वीकार गर्दै प्रदेश दूग्ध विकास बोर्ड बागमतीले अबको केही महिनामा थालिने जनाएको छ।

बागमती प्रदेश दुग्ध विकास बोर्डले उत्पादित दूध बिक्री नभएर खेर जाने तथा दूध बिक्रीका लागि किसानले भोगिरहेका समस्या समाधान गर्ने उद्देश्यले हेटौँडा–१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण अघि बढाएको थियो। 

उक्त प्लान्ट प्रदेश सरकारले बागमती मात्र नभएर गण्डकी, लुम्बिनी र मधेश प्रदेशलाई समेत लक्ष्य गरी निर्माण गरिएको हो। उक्त पाउडर प्लाट खुलेपछि किसानहरुले मिल्क होलिडेको चिन्ता हट्ने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटाको दाबी छ।

दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ। सो प्लान्टबाट बागमती प्रदेशसहित मधेश प्रदेशको बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने बोर्डको अनुमान छ।

पाउडर प्लान्टमा बागमतीका १३ जिल्ला सहित महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट समेत दूध आयात गर्ने लक्ष्य राखिएको छ। 

कम्पनीले ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरिएको प्लान्टको निर्माण ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। 

तर काम गर्दै जाँदा बजेट नपुगेको भन्दै हालसम्म ४७ करोड रुपैयाँ खर्च भएको प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .