ad ad

बागमती


चुरियामाई सुरुङमार्ग पुनर्निर्माण, सर्वसाधारणका लागि कहिले खुल्छ?

चुरियामाई सुरुङमार्ग पुनर्निर्माण, सर्वसाधारणका लागि कहिले खुल्छ?

सुनिता विष्ट
माघ ८, २०८० सोमबार १५:१, हेटाैँडा

मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुनर्निर्माण सकिएको छ। निर्माण कार्य सकिएसँगै अब छिट्टै सर्वसाधारणको अवलोकनका लागि खुल्ला हुने बताइएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण थालिएको झण्डै दुई वर्षमा सकिएको हो। सुरुङमार्ग पुनर्निर्माणको लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो।

राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणपछि अब वारपार गर्न सकिने भएको छ। तर अझै पनि अन्तिम चरणका केही काम भरहेकोे बताइएको छ।


ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो। त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेश भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए।

उनका अनुसार निर्माणको काम सकएि पनि केही छिटफुट कामहरू हाल पनि चलिरहेको छ।

निर्माण कार्य सकिएपछि पर्यटकीय तथा अनुसन्धानस्थल संरक्षणको जिम्मेवारी स्थानीय सरकारको हैसियतमा हेटौंडा उपमहानगरपालिकाले लिने भएको हो। उपमहानगरपालिकाले कार्यविधि बनाएर यसको जिम्मेवारी लिने छ।

ओझाले भने, ‘अब केही दिनमा नै स्थानीय तहलाई जिम्मा दिने तयारी भैरहेको छ। यसको औपचारिक  छलफल भएपछि स्थानीय तहले कार्यविधि तयार गरेर यसलाई सञ्चालन गर्छ।’


निर्देशनालयका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर तयार गरिएको थियो। तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो।

यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको बताइएको छ।

३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो। सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ देखाउँदै दुई पटक म्याद थपेर काम गरिएको हो।

सुरुमा सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो। तर मर्मत कार्य अन्तरगत सुरुङमार्गको भित्री पाटो तोकिएको समयमा छिचोल्नै बाँकी रहेपछि समय सीमा अन्तिम पटक भन्दै २०७९ पुससम्मको लागि थपिएको थियो, फेरि पनि सो समयसम्म काम नसकिएपछि तेस्रो पटक २०८० असार मसान्तसम्मको लागि म्याद थपिएको थियो।


सुरुङ साँघुरो भएको कारण मेसिन लैजान नमिलेपछि काम गर्न ६ महिना बढी लागेको ओझाले बताए।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको थियो, अहिले पछि सर्वसुलभ उपलब्ध हुने निर्माण सामग्रीहरू नै प्रयोग गरिएको छ। सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ। यसलाई अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए।

यस्तो छ इतिहास
सुरुङमार्ग भन्नासाथ सवारी ओहोरदोहोर गर्ने भन्ने बुझिन्छ, तर यो यस्तो सुरुङमार्ग हैन। यो सुरुङ मार्ग ऐतिहासिक हो, जहाँबाट २०२० सालसम्म सवारी नै आवतजात हुने गर्दथे।

यसैले यो सुरुङमार्ग पर्यटकीय र अध्ययनको थलो हो। चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो। नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए।

चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ। जसको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो।


माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङडम अफ नेपाल’मा पनि चर्चा गरेका छन्। उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन्।

राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो।

चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्गबाट सीधा मार्ग खनेर गाडी चलाइएको थियो। यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको तत्कालिन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे। काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो। त्यसैबीचमै यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो। २०७२ सालको भुकम्पले यसमा अझै बढी क्षति गराएपछि सुरुङमार्गको चर्चा सेलाउँदै गएको थियो।

त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको प्रदेश सरकारको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .