ad ad

बागमती


बागमतीमा नयाँ गठबन्धनलाई संकट, कांग्रेस नेतृत्वमा पनि बन्न सक्छ सरकार

बागमतीमा नयाँ गठबन्धनलाई संकट, कांग्रेस नेतृत्वमा पनि बन्न सक्छ सरकार

सुनिता विष्ट
फागुन २१, २०८० सोमबार २०:२७, हेटाैँडा

केन्द्रमा माओवादी-एमाले सहितको नयाँ गठबन्धन बन्दा यसको तरंग बागमती प्रदेशमा पनि परेको छ। केन्द्रको नयाँ सत्ता समीकरणले बागमती प्रदेशमा ‘ट्विष्ट’ ल्याउने देखिएको छ।

बागमतीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। जसमा माओवादी, कांग्रेस र एकीकृत समाजवादी सामेल छन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि बागमतीमा कांग्रेस र एकीकृत समाजवादी सत्ता बाहिर हुने स्थिती सिर्जना भएको छ।

अब सत्तामा रहेको कांग्रेस सत्तामै रहला कि विपक्षी बेन्चमा पुग्ला? भन्ने विषयको बहस सुरु भएको छ।

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो सरकार विस्तारका बेला तत्कालीन गठबन्धनमा माओवादी, एमाले र राप्रपा थिए। माओवादीको २१, एमालेको २७ र राप्रपाको १३ गरी ६१ सांसदको सरकारलाई समर्थन थियो। माओवादी नेता शालिकराम जम्मकट्टेलको नेतृत्वमा सरकार गठन भयो। तर, तत्कालीन गठबन्धन पनि धेरै समय टिकेन।

केन्द्रमा माओवादी, कांग्रेस र एकीकृत समाजवादी लगाएत दलको सहकार्यले सरकारबाट राप्रपा र एमाले बाहिरिए। त्यसपछि पुनः जम्मकट्टेलकै नेतृत्वमा माओवादी, कांग्रेस र एकीकृत समाजवादी मिलेर प्रदेश सरकार बनाइयो।

जसमा एमाले र राप्रपा बाहिरिएको मन्त्रालयमा एकीकृत समाजवादी र कांग्रेसले इन्ट्री पाए। भागबण्डा मिलाउनकै लागि रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री बनाइयो।

कांग्रेस नेतृत्वमा पनि बन्न सक्छ सरकार
बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस सत्ता बाहिर बस्ने कि प्रदेशमा नयाँ समीकरण तय गर्ने? भन्ने छलफलको चरणमा रहेको कांग्रेस नेता एवम् उद्योगमन्त्री रामकृष्ण चित्रकारले बताए।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नका लागि गृहकार्य सुरु गरेको चित्रकारको भनाइ छ।

‘हामीले अहिले नै आत्तिहाल्नु पर्ने स्थिती बनेको छैन। बागमतीको हकमा हामी लचिलो छौं, उनले भने, ‘सरकार बन्नका लागि दल मात्रै मिलेर हुँदैन। मिलेका दलसँग पुग्ने सिट नहुन पनि सक्छ। केन्द्रको छनक हेर्दै छौं। बागमतीमा के गर्ने भन्ने छलफल सुरु हुँदैछ।’

बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ। जसमा नेपाली कांग्रेसको मात्रै ३७ सिट छ। एमालेको २७ सिट छ भने माओवादीको २१ सिट छ। बागमती प्रदेश सरकारलाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ। केन्द्रको नयाँ गठबन्धन अनुसार माओवादी र एमाले मिले पनि दुई दलको ४८ सिट मात्रै हुन आउँछ।

यता, ३७ सिट भएको कांग्रेसले १९ सिट जुटाउन सके कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना समेत बलियो छ। का‌ंग्रेसले नेतृत्व पाए संसदीय दलका नेता बहादुर लामा मुख्यमन्त्री बन्नेछन्।

राप्रपाले कांग्रेससँग सहकार्य गरेको खण्डमा कांग्रेस नेतृत्वमै सरकार बन्न सक्ने सम्भावना बलियो छ। बागमतीमा सभामुख बाहेक राप्रपाको १२ सांसद छन्। कांग्रेसको ३७ र राप्रपाको १२ ले ४९ हुन आउँछ। राप्रपाका भुवन कुमार पाठकले प्रदेश सभाको नेतृत्व गरिरहेका छन्।

हाल केन्द्रको सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी ‘पर्ख र हेर’को अवस्थामा छ। यदी नेकपा एस एमाले माओवादीको गठबन्धनमा नमिसिएको खण्डमा बागमतीमा कांग्रेस नेतृत्वको सरकार गठन गर्ने अंकगणित पर्याप्त हुन्छ।

नेकपा एसको बागमतीमा ७ सांसद छन्। यसरी कांग्रेसको ३७, राप्रपाको १२ र एकीकृत समाजवादीको ७ गरी ५६ हुन्छ। ५६ सांसदको समर्थन रहे बागमतीमा कांग्रेस नेतृत्वको सरकार बन्न सक्छ।

सत्तामा जाँदैनौं : राप्रपा
कांग्रेस बागमतीका नेताहरुले सत्ता समीकरणको हिसाब किताब गरिरहँदा राप्रपा भने सत्ताको दौडमा नरहेको बताउँछ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले राप्रपा सत्ता समीकरणको जोडघटाउमा नरहेको बताए।

‘हामीलाई त जनताले सडकबाट मात्रै होइन सदनबाट संघीयताको विरोध गर भनेर सदनमा पठाएका हुन्’ उनले भने, ‘जसका कारण हामी यो राजनीतिक समीकरणको जोड घटाउमा छैनौं। हाम्रो त संघीयता खारेजीको माग गर्दै आन्दोलनको घोषणा भएको छ।’

यदी, कांग्रेस नेतृत्वमा सरकार गठन गर्न राप्रपालाई प्रस्ताव आयो भने? नेपालखबरको यो प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘पहिले त हामी पनि एक पटक सरकारमा गएका हौं। तर अब त्यस्तो हुँदैन।’

उनले थपे, ‘कांग्रेस वा एमाले अथवा माओवादी जुनै दलले प्रस्ताव बोकेर आएछन् भने पनि हामी दौरा सुरुवाल लगाएर मन्त्रीको शपथ खान जादैनौं। कुरा स्पष्ट छ। हामी प्रदेश खारेजीको मुद्दामा छौं।’

नयाँ गठबन्धनलाई संकट
बागमतीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादी गठबन्धनलाई संकट पर्ने देखिन्छ। बहुमत पुर्याउन कुनै न कुनै दलसँग सहकार्य गर्नैपर्ने बाध्यता छ। राप्रपा एमाले–माओवादी सरकारमा इन्ट्रि नभएको अवस्थामा बागमतीमा कुन दलसँग मिलेर सरकार गठन गर्ने भन्ने दुविधा उत्पन्न हुने प्रष्ट छ।

एमालेको २७ र माओवादीको २१ सिट रहेकोमा यी दुई दल मिल्दा पनि ४८ मात्रै हुन्छ। यो गठबन्धनलाई एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले साथ दिए भने सरकार गठन हुन सक्छ। नेकपा एसको ७ र हानेपाको २ सांसद जोड्दा ५७ हुन आउँछ। जुन संख्या सरकार गठनका लागि बहुमत हो।

बागमतीमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठन हुँदा माओवादी बागमती प्रदेश संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नै निरन्तरता पाउने सम्भावना रहेको माओवादीका एक सांसदले बताए।

यता, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया पनि नयाँ गठबन्धनको मुख्यमन्त्री बन्न लबिङमा जुटिसकेको एमाले स्रोत बताउँछ।

अघिल्लो पटक पनि माओवादी नेतृत्वमै प्रदेश सरकार गठन गरेको एमालेले यो पटक आफ्नै नेतृत्वमा अघि बढ्ने मनस्थितीमा छ। यद्यपी, केन्द्रको निर्देशन अनुसार नै अघि बढ्ने नेताहरु बताउँछन्।

तर, सत्ता समीकरणमा नेकपा एस नमिसिएको खण्डमा नयाँ गठबन्धनलाई संकट पर्ने स्पष्ट छ।

बागमतीमा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र २१, नेपाली कांग्रेस ३७, नेकपा एकीकृत समाजवादी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी १२, नेपाल मजदुर किसान पार्टी नेमकिपा २ र हाम्रो नेपाली पार्टी हानेपा २ जनाको प्रतिनिधित्व छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .