हङकङले गुमाएको ‘वन म्यान आर्मी’, जोसँग गुन्डा पनि थुरथुर हुन्थे

हङकङले गुमाएको ‘वन म्यान आर्मी’, जोसँग गुन्डा पनि थुरथुर हुन्थे

जेवी पुन मगर
कात्तिक १०, २०७८ बुधबार १७:७, काठमाडौँ

२३ सेप्टेम्बर २०२१
रातको चकमन्नता चिर्दै बजेको म्यासेन्जरको एकोहोरो रिङटोनले निद्रा खल्बल्यायो। घडी हेरेँ। ७ असोज (२३ सेप्टेम्बर) डुब्दै रहेछ। घडीको सुई ११:२० बाट ओरोलो लाग्दै थियो। मध्यरातमा ‘बेहिचक’ यसरी निद्रा खलबल्याउने धृष्टता (आकस्मिकबाहेक) गर्ने पात्र एक जना मात्र थियो। नभन्दै उही रहेछ– किसन राई।

‘निद्रा त खल्बल्याइदिइनँ नि है’, भन्दै ऊ हङकङको अढाई बजे ५ अक्टोबरमा नेपाल आई ‘नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति’को विधिवत् घोषणा गर्ने योजना सुनाइरहेको थियो। अमेरिका निवासी मनबहादुर राना र उसले तयार पारेको अवधारणापत्र एकसरो पढेर सुझाव दिन आग्रह गरिरहेको थियो। 

नयाँ काममा हात हाल्दा बिछट्टै रमाउने किसन यसपालि पनि नयाँ योजना सफल पार्न भगीरथ प्रयत्न गरिरहेको देखिन्थ्यो। 

२० वर्षदेखि हङकङमा बसेर निरन्तर एभरेस्ट (कुनै बेला दैनिक, पछि साप्ताहिक, अहिले मासिक र अनलाइन पनि) प्रकाशनमा खटिरहेको ‘वन म्यान आर्मी‘ राईसँगको पेसागत लगाव अजिबको थियो– न म उसलाई नकार्न सक्थेँ, न उसले मेरो अवज्ञा गर्न सक्थ्यो। भोलिपल्ट पढेँ। लेखाइमा किसन शैलीको आक्रामकता थियो।

आदिवासी जनजाति महासंघको नेतृत्वप्रति असन्तुष्टि उतारिएको अवधारणापत्रमा ‘विद्रोहीपना’ बढी थियो। यस्तो कडा लेखाइले अर्काे पक्षलाई बिच्क्याउने भएकाले ‘टोनडाउन’ गर्न सुझाव दिएँ। विवादास्पद विषयमा लेख्दा र खोजमूलक समाचार सम्पादन गर्दा ऊ जहिल्यै मलाई रातबिरात फोन गर्थ्यो। र, त्यहीमाथि लामो छलफल गर्थ्यो। लेखिसकेर हेर्न पठाउँथ्यो। पत्रकारिताका जटिलता जान्न/बुझ्न उसले देखाउने चाह उत्साहवद्र्धक हुन्थ्यो। उसको उत्साह मलाई गज्जब लाग्थ्यो।  

मान्छे असाध्यै ज्याद्रो र लापरबाह थियो। आधा दर्जन संस्थाको नेतृत्वको भारी काँधमा बोक्थ्यो। त्यतिले पनि नपुगेर उत्तिकै संख्यामा सल्लाहकारको बोझ पनि उठाएर हङकङमा कहिले जोर्डन, कहिले युमातेई दौडधुप गरिरहेको हुन्थ्यो। ​

जनजाति समुदायका महावाणिज्यदूत हङकङ ल्याउन जनजाति महासंघले वर्षाैंदेखि गरिरहेको आन्दोलनको पछिल्लो नेतृत्व उसैले गरेको थियो। अघिल्लोचोटि आउँदा उसैको पहलमा तत्कालीन प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रलाई मनाएर जनजाति महावाणिज्यदूत हङकङ लान सम्भव भएको थियो। त्यसका लागि उसले निकै दौडधुप गरेको थियो। यसलाई उसले ठूलो सफलता मानेको थियो।

हङकङे नेपालीलाई सुपथ मूल्यमा पम्प्लेट, पोस्टर बनाई ‘होम डेलिभरी सर्भिस’ दिने किसन रातभर खटेर पत्रिका निकाल्थ्यो र आफैं पांग्रे झोलामा गुडाउँदै सारा नेपाली पसलमा छाडेर युङलोङस्थित बासस्थान (डेरा) फर्किन्थ्यो। यति गरिसक्दा मध्यरात भइसक्थ्यो। सबै काम  एक्लै फत्ते गर्थ्याे। त्यसैले हङकङमा ऊ ‘वन म्यान आर्मी’ नामले चर्चित थियो। साथै उसले सबैबाट ‘वरिष्ठ’को उपाधि पनि पाएको थियो। 

यतिले पनि उसको प्यास मेन्टिथेन। नेपालबाट घागडान भनिएका साहित्यकार, गायक, संगीतकार, चलचित्र कलाकार, नाटककार डाकेर चौबिसघण्टे भागदौड कर्मले थाकेका नेपाली समुदायलाई बौद्धिक र सांगीतिक वातावरण मिलाइदिन्थ्यो। सामुदायिक र राजनीतिक नेताहरूलाई भेला गराएर समाजसँग अन्तरक्रिया गराइदिन्थ्यो। हङकङ पुगेका कलाकार, साहित्यकार, नेतामध्ये धेरैजसो किसनको ‘स्पन्सर’मा त्यहाँ पुगेका हुन् भन्दा पनि हुन्छ। ऊ औसत नेपालीले झैं डलर आउने नोकरी गर्थेन हङकङमा। र, पनि ऊ कहिल्यै फुर्सदिलो भएन। रातभर काम गर्ने र दिउँसो १ बजेसम्म सुत्ने किसनको दिनचर्या मलाई ठीक लाग्थेन। मुखैमा प्वाक्क भन्दिन्थेँ–  ‘स्वास्थ्यको ख्याल गर। तिमी सुत्यासुत्यै भए कल्ले सम्हाल्छ तिम्रो यत्रो साम्राज्य?’

यो सदिच्छा सन् २०१० मा एभरेस्टको दसौं वार्षिकोत्सव समारोहमा वरिष्ठ साहित्यकार वैरागी काइँलाकै सम्मुख उसलाई चसक्क बिझाउनेगरी नै व्यक्त गरिदिएको थिएँ। तर उसले मेरो कटाक्ष सुझावलाई सहज रूपमा लिँदै आफ्नो चिरपरिचित शैलीमा त्यो सार्वजनिक सभामा बोलेको सम्झिन्छु–  ‘हङकङको जंगलमा म एक्लो बाघ थिएँ। जेबी हङकङ आएपछि मलाई पनि खबरदारी गर्ने शेर आएको ठानेको छु। अब म सुध्रिन्छु कि!’ 

हुन पनि उसको अव्यवस्थित दिनचर्याले असर देखाउन थालिसकेको थियो। चढ्दो उमेरसँगै शरीरमा बढ्दै गइरहेको चर्बीले उसमा स्वास्थ्य समस्या देखिन थालेको थियो। ऊ मलाई घरिघरी डाक्टरले तौल घटाउन दिएको सुझाव र चेतावनी सुनाइ बस्थ्यो। मचाहिँ हरदम सम्भव भएसम्म आफूले अंगीकार गरेको जीवनशैली पछ्याउन सल्लाह दिन्थेँ। दुई वर्षयता उसको दिनचर्या बदलिएको पनि थियो। 

मैले हङकङमा संगत गरेको किसन र ३ वर्षअघि हङकङमै छाडेर आएको किसनमा असंगत परिवर्तन महसुस गरिरहेको थिएँ। हाइकिङ जाने, निद्रा पुर्याउने, रक्सी कम लिने र धेरै सामाजिक बोझ बोकेर भागदौड नगर्ने समयतालिका अपनाउने प्रयत्न गरिरहेको थियो। ऊ बिस्तारै आफ्नो काँधबाट जिम्मेवारीको बोझ पनि घटाउँदै थियो। ऊ आफूलाई विशुद्ध पत्रकार ठान्थ्यो। तर सामाजिक र राजनीतिक दायित्वबाट मुक्त हुन सकिरहेको थिएन। धरानमा अखिल (तत्काली नेकपा माले) को राजनीतिबाट दीक्षित किसन कुनै बेला हङकङमा एमालेको बलियो खम्बा बनेको थियो। पछिल्लो समय पहिचानको आन्दोलनतर्फ लहसिएको उसले समाजवादी पार्टीको नेतृत्वसमेत सम्हालिरहेको थियो। ऊ यी सबै भारीबाट हलुका हुन खोजिरहेको थियो।

५ अक्टोबर २०२१
कोरोना महामारीका कारण ऊसँग सशरीर भेट नभएको पनि २ वर्ष भइसकेछ। गत वर्ष छोराहरूको ‘सेटलमेन्ट’का लागि भन्दै किसनले धरानको केही जग्गा बेचेर हङकङमा एउटा फ्ल्याट किनेको थियो। तर बेचेको जग्गाको नामसारी गर्न नेपाल आउने तयारी गरेको ऊ लकडाउनका कारण उतै रोकिएको थियो। धरानमा राम्रै सम्पत्ति भए तापनि दुई छोराको पठनपाठन र आफ्नो जीविकाका लागि हङकङमा श्रीमतीले सौन्दर्य पसल चलाएर गरेको योगदानको ऊ सधैं सम्मान र प्रशंसा गरिरहन्थ्यो। त्यसैले ऊ अब २२ वर्षको हङकङ बसाइ छोट्याएर नेपाल फर्किने योजनामा थियो। म्यासेन्जरमा सधैं सुनाइरहने यो योजना ५ अक्टोबरका दिन हङकङ विमानस्थलबाट कल गर्दा पनि भन्न छुटाएन। 

अक्टोबर ५, झन्डै मध्यराति (१०:१३ बजे) फेरि म्यासेन्जर करायो। उताबाट किसन बोल्दै थियो– ‘म हङकङबाट झरेर साथीहरूसँग उपल्लो मुस्ताङतिर उक्लिएको छु। काठमाडौं फर्किएपछि भेटुम् है।’ 

मलाई अन्नपूर्ण बेसक्याम्प जान ‘गो प्रो’को २५६ जीबी बराबरका दुइटा एसडी कार्ड ल्याइदिएकाले पनि त्यसअघि नै उसलाई भेट्नैपर्ने थियो। 

१२ अक्टोबर ऊ काठमाडौं फर्कियो। भोलिपल्ट दिउँसो ३ बजे उसलाई लाजिम्पाटस्थित अधिवक्ता प्रेम राईको घर अगाडिबाट ‘पिकअप’ गरी लाग्यौं– वसन्त थापा (वरिष्ठ लेखक) दाइको घर सामाखुसीतर्फ।

अरू हङकङे लाहुरे आफ्ना सरसामानले भरिएका लगेज बोकेर सुटुक्क आउँछन्, फर्किन्छन्, तर किसन आफ्ना साथीसंगीका निम्ति झोलाभरि गच्छेअनुरूप पाहुर बोकेर घरदैलो चहारिरहेको थियो। वसन्त दाइलाई उसले ल्याइदिएको ब्ल्याक लेबलको ‘स्पेसन एडिसन’ बोतल बोकेर हामी दाइ–भाउजुको स्वागत लिइरहेका थियौं। 

करिब डेढ घण्टाको बसाइमा उसले मुक्तकंठले नेपालको सौन्दर्यको प्रशंसा गरिरहेको थियो। धरानमा हुर्किएको र उर्वर जोवन कहिल्यै रात नपर्ने कंक्रिटको जंगल हङकङमा बिताएको उसलाई उपल्लो मुस्ताङको सौन्दर्यले निकै मोहित बनाएको बुझ्न सकिन्थ्यो। किसनले जिस्किँदै परिवारले ‘नेपालमा कोरोना छ नजाऊ’ भन्दाभन्दै अटेरी गरेर आएको पनि फाइदै भएछ, झण्डै स्वर्ग नदेखी मरिएछ’ भन्न नभ्याउँदै मेरो मुखबाट हाँसोहाँसोमै फुत्त निस्किएछ– ‘हुङहोमको मसिनमा जल्नुभन्दा आफ्नै जन्मभूमिमा लडेर मरे पनि केही छैन। मोक्ष प्राप्ति हुन्छ।’ 

त्यसमाथि हास्यचेतका खानी वसन्त दाइको टुच्च थियो– ‘भाइको इन्स्योरेन्स होला नि त?’ 

त्यसपछि हामी चार जना केही बेर हाँस्यौं। कसलाई के थाहा, त्यो मजाक भद्दा यथार्थमा परिणत हुन्छ भनेर! 

दसैंलगत्तै आयोजना गरिने जनजाति सम्मेलन सकाएपछि किसन धरान गएर फर्किने र म एबीसीबाट फर्किएपछि एकरात ‘जम्नेगरी’ वसन्त दाइले दिएको निमन्त्रणा स्वीकार्दै हामी त्यहाँबाट बिदा भएका थियौं। कसलाई के थाहा, त्यो ‘जमाइ’ कहिल्यै नफर्किने समय चक्रमा फसिसकेको छ!

२५ अक्टोबर २०२१
एकाबिहानै (७:३ बजे) हङकङबाट मित्र मिलन गुरुङले म्यासेन्जरमा ‘के हो साथी किसन त भीरबाट लडेर गयो रे नि’ भन्दा छाँगाबाट खसेजस्तै भएँ। खबर अपुष्ट र अधुरो थियो। मैले तत्काल पूर्वी जिल्लामा खटिएका भएभरका पत्रकार साथीसँग बुझ्न खोजेँ। दुर्घटनाबारे कसैलाई केही थाहा थिएन। फेरि हङकङमै किसनका अभिन्न मित्र इन्द्र वनेमसँग कुरा हुँदा थाहा भो– अति अप्रिय घटना साँचो पो रहेछ!

२४ अक्टोबर साँझ ५ बजे नै भीरबाट चिप्लिएर घटनास्थलमै प्राण त्याग गरेको खबर हङकङ पुगिसकेको रहेछ। सुनेर मन ढक्क फुल्यो। वसन्त दाइलाई फोन गरेँ, उठेन। हङकङ छाडी नेपालमा व्यवसाय गरिरहेका मित्र सन्तोष राईलाई कल गरेँ। त्यता पनि कुरा हुन सकेन। १३ अक्टोबरमा याक एन्ड यति होटलको रेस्टुरेन्टमा किसन, म, सन्तोष र एक जना कतारमा व्यवसाय गरिरहेका नेपाली युवकसँगको ब्रेकफास्ट बैठकपछि किसनलाई सन्तोषले उसको बासस्थानमा छाड्ने भएपछि ‘फेरि भेट्ने वाचा’सहित हामी त्यहाँबाट छुट्टिएका थियौं। 

एकछिनमा वसन्त दाइको फोन आयो। मैले बेलिविस्तार लगाएँ। उता एकछिन सुनसान भो। दाइ पनि स्तब्ध भएछन्। भन्दै थिए– ‘म त तिमी एबीसीबाट फर्किएछौ। अब किसनलाई पनि कल गर्छु र भेटघाटको समय फिक्स्ड गर्छु भनेको, कस्तो नराम्रो खबर सुनायौ है भाइ बिहानबिहान!’

दाइले हामी चारबीच चलेको ‘मृत्यु मजाक’ को प्रसंग पनि उप्काए– ‘त्यस दिन बेकारमा मजाक गरिएछ यार!’

मैले माथि नै उल्लेख गरिसकेँ। पछिल्लो समय किसनमा परिवर्तन देखिँदै थियो। यसपालि काठमाडौंको अन्तिम भेटमा उसले आफ्ना योजना विस्तारमा बताएको थियो। उसले छोराहरूलाई हङकङमा बसोबासको व्यवस्था मिलाइदिइसकेको थियो। आमालाई उतै लगेर बुहारी र नातिसँग राखिदिएको थियो। गत साल हङकङ र यसपालि नेपाल सरकारबाट पाएका पदकले आफूले वर्षाैंदेखि नेपाली समाज र भाषाका लागि गरेको मेहनत सफल भएको उसको विश्लेषण थियो।

आफूले गर्नुपर्ने र चाहेका सबै काम गर्न सकेकामा ऊ निकै पुलकित देखिन्थ्यो। यसपालि ऊ धित मरुन्जेल नेपालको सौन्दर्य नियालेर तिहारपछि मात्र हङकङ फर्किने योजनामा थियो। त्यसैले उसले बनाएको यात्रातालिका कम समयभित्र बढी दर्शन गराउने खालको थियो। यसैले उपल्लो मुस्ताङ र घान्द्रुक डुलेर केही दिनको अन्तरालमै ऊ पुर्ख्यौली थलो ओखलढुंगा हानिएको थियो।

काठमाडौंमा एउटा घर बनाउने र यतै बस्ने योजनामा रहेको किसन यहाँ राजनीति गर्ने वा पत्रकारिता, निश्चित गर्न खोजिरहेको थियो। ऊ नेपाल फर्किन्थ्यो कि फर्किन्थेन, तर उसलाई जन्मभूमिको माटोले बिछट्टै लोभ्याइसकेको थियो।

किसनसँग मेरो पेसागत सहकार्य सन् २००८ ताका काठमाडौंमा छँदादेखि नै सुरु भएको हो। त्यसबखत म हिमाल खबरपत्रिकाको समाचार सम्पादकको भूमिकामा थिएँ। उसको विशेष आग्रहमा उसकै प्रकाशन र सम्पादनमा निस्किने एभरेस्ट साप्ताहिकमा मैले राजनीतिक टिप्पणी/विश्लेषण लेखिरहेको थिएँ। तर ऊसँग सशरीर भेटघाट भएको थिएन।

हङकङ पुगेपछि उसलाई राम्ररी चिन्ने मौका मिल्यो। कसैलाई नटेर्ने, कसैका कुरा नसुन्ने, आफूलाई मन लागेका काम धक नमानी गर्ने र लेखिहाल्ने किसन हङकङे नेपाली समाजको यस्तो विद्रोही पात्र थियो, जसको सबैसँग सहकार्य त थियो, तर ऊ कसैको ‘आफ्नो’ थिएन। नितान्त  एक्लो थियो। जुन मेरो चरित्रसँग मेल खान्थ्यो। त्यसैले होला– उसको र मेरो सहकार्य गाढा हुन सम्भव भएको थियो। 

हङकङमा केही यस्ता ‘गुन्डा’ थिए/छन्, जो स्वजनले रातदिन पसिना बगाई कमाएको पैसामा आँखा गाड्छन् र निर्लज्ज ‘हप्ता’ असुल्छन्। त्यस्ता गुन्डाका निम्ति किसन आतंकको पर्याय थियो। उसको कलम मात्र चल्थेन, ‘वरिष्ठ’ कतिसम्म निडर थियो भने ती गुन्डाले च्यालेन्ज गरी बोलाएको थलोमा एक्लै गएर छाती थापेर अक्क न बक्क पारिदिन्थ्यो। तिनका घरघरमा गई ललकार्ने ‘धृष्टता’ गर्थ्याे। सामाजिक र राजनीतिक आवरणमा छिपेका ती गुन्डाका बदमासीबारे निर्भिकताका साथ समाचार लेख्थ्यो। ती गुन्डा, किसन देख्नासाथ मुख लुकाउँदै बाटो छलेर हिँड्थे। यस्तो ज्याद्रो थियो किसन। त्यसैले हङकङमा किसनका शुभचिन्तक मात्र थिएनन्, शत्रु पनि उत्तिकै थिए। 

एउटा घटनामा म पनि जोडिएकाले यहाँ  चर्चा गर्नु सान्दर्भिक नै होला। चार वर्षअघि नेपाली कांग्रेस र तमू संस्थाको आडमा गुन्डागर्दी गरिरहेका कोमल गुरुङविरुद्ध किसनले लेखेको समाचार अदालत पुग्यो। किसनसहित विक्रम गुरुङ र तुलसी रानालगायत सञ्चारकर्मीहरूलाई समेत मुछेर निकै अप्ठेरोमा पार्नेगरी मानहानिको मुद्दा दर्ता गरियो। तिनलाई झूटा आरोप लगाई फसाउन खोजिएको थियो। त्यसबखत अदालतमा विचाराधीन भए पनि ‘रिस्क’ लिएर मैले किसनसहित यी सहधर्मीका पक्षमा नेपालखबरमा गरेको रिपोर्टिङका कारण हङकङे नेपाली समाजले कोमलहरूले सञ्चारकर्मीलाई फसाउन गरेको तिगडम पत्तो पाएको थियो।

त्यसपछि सञ्चारकर्मीका पक्षमा समग्र नेपाली समाज उभियो र तिनलाई सामाजिक बहिष्कार गर्यो। त्यतिबेला किसनका पक्षमा लागेको झोंकमा कोमलले महावीर पुनलगायत हङकङका सामाजिक अभियन्तासामु विमानस्थलमा मलाई आक्रमण गर्ने दुष्प्रयाससमेत गरेको थियो। 

साहसी, निडर, निष्कपट र आफ्नो मिसनमा प्रस्ट किसनजस्तो ‘वन म्यान आर्मी’ हङकङे नेपाली समाजमा तत्काललाई अर्काे देखिएको छैन। कोही जन्मेलाजस्तो पनि लाग्दैन। त्यसैले किसनले छाडेर गइसकेपछि हङकङे नेपाली समाजले त्यस्तो सतिसाल अभिभावक गुमाएको छ, जसको पूर्ति अहिलेलाई सम्भव देखिँदैन। 

किसनको अवसानले हङकङले मात्र होइन, विदेशमा नेपाली भाषामा उसले गरेको योगदानका हिसाबले नेपालले समेत एउटा गतिलो सद्भावना दूत गुमाएको छ। व्यक्तिगत रूपमा मैले एउटा ज्याद्रो सद्भाव दोस्त गुमाएको छु।

मलाई स्वर्ग, नर्क तथा पुनर्जन्ममा विश्वास नभएकाले ‘बैकुण्ठबास’ को कामना त गर्न सक्दिनँ, तर यति निर्धक्क भन्न सक्छु– ऊ जसरी समकालीन हङकङे नेपालीको मनमष्तिष्कमा जीवन्त रहिरहनेछ, त्यसरी नै मेरो स्मृतिमा पनि सदा बाँचिरहनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .