गुराँसको राजधानी गुफापोखरी पुग्दा

गुराँसको राजधानी गुफापोखरी पुग्दा

दाजु गुरुङ
साउन १२, २०७९ बिहिबार ८:२९, हङकङ

‘नेपाली गीत बजाउ न भाइ!’

‘अरू त हिन्दी गीत बजाऊ भन्छन्।’

‘होला, आज चाहिँ नेपाली गीत घन्कियोस् न बाटाभरि।’

गाडी चढेपछिको पहिलो संवाद चालक भाइसँग। नेपाली गीत बजाऊ भन्दा उनले पुलुक्क मतिर हेरे, अनुहार कुच्याएर। हिन्दी गीत नबजाउनु, नसुन्ने भनेको होइन तर यात्रामा नेपाली गीत नै मन पर्छ।

बिहान ०८.१५ तिर घर आइपुग्छ बोलेरो जिप, भनेको समयभन्दा केही ढिलो गरेर। पर्खाइमा थियौँ, चढ्यौँ जसबहादुर काका र म। हुँपिखोप हुँदै मूलखर्क पुगेपछि थपिए परशु देवान र भीमकली गुरुङ। तेर्सियौँ आहालेतिर। गाडीको पछिल्लो सिटमा अघिदेखि एक जना महिला बसेकी रहिछन् मंगलबारे जाने भनेर। बन्दोबस्त मेरो, कसरी चढ्छन् अपरिचित मान्छे? नसोचेको होइन स्वार्थी मनले। तर, नियमित सवारी साधन नभएको पहाडी बाटोमा यो स्वाभाविक हो। सबैलाई हिँड्नुपर्ने बाध्यता। साधन नियमित नभएपछि या त यसरी नै रिजर्भ खोज्नुपर्यो, या बाटामा भेटिएकाहरुसँग लिफ्ट माग्नुपर्यो। 

कुनै कालखण्डमा यस्ता बाटो कति हिँडियो कति। घाँसदाउरा, मेलापात गर्न कति तरिए खोलानालाहरु। कति दौडिए भिरपहरा। कत्ति पनि थाकिँदैनथ्यो। 

आहालेमा रोकियौँ चन्द्र घोण्डे सरलाई उठाउन। बाटोमाथि घर। गाडी किनार लगाए चालक भाइले। नयाँ घरहरू थपिने क्रममा र केही थपिसकेको देखिन्छ बाटोवरपर। विस्तारै सानो बजारको आकार लिन खोजेको। सबै जना दौडिँदै उक्लिए उनको घरतिर। दुईचार जना मान्छेहरू बाहिर पिँढीमा बसेर गफ हाँकिरहेका चन्द्र सरलाई बीचमा राखेर। 

अलिक हतार गर्न मन लाग्छ बाटोको अलमल देख्दा। चन्द्र सर साइनोले बाजे। अहिले त गाउँका सानाठूला सबैका बाजे अर्थात् नाम नै बाजे। यता पुरानो पालिका मूलखर्कतिर मात्र होइन, उता राम्बेनी, ओखरबोटे, बाघा, मावदेनदेखि चैनपुर सबैतिरका बाजे। हाल राजनीतिकर्मी भए पनि जीवनको लामो समय शिक्षण पेसामा बिताएका। यसरी सर कहलिएका हुन् चन्द्र बाजे। बोजुलाई ढोग गर्दै सानो कोसेली थमाइदिन्छु, सीता (मेरो जीवन साथी)ले पठाइदिएको भन्दै। साथीहरू पेटीमा बसेर घरेलु रक्सीको चुस्की लगाइरहँदा मेरो भागमा पर्यो एक गिलास हर्लिक्स। राम्रै लाग्छ बिहानपखको खुराक। 

जति नै हतारिए पनि नौ हान्यो समयले। फेरि थपिए एकजना मंगलबारेसम्म। पाँच जनाको लागि गरिएको बस्दोबस्तमा सात जना भइयो बाटो लाग्दा। अब कसैलाई उठाउनुपर्ने थिएन अगाडिको यात्रामा। नेपाली फिल्मी गीत घन्काउन थाले चालक भाइले। उदितनारायणदेखि नारायणगोपाल हुँदै लोकदोहोरीसम्म। 

डोजर इन्जिनियरले खनेर बनाएको पहाडी कच्ची बाटो। जता सजिलो त्यतै डोजर चलाए जस्तो। जेजस्तो भए पनि चलेका छन् यात्री बोक्ने गाडीदेखि ढुङ्गामाटो, काठ बोक्ने ट्रयाक्टर र टिपरसम्म। लाग्छ, यही हो पहाडको सान। सुविधा पाएका छन्, लिएका छन्। के को डर? बाटो साँगुरो होस् वा कच्ची? तर, नयाँका लागि साह्रै गाह्रो। खाल्टाखुल्टी र खोल्साखोल्सीमा गाडी उफ्रिँदा टाउको जोगाउन झन् मुस्किल। बेलाबेलामा यसरी थेचार्छ, पेट दुखेर श्वास रोकिएला जसरी। तर वास्ता राख्दैनन् साथीहरु, बानी परेकाले।

आहाले, मेले, ऐँसेलुखर्क, कानपुर हुँदै गाडी उकालो लाग्यो ओइराङ डाँडातिर। यतिबेला अघि चढेकी युवतीले किम्बु फल बाँडिन् आफ्नै उत्पादन भनेर। तीन दाना मेरो भागमा पर्यो। अनि पूरक परिचय दिइन्, ‘ओखरबोटे बस्ने पवित्र कोइरालाको छोरी। पेसाले शिक्षिका। आमा, बाबा, भाइहरू विराटनगरदेखि आउने र मंगलबारेमा भेटेर घुमघाम गर्ने। र त्यतैतिर बस्ने।’ यता साथीहरुले यात्राभरि धेरै समय खर्चिरहे, आसन्न स्थानीय चुनावलाई केन्द्रमा पारेर। केवल स्रोता मात्र बनिरहेँ म कुनै प्रतिक्रिया नराखी। कारण, गाउँघरबाट टाढा छु लामो समयदेखि।

यात्रामा भेटिएको एउटा रमाइलो दृश्य, थरिथरिका झण्डैझण्डा राखिएका गाडी। गठबन्धनको प्रतीक अरे। कति धेरै दलका झण्डाहरु। अलिकति खल्लो पनि लाग्छ यत्तिका झण्डाबीच राष्ट्रिय झण्डा नहुँदा। फेरि मन बुझाएँ, कहाँ राख्न मिल्छ र राष्ट्रिय झण्डा यो निर्लज्ज बथानमा! 

करिब दुई घण्टा लाग्यो मंगलबारे डाँडा उक्लन। अलिकति दक्षिणतिर मोडिएर एउटा सानो होटेलअगाडि रोकिन्छ गाडी। केही नौलो लाग्छ पहिलो पटक पुगेको ठाउँ। यसैयसै खुसी हुन्छु। केही पाएझैँ, केही जितेझैँ। वरपर पहाडी नाँगीहरु। खुलेको आकाश अनि बिहानीको पारिलो घाम। पसलको बोर्डमा नजर पुग्छ– मादी नगरपालिका– १ संखुवासभा।

साँघुरो फेरि हिलाम्मे कच्ची सडक। दुवै किनारमा बिस्तारित बजारिया घरहरू। तर खोइ पानीको निकास? नभएर हो वा नबनाएर हो भैँसी खेल्ने आहाल जस्तो बाटो। गाडीको पुरै चक्का डुब्यो वारपार गर्दा। नयाँ बन्दै गरेको ठाउँको यस्तो हालत, झन् पुरानो बस्तीको के कुरा गर्नु र। सोच हाम्रै संस्कार हाम्रै। कहिले बदल्ने होला हामीले हामीलाई। 

हतारिँदै पसलभित्र छिरे साथीहरु, म दौडिएँ अलिक परको डाँडातिर। पहिले मास्तिरको डाँडा उक्लने रहर तर उक्लने ठाउँ थिएन। जान खोज्दा सातो खायो गोठभित्रको भोटे कुकुरले। झम्टियो बाटो छेकेर। बाटो नै टुङ्गियो माथि जाने। तल झरेर पर कुइनेटोतिर दौडिन्छु। पारिलो घाम लागेको छ खुल्ला डाँडा वारिपारि। कति राम्रा हरिया डाँडापाखाहरू। कति परिचित होलान कति अपरिचित। बाँकी नै छ हेक्का लिन। एक्कासि छेउबाट बेस्सरी धुलो उडाउँदै एउटा यात्री बस ओरालो झर्यो। परपर डाँडामा डोजरले खोस्रिएका धर्साहरु देखिन्छन्। कतै पहिरो गएका धर्साहरु। धेरै परपर मात्र देखिन्छन् वनजंगल। मैले खोजिरहेको गुराँसको फूल कतै देखिँदैन। दुई–चार ओटा फोटो खिचेर फर्किएँ चिया पसलतिर। 

कफी पिउँदै रहेछन् साथीहरु। मेरो लागि पनि तयार रहेछ एक कप कफी र केही टुक्रा धनकुटे बिस्कुट। अगाडिको बाटो मदन भण्डारी राजमार्ग रे, बसन्तपुर हुदै ताप्लेजुङ सदरमुकाम जोड्ने। कफी खाएर मास्तिर मोडियौँ, गुफा पोखरी जानलाई। 

बाटामा भेटिएका सम्झनलायक कुरा, दुई कृषि फार्महरू। थाहा थिएन यस्तो उच्च पहाडी इलाकामा तरकारी तथा जडीबुटी खेती गरिन्छ, हुन्छ भन्ने। केवल आलु फल्छ अनि पशुचरनमा मात्र उपयोग गर्न सकिन्छ भन्ने  लाग्थ्यो यी नाङ्गा नाँगीहरु। अहिले, जडीबुटी फलफूल तथा सब्जी खेती उत्पादन  केन्द्र। लाग्छ,  नयाँ नयाँ सोच र तरिकाहरू भित्रिएछन् गाउँघरतिर मोटर बाटो पुगेसँगै।

निर्माणाधीन मदन भण्डारी सडक। अझै कति वर्ष लाग्ने हो कालो पत्रे बन्न। चमत्कार नै हुनुपर्छ काम हुन, किनकि ढलेको सिन्को पनि अरुले उठाइदिनु पर्ने। 

करिब चालिस मिनेटमा पुग्यौँ गुफापोखरी बजार। पोखरीकै अगाडि गाडी रोकिदिए चालक भाइले। सबै उत्रेर दौडिए तर कसैले चासो लिएनन् पोखरी घुम्न। गेटछेउ एउटा ठूलो होडिङ बोर्ड उभिएको छ २८ प्रजाति गुराँसबारे जानकारी बोकेर। मन तान्छ, लोभ्याउँछ जानकारीले। माथि लेखिएको छ— तिनजुरे, मिल्के, जलजले क्षेत्रमा पाइने गुराँसका प्रजातिहरू। गुराँसको चित्र मात्र हेर्दा पनि मन आनन्दित भयो।

एक्लै भित्र पस्छु अरुले चासो नदेखाए पछि। ठिकैको रहेछ गुफापोखरी। कति कञ्चन, कति सफा। पर क्षितिजसँगै जोडिएको कञ्चनजङ्गा जस्तै। कुनै पातपतिङ्गर देखिँदैन पानीमा। पोखरी परिक्रमा लगाउँछु दाहिने पारेर। पल्लो किनारछेउ एउटा सानो रुखसहित उठेको ढिस्किनालाई आधार मानेर टाँगिएका छन् दुईसरो रङ्गीन तोरणहरू। छेउमा तीन वटा लुङ्दरहरु फरफराइरहेछन् बौद्धालम्बीहरूका विश्वासको प्रतीक बनेर। तल्लोपट्टिको किनार अलि फराकिलो र बालुवामय रहेछ रमिता हेर्न सहज पर्ने। यतैतिर अलिअलि भिड देखिन्छ दर्शनार्थी र फोटो खिच्नेहरूका्। केही टिकटक बनाउनमा  रमाइरहेछन् प्राकृतिक सुन्दरताको फाइदा उठाउँदै। आहा! कति सुन्दर पोखरी। छेउमा बसेर पानी खेलेँ, शरीरमाथि छिटेँ, पिएँ शुद्धताको अनुभूतिमा। प्रिय गुफापोखरी। कोटीकोटी सादार प्रणाम छ यो पहिलो भेटको। सधैँ छातीभरि बसिदिनू माया बनेर, मिठो सम्झना भएर। हात जोडेर आँखा चिम्लिए श्रद्धाले एकछिन। एक चक्कर लगाएर व्यासनछेउको डिलमा उभिन्छु वरपरको रमाइलो दृश्यहरूमा रमाउँदै। कहिले मन नभरिने, आँखा नथाक्ने कति रमाइलो प्रकृतिक छटा।

पत्तै भएन समय बितेको। हरि खनालको होटल पुग्दा साथीहरु तीनपानेको चुस्की लगाउन व्यस्त। तीनपानेको आदत नभएकाले मैले कफी र बिस्कुट मगाएँ। बिहानको खाना अर्डर गरेर घुम्न निस्कियौँ।

बिस्तार हुने क्रममा रहेछ गुफाबजार। नयाँ घरहरू धमाधम बन्दै गरेका। घरघडेरी महङ्गो बन्दै गइरहेको स्थानीय चासो र गुनासो। बीच बजारमा एउटा प्रहरी चौकी। चौँरीको बथान चरिरहेको देखिन्छ डिलमुनिको पाखामा। तीन घण्टा भइसक्यो हिँडेको। गुराँसका थुङ्गा त के बोट सम्म छुन पाइएको छैन। बल्ल गुराँस हेर्न जाँदैछु परको डाँडामाथि। अलिअलि जङ्गल जस्तो देखिन्छ यता गुफापोखरी बजारबाट। लाग्छ, यो खोजिएको चिज अफ्ठ्यारो ठाउँमा मात्र पाइने। सानो पाथीभरा मन्दिर डाँडामाथि। गुराँसको जंगल पनि त्यतै। अग्लो डाँडा चढ्नु पर्ने। राखेँ झोलामा तीन ओटा जुस र एक बोतल पानी। यति भए थेग्न सकिने विश्वास छ।

लागियो सुकेटारतिर। त्यहीँबाट सुरु हुन्छ लालीगुराँस हेर्दै सानो पाथीभरा डाँडा पुग्ने बाटो। घरदेखि ल्याएको घङ्घरुको लौरो निकालेँ, बाटाकोे साथी। डाँडा चढ्ने तीन जना मात्र भइयो– चन्द्र घोण्डे सर, जसबहादुर काका र म। परशु देवान र भीमकली गुरुङले लत्तो छाडे। तलै बस्ने भए पर्खिएर।

ठाडो बाटो। हामीबाहेक कोही छैन बाटोमा। अफ्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी बनाइएको। कतैकतै वर्षातको पानीले क्षति पु¥याउन थालेको। चुनढुङ्गा जस्तो फुस्रो ढुङ्गा भए पनि माटोको ठाउँमा सिमेन्टले जोडिएको भए बलियो र सजिलो हुनेथियो बाटो।

धेरै पहिलेको चाहना, गुफापोखरी अर्थात् गुराँसको राजधानी पुग्ने। हरेक पल्ट घर आउँदा योजना बन्छ तर बाटो पर्दैन कसरीकसरी। फर्किन पर्छ अधुरो इच्छा बोकेर। बाटो पर्यो यसपटक, एउटा सुखान्त सञ्जोग। सानो कामले तान्यो मादी नगरपालिकाको ओखरबोटे। वडा कार्यालयमा घरायसी कागजपत्र दुरुस्त गर्नु पर्ने काम। खाँदबारी बसाइ। कसरी जाने होला एक्लै? केमा जाने? द्विविधाको बीचमा ट्याक्सी पाइयो छोटो बार्गेनिङमा। ११ः३० बजे हिँडेर १४ः३० तिर ओखरबोटे (मादी नापा कार्यालय) पुगेँ वडाको काम भ्याउने गरी। सामान्य काम सकियो एकाध घण्टामा। समय थियो खाँदबारी फर्किन सकिने। एकछिन द्विविधामा परेँ फर्कने कि बस्ने भन्नेमा। अचानक मेटिए चन्द्र घोण्डे सर। सकियो द्विविधा। धरानबाट आएको बसमा चढेर लागेँ, मूलखर्कतिर, पुरानो थातथलो खोज्दै। ​

बिहीबारे हाटमा भरियो बस। खाँदिए यात्रीहरु सिन्की खँदाइ, न कोभिडको डर, न अतिभारको त्रास। सबैलाई हतार छ, पुग्नु छ आआफ्नो घर।

भोलिपल्ट दिउँसो मात्र पुगेँ रित्तो घरमा, जसबहादुर काका र भीमकलीसँगै। रित्तो छ गाउँ र घर। केवल घरहरू मात्र छन् हराएका आफन्तहरूलाई पर्खिरहे जस्तो। बाँझो छन् बारी। घर वरिपरि जङ्गल बढेको छ। थोरै लाज लाग्छ आफ्नै घरआँगनको गुम्बामा पहिलो पटक पुगियो भन्दा। र, करिब तीन दशकपछि गुम्बा दर्शन गरेँ। गुम्बा भोटेताल्चाको भरमा छोडिएको। लामा कतै निम्तामा गए रे, अनि घरका अन्य मेलापातमा। रित्तो छ गुम्बा सँगैको लामा बस्ने घर। केवल एउटा कुकुरले उपस्थिति जनाउँछ, नौला मान्छेहरुलाई भुकेर।

झन्डै एक घण्टा बसियो रित्तो गुम्बालाई रुङ्दै तीन जना। पाँचओटा लुङ्दर आँगनमा ठडिएका छन्।  गुम्बाको गजुरदेखि लुङ्दरसम्म टाँगिएका छन् रङ्गीन तोरणहरू। हावा सँगै फर्फरिरहेछ सुस्तरीसुस्तरी। आहा! कति शान्त र सुन्दर छ वातावरण। बेलाबेला नजिकको खोल्सामा चिरीबिरी गर्दै कराउँछन् चराहरु। वैशाख अन्तिमतिर समय। पालुवा फेरिसकेको हरियाली। लामा बस्ने घरवरपर पनि बढ्दै गरेका मकैका बिरुवाहरू। तलका गह्राहरू भने बाँझै रहेछ। झन् तल उत्तिसको बाक्लो जङ्गल नै। नयाँ कुरो, गुम्बासम्म जोडिएछ कच्ची सडक। तर, अहिले झारपातले भरिएको छ कोही नहिँड्ने र केही नगुड्ने भएर होला।

घरको के वर्णन गर्नु? केवल घर मात्र छ, वर्षौदेखि बेवारिसे। न बस्ने छन्, न हेरचाह गर्ने। आक्कलझुक्कल आउँछन् मजस्ता छोरानातिहरू वर्षौँपछि। तीन दशकपछि पुगेको छु म, पुरानो समय खोज्दै। मन नभएको होइन, खोइ यसैयसै धकेलिरह्यो समयले। परदेशी बनेर घर खोजिरहेँ, अनि घर हेरिरहेँ दिदीले पठाइदिनुभएको फोटोहरुमा। उस्तै रहेछ घर, फोटोमा जस्तै सुनसान, निशब्द रङ्गहीन। 

माथि हाङथुम डाँडा, तल हरियाली वनजंगल। उस्तै रहेछ बुढो पहाड, ध्यानमग्न तपस्वीझैँ। ए साँच्ची, धारा र आँगनका पर्खालहरु ढलेछन् निष्प्रयोजनको पीडामा। यतिबेला केकेलाई हेरौँ? सबैले पर्खिरहेजस्तो। भलाकुसारी गर्न आतुर रहे जस्तो। कताकता सहाराको हात फैलाइरहे जस्तो। छैनन् मसँग बाँड्ने शब्दहरु। छैनन् म सँग माफी माग्ने शब्दहरु। र, बाचा पनि गर्न सक्दिनँ ठिक यतिबेला आउनेछु भनेर। विवश छु ठुल्ठूला सपना र रहरका भारीले उठ्नै नसक्नेगरी थिचिरहँदा। 

पछि फर्कने बेलामा माइला काका भेटिए, रित्तो गाउँमा एक जना। लाग्छ, कतै मजस्तै सपना खोज्न हिँड्ने रहरमा रित्याएका होलान् घरका बैँस। र कतै कामले मेलापात हिँडेकाले सुनसान होलान् घरहरु। कति सुनासन र रित्ता गाउँघरहरू? घण्टौँ बस्छु रित्तो घरको आँगनमा। घर केवल पर्खाइमा बाँचिरहेछ दैलोमा भोटे ताल्चा झुण्ड्याएर।​​

यस्तै बेला काठको भारी बोकेको ट्रयाक्टर दौडिँदै आइपुग्छ, घरमास्तिरको बाटोमा। एकाएक शून्यलाई चिरिदिन्छ चालकले ठूलो आवाजमा घन्काएको फिल्मी गीतले। सुनिरहेँ ट्रयाक्टरले कुइनेटो नकाटुन्जेल–

मोहनी लाग्ला है गाँउलेको बोलीले 
डाँडा काँडा छहराको गीतले
ख्याल ठट्टा नगर, अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले ... 
 

यसैबेला कुरा चल्यो गुफापोखरी अर्थात् गुराँसको राजधानी डुल्न जाने। तत्कालै जसबहादुर काकाले गाडीवालालाई फोन लगाए, भोलिका लागि। म भने परको तीनजुरे डाँडालाई हेरिरहन्छु आँगनको डिलमा उभिएर। साँझमा फोनमार्फत भोलि बिहान आठ बजे आउने ढुक्कढाक्की गरे ड्राइभर भाइले। 

उकालो बाटो सजिलो बनाइदिएको छ ढुङ्गे सिँढीले। आकाश खुलेकाले तातिएको छ घामको राप। कत्ति पनि चिसो महसुस हुँदैन नागीको उकालोमा। तलैबाट देखिने फलैँचा पुगेर थकाइ मार्यौँ, जुस पियौँ, आधा बाटो काटिएको ठानेर। कहाँ हुनु? केही हल्का भयो झोला। नयाँ रहेछ ओत लाग्न बनाएको फलैँचा। र चढ्दै गरेको डाँडा हेर्दा नजिक लाग्ने तर जति चढ्यो उति माथि देखिने। उक्लिँदै जाँदा नजिक आउन थाले गुराँसका रुखहरू। राताराता गुराँसका थुँगाहरू लटरम्म फुलेका छन् बाटैभरि। नजरभरि छाइरहन्छ गुराँसको रङ, सपना विपना भएर। कति सुन्दर रङ्ग। कति सुन्दर फूल। साँच्चै प्रकृतिको अनुपम उपहार। फुस्रो लाग्ने पहाड रङ्गीन बनाइदिएको छ गुराँसका थुँगाहरूले। कति खिच्नु फोटो? यो पनि राम्रो त्यो पनि राम्रो, धित नमर्ने। धेरै खिचेँ, आसन मिलाई मिलाई। खुसीले गुनगुनाउँछु नारायणगोपालको गीत अनि क्षेत्रप्रताप अधिकारीका शब्दहरु, मनदेखि श्रद्धासुमन पस्किएर–

म त लालीगुराँस भएछु 
वनभरि फूलिदिन्छु, मनभरि फूलिदिन्छु
फाँटहरुले कस्लाई भीरमा पनि फूलिदिन्छु
खुसी मात्र कहाँ हुन्छ, पीरमा पनि फूलिदिन्छु

साँच्चै भीरमा फुलिरहेछन् गुराँसका थुँगाहरु। पर कञ्चनजङ्गा हिमाल ती रंगीन फूलहरू हेरेर मुस्कुराइ रहेछ हामीतिर फर्केर।

करिब २५९० मिटरको उचाइमा हिँडिरहँदा कताकता टाउको दुखेजस्तो लाग्यो। लेक लाग्छ भन्ने सुनेको थिएँ, हो कि? यस्तै अनुभव छ, मुक्तिनाथ यात्राको। तर खासै असर गरेको छैन र त्यति उचाइमा पनि छैन सानो पाथीभरा डाँडा अर्थात् मेन्छायेम डाँडा। ढुक्क छु अफ्ठ्यारो नहुनेमा। पुग्ने बेलाको बाटो अलिक कठिन। समाउने डण्डी भैदिए सुरक्षित महसुस गर्थे यात्रीहरू। टिनले छाएको एउटा पाटी, थाप्लोको तल्लोपट्टि डिलमा। चारैतिर खुला, भ्युटावरजस्तो लाग्ने। अनि गुराँसै गुराँसको जङ्गल। राताम्य फुलेका छन् पाखा भरिभरि। एक छेउमा देवीको पूजास्थान। थानको वरपर भक्तजनले चढाएका फूलपाती र पैसा यत्रतत्र छरिएका। टुप्पोमा होचा गुराँसका बोटहरू। त्यसैमा टाँगिएका तोरणहरू। अनि ससाना ढुङ्गाहरू खप्ट्याएर बनाएका धेरै मानेहरू। आस्था न हो, मरे पछि बस्न पाइन्छ रे यसरी बनाएको मानेमा। यहाँबाट ताप्लेजुङको पाथीभरा मन्दिर देखिन्छ रे दिन खुलेको बेला। साइत जुरेन तुवालेले गर्दा। 

लागियो डाँडैडाँडा मास्तिर। मान्छे कम हिँडेर होला हराइसकेका बाटाका डोबहरू। कतै चिप्ला ढुङ्गा, कतै बाटो छेक्ने बुट्यान र कतै मोहनी लगाउन उभिएका गुराँसका थुँगा। लोभिएँ, अलमलिएँ। छोडे साथीहरूले पछि पारेर। एउटा सानो देवीथान भेटिन्छ करिब दस–पन्ध्र मिनेट हिँडेपछि। छेउमा एउटा पुरानो पाटी। यही रहेछ सानो पाथीभरा देवीस्थान। पर्खाल लगाएर बनाएको देवीस्थान र छेउमा गाडिएको मौलो। भित्तामा देवीको शिला सँगै राखिएका छन् त्रिशुल र घण्टाहरू। देवीलाई बलि दिने प्रचलनले होला, वरपर रगतले बनाएको खाटा देखिने भुइँ। विश्वासले चढाएँ श्रद्धाको भेटी देवीलाई।   

छेउको पुरानो पाटीदेखि ओरालो लाग्छु तल भज्याङतिर। फेरि भेटिन्छ अर्को डाँडा चढ्ने बाटो। ठाउँठाउँमा नयाँ सिँढीहरु देखिन्छन् अघिल्लो डाँडामा चढिए जस्तै। तर थाहा भएन कता जान्छ भन्ने। यता साथीहरुले मलाई छोडेर अघि नै भञ्ज्याङ काटिसके, पाखैपाखा दौडिँदै मोटर बाटो समाउन। हतार छैन मलाई यति रमाइलो बाटो छोड्न। गुराँस फूलेको हेर्न आएको। कस्लाई भेट्न दौडिनु? अझै हेर्न मन छ, हेरिरहन्छु मन भरुन्जेल। 

धेरै नभए पनि लगातार एक घण्टा हिँडिसकेको छु यो सानो डाँडामाथि। अहिले तल भन्ज्याङमा छु साथी पछ्याउँदै। तर अहिलेसम्म एउटा पनि चरा भेटिएन। हिउँद नसकिएर हो वा यात्रीको आगमनसँगै मोटरको ध्वनि प्रदुषण बढेर। 

तल बाटोमा पर्खिरहेको गाडी चढेर लागियो अगाडिको डाँडातिर। बाटाको दायाँबायाँ ठुल्ठूला ढुङ्गाहरु भेटिँदा भिमसेनले छेलो हानेको रे भन्छन् सुनाउनेहरु। दैव जानून्। केही अगाडि एउटा ठूलो साइन बोर्डले स्वागत गर्छ, बाटो छेउ उभिएर। तीन भाषामा लेखिएका छन् तीन अर्धगोलाकार अक्षरहरुमा, ‘मैवाखोला गाँउपालिकाले तपाईंहरूलाई हार्दिक स्वागत गर्दछ।’ यही वाक्य अंग्रेजी र लिम्बुलिपीमा पनि। छेउमा नेपाल सरकारको निशान छाप र कोणभित्र पालिकाको नक्सा। तल ताप्लेजुङ जिल्ला। यो अलिकति फराकिलो ठाउँमा नयाँ संरचना विस्तार भइरहेको। बाटोवारिपारि जम्मा दुई ओटा पुराना घर। यहाँबाट मदन भण्डारी राजमार्ग तलतिर मोडिने ताप्लेजुङ जिल्लाका लागि। गाडी घुमाएर चालक  तुलसी अधिकारी भाइले भने, ‘यहाँभन्दा अगाडि नजाने।’

गन्तव्य सकियो। गाडीबाट उत्रिएर लागेँ अलिक परको होचो डाँडातिर। अरुले पनि पछ्याए अल्छी मान्दै। मलाई भने धेरै हेर्ने रहर। जति अगाडि गयो, त्यति हेरौँहेरौँ लाग्ने दृश्यहरु। फेरि पहिलोपल्ट ताप्लेजुङ जिल्लाको सिमाना टेक्न पुगेको। कति महत्वपूर्ण ठाउँ, तीन जिल्लाहरु सँखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल। वरपर झपक्कै फुलेकाछन्, लालीगुराँस वनभरि, मनभरि।

डाँडापारि देखिने अर्कै संसार। केवल डाँडाहरुले सिमांकन गरिए जसरी। हेर्न रमाइलो लाग्छ डाँडाका काखबाट गएका मोटरबाट नागबेली हुँदै गाउँतिर मोडिएका सेता धर्साहरु। कतै लामा सेता धर्साहरुलाई काटेका छन्, अरु सेता धर्साले। डाँडाको तल्लोपट्टि मैवाखोला गाउँपालिकातिर पनि गएको छ ढुङ्गा विछ्याइएको बाटो। तल भर्खर मर्मत गरिएको पोखरी देखिन्छ। त्यता पनि ढकमक्क फुलेका छन् गुराँस। झन् पर देखिने मिल्के डाँडाको के कुरा, डाँडै लालीमय। 

पानीढलो अरे संखुवासभा र ताप्लेजुङको सिमाना। डाँडावारि र डाँडापारि पानी बगेको आधारमा सीमा निर्धारण हुने। त्यही गुफाडाँडाको तल्लो भञ्ज्याङमा उभिरहेको बेला एक जना स्थानीय मिसिन आउँछन् बोलाए जसरी। लाक्पा शेर्पा नाम बताउने दाइले बताइदिए वरिपरिका डाँडा खोला गाउँँहरूका परिचय। बताउने क्रममा जोडे आफ्नै रामकहानी। ‘जोरपोखरी भनिन्छ यो ठाउँलाई। यहाँ दुइटा पोखरी थिए भैँसीले आहाल खेल्नेजस्तो। एउटा यो मेरो घरमुनि अर्को अलिक तलतिर।’ उनले औंल्याएको ठाउँमा न पानी थियो न पोखरी। होस पनि कसरी? मास्तिर घर बनाएपछि। केवल पुरिएको ठाउँ देखिन्छ अलिअलि सम्म परेको। झण्डै पन्ध्र वर्षअगाडि जग्गा किनेर घर बनाएछन्। पछि मुद्दा परेछ। तीन वर्ष मुद्दा खेप्दा पनि पार नलागेपछि तारेख छाडेछन्। घर बनाउँदा लागेको खर्च पाऊँ मुद्दा गर्दिनँ, जग्गा चाहिँदैन भनेर। दुई वर्षपछि अदालतले फैसला गरेछ– ‘घडेरी जग्गा ऐलानी हो’ भन्ने किटान गरेर। र विवादास्पद नै रहेछ यो ठाउँ कुन जिल्लामा पर्छ भन्नेमा। जग्गा मुद्दा  संखुवासभा जिल्ला अदालतमा परेकोले पहिलेको नुनढाकी अहिलेको चैनपुर न.पा. अन्तर्गत पर्दोरहेछ उनको घर। तर ताप्लेजुङवासी भन्दा रहेछन् परिचय दिन परेमा। 

थाहा थिएन, गुफाडाँडा कहाँ पर्छ भन्ने। बल्ल थाहा पाएँ त्यसैको तल उभिरहेको बेला। अघि पुगेको गुफापोखरी तल छ मोटरबाटो नजिक। कुनै बेला डाँडामाथिको गुफामा एक सिद्धमहन्त तपस्या गरेर बस्थे रे। उनले स्नान गर्ने पोखरी भएकोले सिद्धपोखरी भनियो रे, गुफापोखरीलाई। र, गुफा भन्ने डाँडा ठिकमास्तिर। अघि सानो पाथीभराबाट ओर्लिएको भञ्ज्याङ माथिको डाँडा रहेछ गुफाडाँडा अर्थात मेन्छ्यायेम डाँडा। के गर्नु समय बितेपछि थाहा पाएर। अफसोस, पुग्न सकिएन छुट्यो इच्छा हुँदाहुँदै।

तीन बजे होटल फर्कियौँ बिहानको खाना खान। खासै रुचि थिएन अबेर भए पनि। दुई कप कफी खाइयो सुक्खा रोटीसँग। थपीथपी कुखुराको मासु र भात बजाए साथीहरुले। अनि सँगसँगै बजाउन बाँकी राखेनन् लोकल र देशी ठर्रा।

तीनजुरे पुगिएकै रहेनछ, खानापछिको जानकारीमा। गुफापोखरीदेखि निकै तल पर्दोरहेछ तीनजुरे। अहिलेसम्म मूर्खै रहेछु म। गुफा जाने भनेपछि सबै भेटिने देखिने सोचाइ। कहाँ हुनु खोजेको सबै? कुन ठाउँ कहाँकहाँ पर्छ बताएनन् जान्ने साथीहरुले। ‘तपाईंको सर्त गुफापोखरीसम्म मात्र हो, तीनजुरे होइन’ भन्न लागे चालक भाइ। फेरि हस्रक्क परेँ, अघि गुफाडाँडा पुग्न छुटेजसरी। उनले थपे, ‘गए पनि गाह्रो हुन्छ आजै घर फर्किन।’ पहिलो वाक्यले नै चुप बनाइसकेको थियो मलाई, अगाडिको सर्त झिकेपछि। कुरो ठिकै हो मैले गुफापोखरी जाने भनेको। पछि मंगलबारे चौकीसम्म जान मन्जुर गरे ड्राइभर भाइले, चन्द्र घोण्डे सरको आग्रहमा।

करिब आधा घण्टा लाग्यो चौकी बजार पुग्न। निकै पुरानो बजार यो क्षेत्रको। प्रहरीचौकी बस्ने भएकोले चौकीको नामले पनि परिचित। फराकिलो पनि रहेछ। तर प्रायः पुराना घरहरु मात्र रहेछन् बजार क्षेत्रमा। खासै चहलपहल देखिँदैन बजारमा। लाग्छ, केवल बाटामा धुलो उडाउँदै दौडेको गाडी गनेर बस्ने गर्दोरहेछ चौकीबजार पुरानो बैँसलाई सम्झँदै। यस्तै गुनासो सुनाउँछन् स्थानीयहरु। एक जना पुरानो सर उदय तामाङसँग भेट भयो नसोचेको समयमा। र अर्को नौलो स्वाद गुराँसको सर्वत चाखियो पहिलो पटक। एकाध घण्टा बिते बरालिँदै। फर्कदा एक जना पुरानो अनुहार भेटिए, गिरिराज दाहाल बाजे जो कुनै समय हुलाकको बहिदार थिए, मादी ओखरबोट केन्द्रका। 

गुफापोखरी पुगियो, डुलियो र हेरियो गुराँसको राजधानी। तर केही अधुरो नै रहे चाहना। पुग्न सकिएन तीनजुरे थोरै जानकारीको अभावमा। समय अझ बाँकी थियो सर्तमा नहारिएको भए। यसैयसै बिते बिताइए पछिल्लो समय अनर्थ ठाउँमा खर्चिएर। अलिकति पछुतो पनि लाग्यो, पूर्वजानकारी भएको भए ती सबै ठाउँहरु पुग्न र हेर्न सकिने रहेछ एक दिनको प्याकेज टुरमा।

यात्रा न हो, कहाँ हुन्छ भनेजस्तो। अलिअलि राख्नु पर्यो नि फेरिफेरिका लागि आउने बाटो। यसरी पनि बटुल्न सकिँदोरहेछ जिन्दगीका खुसीहरु। कहाँ मिल्छन् यस्ता खुसीहरु बारम्बार? खुसी नै खुसीका प्वाँख लागेर उडिरहेछ मन हलुङ्गो भुवा बनेर। अनि खुसीको विशाल गुफाडाँडा बोकेर फर्किेरहेछु, मनभरि लालीगुराँस फुलिरहने मिठो सम्झना साँचेर।

बेलैमा बाटो लागियो, ओइराङको बाटोमा धुलो उडाउँदै, बोलेरो कुदाउँदै।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .