धरानदेखि हङकङसम्म जो अनगिन्ती किस्सा छाडेर गए

धरानदेखि हङकङसम्म जो अनगिन्ती किस्सा छाडेर गए

स्व. किसन राई


इन्द्र वनेम
कात्तिक ४, २०७९ शुक्रबार १६:४६, हङकङ

किसन राईको गत वर्ष दुखद निधन भएपछि हङकङको नेपाली समाजले एउटा घनघोर शून्य महसुस गर्यो। एउटा परिवारमा अभिभावक हराएजस्तै वर्षदिन बितिसक्दा पनि उस्तै अपुरणीय क्षति महसुस भइरहेको छ। किसन राईलाई भाग्य र भगवानमा विश्वास थिएन र उनको नामअगाडि स्वर्गीय शब्द जोड्नु असहज लाग्दछ। अर्को कुरो, किसन यतै कतै कुनै न कुनै रुपमा मौजुद छन् कि भन्ने भान पनि हुन्छ। 

उनै मेरो अनन्य दिवंगत मित्रसँगको किशोरावस्थादेखि मृत्युपर्यन्त साथ साथै रहँदाका अन्तरंग किस्साका सम्झनाहरु लेख्न मन लागेको छ। जसले वास्तविक किसन राईलाई बुझ्न थप बल पुग्ने छ। किसन जस्तो थिए, त्यस्तै बुझ्न सहज होला भन्ने विश्वास लिएको छु। आम मानिसको निजी जीवन हुन्छ तर उनको निजी जीवन केही थिएन। किसन आफैँ खुल्ला किताब थिए।

यहाँ म आफैँ असमन्जसको अक्करमा उभिएको महसुस भइरहेछ। सुरु कुन किस्साबाट गरौँ? 

पहिलो पटक धरानको महेन्द्र बहुमुखी क्याम्पसमा ब्याचमेटका रुपमा सन् १९८७ मा हाम्रो भेट भएको थियो। त्यसपछि जीवनपर्यन्त सामाजिक र राजनीतिक दुवै रुपमा कहिल्यै नछुट्टिई एकै साथ रह्यौँ। विद्यार्थीकालमा तत्कालीन नेकपा माले समर्थित राजनीतिमा हामी सँगै भएकोले पनि हाम्रो हेमखेम बाक्लै हुन्थ्यो। 

मैले भनि सकेँ, किसन राई स्वयं एक सार्वजजिक ठाउँमा राखिएको खुल्ला किताबजस्तै व्यक्ति थिए। एक हिसाबले उनको व्यक्तिगत जीवन खासै थिएन, कसैसँग गोप्य राख्नु पर्ने, नभन्नु पर्ने निजी जीवनको कुरै थिएन। परिवारको बारेमा, आमाको बारेमा, आफ्नो निजी जीवनका अन्तरंग कुरा, आर्थिक, पारिवारिक र व्यक्तिगत प्रेम प्रसंगहरु पनि सविस्तार सार्वजनिक रुपमै बेहिचक भन्न सक्ने आचरण थियो, चाहे आफ्नो होस् वा छोराहरुको निजी कुरा नै किन नहुन्। 

किसन राईको जीवनकाल २०२४ असोज २१ मा भारतको बैंगलोरमा सुरु भयो। त्यतिबेला उनका बुबा भारतीय सेनामा कार्यरत थिए। जसको अन्त्य नेपाल भ्रमणको क्रममा २०७८ कात्तिक ७ मा खोटाङमा भएको एक दुखद दुर्घटनामा भयो। उनको जीवन निकै उतारचढाव र संघर्षमय रह्यो।

२०४३ देखि वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेर २०४६ मा नेकपा मालेको सदस्य हुँदै नेकपा एमालेको विभिन्न जिम्मेवारी सम्हालेका उनी २०५६ मा हङकङ आएका थिए।

चुनावको किस्सा 
२०४९ सालको स्थानीय चुनावमा धरान नगरपालिका १५ को वडाध्यक्षमा नेकपा एमालेबाट किसनलाई उम्मेदवार बनाउने निर्णय भयो। धरानको सबैभन्दा ठूलो वडा नं. १५ पहिलाको बाँझगरा गाउँ पञ्चायत, धरानमा राजनैतिक हिसाबले सबैभन्दा महत्वपूर्ण इलाका र उसबेला एमालेको पकेट एरिया थियो र जो उठे पनि जित्ने निश्चित थियो। 

उम्मेदवारी मनोनयन गर्ने बेला भयो। उम्मेदवारको उमेर २५ वर्ष पुग्नु पर्ने तर किसनको उमेर २४ वर्ष ६ महिना मात्र थियो। अर्को उम्मेदवार खोज्नु पर्ने भयो र शिवहाङ लिम्बुको नाम आयो, उनी जनमुक्ति पार्टीसँग सम्बद्धताको कारण पार्टी कारबाहीमा परे जस्तै थिए। नगर कमिटीका साथीहरुसँग कुरा गरेर युवा संघ नगर अध्यक्ष र १५ नं. वडा अध्यक्ष पनि उनैलाई बनाइयो। 

पासपोर्टको किस्सा
किसन विन्दास र लापर्वाह स्वभावका थिए भन्ने यो किस्साले पुष्टि गर्दछ। एकपटक हङकङबाट नेपाल जान भनेर किसन एयरपोर्ट पुगेछन्, नेपाल एयरलाइन्सको पुरानै रोग हो, लामो लाइन लाग्नु पर्ने। लाइन लागेछन्, सबैको हातमा पासपोर्ट देखेर झल्यास्स भएछन्, आफ्नो त पासपोर्ट छैन साथमा। कहाँ छ, त्यो पनि थाहा छैन। घरमा छ कि अफिसमा वा कतै। लगेज लिएर घर फर्केर धुइँपत्ताल खोजे, पासपोर्ट छैन, भोलिपल्ट पलंगको चेपमा भेटियो तर म्याद पहिल्यै सकिइसकेको। नेपाल कन्सुलेट गएर ट्राभल डकुमेन्ट बनाइकन उनी अर्को फ्लाइटमा नेपाल उडे।

अरुलाई यो कथा सुनाएर उनी आफ्नै विन्दासपनमा आँखा चिम्लेर हाँस्थे। यस्तो अर्को पात्र मैले चाहिँ जीवनमा भेटेको छैन। 

यूएसबीको किस्सा 
यो किस्सा डा. अनिल राईले युकेबाट फोन वार्तामार्फत स्मरण गराए। एउटा राजनीतिक पार्टीको पत्रकार सम्मेलन थियो, म  मौजुद हुने नै भएँ।सम्बन्धित पार्टीसँग आवद्ध पत्रकार भएकोले प्रेस विज्ञप्ति लेख्ने काम किसनकै हुन्थ्यो र कार्यक्रम हुने दिनमा आयोजक अलि छिट्टै भेला भइयो। विज्ञप्ति खोइ भनेर जिम्मा लिएका किसनलाई सोध्छु। उनी छ भन्छन्। प्रिन्ट गरौँ न भन्छु, देखाउँदैनन्। किसनको नानीदेखिको बानी थाहा भएकोले तयार छैन भन्ने लख काट्न मलाई सहजै थियो। पछिल्लो समयमा ‘कम्प्युटरमा बस्यो कि दिमाग झुम्म हुन्छ, केही लेख्नै सक्दिनँ हौ, खै के भो भो’ भन्थे, त्यस्तै भएछ। मेरै अफिस टेबलमा राखेर टाइप गर्न भनेँ, तर किसनले लेख्न सकेनन्। नेपाली र चिनियाँ पत्रकार तैनाथ छन्, प्रेस विज्ञप्ति छैन।भएन फसाद?

किसनले कार्यक्रम सुरु गरे। प्राविधिक गडबडीले प्रेस विज्ञप्ति दिन सकिएन भन्दै एउटा खाली पन्ना दिएर उनले भने, ‘यसमा इमेल लेखिदिनु होला, केही समयपछि विज्ञप्ति इमेलमा उपलब्ध हुने छ।’ त्यसो भन्दै उनले यूएसबी कार्ड देखाए। मलाई थाहा छ, त्यो भर्खरै किनेको यूएसबी हो, र यो खाली छ। कार्यक्रम राम्रै सम्पन्न भयो पछि विज्ञप्ति बनाएर पठाए। म असिनपसिन भएँ, किसन ढुक्क छन्। जस्तोसुकै परिस्थितिलाई पनि सहजै लिएर पार लाउने कला वा क्षमता थियो किसनको। 

म यो प्रसंग लिएर किसनलाई सधै भन्थेँ, यूएसबीको कहानी दोहोर्याउने होइन है।

उनको आचरण सबैलाई सहयोग गरौँ भन्ने, गर्न पनि खोज्ने तर आफ्नो सिमित समयमा सबै काम गरी नभ्याउने। व्यवस्थापन गर्ने, लेखेर राख्ने चलन थिएन। कति ठाउँमा हस्याङफस्याङ हुने, कति ठाउँमा ढिला त कति बिर्सिने पनि हुन्थ्यो। कति वटा संस्थाको कार्यक्रम बिनाब्यानर चलाउनु पर्ने भयो, कति त स्थगित पनि हुने तर जानेर होइन गर्दै जाँदा यस्तो हुन्थ्यो। 

भारतीय फौजमा भर्तीको किस्सा 
२०४३ मा भर्खर एसएलसी गरेको बेला धरानस्थित भारतीय पेन्सन क्याम्पको सूचनापाटीमा क्लर्कको भर्ती खुलेको सूचना छापियो। बुबा पनि भारतीय लाहुरे भएकाले किसनलाई पनि भर्ती जाने सोच भयो, बुबाआमाले पनि क्लर्कमा भए जान सुझाउनु भएछ। 

त्यसपछि तीन जना एसएलसी पास दौँतरी पुगेछन्, दार्जिलिङको गुम पहाड भर्ती केन्द्र। उतिबेला पढालेखा जवान त्यति थिएनन्, तीनै जना भर्ती लागेछन्। 

दुई हप्ता रिक्रुट लाहुरे भएपछि दसैँको मौकामा सिलीगुडी झरेछन् मेडिकल र एक्सरे गर्न। गुरुजी हामी दसैँ मान्न मात्र घर जाने हो भनेछन्। अनुनय विनय पछि ठाउँ ठेगाना बाबुको नाम, नम्बर लिएर छुट्टी मञ्जुर भयो। त्यहीँबाट छुट्टीमा टोली धरान आयो। बुबाले किसनलाई सोधखोज गर्दा क्लर्कमा होइन, ‘आरएफएम’ लेखिएको भनेपछि राइफलम्यानमा भर्ती भएको पत्ता लागेछ। आमाले भन्नु भएछ ‘बाबु र बाजे पनि राइफलम्यान भए, मेरो छोरो पनि राइफलम्यान हुँदैन म त जान दिन्नँ। मेरो एकलौटो छोरो पढ्छ, यहीँ गरी खान्छ’ भनेर फर्केर जान दिनु भएनछ। राति आमाले थाहा नपाई भागेर जाने सल्लाह गरेछन् त्यो पनि आमाले थाहा पाएर ‘लु गइ हेर त भागेर, मैले नदेखेको हो गुम पहाड? भोलि बिहानै आइपुग्छु। मेरो छोरो भर्ती पठाउने नपठाउने मेरो विचार हो’ भनेपछि नम्बरीहरु मात्र बाटो लागेछन्। त्यस बखत फर्किएर जाने नम्बरीहरु केही वर्षअघि सुवेदार मेजरमा पेन्सन आए रे, आमा सम्झनु हुन्छ। 

धरानमा जगत गुरुङ (अम्बु)को घडेरी
अम्बु हङकङको नेपाली समुदायका अजीव तर जिउँदो पात्र हुन्। जब माओवादी जनयुद्ध सुरु भयो, माओवादीको नाम सुन्दा पनि डर लाग्थ्यो। तर, उनले एक्लै घोषणा गरे, ‘म माओवादी हुँ।’ त्यसबखत माओवादी भनेको मान्छे कस्तो हुन्छ भन्दा उनी एक खुलेआम उदाहरण थिए हङकङमा। 

एभरेस्ट दैनिक सुरु हुँदाताकै हो, अम्बुले लामो लेन्स भएको क्यामरा बोकेर सबै नेपाली कार्यक्रमहरुमा बिनादस्तुर फोटो खिच्न सुरु गरेको। सुरुवाती दिनमा शौखले फोटो खिचे, खिचिरहे र आजसम्म खिचिरहेका छन्। खिचेनन् मात्र, सबै रेकर्ड दस्तावेज छ उनीसँग। चाहिएको बखत उपलव्ध पनि गराउन सक्छन् बिनादस्तुर। उनी एक मात्र नेपालीमूलका पुरानो, निरन्तर र निशुल्क फोटो पत्रकार हुन्, यसको एउटा छुट्टै र लामो कथा हुन सक्छ। जुन दिन अम्बु जान्छन्, अनि मात्र लेख्लान् लेखकहरुले, गर्लान् सम्मान संस्थाहरुले। हामी यस्तै हो, किनकि हाम्रो चलन यस्तै छ।

एभरेस्ट पत्रिकाको लागि लामै समय फोटो पत्रकारिता गरे, पत्रिकाको लागि फोटो खिचे वापत थोरै भए पनि मासिक तलब दिने सम्झौता भएको थिएछ किसनसँग। मासिक १–२ हजार डलर दिए पनि लाखौँ रुपैयाँ भएछ। एकदिन अम्बुले सोधेछन्, खोइ मेरो तलब? ‘तलब त्यस्तै भयो, धरानमा तिम्रा साथी पनि धेरै छन्, उतै एउटा घडेरी दिन्छु,’ भनेछन् किसनले। त्यो दिनदेखि अम्बुले तलब माग्न छाडेर धरानमा मेरो घडेरी छ भन्न थालेका थिए। किसनसँगै अम्बुको घडेरी पनि रहेन। 

हङकङ रहँदा पनि राजनीतिसँगै विविध सामाजिक काम गर्दै २०६९ मा नेकपा एमाले परित्याग गरी संघीय समाजवादी पार्टीमा आबद्ध भए किसन। तर, पार्टी टुट–फुट–जुटको समीकरण र नाम परिवर्तन भएर जनता समाजवादी भयो। उनी त्यसैमा निरन्तर संलग्न थिए।

हङकङमा नेपाली भाषाको प्रबर्द्धन
एभरेस्ट नेपाली पत्रिकाको ‘वन म्यान आर्मी’को रुपमा प्रधान सम्पादकदेखि हल्काराको भूमिका पनि उनले निभाए। त्यो पनि सन् २००१ देखि जीवनकालभर। नेपाल आदिवासी जनजाति महासंघ हङकङ र नेपालमा नेतृत्वदायी भूमिकामा बसेर जनजाति, पहिचान र समानताको आन्दोलनमा सदा लागिरहे। पछिल्लो अवधिमा उनले एनआरएनएमा ज्यादा समय दिएका थिए। हङकङ एनआरएनएमा भएका विकृति र विसंगतिविरुद्ध लडेका उनी महासचिव, उपाध्यक्ष हुँदै एनआरएनए अन्तर्राष्ट्रिय सदस्य मनोनयन भएका थिए। राजनीतिसँग कहिल्यै अलग नभएका किसन जसपाको भातृ संस्था नेपाली समाज हङकङको संस्थापक सदस्य, उपाध्यक्ष र सल्लाहकार भए। धरान–हङकङ मञ्च संस्थापक सदस्य, अध्यक्ष, नेपाल पत्रकार संघ हङकङको वर्तमान अध्यक्ष, किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष र सल्लाहकार थिए।

दुई दशकभन्दा अघिदेखि यहाँ रहेर नेपाली भाषा तथा साहित्य र पत्रकारिता क्षेत्रमा अथक रूपमा काम गरेकोमा नेपाल सरकारबाट यसै वर्ष जनसेवाश्री पदकबाट सम्मानित गरिएको थियो। यसरी नै हङकङ सरकारबाट २०२० मा नेपाली समुदायमा काम गरे वापत ‘चिफ एक्जिक्युटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पदकले सम्मान पाएका थिए। 

धरानको भानुचोकमा अवस्थित धरान–हङकङ मञ्चद्वारा निर्मित घन्टाघरको निर्माणमा किसनको महत्वपूर्ण योगदान भएको कुरा स्मरणयोग्य छ।

किसनको जीवनका महिलाहरु 
किसनको जीवन आचरण आमावाट प्रभावित थियो। कसैको नसुन्ने, कसैलाई नटेर्ने किसन आमाको कुरा भने पछि नाइँनास्ती गर्न सक्तैनथे। उनको जुझारुपनको धेरै अंश आमाबाट आएको जस्तो लाग्छ मलाई। आफु बाहिङ राई तर मावली खलक थुलुङ राई संस्कार भाषाको प्रभाव घरमा थियो। म जिस्केर भन्थेँ, ‘बुबाको नाम छोक टोन्डु राई (छोटकरीमा सिटी राई) शेर्पा जस्तो नाम छ, हेर्दा पनि शेर्पा जस्तै छौ र घरमा भाषा संस्कार पनि बाहिङ थुलुङ चल्छ, कतै ‘चोकफुङ’ राई त होइन? लिम्बु संस्कारमा अन्य जातको व्यक्तिलाई दाजुभाइ बनाएर आफ्नो कुलमा मिलाउने संस्कार नै चोकफुङ हो। उनी हो भन्थे।

बहिनी गीता राईले किसनको जीवन सहज बनाउन धेरै ठूलो योगदान दिएकी छन्। २ जना छोराहरुको शिक्षादीक्षा सुरुमा नेपालमा र यूकेमा उच्च शिक्षा गीताकै रेखदेखमा भयो। छोरा अरिम भर्खरै पढाइ सकेर हङकङ आएका छन्, सानो छोरा जसलाई किसन मजाकमा कान्छो होइन ‘माइलो’ (अर्को छोराको सम्भावना हुन्छ नि!) भन्थे, अनुज आज पनि गीताको संरक्षकत्वमा उच्च शिक्षा अध्ययन गरिरहेका छन्। किसनले छोराहरुको चिन्ता गर्नुपरेन। लाग्ने पढाइ खर्चमा पनि गीताको अत्यन्त ठूलो सहयोग रह्यो र किसन निस्फिक्री आफ्नो काममा लाग्थे।

श्रीमती शोभा मगरले किसनको एकोहोरो, ज्याद्रोपन र जव्बर प्रवृत्ति धेरै खेपिन्। सबैलाई सहयोग गरौँ, आफूलाई जायज लागेको कुरा एकोहोरो गरेर छोड्ने, कुनै परिस्थितिसँग सम्झौता नगर्ने स्वभाव थियो किसनको। ‘श्रीमती राईनी भएको भए किसनको उहिल्यै तलाक हुन्थ्यो मगरनी भएर किसनको चुलो चलिराछ’ भनेर धेरैले भनेको सुनियो। त्यो धेरै हदसम्म हो पनि।

किसनले जेसुकै भने पनि अन्तमा शोभाको निर्णयमा गल्ने र नबोली नबोली मान्ने बानी थियो। सधैँ शोभाको प्रशंसा गर्ने उनी ससुरालीप्रति पनि नतमस्तकै थिए। मगर सबै उसको ससुराली। मगर भेलातिर छोरी कसैले नचिन्ने तर ज्वाइँसाहेब सबैको प्यारे। मलाई लाग्छ, हाम्रा दौँतरीमध्ये श्रीमतीप्रति सबैभन्दा इमान्दार किसन नै थियो होला। भन्थ्यो, ‘अरु साथीहरुको भरोसा लाग्दैन, आफू त कहिल्यै कतै बिटुलिएको छैन।’  

किसन मैले भेटेदेखि नै लवाइखवाइमा बेपर्वाह हो। तर पछिल्ला केही वर्षहरुमा लवाइखवाइदेखि हेयरस्टाइल र जीवनशैलीमै धेरै ख्याल राख्ने भएका थिए। के हो आजकल भन्दा सानो स्वरमा उनको जवाफ हुन्थ्यो, ‘यो सवै शोभाले हो।’ 

लिम्बुनीसँगको प्रेम प्रसंग 
किसन सधैँ भन्थे, ‘झण्डैले लिम्बु ससुराली नभएको मेरो!’ लक्का जवान हुँदै गर्दा एक जना छिमेकी लिम्बु कन्यासँग चिनाजानी भयो र एकअर्कामा आकर्षण बढ्यो होला। लिम्बुनीहरुमा अलि बोल्नमा धक नमान्ने, केटाहरुसँग पनि मजाक गरिहाल्ने, स्वतन्त्र स्वभाव हुन्छ। 

‘लाने भए जाने हो, हिम्मत छ लैजाने?’ भन्न कुनै लिम्बु कन्यालाई आइतबार पर्खिनु पर्दैन, सहजै भन्न सक्छन्। किसनलाई लागेछ, साँच्चै पो हो कि? केही वर्षअघि उनै तत्कालीन कन्यासँग फेसबुकमा किसनको सार्वजनिक दोहोरी चल्यो, उस जमानाको मजाकको।

किसन भन्ने, ‘मलाई मन पराउँथ्यौ।’

कन्या भन्ने, ‘तिमी पछि लागेको मात्र हो।’

त्यो जोडी बाँधिएको भए कि नटिक्ने, टिकेको भए किसनको व्यक्तित्व यस्तो त हुँदै नहुने बरु लिम्बुनीको सेपमा टाक्सिने सहजै अनुमान गर्न सकिन्छ। 

प्रेम पत्र 
धरान आउनुअघि किसनको बाल्यकाल सतिसालेमा बित्यो। उनी छिमेकी मगर्नीसँगै स्कुल जाने, छुट्टीमा गाईवस्तु चराउन जाने गर्थे। एक दिन किसनले प्रेम प्रस्ताव राखेर लामै पत्र लेखेर स्कुल जानेबाटोमा उनको कपीमा घुसाइ दिएछन्। तिमीलाई म माया गर्छु यहाँ–वहाँ भनेर बालसुलभ प्रेमप्रस्ताव थियो त्यो। तर, त्यसको जवाफ आएन।

ती पत्रकी प्रापक अहिले हङकङमै छिन्, नातिनातिनीको बोजु पनि भइसकिन्। ‘मलाई लेख्न पनि आउँदैनथ्यो, त्यतिबेला बुझिनँ, अहिले थाहा भो लभ लेटर पो र’छ’ आज सम्झिन्छिन्। 

हालसालैको कुरा, उनले जोर्डनको व्यस्त सडकमा सबैका सामु किसनलाई भनिन्, ‘मेरो हुन नसकेको ब्वाइफ्रेन्ड आई लभ यु।’ नलजाउने किसनको अनुहार पनि रातोपिरो भो। सम्हालिँदै उनले ‘मगर्नीहरुको प्यारे नै भैयो आइ लभ यु है’ मात्र के भनेको थियो किसनको गालामा च्वाम्मै म्वाइ खाइन्। चाडबाडको बेला, हल्का रङ लागेजस्तो थियो बहिनीलाई। किसन ‘हैट ..थैट!’ भन्दै कुलेलम ठोके।

नेपाली टोले डनहरुसँगको किस्सा 
हङकङको टोले दादाहरुको विरुद्धमा एउटा समाचार आयो एभरेस्टमा। नेपालमा वा विदेशमा पनि पत्रकारिताको वा समाचारको मर्म–धर्म नबुझ्ने समाज, समुदाय छ हाम्रो। किन समाचार लेखिस् भनेर किसनलाई बाटोबाट उठाएर भ्यानमा हाली गुण्डाहरुले जंगल पुर्याएछन्। हप्की–दप्की गरेछन्। किसन टेर्दैन त, धेरैबेर सम्झाइ बुझाइ गरेपछि ल ठिक छ अब नलेखौँला नि त भन्नेमा सहमति भएछ।

अब किसन दाइले हाम्रो विरुद्ध लेख्दैन भनेर एउटा रेस्टुराँमा ल्याएर खानपान मेजमान गराएछन्। खाइपिइसकेपछि ल म हिँडे है केटा हो भनेर निस्केछन्। के बिर्सेजस्तो फेरि ढोकासम्म फर्केर किसनले भनेछन्, ‘अरु कुरो त्यस्तै हो केटा हो... भएको कुरो लेख्न चाहिँ छाडिन्न।’ किसन घर लागेछन्, केटाहरु एकअर्कालाई हेरेर ट्वाँ परेछन्।

अन्तमा... 
किसनका यस्ता किस्साहरु कति छन कति! यी प्रतिनिधि किस्साहरुले किसन राईले बाँचेको निजी जीवनको झलक दिनेछ। किनकि किसन यस्तै जबर्जस्त एकोहोरो र ज्याद्रो, हठी स्वभावको तर निःस्वार्थ सफा मनको व्यक्ति थिए। त्यस्तै, समाजमा हरेक ठाउँमा, चाहे व्यक्तिगत होस्, चाहे सामाजिक वा राजनीतिक, उनी आफ्नो उपस्थिति जनाइरहेका हुन्थे। न्याय र समानताको पक्षमा आवाज दिइरहेका हुन्थे। किस्साका पात्र र पाठकहरुले पनि यी किस्साहरुलाई यसरी नै बुझिदिनु हुनेछ भन्ने आशा लिएको छु। 

किसनले गरेका कामहरुलाई, अन्याय र असमानताका विरुद्ध लडेको लडाइँलाई हङकङको नेपाली समुदायले उच्च कदर गर्नेछ भन्ने मेरो आशा छ। अब सायद किसन जस्तो ‘वन म्यान आर्मी’ अर्को सायद नहोला तर सामूहिक रुपमा त्यस्ता विकृति, विसंगति र असमानताको विरुद्ध लड्नु पर्ने आवश्यकता देखिन थालेको छ। 

अनन्य मित्र किसनको पहिलो वार्षिकीमा अनन्त सम्झना, श्रद्धासुमन!

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .