डायस्पोरिक जीवनको आत्मीय अनुराग छ ‘माइत जाने बाटो’भरि

डायस्पोरिक जीवनको आत्मीय अनुराग छ ‘माइत जाने बाटो’भरि

बज्रकुमार राई
मंसिर ९, २०८१ आइतबार २०:२६, साम सोई पो, हङकङ

हङकङेली नेपाली समाजको साहित्यिक जगत्‌मा कवि सुनिता गिरीको नाम नसुन्ने सायदै होलान्। कवि उपाधिका निम्ति उनले आजसम्म घरमै बसेर कविता लखेर मात्र बसिनन्, हङकङ साहित्यिक साझा शृंखलाको संयोजक भएर नेतृत्वदायी भूमिका पनि निर्वाह गरिन्।

कवि सुनिता गिरी

यसरी पनि उनको थप साहित्यिक चिनारी बन्यो। उनले कवि बन्ने होडबाजीमा हतार गरेकी पनि होइनन्। यो पंक्तिकारसँगको परिचयले नै करिब डेढ दशक छुन लागेको छ। त्यसबखत पनि सुनिता गिरीले कविता लेख्ने/पढ्ने गर्नाका साथै साहित्यिक कार्यक्रममा वाचन गर्ने गरेको थाहा छ। छापा पत्रपत्रिका, विद्युतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सुनिताका कविता प्रकाशन हुने गरेका थिए। यसको निरन्तरता छँदै छ।

उनको त्यस्तो रचनात्मक साहित्यिक यात्राबाट जो कोही प्रभावित र जानकार हुनु अस्वाभाविक होइन। ती यावत् अनुभव र अनुभूतिबाट खारिएर २०७४ सालमा उनको पहिलो कवितासंग्रह ‘माइत जाने बाटो’  हङकङ साहित्यिक साझा शृंखलाले प्रकाशन गर्‍यो। यसैको दोस्रो संस्करण २०७७ सालमा प्रकाशन भयो। र, अहिले २०८१ मा त्यसैको तेस्रो संस्करण ‘माइत जाने बाटो’ पुस्तकाकार भएको छ।

यो कवितासंग्रह केही दिनअघि मात्रै मेरो हातमा परेको हो। विशेष गरेर हङकङका साहित्यकारले लेखेका पुस्तक पढेर त्यसबारे आफ्नो दिमागमा भरिएका कुरा निष्पक्ष ढंगले लेखिदिनु एउटा असल पाठकको धर्म हो भन्ने लाग्छ।

सधैँ हतारो दिनचर्याको चटारो बीचबाट बडो मुस्किलले समय व्यवस्थापन गरेर केही लेखिदिने गरेको पनि छु। यही कारण यस कवितासंग्रहलाई अध्ययन गरेर लेख्ने  धृष्टता गर्दै छु। 

कविताबारे आआफ्नै विचार र धारणा हुन्छन्। कतिले केही खोट लुकाएर प्रशंसाको भारी पस्किदिन्छन् त कतिले केहीमा नजर राखेर तौलीतौली बोलिदिन्छन्। कतिले प्रभाव र सम्बन्धको भरमा खतरनाक प्रशंसा गरिदिन्छन्। अनि कतिचाहिँ प्रायोजित कवि र विज्ञापनकै भरमा चम्किरहन्छन्।  यो प्रक्रिया उहिल्यैबाट चलेको साहित्यिक मनोरोग हो। 

कवि सुनिता गिरीका कविताबारे त्यसो नगरीकन सत्यता उजागर गरिदिँदा पनि न्याय नै हुन्छ भन्ने लागेको छ। यो पंक्तिकारलाई धर्म नछाडी लेख्न कुनै बाध्यात्मक अवस्था छैन। ‘माइत जाने बाटो’ तेस्रो संस्करणको यो पुस्तकमा ४६ वटा कविता छन्। तीमध्ये ३२ वटा पूर्वप्रकाशित अर्थात् दोस्रो संस्करणबाट हुबहु साभार गरिएका छन्। 

यसरी हेर्दा यस संग्रहमा १४ कविता मात्रै नयाँ देखिन्छन्। १५८ पृष्ठको यो पुस्तकमा १२१ पृष्ठ त पुराना कविता, शुभकामना र भूमिकाले नै खाएका छन्। यस्तो प्रकारको संग्रह मैले पहिलोपटक जान्ने मौका पाएको छु। यद्यपि कतिवटा रचना छन्? किताब कति मोटो छ? भूमिका र शुभकामना कस्ता-कस्ता व्यक्तिका छन्? कतिले प्रशंसाको सगरमाथा ठड्याएका छन्? आदि/इत्यादितिर लाग्नुभन्दा पनि पुस्तकभित्रका रचना कस्ता छन् भन्ने कुरा महत्त्वपूर्ण हो।

झट्ट हेर्दा किताबको आवरणले कुनै माइथोलोजिकल स्टोरी वा दूरदराजको प्राकृतिक विकटता इङ्गित गरेझैँ लाग्छ। पछाडिपट्टि भने कविका उपलब्धिलाई बुँदागत रूपमा देख्दा एक प्रकारको आकर्षण हुन्छ।

सुनिताले अधिकांश कविता उही भावमा कोरेकी छन्।  नारी चेतका एकाध कविता पनि यस संग्रहमा छन्। ती कविता उग्र-आन्दोलित छैनन्। सामान्यत: सुनिरहेकै नारीका आलंकारिक बिम्ब छन्। कुनै भिन्न मुद्दाको उठान छैन। अत्यन्त सरल भाषा, शिल्प-शैली र समसुर भावरागबाट कविता सिर्जना गरिएका छन्।

एउटा यो अर्को कवितांश-

माइत जाने बाटोबाट 

टाढा देखिएका पहाडहरू

माइतीजस्तै लाग्छन्

माइत जाने बाटोबाट

माथि देखिएको आकास

माइती घरको आँगन जस्तै लाग्छ (माइत जाने बाटो, पृष्ठ ९७)।

यस्ता अनगिन्ती कवितांशले पनि कवि सुनिताको उही एकस्वरे कवित्वलाई प्रमाणित गर्छन्। यस संग्रहभित्र उनले लेखेका थप १४ वटा कविता पनि भावावेगका हिसाबले करिब-करिब उस्तै लाग्छन्। तर लेखन स्तरीयताका हिसाबले अलि बढी वजनदार छन्।

यस संग्रहभित्रका पहिलो कवितांश-

हली दाइ!

ढुंगामा बिसाएर

सिगरेट सल्काउँदै

एकछिन भए पनि 

दुःखका धुवाँलाई फुकेर

कैयौँ दु:खेसाहरू माथिमाथि उडाइरहेका होलान् (असार उत्सव, पृष्ठ १२२)। 

सुनिताका कविता सामान्य पाठकलाई पनि बुझ्न गाह्रो पर्दैन। सरल भाषा,  हरबखत जो कोहीसँग भइरहने बर्क्यौता भावनाको तिरोजस्तो सम्मोहन, परदेशी मनहरूको प्रेमिल आवाज र काँडाहरूलाई सहेरै बाँचिरहेको खुसीले माइती अर्थात् जन्मभूमिलाई दिएको अत्यन्त मीठो  स्नेहको कोसेलीजस्ता छन्- प्रत्येक कविता।

आत्मशील उनको यो कवितांश-

अन्तिम दृश्य नाँचिरहेछ आँखामा 

दृश्यमा,

भोकहरूका संग्रहालय छन् देशमा 

संग्रहालयको प्रत्येक ढोकाबाट

चित्कारहरूका कारुणिक ध्वनि

निस्कन खोजिरहेछ बाहिर (मेरा देशका दृश्यहरू, पृष्ठ १५०)। 

कोही यस्ता विचारशील भावना यथार्थमा उत्रिएर लेखिएका बुलन्द कविता यस संग्रहमा छन्। कवि सुनिता गिरीका कविताले ठूला विचारका ठेली बोकाउँदैनन्। न कुनै द्वन्द्वको हिंसात्मक रूप नै वर्णन गर्छन् न त कुनै वाद/प्रतिवादका पक्षधर भएर महामहिम कवि भएको वकालत नै गर्छन्।

उनका कविता कुनै पक्ष-विपक्षका मुद्दा लिएर साहित्यिक अदालत जाँदैनन् र, कठघरामा उभिदैनन्। बस्, उनका कविता डायस्पोरिक समुदायको मनमा रहेको घरदेश (होमल्यान्ड) को सम्झना, निश्चल सांस्कृतिक चेतसँगै परदेश (अदरल्यान्ड) को निष्कलंक मध्यस्थकर्ता भएर बाँचेका छन्। 

अब भने कवि सुनिताबाट मजस्ता पाठकले वैचारिक कविता पनि अपेक्षा गर्छन्। अहिलेसम्मका कविता अध्ययन गर्दा वास्तवमा कविलाई अलिक अध्ययनकै कमी भएको हो कि भन्ने लागी नै रहन्छ।

कविताका तीनवटा संग्रह नै प्रकाशन गरिसक्दा पनि एकै प्रकारको सम्पूर्णता आउनु उति राम्रो लाग्दैन। हुन त नेपालका वरिष्ठ कविले प्रशंसाको थुप्रो नै थुपारिदिएका रहेछन्। धेरै हदसम्म त्यो ठिकै पनि हो। लेख्नेलाई दुरुत्साहन होइन, प्रोत्साहन नै गर्नुपर्छ।

यसो भन्दै गर्दा एउटा पाठक जो केही न केही कविता बुझ्छ,लेखन बुझ्छ, सारतत्त्व बुझ्छ, वजन बुझ्छ, उसलाई मेरो कविले प्रशंसाशास्त्रभन्दा पठनशास्त्रतर्फ अलिक बढी लागेर ज्ञान आर्जन गरी अर्कैअर्कै छिमलका कविता लेखिदिए अझ बढी प्रेरणादायी खुसी मिल्थ्यो कि भन्ने लाग्छ।

मेरो पाठकीय दृष्टिकोणले यस कवितासंग्रहलाई डायस्पोरिक स्तुत्यपूर्ण वन्दनाका रूपमा लिएको छ। यस वर्ष हङकङेली नेपालीले साहित्यिक जगत्‌मा प्रकाशनका हिसाबले ठूलो फड्को मारेको छ। 

कवि सुनिताले मात्रै होइन, अन्य सर्जकले पनि विभिन्न विधाका साहित्यिक कृति प्रकाशन गरेका छन्। जहिले यहाँ  (हङकङ) ती कृतिबारे बोलिन्छ, त्यही दिन त्यसबारे लेखौँला भन्ने लागेको छ।  आजकल त कृतिको छेवर/पास्नी  पनि धेरै ठाउँमा गरिने परम्पराजस्तो देखिएकाले यो पंक्तिकारभित्र यस्तो भावना आएको हो। यस्तो प्रवृत्तिलाई समाजले स्वीकारेको पनि देखिन्छ।

समाजले स्वीकारेको समाजका लागि साहित्य भन्ने अर्थ पनि हो। समाजलाई नै नचाहिने हो भने त साहित्य केका लागि लेख्नु? तर एउटा सचेत लेखकले सचेत पाठक र समाज खोज्दै जाँदा असीमित हुनु राम्रो पक्ष हो।

तसर्थ नेपालमा लोकार्पण भएका कृति हङकङमा पनि होस्। यस अर्थले भन्ने हो भने सन् २०२४ लाई हङकङको नेपाली समाजले साहित्यिक प्रकाशन वर्षका रूपमा शुभारम्भ गरिदिए नेपाली भाषा, साहित्य लेख्ने सर्जकलाई ठूलो ऊर्जा मिल्न सक्थ्यो। 

समय पर्खिरह्यो भने त्यो समय नआउन पनि सक्छ। तर सुरुवात गरियो भने त्यो समय पक्कै आउँछ। यस्ता आशा राख्दै कवि सुनिता गिरीको साहित्यिक ब्रान्ड 'माइत जाने बाटो'ले सफलताको सगर चुमोस्, शुभकामना!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .