हङकङबाट अञ्जिला र भित्री सम्बन्धको चर्चा

हङकङबाट अञ्जिला र भित्री सम्बन्धको चर्चा

बज्रकुमार थुलुङ राई
मंसिर २९, २०८१ शनिबार १३:२२, हङकङ

८ डिसेम्बर साँझ हङकङमा नेपाली चलचित्र अञ्जिला प्रदर्शन भयो। नेपाली महिला फुटबलका क्याप्टेन तथा चर्चित गोलकिपर अञ्जिला तुम्बापो लिम्बुको जीवन संघर्षको कथावस्तुमा आधारित यो चलचित्र पाथिभरा ग्रुपले प्रदर्शनमा ल्याएको थियो।

हङकङमा विभिन्न संघसंस्था, समूह र व्यक्ति विशेषले समेत चलचित्र प्रदर्शन गर्ने लहर तीव्र छ। प्रदर्शन हल पाउन त्यति सजिलो पनि छैन। तैपनि  नेपाली चलचित्रहरू प्रत्येक हप्ता विभिन्न ठाउँका हलमा प्रदर्शन भइ नै रहेका हुन्छन्। दर्शकहरू पनि हलमा गएर चलचित्र हेरि नै रहेका छन्।

स्वेच्छाले भन्दा पनि आफ्नो समुदाय, इष्टमित्र र जनसम्पर्कको आधारमा  कार्यक्रमका टिकट बिक्री हुने गर्दछन्। कार्यक्रम भव्यताको मूल आधार पनि यही हो। त्यसका लागि सकेसम्मको प्रचारबाजी गरिन्छ। समाजसेवाको ढोल पिटिन्छ। नाता-सम्बन्ध जोडिन्छ। जसले जे नै भने पनि त्यसको अन्तिम लक्ष्य हो पैसा। हङकङवासी नेपालीको कमाइ राम्रै भएको र हृदय पनि अलि बढी नै देशप्रेमी भएको कारणले यहाँ कार्यक्रमहरू टार्गेटमा परेका होलान्।

तर, अञ्जिलाको प्रचारप्रसार साथै वक्तव्यबाजी बजारमा खासै आएको थिएन। स्वयं मलाई पनि यस चलचित्र प्रदर्शन र उद्देश्यको विषयमा जानकारी थिएन। इलाम समाजका अध्यक्ष वसन्त (विपिन)ले अञ्जिलाको टिकट उपलब्ध गराएर हेर्न गएको थिएँ।

करिब साढे ९ सय दर्शक सिट क्षमता भएको युनलङ थिएटर अडिटोरियममा प्रदर्शन भएको अञ्जिला दर्शकको रूपमा हेर्न जाँदै गर्दा मेरो मनमा केही कुरा खेलिरहेका थिए।

प्रथमत: एउटी भर्खरै सफलताको शिखरतर्फ उक्लिरहेकी सानी उमेरकी फुटबलरको बायोपिक सिनेमा बनाउने निर्माता को होला? किन उनले अञ्जिलाकै सिनेमा निर्माण गरेको होलान्? अञ्जिलाले त भर्खर मात्रै आफ्नो फुटबलको इतिहास रच्दैछिन्। उनको बारेमा यत्रो बबालै गरिहाल्नुपर्ने कुनै छुट्टै इतिहास पनि छैन। पक्कै पनि यो सिनेमाको निर्माता अञ्जिलाको कुनै धनाढ्य नरनाता होला!? निर्माता पैसा बढी भएको मूर्ख नै रहेछ कि क्या हो! सहानुभूतिले नै मात्र भनूँ भने पनि करोड रुपैयाँ अञ्जिलाको लागि खर्चने आफन्त को होला?

यिनै प्रमुख प्रश्न मनभित्र गाँठो पारेर म थिएटरभित्र छिरेको थिएँ। हुनत: यस चलचित्र हेर्न जाने समूहमा मलगायत किरात राई यायोक्खाका अध्यक्ष  गजेन्द्र राई, इलाम समाजका अध्यक्ष वसन्त (विपिन राई), थुलुङ राई सामाका अध्यक्ष रामली थुलुङ राई र खोटाङ समाजका अध्यक्ष पेङ्गुन पुमा राई पनि थिए।

मैले उल्लेख गरेका यी नामसँग रेल चढेर जाँदै गर्दा केही जिज्ञासापूर्ण कुरा गरेको थिएँ। तर, कसैसँग जवाफ र खास चासो रहेको पाइनँ। अनि, मेरा प्रश्न अनुत्तरित रहे।

हलमा बसिसकेपछि भने मेरो प्रश्नका उत्तर धमाधम आउन थाले। अञ्जिला प्रदर्शनपूर्व गरिएको छोटो औपचारिक कार्यक्रममा स्वयं अञ्जिला र निर्देशक मिलन चाम्सलाई उद्‌घोषक देवराज राईले मञ्चमा निमन्त्रणा गरेपछि दर्शक दीर्घाबाट तालीको गडगडाहट आयो। त्यसमाथि प्रदर्शनकर्ता पाथिभरा ग्रुपका सल्लाहकार कालसिंह राईले यस सिनेमा प्रदर्शनबाट भएको मुनाफाबाट सम्पूर्ण रकम अञ्जिलालाई नै प्रदान गरिने जानकारी गराएपछि अझै खुसीको माहोल बन्यो।

यो क्रमसँगै अञ्जिला स्वयं उभिएर मन्तव्य राख्दै गर्दा हलभित्र भावनात्मक सन्नाटाबीच पनि ताली बज्यो। उनले यस अभियानबाट निर्माण हुने घर केवल आफ्नो नभएर महिला फुटबल एकेडेमीको रूपमा रूपान्तरण गरिने जनाएपछि मेरा केही कौतुहलताको निवारण भयो।

यसरी नै निर्देशक मिलन चाम्सले यो चलचित्रको प्रमुख उद्देश्य ‘अञ्जिला घर निर्माण अभियान’लाई जोड्दै व्यक्तिगत रूपमा नगद सहयोग गर्नेहरूको नाम र सहयोग राशी उल्लेख गर्दा हलभित्र तालीको उस्तै गुञ्जयमान भयो।

अन्त्यमा कार्यक्रमको प्रमुख अतिथि वसन्त (विपिन) राईले इलामेली चेली अञ्जिलाको घर निर्माण अभियानमा आफ्नो सहयोग रहने बताउँदै हङकङवासीहरूमा सहयोगको अपिल गरे। यसपश्चात् अनस्क्रिन भएको सुरुको ३ मिनेट अञ्जिलाको डकुमेन्ट्रीले चलचित्र अन्दाज गर्न सजिलो बनाउनुका साथै मनलाई एकाग्रतातर्फ लगिहाल्यो। वरिष्ठ सञ्चारकर्मी भूषण दाहालको ह्यावी भोइस र स्क्रिप्टले  सुरुमै मन खिचिहाल्यो। त्यसपछि सुरु भयो अञ्जिलाको चमत्कार। त्यो गरिब अञ्जिलाको फुटबलदेखि फिल्मसम्मको दयानीय साहसिक कथा।

चलचित्रका पात्रहरू दयाहाङ राई, सृजना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायत स्वयं अञ्जिला तुम्बापोको अभिनय कथाको मागअनुसार उत्कृष्ट लाग्यो नै। त्यसमाथि, सिर्जना सुब्बाको अभिनय अति नै जीवन्त लाग्यो।

पुरातन शक्तिवादी गाउँघर, यथास्थितिपनको गरिबी, कठिन जीवनयापन, ठालु चारित्रिक समाज, एकल महिलाको त्राही त्राही दैनिकी र मातृ वात्सल्यको बोधगम्य दृश्यहरूको यथार्थ उद्‌घाटनले यस चलचित्रलाई साँच्चै उत्कृष्ट बनाएको छ।

जीवन र सम्बन्धका स-साना कुरालाई पनि अभिनयले जस्ताको तस्तै राखेको छ। अञ्जिलाको पटकथा स्थान, स्थिति र पात्र बिल्कुलै सुहाउँदो छ। गाउँको कान्छा बाउको नजरबाट आफ्नै आमाको सल्लाह र साथले भागेर अन्जान राजधानी एक्लै छिरेकी अञ्जिलाले पाइलापाइलामा भोगेको निर्मम भोगाइका प्रत्येक दृश्यले दर्शकको मन फुटाएर आँखाबाट आँसु चुहाइदिन्छ।

राजधानीका आफन्तहरूको मनै चुडाउने व्यवहारसँग भागेर सडकको मान्छे हुँदा लक्ष्य नछाडेकी अञ्जिलाले भगवान्‌को रूपमा पाएको सशस्त्र प्रहरी फोर्सका एसपी प्रेमकुमार श्रेष्ठले दिएको अभिभावकीय साथ, हौसला र हिम्मत प्रार्थनीय छ।

यस चलचित्रको एक सिनमा आफू सानी छँदा कान्छी आमा बिहे गरेर छोडी गएको आफ्नो बाबुलाई फुटबलको सफलतापछि भेट्न जाँदै गर्दा मोटर हाँकिरहेका पुलिस अफिसर पात्र प्रेमकुमारलाई अञ्जिलाले ‘म तपाईँलाई बुवा भन्न सक्छु?’ भन्ने प्रश्नले बोकेको विशाल अर्थले दर्शकलाई झनै रुवाउँछ। वास्तवमा उनै प्रेमकुमार श्रेष्ठ अञ्जिलाको गडफादर रहेछन्।

अञ्जिलाको १३ वर्षको उमेरबाट अभिभावकत्व लिएर फुटबलदेखि फिल्मसम्म ल्याइपुर्‍याउने प्रेमकुमार श्रेष्ठले नै अञ्जिलाको बायोपिक सिनेमा  बनाएर ‘अञ्जिलाको घर निर्माण अभियान’ शुभारम्भ गरेका रहेछन्।

सशस्त्र प्रहरीको जागिर पनि प्रेमकै देन रहेछ। अञ्जिलाले वास्तविक जीवनमा पनि रिटायर्ड एसपी प्रेमकुमारलाई ‘पापा’ शब्दले सम्बोधन गर्ने रहिछन्। खेलाडी र कलाकारलाई अत्यन्तै माया गर्ने प्रेमकुमार श्रेष्ठ आफैँ पनि भलिबल खेलाडी रहेछन्। यतिसम्म मैले हलमै थाहा पाएँ।

यस्ता धेरै मार्मिक कुराले रङ भरिएको चलचित्र अञ्जिला हेरेर हलबाट बाहिरिँदै गर्दा केही दर्शकले ‘अञ्जिला हङकङमा फेरि पनि प्रदर्शन भए हुन्थ्यो’ भनेको पनि सुनियो। मलाई लागेको कुरा पनि त्यही थियो।

चलचित्र हेरिसकेपछि मैले फेसबुकमा एउटा स्टाटस लेखेँ-
अञ्जिला!
त्यो स्टाटस लेख्नासाथै इनबक्समा मेसेजहरू आए। ती मेसेज पढेर म छक्क परेँ। सोचमग्न भएँ। भावनाले हृदय भरिए। जसको कारण थियो- अञ्जिलाका मुख्य निर्माता तथा कलाकार पात्र प्रेमकुमार श्रेष्ठको फेसबुक स्टाटस।

मलाई कसैले पठाएको प्रेमको उक्त स्टाटस निकै मार्मिक थियो। उनको कथनअनुसार स्वर्गीय किसन राईप्रति अञ्जिला समर्पण गर्न चाहे पनि परिवारको अनुमति नभएकोले आफू अत्यन्त मर्माहत भएर रोएको लेखेका छन्।

उनको पूरै स्टाटस पढ्दा मन निकै अमिलो भयो। स्व. किसन राई उहिलेदेखिका आफ्नो अनन्य मित्र रहेको र उनको दुर्घटनाको दागबाट आफूले नपाएको उन्मुक्तिको विषयमा आँसुकै मसीले लेखेको महसुस भयो।

‘किसन पाँच मिनेट लाइभ भएर प्रेम निर्दोष छ भनिदिए हुन्थ्यो…’, ‘... जहिले'नि मेरो बुहारी है अञ्जिला भन्थ्यो... केटोलाई म मनाइहाल्छु नि भन्थ्यौ..’ ‘…तिम्रै कारण आज म यो स्थानमा छु...’।

यी वाक्य प्रेमकुमार श्रेष्ठका फेसबुक अभिव्यक्ति हुन्। यसका साथै आजको प्रतिष्ठित व्यक्तित्व र सुखद् पारिवारिक पृष्ठभूमि निर्माणको प्रमुख कारक नै किसन रहेको पनि स्पष्ट पारेका छन्।

हुन पनि प्रेम र किसनबीच एउटै आमाको कोखबाट जन्मेको छोराहरू जस्तै सम्बन्ध थियो। त्यो सम्बन्धमा किसनको मृत्युपछि केही दरार आए पनि पारिवारिक सम्बन्ध आज पनि उस्तै छ। तथापि स्व. किसन राईको जेठा छोरा अरिमले हङकङबाट खोटाङ गएर आफ्नो बुबाको उही साथी प्रेमकुमार श्रेष्ठलाई लगाएको मुद्दाको छिनोफानो भएको छैन।

त्यो मुद्दा के भइरहेको छ? भन्ने दुवै तर्फलाई थाहा छैन। अड्डा अदालतबाट वा कुनै सम्बन्धित निकायबाट दुवै पक्षलाई कुनै खबर आएको पनि छैन। ती दुई परिवारले सत्यतथ्य बाहिर आएर समाजको शंका-उपशंका निवारण होस् भन्ने नै ठानेको बताउँछन्।

त्यो अभियोगलाई एक ठाउँमा राखेर आज पनि दुई परिवारप्रति एकअर्कामा आत्मीयतापूर्ण सहानुभूति रहेको देखिन्छ। एपीएफका रिटायर्ड एसपी प्रेमकुमार श्रेष्ठ स्वयं भलिबल खेलाडी, कलाकार तथा समाजसेवीका रूपमा चिनिएका व्यक्तित्व हुन् भने स्वर्गीय किसन राई हङकङ नेपाली समाजका एक साहसिक, बौद्धिक तथा नेतृत्वदायी अभिभावक थिए।

उनलाई सम्मानपूर्वक हङकङेली नेपालीले ‘वरिष्ठ’, ‘वान म्यान आर्मी’, ‘आइरन म्यान’ आदि जस्ता उपमा दिएका थिए। ज्याद्रो कर्म र खस्रो स्वभावका किसनको नेपाल गएका बखत २४ अक्टोबर २०२१ मा खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका-८, बुवालुङ दोर्पा सिउरीडाँडास्थित पङ्खु खोलामा शौच गर्न जाँदा भिरबाट लडेर मृत्यु भएको थियो।

त्यो यात्रामा उनीसँग उनै प्रेम दम्पती थिए। दुर्घटनाको प्रकृतिसँगै विभिन्न शंका-उपशंकाको घेरामा प्रेमकुमार श्रेष्ठलाई राखेर समाजले मृत्युको आरोप लगायो। त्यस विषयमा ठूलो आवाज उठ्यो। आज पनि समाजमा त्यो आवाज बुलन्द नै छ। त्यो दुर्घटनाको सत्य के हो नेपालको सम्बन्धित निकायले चाँडै फैसला गरिदिए समाज स्पष्ट हुनेथियो। दुई परिवारबीचको सम्बन्ध पनि उस्तै सुमधुर हुने थियो।

विशेष गरेर हङकङ नेपाली समाजले किसन राईको बारेमा उठाएको आवाजलाई अन्याय होला भन्ने हेतुले अञ्जिलामा किसन राईको फोटो राखेर समर्पित गर्न परिवारले अनुमति नदिएको बताइएको छ।

किसन राई समाजबाट आएको, समाजले बनाएको र जीवनपर्यन्त समाजकै लागि समर्पित व्यक्तित्व थिए। आ-आफ्नो ठाउँमा आ-आफ्नै गतिलो स्थान बनाएका यी दुई व्यक्तित्वको मित्रता उदाहरणीय थियो।

अब फेरि प्रत्यक्ष रूपमा ती यावत् कुरा सम्भव त छैनन् तर स्वर्गीय किसनको अधुरा चाहनाहरूमध्ये प्रेमले अञ्जिला बनाएर एउटा चाहना पूरा गरिदिएका छन्।

त्यो भेटको बेला किसन र प्रेमबीच चलचित्र बनाउने पनि सल्लाह भएको थियो रे। अब स्वर्गीय किसनको नाममा गर्न सक्ने कामका लागि प्रेमले  बाँचुन्जेल यसरी रोएर स्पष्टीकरण दिन नपरोस्। अनुसन्धान र कानुनले यथाशीघ्र यो मुद्दा पार लगाउन सकोस्। आगामी दिनको सुखद शुभेच्छा छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .