हङकङमा ‘महावीर पुन’ पुस्तक २४ हजार सम्ममा बेच्न मैले गरेको भावनात्मक ‘ब्ल्याकमेलिङ’

हङकङमा ‘महावीर पुन’ पुस्तक २४ हजार सम्ममा बेच्न मैले गरेको भावनात्मक ‘ब्ल्याकमेलिङ’

रत्नाखर काफ्ले
फागुन २८, २०८१ बुधबार १०:४०, हङकङ

सामाजिक सञ्जाल आजको युगको शक्तिशाली माध्यम हो। नेपालमा फेसबुक, एक्स (साविक ट्विटर), टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्मले सूचना प्रवाह, मनोरञ्जन र सम्पर्कको आधार मात्र नभई समाजसेवा, जनचेतना र सहयोगको भावनालाई पनि तीव्र बनाएका छन्।

तर, यसको अर्को पाटो उत्तिकै चिन्ताजनक छ - भावनात्मक ब्ल्याकमेलिङ, सामाजिक दबाब र सामाजिक अभियन्ताको नाममा हुने ठगी।

जनचेतनाको उज्यालो पक्ष
नेपालमा सामाजिक सञ्जालले समाजसेवालाई नयाँ गति दिएको छ। महाभूकम्पपछि २०७२ सालमा युनेस्को र संस्कृति मन्त्रालयले आंशिक रूपमा क्षतिग्रस्त भएका पुरातात्त्विक संरचनाको पुनर्निर्माण थालेका थिए।

काठमाडौँ उपत्यकामा सयौँको संख्यामा ऐतिहासिक भवन ध्वस्त भएका थिए भने आंशिक ध्वस्त हुने भवनको संख्या पनि उत्तिकै थिए। महाभूकम्पपश्चात्‌, युनेस्कोको बहु-जातीय स्मारकहरूको पुनर्निर्माणका लागि लागत अनुमान १ खर्ब ८६ करोडभन्दा बढी रहेको थियो।

धरहराको पुनर्निर्माण २०७५ पुसमा सुरु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे। पुरानो धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ धरहरा २० तलासहित पुनर्निर्माण गरियो।

भूकम्पपश्चात्, अन्तर्राष्ट्रिय संस्थाहरूले तीन अर्ब अमेरिकी डलरको सहायता प्रतिज्ञा गरे। तर, नेपालमा पठाइएको सहायतामा अत्यधिक भ्रष्टाचार हुने सम्भावना दर्शाउँदै प्रतिज्ञा गरिएको रकम आंशिक मात्र प्राप्त भयो।

युनिसेफले नेपालका बालबालिकालाई अस्थायी आवास र स्वास्थ्य सेवा प्रदान गर्‍यो। छिमेकी राष्ट्र भारतले पनि अस्थायी आवास र एक अर्ब डलर सहयोग गरेको थियो। चीन, एसियाली विकास बैंक र संयुक्त अधिराज्य लगायत अन्य राष्ट्रले पनि महत्त्वपूर्ण द्विपक्षीय सहायता प्रदान गरेका थिए।

यस्तै, कोभिड-१९ महामारीमा सामाजिक सञ्जालमार्फत अक्सिजन सिलिन्डर र औषधि जुटाउने अभियानले हजारौँको ज्यान बचायो।

उदाहरणका लागि, खोटाङमा दिक्तेल बजार सामाजिक गुठीले कोभिड–१९ को महामारीबाट बच्न र बचाउनका लागि अक्सिजन लगायतका स्वास्थ्य सामग्री जुटाउन अभियान थालेको थियो।

गुठीको आह्वानमा संस्थागत र व्यक्तिगत रूपमा प्राप्त भएको सहयोग रकमबाट ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिन्डर, ३ हजार ५ सय थान मास्क र ३५ लिटर सेनिटाइजर संकलन गरी सेवा प्रदान गरेको पाइन्छ।

यस प्रकारको सहयोग सबैतिरबाट भएकाले हजारौँ जनताको ज्यान बचेको थियो।

जनचेतनाको क्षेत्रमा पनि सामाजिक सञ्जाल प्रभावकारी बनेको छ। महिला हिंसा र बालविवाहविरुद्धका अभियानले समाजमा ठूलो बहस सिर्जना गरेका छन्।

निर्मलाका लागि न्याय (#JusticeForNirmala) अभियानले निर्मला पन्तको हत्याको विषयलाई राष्ट्रिय मुद्दा बनायो र सरकारमाथि दबाब सिर्जना गर्‍यो।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतनाका लागि टिकटक भिडिओहरूले छोटो समयमै ठूलो प्रभाव पारेको भेटिन्छ।

सहयोगको डिजिटल रूप
सामाजिक सञ्जालले नेपाली समाजमा रहेको परम्परागत सहयोगको भावनालाई डिजिटल रूप दिएको छ।

कुनै व्यक्तिलाई आर्थिक वा स्वास्थ्य संकट परेमा फेसबुकमा सहयोग अभियान सुरु हुन्छ। यस प्रकारको अभियानका उदाहरण लाखौँ छन्। र, हरेक व्यक्तिको फेसबुक वालमा यी उदाहरण देख्न पाइन्छ।

पंक्तिकार स्वयंले पनि २७ जुन २०१७ मा ‘राष्ट्रिय आविस्कार केन्द्र’को लागि हङकङ डलर १ लाख १ हजार ३ सय १८ (हालको नेपाली रुपैयाँ १८ लाख ९० हजार) बराबरको रकम संकलन गरी दाताको नामावलीसहित दाताकै नाममा जम्मा हुनेगरी महावीर पुनको हातमा नगद थमाइदिएको थिएँ। यो कुरा स्वयं महावीर पुनले आफ्नो फेसबुक वालमा समेत उल्लेख गरेका थिए।


त्यसैगरी, हङकङमा ‘महावीर पुन’ नामक पुस्तक बिक्रीका लागि मैले फेसबुकमा अभियान चलाएँ। महावीर पुनकै सहयोगी राजुबाट मैले ५० प्रति पुस्तक हङकङ डलर एक सयका दरले खरिद गरेँ। र, यी पुस्तकलाई प्रतिकपि न्युनतम ५ सय हङकङ डलरमा किन्नुपर्ने भनी फेसबुकमा पोस्ट गरेँ। केही दिनभित्रै ५० प्रति सहजै बिके।

उक्त पुस्तकबापत हङकङ डलर २६ हजार ४ सय ६२ संकलन भयो। कसैले ५ सयमै पुस्तक लगे भने कसैले ६ सय, कसैले ७ सय त कसैले एउटै पुस्तकका लागि १३ सय हङकङ डलरसम्म तिर्न राजी भए (जुन तल लिस्टमा देख्न सकिन्छ)।

यहाँ खरिदकर्ताहरू सहयोगको भावनाले प्रेरित थिए। सबैलाई प्रेरित गराउन फेसबुक वालमा अनेक तरहले पोस्ट गर्नुपर्ने हुन्थ्यो, जो मैले गर्थेँ।

वास्तवमा यो एउटा नजानिँदो भावनात्मक ब्ल्याकमेलिङकै रूप थियो। जसलाई हामीले क्यासमा परिणत गरेका थियौँ।

विचारणीय कुरा यो छ, कुनै व्यक्तिले ५ सय न्युनतम मूल्य भनिएको एउटा किताबलाई १३ सय हङकङ डलर (नेरु २४ हजार ५०) सम्म तिर्न सक्छ? सक्छ। तर, ऊ कुनै न कुनै रूपमा प्रेरित भएको हुनु पर्छ।

यस्ता उदाहरणले सामाजिक सञ्जालको सकारात्मक शक्ति देखाउँछ।

हालसालै उनै चर्चित व्यक्तित्व महावीर पुनले आफ्नो किताब बेच्ने क्रममा सुनको गहना उपहार प्राप्त गरेको घटनाले यो बहसलाई थप जीवन्त बनाएको छ।

यो घटना र पंक्तिकारले सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै चलाएको अभियानमा उति साह्रो फरक छैन।

माथिको रकम जुटाउन राष्ट्रिय आविस्कार केन्द्रको लागि सहयोगको अपिल थियो भने हाल महावीर पुन स्वयंको अपिल ‘महावीर पुन’ नामक किताबको बिक्रीमार्फत जम्मा हुन आएको रकमले वीरगन्जको कृषि औजार कारखानालाई पुनर्जीवन दिने रहेको छ।

महावीर पुन, एक प्रख्यात व्यक्ति हुन् जो आफ्नो किताब ‘महावीर पुन’ बेचेर वीरगञ्जको कृषि औजार कारखानालाई पुनर्जीवन दिने अभियानमा छन्।

उनले हालसम्म करोडौँ रकम संकलन गरिसकेका छन्, जुन सरकारी दायित्त्वको काम भए पनि व्यक्तिगत पहलमा उठाएका छन्।

पुनले नचाहँदा-नचाहँदै पनि माथि उल्लेखित सुनको गहना महिलाले जिद्दी गरेपछि स्विकार्न बाध्य भएका छन्। यो घटनाले सामाजिक सञ्जालमा ठूलो तरंग समेत ल्याएको थियो। कतिले यो दानलाई मानवीय संवेदनाको उत्कृष्ट उदाहरण माने भने कतिले यसलाई भावनात्मक ब्ल्याकमेलिङको सुक्ष्म संकेत ठाने।

भावनात्मक ब्ल्याकमेलिङ भनेको कुनै व्यक्तिको भावनालाई हतियार बनाएर कुनै कार्य गर्न बाध्य पार्नु हो। यो सधैँ प्रत्यक्ष रूपमा ‘मलाई सहयोग नगरे मर्छु’ भन्ने खालको हुँदैन।

कहिलेकाहीँ यो अप्रत्यक्ष रूपमा, कथाहरू र संवेदनशील पोस्टमार्फत हुन्छ। जब यस्ता कथा बारम्बार सेयर हुन्छन् अनि मानिसले सुनका गहना, पैसा वा अन्य सहयोग दिन थाल्छन्। यो क्रमले सामाजिक दबाबको रूप लिन सक्छ।

उदाहरणका लागि, यदि कसैले सहयोग गरेन भने ऊ ‘संवेदनाहीन’ ठानिन्छ कि भन्ने डर पैदा हुन्छ। यो दबाबले व्यक्तिको विवेकमाथि भावनालाई हावी गराउँछ, जसले ठगी र दुरुपयोगको जोखिम पनि बोकेर आउँछ।

महावीरको सन्दर्भमा ठगीको प्रश्न उठ्दैन। किनकि, उनको उद्देश्य पारदर्शी छ। तर, उनको यो कार्यले अन्जानमा एउटा नजिर स्थापित गरेको छ–भावनात्मक कथाहरूले सहयोग जुटाउन सकिन्छ भन्ने! यदि यस्तो प्रवृत्ति बढ्यो भने भविष्यमा गलत मनसाय राख्नेहरूले यसको दुरुपयोग गर्न सक्छन्!

सामाजिक दबाब
सामाजिक सञ्जालमा यस्ता पोस्ट सेयर नगरे वा सहयोग नगरे ‘म असल मान्छे होइन’ भन्ने मनोवैज्ञानिक दबाब सिर्जना हुन्छ। जब धेरैले सहयोग गरेको देख्छन्, व्यक्तिमा ‘मैले पनि गर्नु पर्छ’ भन्ने भावना जाग्छ।

यो सामूहिक मनोविज्ञानले व्यक्तिको स्वतन्त्र निर्णय गर्ने क्षमतालाई कमजोर बनाउँछ। उदाहरणका लागि, यदि कसैले सुनको गहना दियो भन्दै पोस्ट आयो भने अर्को व्यक्तिमा ‘मैले पनि केही गर्नुपर्छ’ भन्ने दबाब पर्छ।

यो दबाबले कहिलेकाहीँ आर्थिक बोझ वा भावनात्मक तनाव निम्त्याउँछ।

महावीर पुनको अभियानले निसन्देह सरकारी असफलताको ठाउँमा व्यक्तिगत पहलको सफलताको उदाहरण प्रस्तुत गरेको छ। उनको यो कार्यले समाजमा सहयोगको भावना जागृत गरेको छ। तर, यो भन्दैमा दाताहरूमा पर्ने जाने नकारात्मक पक्षलाई बिर्सन मिल्दैन।

यदि यस्ता भावनात्मक उदाहरणले मानिसलाई विवेक गुमाएर सहयोग गर्न बाध्य बनाउँछ भने यो दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ। यसले समाजमा एउटा यस्तो संस्कृति बसाउन सक्छ जहाँ सहयोग गर्नु दबाबको परिणाम बन्छ, स्वेच्छिक निर्णय होइन।

भावनात्मक ब्ल्याकमेलिङ
सामाजिक सञ्जालको सकारात्मक प्रभावसँगै भावनात्मक ब्ल्याकमेलिङको समस्या पनि बढ्दो छ।

मानिसहरूले आफ्नो दु:ख वा समस्यालाई अतिरञ्जित गरेर सहानुभूति र सहयोग बटुल्ने प्रवृत्ति देखिन्छ। कुनै व्यक्तिले बिरामीको उपचारका लागि आर्थिक सहयोगको नक्कली अपिल गर्दै आफ्नो कथालाई अतिरञ्जित गर्छ। तर, पछि थाहा हुन्छ कि उक्त व्यक्तिले भनेजस्तो गम्भीर स्थिति बिरामीको हुँदैन र उसले आर्थिक लाभका लागि यो अपिल गरेको हुन्छ।

त्यसैगरी कतिपय व्यक्तिले आफ्नो जीवनका दु:खद् घटनालाई अतिरञ्जित गरेर फेसबुकमा पोस्ट गर्छन् र सहानुभूति बटुल्छन्। पछि थाहा हुन्छ कि ती घटना वास्तविक थिएनन् र उक्त व्यक्तिले सहानुभूति बटुली अर्थोपार्जनका लागि झुटो कथा बनाएको थियो!

यस्ता घटनाले सहयोगको भावनालाई दुरुपयोग गर्नुका साथै वास्तविक पीडितप्रति विश्वास घटाउने काम गर्छ।

अभियन्ताको नाममा ठगी
सामाजिक सञ्जालमा ‘सामाजिक अभियन्ता’को पहिचान बनाएर ठगी गर्ने प्रवृत्ति पनि उत्तिकै चिन्ताजनक छ।

केही व्यक्तिले आफूलाई समाजसेवीको रूपमा प्रस्तुत गरी सहयोग संकलन गर्छन् तर त्यसको दुरुपयोग गर्छन्। संकलित रकमको सही सदुपयोग भयो कि भएन भनी धेरैलाई हेक्का नै हुँदैन।

कुनै पनि कथित अभियन्ताले ‘गाउँमा स्कुल बनाउन सहयोग चाहिएको छ’ भन्दै फेसबुकमा अभियान चलाउनु र स्कुल नबनाउनु, ‘बाढी पीडितलाई सहयोग’ भन्दै पैसा उठाउनु तर पीडितसम्म कुनै सहयोग नपुर्‍याउनु यसको थप उदाहरण हो।

यी सबै दृष्टान्तमा सरकारी निकाय मौन छ। यस्ता ठगीका घटनाले सामाजिक सञ्जालको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्‌।

मानसिक स्वास्थ्यमा असर
सामाजिक सञ्जालले सिर्जना गरेको सामाजिक दबाब, ब्ल्याकमेलिङ र ठगीबाट मानसिक स्वास्थ्यमा पर्ने असर कम चिन्ताजनक छैन। इन्स्टाग्राममा देखाइने आडम्बरी जीवनशैलीले युवाहरूमा हीनताबोध र तनाव बढाएको छ।

काठमाडौँ विश्वविद्यालयको एक अध्ययनले ६० प्रतिशतभन्दा बढी किशोरकिशोरी सामाजिक सञ्जालका कारण आफ्नो जीवनप्रति असन्तुष्ट रहेको देखाएको छ।

‘ट्रोलिङ’ र ‘साइबर बुलिङ’ले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। २०८० मा एक टिकटक स्टार मोनिका ठकुरी (Moon Dgaf) नामकी टिकटकरले नकारात्मक टिप्पणीका कारण आत्महत्या गरिन्। उक्त घटनाले यो समस्याको गहिराइलाई दर्साउँछ।

समाधानको बाटो
सामाजिक सञ्जालको यो दोहोरो प्रभावलाई हेर्दा यो न त पूर्ण वरदान हो, न त अभिशाप। यो एक औजार हो, जसको प्रयोगले नै परिणाम निर्धारण गर्छ।

समाजसेवा र जनचेतनाका लागि यसको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्न सरकार र नागरिक समाजले संयुक्त प्रयास गर्नु पर्छ। सहयोग अभियानमा पारदर्शिता कायम गर्न प्रमाणीकरणको व्यवस्था आवश्यक छ।

भावनात्मक ब्ल्याकमेलिङ र ठगी रोक्न कडा कानुन र अनुगमन चाहिन्छ। सामाजिक अभियन्ताको नाममा हुने ठगी रोक्न सामाजिक सञ्जाल प्लेटफर्महरूले कडा नीति लागू गर्नु पर्छ।

मानसिक स्वास्थ्यको संरक्षणका लागि डिजिटल साक्षरता अभियान चलाउनु पर्छ। स्कुल-कलेजमा सामाजिक सञ्जालको सही प्रयोग सिकाउने पाठ्यक्रम समावेश गर्न सकिन्छ। अभिभावकले बालबालिकाको अनलाइन गतिविधिमा ध्यान दिनु पर्छ। व्यक्तिगतस्तरमा हामीले सामाजिक सञ्जालको दबाबबाट मुक्त भएर आफ्नो वास्तविक जीवनलाई प्राथमिकता दिनु पर्छ।

नेपालमा सामाजिक सञ्जालले समाजसेवा, जनचेतना र सहयोगको भावनालाई तीव्र बनाएको छ।

भूकम्पमा राहतदेखि महामारी सहयोगसम्मका उदाहरणले यसको सकारात्मक पक्ष देखाउँछन्। तर, भावनात्मक ब्ल्याकमेलिङ, सामाजिक अभियन्ताको नाममा हुने ठगी र सामाजिक दबाबले यसको अँध्यारो पक्ष उजागर गर्छ।

यो दोहोरो प्रभावलाई सन्तुलनमा राख्न सचेत प्रयोग, नीतिगत सुधार र सामाजिक जागरुकता अपरिहार्य छ। सामाजिक सञ्जाल हाम्रो हातको औजार हो, यसलाई समाज परिवर्तनको माध्यम बनाउने कि दुरुपयोगको कारण, त्यो तपाईँ हाम्रै हातमा छ।

(रत्नाखर काफ्ले ‘हिमालयन यात्रा’ हङकङका पर्यटन व्यवसायी हुन्)

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .