प्याउलीसँगको त्यो नेपाल यात्रा, जसले बिर्सायो हङकङ

नेपाल एयरलाइन्सको सास्तीले खोसेको छोरीको निद्रा
प्याउलीसँगको त्यो नेपाल यात्रा, जसले बिर्सायो हङकङ

बालिका बान्तावा (तस्बिर : विशाल कार्की)


बालिका बान्तावा
बैशाख १३, २०८२ शनिबार ११:७, हङकङ

२५ वर्ष भएछ हङकङ बसेको। यसबीचमा कैयौँपटक नेपाल आवातजावत गर्ने क्रम चलिरह्यो। तर यसपटकको नेपाल यात्रा मेरा लागि विशेष थियो। मैले जानेसम्म, नेपाल जानका लागि मेरो यात्राको सारथी जहिल्यै नेपाल एयरलाइन्स हुने गर्थ्यो तर यसपटक भने मेरो देश जस्तै जहाजको अनिश्चितताको कारण क्याथे प्यासिफिकमा जानुपर्ने भयो। मार्च ५ तारिख मध्यदिनमा हङकङबाट नेपालका उडेँ।

हङकङबाट उडेको करिब पाँच घण्टापछि आफ्नै देशको माटोमा ओर्लिसकेको थिएँ। यसपटक नेपाल टेक्दा मभित्र बेग्लै उत्साह थियो। अघिल्ला पटकझैँ आफ्नै देशमा परदेशी जस्तो थिइनँ म। विमानस्थल बाहिर भाइ हेमन र भदै क्षितिज पर्खिरहेका थिए।

जहाजबाट उत्रेर मेसिनमा ब्याग लगाएको मात्रै के थिएँ, भाइ र भदैलाई छिट्टै भेट्न लागेको उत्साहमा तगारो आइलाग्यो।

ब्यागभित्र मोबाइल राखेको थिएँ। नजिकको एक साथीले हङकङबाट सामसङको पछिल्लो ब्रान्ड ल्याइदिनू भनेकोले हार्न नसकेर ल्याएको थिएँ। हुनत: सुरुमा इन्कार पनि गरेको हो, यस्तै झन्झट आइलाग्ला भनेर। तर, साथीको जोडका अगाडि मेरो केही लागेन।

मेरो ब्याग साइड लगाएर कर्मचारीले सोधे, ‘ब्यागमा फोन छ?’
छ भन्ने मेरो जवाफपछि अर्को प्रश्न आयो, ‘कुन फोन ?’
सामसङ भन्नेबितिकै ‘एस २५ अल्ट्रा’ हो भनेर अर्को प्रश्न तेर्सियो। मैले हो भनेँ।
‘डब्बामै छ कि खोलेको हो?’ केरकार रोकिएन।
डब्बामै भएको जनाएँ। अझै पनि प्रश्न बर्सिन छोडेनन्। उनीहरूले जे जे सोधे, मैले यथार्थ के हो त्यही बताइदिएँ। किनकि मलाई झुट बोल्नु थिएन। तर, यही सच्चाइले भने मेरो जाँचपास दुई घण्टा लम्बियो।

उक्त मोबाइलको भन्सार नेपाली २९ हजार रुपैयाँ बुझाउन भनियो। मसँग नेपाली रुपैयाँ थिएन। कर्मचारीलाई आफ्नो समस्या बताएँ। पैसा नभए फोन छोडेर जानू, पछि लिन आउनू भनियो।

छोडेर हिँड्न मनले मानेन। केही हङकङ डलर साथमै थियो। त्यसले काम चल्ला कि भनेर सोधेँ। हुन्छ भन्ने जवाफ आयो। तर प्रक्रिया चाहिँ यति झन्झटिलो रहेछ कि घरी यता जाउ भनेको छ, घरी उता। बाहिर भाइ र भदै बसेको दुई घण्टा हुन लागिसक्यो, उनीहरूको फोन आएको आयै छ! म त्यसै अत्तालिसकेको थिएँ। दुई घण्टा बेसी रिङ्गाएपछि हङकङ डलर १७ सय भन्सार तिरेर बाहिर निस्किएँ।

खै किन हो, भित्र यतिका उल्झनपछि बाहिर निस्कँदा उल्लास मरिसकेको थिएन। भाइ र भदै खादा लिएर उभिइरहेको देखेँ।
विमानस्थलबाट ललितपुरको एक अपार्टमेन्टतर्फ बाटो ततायौँ जहाँ हाम्रो बस्ने बन्दोबस्त थियो। सो अपार्टमेन्टको दुईवटा फ्लोर हङकङमा सँगै काम गर्ने दुई प्रिय बहिनी निरू लिङ्देन र सविता मल्लले बुकिङ गरिदिएका थिए। दुई फ्लोरमा हामी १२ जना बस्न गइरहेका थियौँ।

अपार्टमेन्ट पुग्दा भदैनीहरूले अपार्टमेन्ट सजाएर केक राखी स्वागतमा पर्खिरहेका थिए। उनीहरूको त्यो सम्मान र प्रेमले मभित्रको हृदय पग्लिएर आँखाबाट खसेछ। यसरी धेरैपछि खुसीले रोएको थिएँ म।
...
नेपाल टेकेपछि सधैँ भेटिरहन मन लाग्ने मेरो प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ गणेश रसिक दाजु। क्यान्सरसँग लड्दै हुनुहुन्छ भन्ने समाचार मार्फत सुनेको थिएँ। नेपाल टेकेको भोलिपल्ट भाइ हेमनसँग भक्तपुरस्थित उहाँको निवास पुग्यौँ। दाजुको अवस्था देखेर अवाक्‌ भएँ। कस्तो हुनुहुन्थ्यो, कस्तो हुनुभएछ! हरिया पातले छोडेर सुक्दै गइरहेको रुखजस्तो दाजुको अवस्था देखेर केही बोल्नै सकिनँ।

मेरो अघिल्तिर बसेको भाइ हेमन पनि चुपचाप बसिरहेको थियो। सामुन्ने हुनुहुन्छ रसिक दाजु। उहाँ बोल्न खोज्नुहुन्छ तर धेरै बोल्न समेत श्वासले नभ्याउने। उहाँको मुस्किल सहजै अन्दाज गर्न सकिन्थ्यो। तैपनि दाजुले सकेसम्म कुरा गर्ने कोसिस गर्नुभयो। आफू त्यो अवस्थामा भएर पनि सन्चोबिसन्चो सोध्नुभयो। उहाँले काम गर्नुभएको पछिल्लो पुस्तक ‘कोशी प्रदेश, नेपाली साहित्यको अभिलेख’ थर्थराइरहेको हातले हस्ताक्षर गरेर दिनुभयो। मैले भर्खरै प्रकाशित मेरो उपन्यास ‘प्याउली’ दाजुलाई थमाउन पाएँ।

करिब आधा घण्टाजति दाजुसँग गफियौँ। गफियौँ पनि के भनूँ, दाजुको अवस्थाको अघि मौनताले बात मार्‍यो बेसी त। सोफामा हलचल नगरी बसिरहनुभएको दाजुलाई हेर्‍यो कि आँखा टिल्पिलाउन सुरु हुने। हामी धेरै बेर बस्न सकेनौँ त्यहाँ। दाजुलाई पर्खेर बसेर पनि हुने केही थिएन। न त दुःखाइहरू बाँड्न सकिने!

गणेश दाजुसँग बिदा भएर सिधै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानतिर हुइँकियौँ। बाटाभरि गणेश दाजुकै कुरा गर्दै हिँडियो। प्रज्ञाप्रतिष्ठानमा पुगेर प्रतिष्ठानका कुलपति भूपाल राई दाजुलाई भेट्यौँ। उहाँ प्रज्ञाप्रतिष्ठानका कुलपति मात्रै नभएर नेपाली गीत र कविताको अग्लो पहाड समेत हुनुहुन्छ। मजस्तो लेखनमा रुचि र रहर गर्नेहरूले दाजुलाई भेटेर आशीर्वाद लिनु सौभाग्य ठानेँ।

भूपाल दाजुलाई ‘प्याउली’ थमाउँदै प्रज्ञाप्रतिष्ठानमै हुने विमोचनको रूपरेखा सुनाएँ- मार्च ८ अर्थात्‌ अन्तर्राष्ट्रिय नारी दिवसको दिन विमोचन गर्ने। विमोचनमा वक्ताहरू सबै नारी मात्रै हुन्छन्। मञ्चमा समेत नारी मात्रै हुनेछन् भनेर सुनाएँ। मेरो कुरा सुनिसकेपछि दाजुले हाँसोमिश्रित मोटो स्वरमा बिस्तारै भन्नुभो, ‘सबै महिला मात्रै रहेछन्। तिमीलाई नारीवादी भनेर विरोध गर्लान् है बालिका।’

‘प्याउली’ लोकार्पणका क्रममा

...
मेरो जीवनकै पहिलो पुस्तक ‘प्याउली’को विमोचन आउनै लागेको थियो। ६ मार्च साँझ अपार्टमेन्टमा छलफल कार्यक्रम राखेका थियौँ। सम्भव समूहका भाइहरू सुरज राना, उत्तम तुम्सा, युग सर्वनाम र मिथोच (जो कार्यक्रमको आयोजक समेत हुनुहुन्थ्यो) आउनुभयो। साथमा कथाकार तथा कवि विना थिङ, कवि लक्ष्मी रुम्बा, कवि चन्द्रवीर तुम्बापो, कवि तथा अनुवादक चन्द्र गुरुङ हुनुहुन्थ्यो। लोकप्रिय गायिका सुनिता थेगिम, पछिल्लो समयको चल्तीका मोडल अनुशा राई समेत फूलको बुके बोकेर आइपुगे। हामीले साँझको खाना अपार्टमेन्टमै खायौँ। मेरा भदैनीहरू, भाइ हेमन र चन्द्रजी भएर विभिन्न परिकार बनाएर खुवाउनुभयो।

एउटै क्षेत्रका भए पनि धेरैजसोसँग भेट भएको थिएन मेरो। धेरैसँग च्याटमा मात्रै कुरा भएको थियो। तर त्यो भेट पहिलो भेट जस्तो छँदै थिएन हाम्रो। नजिक महसुस गर्नका लागि भेट्नै पर्छ भन्ने जरुरी रहेनछ भन्ने लागिरह्यो। वर्षौँ पुरानो सम्बन्धमा जस्तो एउटाले अर्कोलाई उडाउने, ठट्टा गर्नेसम्मका परिस्थिति बने। कसले कसको कुरा सुन्ने जस्तो माहोल बनेको थियो। ठट्टा र रमाइलो मात्र पनि गरेनौँ। साहित्यको, सङ्गीतको, कलाको गम्भीर छलफल पनि भयो। धेरै मानेमा अर्थपूर्ण र अविस्मरणीय साँझ थियो त्यो।

...
२४ फागुन २०८१, तदनुसार ८ मार्च २०२५। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। स्थान थियो, नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्ष। मेरो जीवनको अत्यन्तै महत्त्वपूर्ण दिन थियो त्यो। आफ्नो पहिलो पुस्तक ‘प्याउली’ को विमोचनको दिन। जसको लागि म हङकङबाट नेपाल पुगेको थिएँ। मलाई त्यस दिन उत्साह र डर दुवैले छोपेको थियो।

कार्यक्रम कस्तो होला? मजस्तो नयाँ लेखकका लागि कार्यक्रममा कति मानिस आउलान् भन्ने संशयले छाइरह्यो। विस्तारै आफन्तहरू, साथीहरू, अग्रजहरू, अनुजहरू हलमा प्रवेश गर्न थाले। एकैछिनमा हल भरियो।

भरिएको हलको अघिल्तिर उभिएर बहिनी लक्ष्मी रुम्बाले मिठो शैलीमा कार्यक्रम सुरु गर्नुभयो। वक्ताहरूले पुस्तकको बारेमा बोल्नुभयो। अन्तिममा कार्यक्रमका अभिभावक उषा शेरचन दिदीले आफ्नो मन्तव्य राख्नुभयो।

खै किन हो, उषा दिदीले बोलिरहँदा हलमा सन्नाटा छाएको थियो। दिदीपछि मैले छोरीका लागि लेखेको गीत बजाएर सार्वजनिक गर्ने कार्यतालिका थियो। भर्खरै देहवसान भएका गायक/सङ्गीतकार भाइ विक्रम राईको सङ्गीत र गायिका सुनिता थेगिमको आवाजमा थियो गीत।

गीत बज्यो, सकियो। तालीको आवाज पनि आयो। तर, मञ्चबाट मैले ताली बजेको मात्रै देखिनँ हलको अघिल्लो पङ्तिमा रहेका प्रत्येकजसोको आँखामा आँसु देखेँ। आफैँलाई पनि सम्हाल्न सकिरहेकी थिइनँ। आफैँ पनि खसेछु। हलभरि प्रियजन हुनुहुन्थ्यो तर म सुनसान कुन एकान्तमा थिएँ कुन्नि।

विमोचन कार्यक्रम सकिनुभन्दा केही अघि मात्रै एउटा सुन्दर सरप्राइज आइपुगेको थियो। ‘प्याउली’को कभर फोटो अंकित सुन्दर केक थियो त्यो। साँच्चै सुन्दर क्षण थियो। यसरी माया गरेर सरप्राइज दिने मान्छे पाउँदा खुसीले गद्‌गद्‌ भएँ।

सरप्राइज कसको हो त्यहाँ भएका कसैलाई थाहा थिएन। मनमा कौतुहलता जाग्यो, सम्झिनुपर्ने जतिलाई सम्झिएँ, अनुमान लगाएँ। तर, अनुमानले मात्र त कौतुहलता मेटिने कुरो भएन। भोलिपल्ट विशेष सूत्रबाट थाहा भयो- सरप्राइज दिने प्रिय बहिनी विना थिङ हुनुहुँदोरहेछ। विना बहिनी त्यो सुन्दर सरप्राइज र कौतुहलताका लागि फेरि पनि धन्यवाद है।

कार्यक्रम सकियो। त्यसपछि यस्तो लाग्यो- यो संसारमा म एक्लो रहेनछु। मलाई माया गर्ने सुन्दर मनका मानिस थुप्रै हुनुहुँदोरहेछ। यति भए मलाई के चाहियो? खुसीले त्यसै आह्लादित भएँ।

पुस्तकको विमोचनपछि केहीदिन नेपालमै बस्नुपर्ने अफिसियल कामहरू थिए। पूर्वका केही ठाउँमा कार्यक्रम तय भइसकेको थियो। त्योभन्दा अघि हङकङको प्रतिनिधिको रूपमा हिमवतखण्ड कला साहित्य–संस्कृति सम्मेलनमा उपस्थिति जनाउनुपर्ने थियो। हङकङबाट साहित्यकार दाजु गुरुङ लगायतले सहभागिता जानाउनु है भनिरहनुभएको थियो।

मैले नाइँ भन्ने कुरा पनि थिएन। भर्खरै आफ्नो पुस्तक विमोचन भएको छ, उक्त कार्यक्रममा अग्रजहरूसँग भेट हुन्छ, पुस्तक आदानप्रदान समेत हुन्छ भन्ने लाग्यो। नभन्दै देश-विदेशका लेखक, साहित्यकारहरूसँग भेट भयो। देशका प्रधानमन्त्रीदेखि उच्च ओहोदाका व्याक्तित्वहरूसँग भेट हुने अवसर प्राप्त भयो। व्यक्तिगत रूपमा सो सम्मेलन मलाई लाभदायक नै रह्यो।

हिमवतखण्ड कला साहित्य–संस्कृति सम्मेलनका क्रममा

...

९ चैत शनिबार। कलरव धरानको आयोजनामा ‘प्याउली विमर्श तथा प्रवर्धन’ कार्यक्रम थियो। त्यसको लागि काठमाडौँ छाडेँ।

कार्यक्रमभन्दा तीन दिनअघि इटहरि आइसकेको भए पनि बहिनी विना थिङ कार्यक्रमको अघिल्लो दिन मात्रै आइपुग्नुभयो। मेरो पुस्तकको वक्ताको रूपमा उहाँ धरान आउनुभएको थियो। कार्यक्रमको अघिल्लो दिन आयोजकले बन्दोबस्त गरेको होटलमा पुगेर बस्यौँ।

कलरव धरानका सदस्य तथा फोटोग्राफर एवं कवि वीरेन सुब्बाजी प्रतिभाशाली मात्रै होइन साह्रै रमाइलो पनि हुनुहुँदोरहेछ। कार्यक्रमभन्दा अघि वा पछि उहाँले राम्रैसँग रमाइलो गराउनुभयो।

वीरेनजीले पुस्तक प्याउली र लेखकबारे बनाउनुभएको छोटो परिचयात्मक भिडओसमेत प्रस्तुत भएको थियो। कार्यक्रममा मेरो कवि साथी तथा सांसद मिना श्रेष्ठ, डा. अस्मिता विष्ट र विना थिङले पुस्तकमाथि आफ्ना धारणा राख्नुभयो।

कार्यक्रममा मोरङ, सुनसरी, धनकुटा, भोजपुर लगायत मेरो पारिवारिक सदस्य, होम्ताङ सरोकार समाजबाट बाक्लो उपस्थिति थियो। मैले सोचेभन्दा अझ सुन्दर र विशेष भयो कार्यक्रम। सुन्दर कार्यक्रम गर्ने कलरव धरान र यस सम्बद्ध सदस्यहरू सुदीप पाख्रिन, पराजित पोमु, विशाल नाल्वो, चेवन राई, इन्दु योन्जन, राजेश विद्रोही लगायत सम्पूर्णलाई सम्झन चाहन्छु।

धरानमा ‘प्याउली विमर्श तथा प्रवर्धन’का क्रममा

माइतीको आँगनमा टेक्दा
भद्रपुर पुग्नुअघि बाटैमा ‘प्याउली’को अन्तरक्रिया कार्यक्रम तय भएको थियो। झापा, बिर्तामोडको साहित्य कला प्रतिष्ठान र ईशा बुक्स सेन्टरले तय गरेको उक्त अन्तरक्रिया कार्यक्रममा परिवारभित्रबाट पनि जम्बो टोली थियौँ।

बिर्तामोडमा प्राय: नयाँ अनुहारसँग भेट भयो। तुलनात्मक रूपमा कार्यक्रम केही सानो जस्तो लागे पनि मेरो लागि महत्त्वको थियो। ‘प्याउली’का समीक्षकले गर्नुभएको टिप्पणीले मलाई एक किसिमको उर्जा दिएको थियो। समीक्षक तुलसीप्रसाद भट्टराईले पुस्तकको केस्रा केस्रा केलाई जुन तरिकाले बोल्नुभयो, त्यसले मजस्तो नवलेखकलाई हौसला मिल्दोरहेछ।

कार्यक्रमका क्रममा बहिनीहरू सन्जु साम्पाङ, दीपा राईलगायतसँगको भेट पनि अविस्मरणीय रह्यो। बिर्तामोडले प्याउलीलाई दिएको सम्मानका लागि धन्यवाद टक्य्राउँदै माइती गाउँका लागि बाटो तताइयो।

बिर्तामोडमा ‘प्याउली’ परिचर्चाका क्रममा

साँझ भद्रपुर पुगियो। जहाँ पचास वर्षअघि जन्मिएको थिएँ म। यहीँको माटोमा पहिलो पाइला टेकेँ। ताते गर्दै हिँड्न सिकेँ। बाल्यकाल, किशोर अवस्था बिताएँ। बिहे गरेँ। छोरी जन्मिई। छोरी जन्मेको त्यही घरको अघिल्तिरबाट बाटो काटेर झिसमिसेमा स्कुल डाँडा पुग्यौँ। त्यसबेला मभित्र मनमा अनेकौँ तरङ्ग पैदा भए। विगतले डस्यो। तर, मेरो लागि वर्तमान महत्त्वपूर्ण हो भन्ने कुरा बुझेको छु र बुझ्नुपर्छ।

सोमबार, १८ चैत। कर्मक्षेत्र फर्कने समय नजिकिँदै थियो। भद्रपुर जेसीजसँग होटल एयरपोर्टमा यस पटकका लागि ‘प्याउली’को अन्तिम कार्यक्रम हुँदैथियो। भद्रपुरको यस कार्यक्रम सकेर लगत्तै हङकङ फर्कनुपर्ने थियो।

जुनसुकै कार्यक्रमको औपचारिक सुरुआतअघि आमन्त्रित अतिथिहरूसँग भेटेर कुरा गरौँ भन्ने लाग्छ मलाई। र, त्यसै पनि गर्दै आइरहेको थिएँ। तर, भद्रपुरको कार्यक्रममा त्यसो भएन। कार्यक्रमस्थलमा समयमै पुगेको भए पनि मेरो कान्छी भाउजूले मलाई एउटा बन्द कोठामा एक्लै छाड्नुभयो। र, आदेश दिनुभयो- ‘कान्छी, यहाँबाट दायाँबायाँ नगर्नू है’।

म भाउजूको आदेश मानेर कोठामा एक्लै बसिरहेँ। कार्यक्रम हलमा मानिसहरू खचाखच भइसकेर उद्‌घोषकले कार्यक्रम सुरु गरेको थाहा पाइसकेको थिएँ मैले। तर, निस्कने अनुमति मलाई अझै मिलेको थिएन। लेखकविना कस्तो कार्यक्रम गर्न खोजेको होला जेसिसले भन्ने लागिरहेको थियो।

औपचारिक कार्यक्रम सुरु भएको करिब १५ मिनेटपछि म बसेको ढोका खुल्यो। दिदी सुशीलाले हातमा समातेर कार्यक्रम हलभित्र प्रवेश गराउनुभयो। भित्र छिरेको मात्र के थिएँ, फूलैफूलको गुच्छा र मालाले घेरिएँ। मलाई आफैँप्रति लज्जाबोध भयो। कुरीकुरी भयो। जनताको अगाडि बसेर पिर्के सलामी खाने नेताहरूलाई सम्झेँ।

आफूलाई जे-जस्तो लागे पनि त्यो त जेसिसको नियम रहेछ। उहाँहरूले दिनुभएको त्यो माया र सम्मानलाई स्वीकार गरिसकेको छु।

आफू जन्मेर धुलोमैलोसहित हुर्केको ठाउँमा आफैँले लेखेको पुस्तकको लोकार्पण र सम्मान ग्रहण गर्न पाउनु मेरो लागि गौरवको क्षण थियो। मेरो परिवार र आयोजकप्रति नतमस्तक छु। त्यही समयमा कवि चन्द्रजीलाई पितृशोक परेर उहाँ भद्रपुरको कार्यक्रममा सामेल हुन सक्नु भएन। कार्यक्रममा हामीले उहाँलाई सम्झिरह्यौँ।

भद्रपुर जेसिजसँग ‘प्याउली’ अन्तरक्रिया

भोलिपल्ट बिहानको खाना खाएर कविद्वय भीम विरही सोल्टी र विशाल नाल्बो भाइ, छोरी आश्कु अनि  प्रिय भाइ कवि हेमन यात्रीलाई धरान, इटहरीको लागि बिदाइ गर्दा मन खल्लो भयो। साँच्चै मान्छेको सामीप्यले कति आत्मीय बनाउँदो रहेछ क्षण। नचाहेरै पनि नेपालमा भएका आत्मीयजनहरूसँग भौतिक रूपमा टाढिनु नै पर्थ्यो।

एक महिना अघिदेखिको सङ्गत विस्तारै छोडिन थालेको थियो। मलाई भने एक्लो महसुस हुन थाल्यो। हङकङ फर्कने दिनको दुई दिनअघि भद्रपुरबाट काठमाडौँ हानिएँ। काठमाडौँ पुगेर फेरि एकपटक भाइबहिनीहरूसँग भेट्ने योजना बन्यो।

हङकङ उड्ने अघिल्लो दिन साँझ साहित्यिक पत्रकार, साहित्यपोस्टका प्रधानसम्पादक तथा लेखक अस्मिनी कोइरालासँग साहित्यपोस्टको कार्यालयमा विना, लक्ष्मी, गिलु, नविन, मिथोच, इनुमा, उत्तम, सचित, पवन, सुदेश, अनुशासँग भेटियौँ। सुदेशले रमेश क्षितिज सरको गीत ‘नमाग मसँग, सहारा नमाग’ गाउँदा रमेश सरलाई हामी सबैले सम्झियौँ। शम्भु राईको ‘चलेछ बतास सुस्तरी’ गाउँदा भोलि नेपाल र यी साथीसङ्गति छोडेर जाँदैछु भन्ने आभासले आँखा रसाउन पुगे। जेहोस्, त्यतिबेला धित मरुन्जेल गायौँ, नाच्यौँ र छुट्टियौँ।
...
हङकङ फर्किने दिन पत्रकार दाजु जेवी पुन मगरले उहाँ कार्यरत कार्यालय हिमालमा बोलाउनुभो। शनिबारको दिन थियो। दाजुले अन्तर्वार्ताका लागि बहिनी अनितासँग कार्यालयमा भेट गराउनुभयो। ‘प्याउली’कै सेरोफेरोमा रहेर करिब डेढघण्टा कुराकानी गरिएछ। अन्तर्वार्ताका क्रममा आफ्नै जीवन सम्झेर भक्कानिएछु म। त्यो कुनै अन्तर्वार्ता नभएर कोही मन मिल्ने साथी भेटेर मनको पीर खोलेजस्तो थियो। दाजुले रोएको भिडिओ समेत राखिदिनुभएछ। प्रकाशित भएपछि हेर्दा लाज लाग्यो।

अन्तर्वार्ता सकियो। इनुमा बहिनीको हिमालको कार्यालयनजिकै बसोबास रहेछ। उपहार बोकेर आइपुगिन्। एकैछिनमा अनुशा पनि आन्टी कता भन्दै आइपुगिन्। उनी पनि कोसेली बोकेर आइपुगेकी थिइन्। अनि तीनै जनाले पाटनको एउटा क्याफेमा बसेरै ब्रेकफास्ट खायौँ। लन्च पनि त्यहीँ गर्‍यौँ र छुट्टियौँ।

साँझपख कोठामा पुगेर पोको पुन्तुरो कसेँ। कसेको त पुन्तुरो थियो तर यस्तो लाग्दैथियो- म आफ्नो मन कसिरहेको छु। यतिका दिनसम्मको नेपाल बसाइपछि कर्मथलो फर्कँदै थिएँ। मनमा अनेक कुरा खेलिरहेका थिए। ननिको लागिरहेको थियो।

जानु त थियो नै। कान्छी सोल्टिनी, उहाँको श्रीमान्‌ र कविता बहिनीको साथमा एयरपोर्टतिर लागेँ। कवि भाइहरू उत्तम र मिथोच अघि नै एयरपोर्ट पुगिसक्नुभएको रहेछ। सबैसँग बिदा भएर भित्र पसेँ। टिकट चेकिङको बेला तपाईँको त टिकट क्यान्सल छ भन्छ कर्मचारी। आफैँलाई थाहा नहुने गरी कसरी क्यन्सिल भयो! अचम्ममा परेँ। अनि जहाँबाट टिकट लिएको हो, त्यहीँ फोन गरेर बुझेँ।

एकैछिनमा एउटा नम्बरबाट फोन आयो। ‘आज नेपाल एयरलाइन्सको जहाज क्यान्सिल भएर क्याथेमा सारेको हो। तपाईँको टिकट क्यान्सल छ, अरू दिन जानुस्’ पो भन्छ!

अब भएन त फसाद! यस्तो पनि कुनै जिम्मेवार कुरा हुन्छ! न पहिले जानकारी नै दिइएको छ!

तर, यो कुरा पुर्‍याउन आउनेहरूलाई भनिनँ। सम्भव भएजति ठाउँमा फोन घुमाएँ। म बहस गर्नै नचाहने मान्छे, परेपछि गर्नैपर्ने रहेछ। जसरी हुन्छ मलाई आजै हङकङ जानुछ भनेर ट्राभलवालासँग जोड गरेँ। अन्त्यमा, थाइल्यान्ड ट्रान्जिट हुँदै उडेँ।

कहिल्यै ट्रान्जिट यात्रा नगरेको मलाई अपर्झट ट्रान्जिट परेपछि अमेरिका भएकी छोरीले गर्नु पीर गरिन्। पाँच घण्टा ट्रान्जिटमा आमा कसरी बस्नुहोला, के गर्नुहोला, फेरि प्लेन पो छुट्ने हो कि भन्ने उनको मुख्य चिन्ता थियो। प्लेन उड्यो कि उडेन, कता पुग्यो जस्ता जानकारीका लागि रातभरि अनलाइनबाट पछ्याएर बसिछन्। गन्तव्यमा पुगेर खबर गरेपछि मात्र उनको आँखाले विश्राम पाए।

यसरी नेपालको थेग्नै नसक्ने माया र सम्झना बोकेर हङकङ आइपुगेँ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .