हङकङबाट बग्ने रेल चढेर विचित्र चीनको बेजोड यात्रा

यस्तो बेजोड विकास देख्दा मातृभूमिको पीरले छाती चस्किन कहिले छाड्ला?
हङकङबाट बग्ने रेल चढेर विचित्र चीनको बेजोड यात्रा

लेखक कमल पौड्याल (बायाँबाट दोस्रो) सहित हङकङबाट चीन यात्रामा निस्केको टोली


कमल पौड्याल
बैशाख २०, २०८२ शनिबार ७:२९, हङकङ

हङकङ सरकारको गृह मामिला विभागका अनुसार यहाँको करिब पचहत्तर लाख जनसंख्यामध्ये आठ दशमलव चार प्रतिशत गैरचिनियाँ मूलका छन्। यस अनुसारले अंग्रेजी भाषामा एथनिक माइनोरिटी भनिने यो समूहको जनसंख्या करिब ६ लाख चानचुन हुन आउँछ। जसमा हङकङमा स्थायी र अस्थायी दुवै रूपमा बस्न सक्ने अनुमतिपत्र वाहकहरू पर्दछन्।

यसमध्ये खासगरी फिलिपिन्स र इन्डोनेसिया तथा अन्य देशबाट घरेलु कामदारको रूपमा काम गरिरहेका अस्थायी परिचयपत्र बाहकको संख्या तीन लाखजति छ भनिन्छ। 

दक्षिण एसियालीहरूको मात्र तुलना गर्दा संख्यात्मक रूपमा भारतीय र पाकिस्तानीहरूपछि नेपालीहरूको कुल संख्या करिब २९ हजार पाँच सय रहेको बताइन्छ। यो समूहमा लगभग धेरै स्थायी परिचयपत्र बाहकहरूको बाहुल्य छ। यो संख्या जन्म, मृत्यु, बसाइँसराइ तथा आश्रीत र अन्य भिसामा घटने थपिने आदि कारणले थोरै तलमाथि भने भइरहन्छ। 

सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात सन् १९४८ मा २६ औँ गोर्खा ब्रिगेड समूहले हङकङको भूमिमा पहिलो पाइला राखेको सतहत्तर वर्ष र जन्मदर्ताको र अन्य आधारमा हङकङ आउने पहिलो नेपाली पुस्ता स्थानान्तरणको अब करिब तीन दशक छुँदै छ। ब्रिटिस गोर्खाहरूको पहिलो हङकङको बासस्थान ह्वाइट फिल्ड व्यारेक भनिने क्षेत्र अहिलेको काउलुन पार्क हङकङे नेपालीहरूको आँगन जस्तै भएको छ आजकल। 

नेपालबाट हङकङ हुँदै बेलायत स्थानान्तरण भएको एउटा न्यून संख्या पुनः हङकङमै फर्केको छ। अन्य कतिपयले हरेक तीन वर्षभित्र यहाँ पुनः आउजाउ गरेर हङकङमा आफ्ना नागरिक हक अधिकार निरन्तर जीवित राखेका छन्। यद्यपि हङकङको स्थायी परिचयपत्र पाइसकेकाहरूले जुनसुकै बेला पनि हङकङ प्रवेश गर्न र बस्न भने पाउँछन्। 

सुरक्षा क्षेत्रबाट आफ्नो रोजगारवृत्ति सुरु गरेर त्यसको प्रमुख हुँदै हाल हङकङको कार्यकारी प्रमुख पद सम्हालेका जोन ली नेतृत्वको प्रशासनले अल्पसंख्यक र खासगरी नेपाली समुदायप्रति पहिलाभन्दा पनि अझ धेरै सकारात्मक हुँदै चासो लिएको देखिन्छ पछिल्लो समयमा।

हङकङको नेपाली समुदायबाट पहिलोपटक डिस्ट्रिक्ट काउन्सिलर चयनदेखि नेपालबाट आउन चाहने दक्ष प्राविधिक, व्यावसायिक लगानी र अध्ययन भिसाको नीति नियम सहजीकरण कार्यकारी प्रमुखको वार्षिक नीति सम्बोधनमै पहिलोपटक अटाएको थियो लामो समयपछि। 

नेपालबाट घरेलु कामदार भिसाको पुनः निरन्तरताको लागि हङकङ सरकार सकारात्मक भए पनि हाम्रो देशकै केही कानुनी बाधा अड्चनले सुचारु हुन नसकेको बताइन्छ। 

हङकङमा सुरक्षा कानुन लागू भएयता अमेरिकी र पश्चिमी सरकारका उच्च राजनीतिज्ञ र सञ्चारमाध्यमहरूले चीनसँगको आर्थिक, प्राविधिक र राजनीतिक पौँठेजोरीमा हङकङलाई पनि मुछे। अझ व्यावसायिक लगानी र बसोबासको लागि हङकङको अर्को विकल्प खोज्नुपर्ने प्रचारप्रसार तीव्र गरे। यही समयको सेरोफेरोमा हङकङमा स्थायी परिचयपत्र सहित बसोबास गर्ने सबै विदेशी मूलकाहरूलाई समेत मूलभूमि चीनले निर्बाध रूपमा आउजाउ गर्नसक्नेगरि परिचयपत्र जारी गरिने घोषणा गर्‍यो गत वर्ष। 

हरेक पाँच वर्षमा नवीकरण गरिने यो कार्डले हरेकपटकको मूलभूमि प्रवेशमा नब्बे दिनसम्म चीनको कुनै पनि ठाउँमा स्वतन्त्र बस्न घुम्न वा आफ्नो व्यावसायिक अध्ययन गर्न सकिने छ। 

हुन त पहिलापहिला पासपोर्ट र भिसा लिएर मूलभूमिको विभिन्न ठाउँको निजी भ्रमणका थुप्रै सम्झनाहरू छन्। केही नियात्राहरू पनि लेखेको थिएँ। 

तर यो परिचयपत्र प्राप्त भएको छोटो समयमै मलाई चीनको ‘गुआन्सी हेझ्यु सिटी अन्ट्रप्रेनरसिप एन्ड इन्डस्ट्रियल कमर्सियल इन्स्पेक्सन डेलिगेसन’ मा समावेश हुने संयोग जुर्‍यो यसपालि। 

न्यूनतम शुल्क सहितको यो यात्रा टोलीमा हङकङमा पहिलो नेपाली मूलकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ लगायत मित्रहरू कुलप्रसाद गुरुङ, राजेन्द्रकुमार श्रेष्ठ, टंक राना र बङ्गलादेशी मूलका डा.फकरुल इस्लाम बाबु थिए। 

रमजान र स्वास्थ्यको कारणले पाकिस्तानी र भारतीय प्रतिनिधिहरू भने समावेश हुन असमर्थ रहे। 

भ्रमण दलमा हङकङको विभिन्न व्यावसायिक, प्रशासनिक र सामाजिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने स्थानीय चिनियाँहरूको समावेशी समूह थियोे। बिहान दस बजे वेस्ट काउलुन एक्सप्रेस ट्रेन स्टेसनको ‘बाहुनिया कल्चर करिडोर’ मा भेला भएर स्थानीय प्रतिनिधिहरूको बिदाइ शुभकामना तथा भ्रमण तालिका सुनेपछि द्रुतगति रेल स्टेसनको अध्यागमनका कानुनी प्रक्रिया पूरा गर्दै भूमिगत तलातिर ओर्लियौँ। 

सन् २०११ मा सुरु भएर २३ सेप्टेम्बर २०१८ मा निर्माणसम्पन्न यो स्टेसन संसारकै सबैभन्दा ठूलो भूमिगत रेल स्टेसन रहेको बताइन्छ। 

पृथ्वीको गर्भमा रहेको यो स्थान चार लाख तीस हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यो बुलेट ट्रेन रेल बिसौनीमा नौवटा लामो र ६ वटा छोटो दूरीका रेलहरू प्रस्थान गर्ने प्लाटफर्महरू छन्। 

जहाँबाट बेइजिङ, सांघाई, ग्वाङझाउ लगायत मूलभूमिका लगभग सबै स्थानमा सिधै वा चाइना रेल्वेको कनेक्टिङ मार्गहरूबाट पुग्न सकिन्छ।

एकलाख ५९ हजार किमि फैलिएको चाइना रेल्वे कर्पोरेसन अमेरिकापछि विश्वको दोस्रो ठूलो रेल नेटवर्क मानिन्छ। जहाँका ५७ सय रेल बिसौनीबाट दैनिक चालीसदेखि पचास लाख यात्रुहरू आवतजावत गर्छन्। 

ग्वाङ्सी भ्रमणको निम्तोपत्र प्राप्त भएसँगै यो भ्रमणको नियात्रा लेख्ने सोच बनाइसकेको थिएँ। चीनबाटै टेलिकम्युनिकेसन इन्जिनियरिङ र एटलान्टिक युनिभर्सिटी अमेरिकाबाट इन्टरनेसनल ट्रेडमा विद्यावारिधि गरेका पुतुङ्वा लेखपढ गर्ने चीनविज्ञ डा फकरुल हाम्रो लागि गज्जबका सहयात्री थिए यसपालि। 

करिबकरिब हवाइजहाजकै अनुभूति हुने बुलेट ट्रेन प्रस्थानको आठ मिनेटमै सेन्जेन बेमा रोकियो। जहाँसम्म पुग्न बसको यात्रा भने करिब सवा घण्टाको हुन्छ। 

त्यहाँबाट सेन्जेन सहर र ग्वाङझाउलाई दायाँ छोडेर हाम्रो रेल ग्वाङ्सीतिर जाने उत्तर रेल मार्गतर्फ सोझियो।

ट्रेन भरिभराउ छ। अर्डर गरेर खाना खानेहरूका लागि चिटिक्क परेको पहिरनमा सुन्दरी परिचारिकाहरू मेनु सहित घुमिरहेका छन्। 

‘हैन, यी नानीहरू पनि एकैनासे कति राम्री हुन गाँठे फ्याक्ट्रीमै नापेर बनाएजस्ता!’ राजेन्द्र श्रेष्ठले हाँसो गरे। 

उनीहरूबाट खाना अर्डर गर्न नचाहनेले आफैसँग भएका तयारी नुडल वा चियाकफी पनि प्रयोग गर्न पाउने सुविधा रहेछ। जसको लागि तातोपानी र ग्लासहरू पेन्ट्रीमा निशुल्क राखिदिएको हुँदोरहेछ। 

दुई सय अठहत्तरदेखि तीनसय किमि प्रतिघन्टाको स्पिडमा ट्रेन गुड्दा पनि पानीको ग्लास वा चियाकफी नछचल्किने कस्तो अचम्मको प्रविधि? ट्रेन उच्च गतिमा चलेको हैन, बगेको अनुभूति हुने। 

कतै हरियाली फाँट, कतै वनजङ्गल, पहाड, कतै सहर, लगभग नेपालकै पहाड र तराईको अनुभूति दिने। 

मिनेटमिनेटमा बाटाभरिका अनगिन्ती सुरुङ मार्गमा बिजुली चम्केजसरी ट्रेन पस्दै निस्कँदै अघि बढ्दै छ। उमेर र भोगाइ एउटै भएका सहयात्री राजेन्द्र श्रेष्ठ ‘ल हेर्नुस्, थानकोट, ठैब, हरिसिद्धि, लुभू, चन्द्रागिरि, फुलचोकी’ भन्दै औँलाले देखाउँथे। 

अर्को उपत्यका निस्कँदै गर्दा मित्र कुलप्रसाद गुरुङले भने, ‘ल हेर्नुस ठ्याक्कै माछापुच्छ्रे बिनाको पोखरा हो यो ठाउँ!’

हङकङको निर्माण व्यवसायमा लामो अनुभव सँगालेका टंक राना भने स्वदेश सम्झेर केही चिन्तित देखिए। ‘हाम्रो देश त भ्रष्टाचारले नै सिद्धियो। बिनापैसा कहीँकतै फाइलै सर्दैन,’ उनी भन्न थाले, ‘हङकङ, चीनको जस्तै नियम कानुन र नेताहरू हुने हो भने दस वर्षमा देश कायापलट हुन्छ।’

‘देश अब सुरुङ मार्गमा प्रवेश गरिसक्यो, यो मैले र मेरो पार्टीले गर्दा भएको हो भन्नेमा होडबाजी छ। शिलान्यास र उद्घाटनमा नाम टाँस्न मरिहत्ते गरेजस्तै काममा पनि तँछाडमछाड भए पो!’ मित्र कुलप्रसादले थपे। 

यात्रा सुरु गरेको दुई घण्टा दस मिनेटमा अरु चारवटा बिसौनी पार गरेर ग्वाङ्सी हेझ्यु बिसौनीमा रोकियो रेल।

‘बन्धु, अगर हम लोग एक्सप्रेस बस भी लेते तो कमसेकम सात घण्टाका रास्ता है यह,’ डा. फकरुलले आफ्नो अनुभव बाँडे। 

विभिन्न सञ्चारमाध्यम र युट्युबमा हेरिएको यहाँको अदभूत स्टोन जङ्गललाई प्रत्यक्ष आँखाले अनुभूति गर्न पाइयो पहिलोपटक।

अचम्मको आकृतिहरू टुक्रुक्क बाँदर बसेको, हात्तीको सुँढ, बुढी औँलो, चोर औँलो, कतै पाँच औँलै, सबै हेर्दा परेड खेल्दै गरेका सैनिकको समूहजस्तो, हङकङको आमा रक, लायन रक जस्तो विभिन्न आकृतिलाई हरियो वनस्पतिले ढाकेको थुम्का थुम्काहरूको अचम्मको प्रकृति। 

जीवनको लामो समय पृथ्वी ग्रहको आकाश मार्गमा बिताएकी अरुणा गुरुङले भनिन्, ‘आकाश बाट पो गज्जब देखिन्थ्यो होला। कहिल्यै यादै पो गरिएनछ।’

‘अझ अन्तरिक्षबाट?’ झनै माथिको कल्पना गरे राजेन्द्र श्रेष्ठले। 

‘ठूलो समथल बारीको पाटोभरि चैत–वैशाख महिनामा लहरै मलको डोको घोप्ट्याएजस्तो देखिन्छ होला सायद,’ मैले थपेँ। 

फोटो सेसन र यिनै वार्तालाप गर्दै अध्यागमन पार गरेर निस्कँदा बाहिर पर्यटक बस, गाइड र स्थानीय अधिकारी हाम्रो समूहको स्वागतको लागि प्रतीक्षारत रहेछन्। 

बस चढेर उही हेझ्यु सहरको चारैतिर फैलिएको स्टोन जङ्गललाई पुनः फरक कोणबाट फरक आकृति कल्पना गर्दै करिब पैँतालीस मिनेटमा होटल प्रवेश गरियो। 

दायाँबायाँ ढुङ्गे हात्तीले अभिषेक गरेको मुख्य प्रवेशद्वारबाट होटलको मुख्य लबीमा पस्दा होटल कम हवेली बढी लाग्यो। लबीको साजसज्जा अन्य ठाउँका होटलहरूभन्दा बिल्कुलै फरक थियो।

१४ तले होटल भवनभित्र वरिपरि कोठाहरू अनि बीचमा घाम जुन र उज्यालो छिर्ने गरी बनाइएकोले होला होटलको नाम नै ‘सन मुन एभरग्रान्ड’ राखिएको। बीचमा ठूलो चोक स्टाइलमा बनाइएको डिजाइन वातावरणमैत्री लाग्यो। हङकङका भन्दा निकै ठूला रुममा पर्दा खोलेर हेर्दा उही स्टोन जङ्गलको छेउका थुम्काहरू। पदयात्रा मार्ग पनि रहेछ। केहीबेर आराम गरेपछि साढे पाँचदेखि होटलको पाँच तलाको सभाहलमा हुने औपचारिक कार्यक्रमको लागि तल ओर्लिर्यौं।

मर्यादाक्रम अनुसार टेबलकुर्सी र हामी सबैको अंग्रेजी र पुतुङ्वा नाम प्लेट भएकोतिर आयोजकहरूले डोर्‍याए। 

फेडरेसन अफ हङकङ ग्वाङ्सी कम्युनिटी, फेडरेसन अफ हङकङ हेझ्यु सिटी फ्रेन्डसिप एसोसिएसन, हङकङ याउ छिङ मङ फेडरेसन लगायत ग्वाङ्सी हेझ्यु सहरका मेयर, उपमेयर पार्टी प्रमुख र व्यवसायीहरूबीच सहरकी पर्यटन प्रमुखले सहरको प्रमुख पर्यटकीय स्थानहरूको चाखलाग्दो दृश्य देखाउदै व्याख्या गर्दै छोटो स्वागत मन्तव्य दिइन्। 

अन्य मुख्य वक्ताहरूको छोटोछोटो भनाइपछि ग्वाङ्सी हेझ्यु र हङकङ काउलुन सहरका अगुवाहरू बीच व्यापार, लगानी लगायत सांस्कृतिक, पर्यटकीय, प्राविधिक ज्ञान, सीप, सूचना आदानप्रदानबारे सहमति पत्रहरूमा हस्ताक्षर सम्पन्न र आदान प्रदान भयो।

हामी गैरचिनियाँ हङकङेलीहरूको तर्फबाट डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङलाई मन्तव्य राख्न भनिए पनि उनले क्यान्टोनिज भाषा मात्र बोल्ने भएकोले डा. फकरुललाई माइक हस्तान्तरण गरिन्। फकरुल भाइले पुतुङ्वा भाषामा छोटो मन्तव्य सहित धन्यवाद दिँदा तालीको गडगडाहट लामो सुनियो। स्टेजमा उक्लेर हामीले तस्बिर खिच्यौँ।

माथि त्यत्रो ठूलो स्टेज खाली छ, खादा, माला, आसनग्रहण, को ठूलो को सानुभन्दा मुख्य काम र समयसँग मतलब छ यहाँ। समयतालिका अनुसार ठीक एक घण्टामा कार्यक्रम सम्पन्न भयो।

हाम्रा कार्यक्रमहरू एक त समयमा सुरु नै हुँदैनन् भए पनि सबैलाई स्टेजमा बोलाएर तानतुन गरेर कुर्सी थप्दै आसनग्रहण गराउँदैमा कार्यक्रमको आधा समय जान्छ। कहिलेकाहीँ त सबै स्टेजमा उक्लिएपछि हलमा खाली कुर्सी मात्र देखिन्छ। माइक पाएपछि छोटो मन्तव्य पनि रबरझैँ तन्किछ। कोही छुट्यो या ढिलोचाँडो बोलाउन तलमाथि भयो कि भन्दै उद्घोषक तनावग्रस्त। यसमा न्यून अपवाद पनि देखिन थालेको छ पछिल्लो समय। तर यसमा सुधार गर्नैपर्छ। 

कार्यक्रम समापनलगत्तै चौथो तलाको ब्याङ्क्वेट हलमा रात्रिभोजको लागि आयोजकहरूले हाम्रो अगुवाइ गरे। 

आआफ्नो नाम अनुसारको सिटमा हामी सबै बस्यौँ। ग्वाङ्सी हेझ्युका उपमेयर, पार्टी प्रमुख र हङकङका अन्य चिनियाँ पाहुना पनि हाम्रै टेबुलमा बस्ने व्यवस्था गरिएको रहेछ। 

दोभासे डा फकरुल मार्फत भलाकुसारी भयो। 

राउन्ड टेबुलमा परिचारिकाहरूले दर्जनौँ परिकारहरू पस्कन थाले। स्थानीय विशेष राइस वाइन सहित रात्रिभोज सुरुभयो। हामीले अक्सर हङकङ र मूलभूमिमा खाइने क्यान्टोनिज, सिचुवान, चिउचाउ परिकारभन्दा फरक सजावट र स्वादको लाग्ने। 

एकदम सफ्ट, स्मुथ स्थानीय राइस वाइनको ग्लास उठाउँदै ‘गानबेई’ भन्दै विशेष अतिथिहरूले टेबुलटेबुलमा गएर सबैसँग तस्बिर खिचे। 

मैले फकरुल भाइलाई भनेँ, ‘बन्धु, द फुड इज भेरी टेस्टी बट डिफरेन्ट द्यान ह्वाट वि अल युज टु ह्याभ इन हङकङ एन्ड मेनल्यान्ड चाइना बिफोर।’

उनले भने, ‘कमल ब्रदर, दिस इज टिपीकल ग्वाङ्सी कुजिन इभन द राइस वाइन इज स्पेसियालिटी अफ दिस प्लेस एन्ड प्रिटी एक्सपेन्सिभ। अल्सो अल फुड्स वि ह्याभ आर लोकल प्रडक्ट्स।’

राउन्ड टेबुलमा घुमिरहेको परिकारमध्ये एउटा परिकारमा मेरो आँखा रोकियो। हेर्दा मःम जस्तो देखिने यो परिकार पोर्क किमालाई फर्सीको फूलमा बेरेर स्टिम गरिएको मैले चिनिहालेँ। गज्जब जुसी र मीठो, सबैलाई चाख्न भनेँ मैले। 

सिजन अनुसारको मात्र अन्न र सागपात खान पाइने जमानामा हुर्केका हामी। हुन त नेपालमा जेठ असारदेखि नै फर्सीको मुन्टाको तरकारी खान सुरु हुने भए पनि साउन भदौमा मात्र फूल लाग्थ्यो। 

आमाले तरकारी केलाउँदा फर्सीको फूलभित्रको पहेँलो टुसो देखाएर यो चाहिँ भगवान शिवजी भनेर हल्ला गरिन्थ्यो। पकाएर पस्किँदा कसको भागमा पर्थ्यो, थाहै हुँदैनथ्यो। 

‘काँ हाम्रोमा त चिचिलो काँक्रोलाई चोरीऔँलाले देखाउँदा कुहिन्छ भनेर माझी र चोरीऔँलाको बीचबाट बुढी औँलो निकालेर देखाउने चलन थियो। हरियो काँक्रो खान झण्डै दुई महिना वा अझ पाकेको काँक्रोको अचार खान त चारपाँच महिना कुर्नुपर्थ्यो। अहिले त चिचिलो काँक्रो नै उत्पादन गरेर टोकरीका टोकरी बेच्न राखिएको हुन्छ बजारमा,’ राजेन्द्र श्रेष्ठले हामी सबैलाई एउटै भोगाइको अतीतमा डोर्‍याए। 

मीठो खाना र आत्मीय आतिथ्यको लागि हाम्रो टेबलमा बसेका उपमेयर, पार्टी प्रमुख र अन्य आयोजकहरूलाई उठेर धन्यवाद दिँदै हामी निस्कियौँ। कम बोल्ने र धेरै सुन्ने चिनियाँहरू अतिथि सत्कारमा अब्बल लाग्छन् मलाई जहिल्यै। 

भोलिपल्ट बिहानै साढे ६ बजेको ब्रेकफास्ट पछिको दिनभरिको कार्यतालिका निकै व्यस्त थियो। ब्रेकफास्ट अन्य होटलमा खाइने कन्टिनेन्टल वा अमेरिकन स्टाइलभन्दा निकै फरक र हेल्थ कन्सस।

बस चढेर हामी पहिलो स्टप ‘डिजिटल एक्जिबिसन हल अफ हेझ्यु प्लानिङ म्युजियम’ पुग्यौँ। सभाहलका प्रमुख र कर्मचारीहरूले स्वागत गरेर भित्र रहेको सहरको डमी आकृति सहितको नक्सामा सहरभरिका मुख्य पर्यटन आकर्षण, उद्योग व्यवसाय र आगामी विकासका पूर्वाधारबारे संक्षिप्त परिचय गराए।

त्यपपछि अर्को स्टप ‘पिनगुइ डिस्ट्रिक्ट मोडर्न फेसेलिटी एग्रिकल्चर इन्डस्ट्रियल पार्क’ थियो। जहाँका विशाल फार्ममा कसरी बंगुर कुखुरा लगायतका पशुहरू पालन गरेर गुणस्तरीय अण्डा र मासु निर्यात गरिन्छ भन्नेबारे उद्योग प्रमुखले सबिस्तार बताए। हङकङ मूलभूमिको ठूलो बजार भएकोले पनि हामी पर्यटकहरूलाई यी उत्पादनका गुणस्तरबारे अझै बताएर विश्वास दिलाउन चाहन्थे उनीहरू। 

अझ सम्पूर्ण कर्मचारीहरूको बासस्थान सेवा सुविधाबारे पनि देखाइएको थियोे। यस्तो सुविधा र रोजगारको अवसर स्वदेशमा पाए को विदेश जान्छ? हामीले आपसमा चर्चा गर्‍यौँ। 

मूलगेटमा सी चिनफिङको हात उठाएको ठूलो पोस्टर र मुख्य अफिसको भित्तामा माओत्सेतुङको पेन्टिङ देखेर फकरुल भाइले बंगलादेशबारे चिन्तित हुँदै हामीलाई भने, ‘ब्रदर, डिसिप्लिन एन्ड रेस्पेक्ट इज भेरी इम्पोर्टेन्ट फर दोज हु ह्याभ मेड ह्युज कन्ट्रिब्युसन्स टु द नेसन।’

उनले थपे, ‘हमारे मुल्क मे देखो क्या हुवा? बंग बन्धु शेख मुजिबुर रहमान जिसने बंगलादेश का जन्म दिया, उनका सालिक गिराया और उपर से खुलेआम पिसाब किया। कितने शर्मनाक बात है। शेख हसिनाको अलग करो उन से। बाप तो बाप ही होता है!’

मैले भनेँ, ‘बन्धु, जिस ने भी ये किया, करवाया, एकदिन अवश्य अहसास करेगा कि हम ने गलत किया। इसिलिए तो ओशो कहते हैँ, ‘भीड के आँख नही होती। भीड अन्धा होता है।’

‘हमारे मुल्क मे भी कभी ऐसा ही हुवा था, जिस ने हमारे मुल्क को अंग्रेजोँ से बचाया, एकीकरण किया, नेपाल नाम दिया, उनका भी सालिक गिरवाया था,’ टंक रानाले थपे।

त्यसपछि अर्को अध्ययन भ्रमण ‘डनगराङ स्टोन कारबोनेटेड ट्रेडिङ सेन्टर’ थियोे। यो कम्पनी गुणस्तरीय मार्बलको लागि चीन, हङकङ र विदेशमा समेत निकै प्रसिद्ध रहेछ। 

जहाँका प्राविधिकहरूले हामीलाई कच्चा पदार्थ उत्खननदेखि पूर्ण तयार हुँदासम्म मार्बलका विभिन्न चरण र कसरी फरक गुणस्तर हुन्छ भन्नेबारे श्रव्यदृश्यमार्फत अवगत गराए। अझ एकपछि अर्को उत्पादनमा खेर जाने धुलोहरूलाई कसरी आधुनिक प्रविधिद्वारा प्लास्टिकका मेच, टेबल, गाडी र हवाइजहाजको टायरदेखि चरणबद्ध कागजका सामानहरूसम्मको उत्पादन प्रविधिमा उपयोग गरिन्छ भनेर देखाए। त्यो वातावरणमैत्री र चाखलाग्दो थियो। 

त्ययसपछि हेझ्यु पिनगुइ डिस्ट्रिक्ट हेडक्वार्टरमा त्यहाँका पार्टी प्रमुखले लन्च होस्ट गरेका थिए। हामीले अक्सर तरकारी वा उसिनेर, पोलेर खाने सिमल तरुल र पाकेको फर्सीको जुस पहिलोपटक चाखियो। 

घुम्ने टेबुलभरि मटन, चिकन, माछा, पोर्क, बिफ र सागसब्जीका सबै स्थानीय परिकार। तर अघिल्लो दिन बेलुकीको भन्दा बिल्कुलै फरक। विशेषगरी उसिनेको सखरखण्ड, सेला पिँडालु र हल्का नुनपानीमा उसिनेको नछोडाएको बदामले स्वदेशको धादिङ केवलपुरकै कात्तिक, मङ्सिरमा तुलसीको मठ सिँगारेर मनाइने ठूलो एकदशीको बालापनमा पुगेँ म।

भोजनपछि ‘हेझ्यु मोडर्न कृषि फार्म’ तर्फ लागियो। आँखाले नभ्याउने विशाल भू–खण्डमा घोगा लाग्दै, जुँगा हाल्दै गरेका मकैका बोट, लटरम्मै आकाशे, च्याङ्ग्रे, भिँडे खुर्सानी, कागतीका भन्दा ठूला बोटमा लटरम्म फलेका गोलभेँडा, लहलह तने बोडी, भन्टा, टाटेसिमी लगायतका उब्जन हेर्दा हामी सबै आआफ्नै बालापनमा हरायौँ। 

कहिल्यै खेतीपातीको अनुभव नभएका हाम्रा स्थानीय हङकङे सहयात्रीहरू हरेक बोटबोटमा उभिएर सेल्फी खिच्न व्यस्त देखिन्थे। 

हल गोरुको पछिपछि स्कुले झोलामा मकैको बीउ बोकेर रोपेदेखि एकहोरो दोहोरो गोडेर साउने संक्रान्तिमा बल्ल पोलेको मकै खान पाइन्थ्यो। करेला, भिण्डी, घिरौँलो, चिचिन्डो, तने बोडी, बर्खे तरकारी थिए। भदौको अलौटा मकैको स्वाद अझै ताजै छ जिब्रोमा। कात्तिक, मंसिरमा तोरी र कालतोरी, टाटे सिमी, कात्तिके बोडी र केराउको साग कति मीठो हुन्थ्यो। चम्सुर, पालुङ्गो, रायोको साग, काउली, बन्दाकोपी, हरियो लसुन, प्याज खान पुसमाघ नै आउनुपर्थ्यो। अनि चैत, वैशाखदेखि असारसम्म भने गुन्द्रुक, भटमास, मस्यौरा, चाना सिन्की र दालले छाक टार्नुहुन्थ्यो आमाले। 

कृषि फार्मको छेउमा उभिएर मैले साथीहरूलाई आफ्ना यिनै अतीत भनिरहँदा टंक रानाले भने, ‘कृषि विकास र प्रविधि भने स्वदेशमा पनि राम्रै भएको छ पछिल्लो समय। चीन, हङकङमा जस्तै उल्लेख्य तरकारी बाह्रै महिना नेपालमा पनि पाइन्छन्। राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त देश र किसानले मलबीउ समयमै पाउनुपर्‍यो बस्।’

प्रवेशद्वारको प्याकिङ र शीत भण्डार हेर्दा स्वदेशको कालिमाटी होलसेल मार्केटको याद आयो। हामीलाई किलोको दुई युआनका दरले कुनै पनि तरकारी किन्न सकिने बताइयो। जुन हङकङ मार्केट भन्दा साठी, सत्तरी प्रतिशत सस्तो हो। 

यसपछि हामी सहरको अर्को भागमा रहेको करिब चार सय वर्ष पुरानो ‘हुनगायो’ ऐतिहासिक बस्तीतर्फ लाग्यौँ।

सानो खोला र स्टोन जङ्गलको छेउमुनि रहेको यो पुरातात्त्विक महत्त्वको बस्तीमा लहरै स्थानीय पहिरन हस्तकला, सिल्पकलादेखि खाद्य पदार्थका पसलहरू रहेछन्। 

खासगरी अदुवा हालेको सख्खर, तिलौरा र गुँदपाक जस्ता अन्य स्थानीय मिठाइहरूका दर्जनौँ परिकार बाटाभरि फिजाँइए पनि अन्य पर्यटकीय स्थलमा जस्तो पुस सेल पटक्कै थिएन।

टायल, ढुङ्गा र खबटाका छाना, घरका ढोका, झ्याल, आँगन, चोक कताकता काठमाडौँकै नेवारी शैलीसँग पनि मिल्दोजुल्दो लाग्यो। आठसय वर्ष पुराना रुखहरूलाई पनि संरक्षण गरेर राखिएको रहेछ अझै। 

यसपछि बेलुकीको खाना स्थानीय चर्चित रिसोर्टको ‘लियोन मनोर’ हलमा थियो। उही स्थानीय परिकार तर मेनु भने फरक। 

रात्रिभोज अनि राइस वाइन ‘गानबेई’ भन्दै अगाडिको चौरमा आतिसबाजी पडकाएको अवलोकन गरेर आयोजकहरूलाई धन्यवाद दिँदै दिनभरिको मीठो सम्झना साँचेर होटल फर्कियौँ। 

भोलिपल्ट बिहान ब्रेकफास्टपछि त्यहाँको चर्चित पर्यटकीय स्थल ‘गुपसान नेसनल फरेस्ट पार्क’ तिर बस गुड्न थाल्यो। 

बाटोभरिका दृश्यमा स्वदेशको जस्तै पहाड, उपत्यका, समथल भूभाग, घना जङ्गल, उद्योग कलकारखाना कृषि फार्म नागबेली परेका सडक सञ्जाल, चार/छ लेनको बाटोमा एकनास गुडिरहेको दोहोरीलत्तर वाहनहरू। दुई घण्टापछि पनि गन्तव्य आइपुगेको छैन। 

‘यह जगह तो बहुत दूर लगता है?’ मैले फकरुल भाइलाई सोधेँ। 

उनले भने, ‘कमल भाइ, यह जो ग्वाङ्सी स्टेट है, वह हमारा बङ्लादेश से भी बडा है। ऐसे कइ स्टेट है इस मुल्कमे।’

करिब दुई घण्टा बीस मिनेटमा बस पार्कको मुख्य प्रवेशद्वारमा रोकियो। हामी बसेको होटलतिरको भन्दा मौसम निकै चिसो छ। 

त्यसपछि ठूलो खाले गल्फ कोर्ट जस्तो बाहनमा चढेर फेरि यात्रा सुरु भयो। 

कहिले काठमाडौँ–पोखरा त्रिशुलीको किनारै किनार त कहिले टिस्टुङ पालुङबाट सिमीभन्ज्याङतिर उकालो लागेको अनुभूति दिने। सदाबहार जङ्गलको विशेष गन्ध लिँदै र चराचुरुङ्गीको आवाज सुन्दै पौने घन्टा जतिमा निकै उचाइको झरना नजिक पुगियो। 

झरना हेर्न चाहिँ अलिकति पैदल हिँड्नु पर्ने रहेछ। 

सिमेन्टबिनै ढुङ्गाकै सिँढी र दायाँबायाँ बनाइएको ढुङ्गाकै रेलिङबारे टुर गाइडले बताए। अहिले वातावरण संरक्षणमा निकै सचेत छन् चिनीयाँहरू। झरनानजिकै पुगियो। फुलचोकीमुनि गोदावरी नौधाराको झझल्को आउने स्थान, दोहोरीलत्तर स्थानीय पर्यटक तस्बिर खिच्न व्यस्त छन्। कस्तो गज्जबको आन्तरिक पर्यटन। 

हङकङमा लामो समयदेखि पर्यटन व्यवसायमा आबद्ध राजेन्द्र श्रेष्ठले ठूलो झरना हेर्दै भने, ‘हाम्रो म्याग्दीमा यस्ता झरना त दर्जनौँ होलान्।’

माल पाएर पनि चाल नपाउने देशका हामी। विदेशमा राम्रो देख्दा सधैँ स्वदेशको सम्झना र चिन्ताले मन चस्किने कहिले हराउने होला मैले मनमनै गमे। 

यिनै गफ गर्दै पुनः त्यही ठूलो गल्फ कोर्ट चढेर मूलगेटमा फर्कियौँ। 

मूलगेटको ठीकपारि सानो पुल पार गरेर परम्परागत रूपमा करिब चारसय वर्ष अघिदेखि राइस वाइन उत्पादन गर्दै आएको स्थान पनि भ्रमणतालिकामा रहेछ।

एक मान्छे अट्ने माटाको सेरामिक घ्याम्पोहरूमा यो मादक पदार्थ भण्डारण थियो आँगनभरि। करिब दुई सय वर्ष पुरानो खबटाले छाएको ठूलो भुइँतले घरभित्र पसेपछि यसका उत्पादन तथा बजार व्यवस्थापनकर्ताहरूले यसको परम्परागत उत्पादन प्रविधि र गुणस्तरबारे बताए। ठ्याक्कै नेवारी शैलीको तर सेरामिक माटोको सुराइबाट सबैलाई कलात्मक सेरामिक प्यालामा राइस वाइन राखिदिएर चाख्न भने। 

अचम्म! बेलायती सिंगल मल्ट वा प्रिमियम स्कचजत्तिकै स्मुथ अनि मीठो अरोमा। 

‘महँगो पनि त उस्तै रहेछ, सात सय एमएलको झण्डै पाँच सय हङकङ डलर!’ किनेको बोतल देखाउँदै सहयात्री टंक रानाले भने। 

त्यसपछि दिउँसोको खाना उही ‘गुपसान नेसनल फरेस्ट पार्क रिसोर्ट’मा थियो। फेरि पनि स्थानीय परिकार, फरक मेनु।

हाम्रा लगेजहरू ट्रेन स्टेसन पुगिसकेकोले हामी उही ग्वाङ्सी हेझ्यु ट्रेन स्टेसनमा बसबाट ओर्लिएर बिदाइ गर्न आएका आयोजकहरूलाई मुरीमुरी धन्यवाद दिँदै प्लाटफर्मतिर लाग्यौँ। 

अब ट्रेन द्रूत गतिमा हङकङतर्फ चल्न हैन, बग्न थाल्यो। उही बाटोको दृश्य, अनगिन्ती सुरुङमार्ग। दुई दिनको थकाइले सबै निदाएका छन्। मलाई भने निद्रा लागेन। बरु बाले उहिल्यै गाउँमा सहरबाट ल्याउने ‘सचित्र चीन’ भन्ने पुरानो पत्रिकाको यादमा हराएँ म। 

अक्सर बा कामले सहर जाँदा कहिले फर्किने भन्ने थाहा हुन्थेन। सञ्चारमाध्यममा हवाइपत्र वा चिट्ठीको जमाना थियो त्यो। 

फोनको ल्यान्डलाइन सायद काठमाडौँ उपत्यकामा मात्रै थियोे त्यो समय। 

हरेक दिन बेलुकी हुन थालेपछि बहिनी र म पिँढी वा आँगनको डिलमा बसेर नागदहको डाँडोतिरको गोेरेटो बाटोमा आँखा लाउथ्यौँ बालाई। 

कहिलेकाहीँ उस्तै कदको मान्छे आउँदा हो कि हो कि जस्तो लागेर एक टकले आँखा घुमाउँदा घुमाउँदै त्यो मान्छे अर्को बाटो लागेपछि नरमाइलो लाग्थ्यो। 

साँझ परेपछि आमाले ल भित्र हिँड, अब आज बा आउनुहुन्न भन्नुहुन्थ्यो। 

जब बा आउनुहुन्थ्यो झोलाभरि पापा, मिठाइ कम किताब धेरै हुन्थे। 

न्युरोड फसिकेबमा बाका साथी निरञ्जन गोविन्द वैद्यको पुस्तक पसल थियो। सायद पुष्पलाल, मनमोहनसँगै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक थिए उनी पनि। पूर्णबहादुर एमए नेपाल चीन मैत्री संघका अध्यक्ष थिए वा उनले पुस्तक अनुवाद गर्थे, त्यति यकिन भएन अहिले। 

जे होस्, बालाई माया गर्ने वैद्यले यस्ता अनुदित चिनियाँ पुस्तक निशुल्क दिने गर्थे। जसमध्येको ‘सचित्र चीन’ रंगीन र धेरै तस्बिरहरूले गर्दा निकै रोजाइमा थियोे हामी विद्यार्थीहरू माझ। त्यो समयको चीनको कृषि, उद्योग, विकास निर्माण, जनजीवन, जनमुक्ति सेनाका परेडका तस्बिर सहितका लेखहरू हुन्थे। अझ पढिसकेपछि चिप्लो कागज किताबको गाताको लागि गज्जब। 

पछिपछि यही नेपाल चीन मैत्री संघद्वारा अनुवादित पुस्तकहरूमध्ये माओले क्रान्ति गर्दाको लङ मार्च, फूल बेच्ने केटी, ओयाङ हाइको गीत, लु सुनका कथाहरू बाका दराजबाट एसएलसी दिएपछिको फुर्सदमा पढेको सम्झना छ अझै। 

यिनै खाले पुस्तक पढेर दीक्षित भएका र सपना बाँड्नेहरूकै हालिमुहाली छ, स्वदेशको शासन सत्तामा। ऊ बेलाको पुस्तकमा देखेको सचित्र चीन अहिले प्रत्यक्ष हेर्दा घुम्दा अनुभव गर्दा विचित्र चीन भैसक्यो। हामी कता छौँ, के गर्दै छौँ त्यतापट्टि नजाऊँ अहिले। 

त्यसैले त बाले पटकपटक हङकङ आउँदा र एकपटक सेन्जेन सहर घुम्दा भन्ने गर्नुहुन्थ्यो ‘छोरा, देश विकास, उन्नति, प्रगति र जनता सुखी समृद्ध हुनको लागि मार्क्सवाद, लेनिवाद, माओत्सेतुङ विचारधारासँगै शासकहरूमा, इमानदारी, अनुशासन र नैतिकता पनि चाहिने रहेछ।’

यसरी बा, बाल्यकाल सचित्र र विचित्र चीनको मनोवाद गर्दै, देश सम्झँदै गर्दा बुलेट ट्रेन वेस्ट काउलुन स्टेसनमा आइपुगेको उद्घोषणले मेरो एकाग्रता भङ्ग भयो। 

अनि ग्वाङ्सी हेझ्यु औपचारिक भ्रमणको मीठो सम्झना साँचेर हामी सबै हङकङका आआफ्ना बासस्थानतिर लाग्यौँ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .