यी नेताको हङकङ भ्रमणको साक्षी बस्दा लाग्छ– राजनीति है बेइमानी की कला

यसरी बढ्दैछ कलाकारको हङकङ मोह, नेताहरूको घट्दै
यी नेताको हङकङ भ्रमणको साक्षी बस्दा लाग्छ– राजनीति है बेइमानी की कला

करिब २८ वर्षअघि हङकङको हायात होटलमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तरक्रियामा लेखक र अन्य सहभागी


कमल पौड्याल
असार ७, २०८२ शनिबार ७:५०, हङकङ

निकै लामो समय कोभिडले थुनेको हङकङमा स्वदेशबाट पहिलापहिला जस्तै नेता, अभिनेतादेखि गायक, कलाकारको आगमन हुन थालेको छ। चाडबाड र चलचित्र प्रदर्शनीको चहलपहल कोभिडपहिलाको भन्दा पनि उच्च संख्यामा उक्लेको छ। 

यसमध्ये राजनीतिक पार्टी वा यसमा आबद्ध हङकङका भ्रातृ संस्थाका कार्यक्रमहरुमा लगभग एउटै खाले पुराना अनुहारका अथवा पहिलो पुस्ताको मात्र उपस्थिति र कार्यक्रमहरु पनि निकै पातलिँदै गएको देखिन्छ। 

बरु मनोरञ्नात्मक कार्यक्रममा भने पुरानो र नयाँ दुवै पुस्ताको बाक्लो उपस्थिति बढ्दैछ पछिल्लो समय। 

हुन पनि गएको तीज, दसैँ, तिहार अनि अंग्रेजी नयाँ वर्ष र ल्होसारदेखि पछिल्लो नेपाली नयाँ वर्षसम्म स्वदेशका अभिनेता, अभिनेत्री सहितको सिनेमा प्रदर्शन र गायक संगीतकार, नृत्यकारहरुको दोहोरी लत्तरले हङकङका सिनेमाहल, खुलामञ्च, सार्वजनिक सभाहल र रेस्टुरेन्टहरु खचाखच भरिए। 

जातीय, क्षेत्रीय वा अन्य समूहगत सांगीतिक कार्यक्रममा प्रायोजन रकम सहयोगको लागि सामाजिक सञ्जालमा तस्बिर सहितको प्रतिस्पर्धात्मक होडबाजी र महँगो टिकट किनेर कार्यक्रम हेर्न जाने भीडभाड हेर्दा हङकङे नेपाली कमाउने मात्र हैन, खर्च गर्न पनि अब्बल दानवीर नै रहेछन् भन्ने लाग्छ।

गएको अंग्रेजी नयाँ वर्ष र ल्होसारको छेको पारेर ताइतोङको खुला इको पार्कमा आयोजना गरिएको निकै ठूलो ‘एलजी फेस्ट’ले ताइतोङको पार्क नै नेपालमय देखियो, सुनियो। 

कार्यक्रम उद्घोषणको लागि मात्रै चर्चित कलाकारद्वय जीतु नेपाल मुन्द्रे र केकी अधिकारी निम्त्याइएका थिए। 

आयोजकहरुका अनुसार करिब पाँच हजार दर्शक उपस्थित भएको यो कार्यक्रममा भरिभराउ दर्शकहरू राति अबेरसम्म गीतसंगीतमा झुमे।

त्यसपछि मुख्य हङकङ द्वीपमा रहेको कजवे बेको हङकङ स्टेडियममा ‘एभरेस्ट नाइट’ सांगीतिक कार्यक्रम सम्पन्न भयो। 

हङकङ काउलुनको मुटुमा रहेको वेस्ट काउलुन कल्चरल डिस्ट्रिक्टको एम प्लेस भनिने खुलामञ्च छ। जहाँ पहिलोपटक मे ३ र ४ मा स्वदेशी र विदेशी गरी पाँचछवटै लाइभ ब्यान्ड सहित अर्को ठूलो ‘नेपाल फिस्ट’ नामक सांगीतिक कार्यक्रम आयोजना भयो। 

नेपाली नयाँ वर्षको छेको पारेर दुई दिनसम्म चलेको यो मेलामा स्वदेशबाट करिब सत्तरीजनाको जम्बो कलाकार टोली आमन्त्रित भएको बताइयो। 

अन्य रेस्टुरेन्ट वा सामुदायिक सभाहलमा हुने यस्ता सांस्कृतिक सार्वजनिक कार्यक्रमको नालिबेली लेख्ने हो भने धेरै लामो हुन्छ। 

हङकङका नेपाली दर्शकमाझ कहिले त लगभग महिनामा पाँचसातवटै नेपाली चलचित्र प्रदर्शन हुन्छन्। तर ‘गाउँ आएको बाटो’ले भने स्थानीय चिनियाँहरुलाई समेत सिनेमा घरमा डो¥यायो। चिनियाँ छापाहरुमा समेत चर्चा बटुल्न सफल भयो। 

कुनै समय यी गीतसंगीत र चलचित्रका प्रदर्शनीभन्दा धेरै नेतागणको उपस्थिति र चहलपहल हुने गर्थ्यो हङकङमा। 

हङकङमा आफ्ना पार्टीका अधिवेशन, अन्य विशेष सभासमारोह वा अन्य देश आउनेजाने बाटो पर्दा नेपालका प्रधानमन्त्री, मन्त्री र राजनेताहरुमध्ये हङकङ नटेक्ने विरलै होलान्। 

स्वदेशका ठूला, मझौला वा साना नेताहरुले विदेश जहाँ जाँदा पनि सकभर हङकङलाई नै बाटो पारेर आउजाउ गर्ने गर्थे। अहिले चाहिँ निकै कम हुनुमा कारण के हो त?

नाम उल्लेख गर्न नचाहने एकजना हङकङे नेपाली राजनीतिक विश्लेषक यस्तो हुनुका तीनचारवटा कारण बताउँछन्। 

पहिलो कुरा त कुनै समयमा पार्टी र नेताहरुको लागि विदेशमा रोजगार गर्ने नेपालीहरु दुहुनो गाई बराबर थिए। अर्थात्, पार्टीको लागि एउटा भरपर्दो आर्थिक स्रोत। अब केही अपवाद छाडेर अकुत कमाइसकेका पार्टी र नेताहरूले स्वदेशमै मनग्य धन आर्जन गर्ने बाटा पहिल्याइसकेका छन्। 

जुन कुरा एकपछि अर्को गरी उदाङ्गो भएका बग्रेल्ती भ्रष्टाचारका काण्डैकाण्डका जालो र तहहरुले प्रष्ट पार्छ। लेखा समितिले दस अर्ब भ्रष्टाचार भएको भनिएको पोखरा विमानस्थल त कास्टिङ मात्रै हो अब मूल कथा त भैरहवा विमानस्थलको हेर्दै जानुहोला भनेर हाकाहाकी वर्तमान सांसद तथा पूर्वमन्त्रीले नै भनेपछि सक्किहाल्यो नि। 

स्वदेशका आर्थिक अपचलनका रकम सुन्दा विदेशबाट कार्यकर्ता वा शुभेच्छुकहरुले पठाउने लेवी, चुनावी खर्च वा अन्य सहयोग आजकालका नेता र पार्टीहरुलाई हात्तीको मुखमा जिरा जस्तै हो। 

अर्बौं ऋण र लगानीमा बनेका विमानस्थलमा एउटा चार्टर वा अन्य कमर्सियल उडान हुँदा मुख्य समाचार बन्ने गर्छन्। अझ निजगढमा बनाउने कुरा हुँदैछ। 

दोस्रो कुरा, विदेशमा बस्ने नेपालीहरुको भोट हाल्ने अधिकार नभएपछि नेताहरुले महत्त्व नदिनु स्वाभाविक हो। सामाजिक सञ्जालबाट निकै प्रभावित जनताहरु अब विदेशबाट आफन्तजनहरुले फलानो पार्टीको फलानालाई भोट हाल्नुपर्छ भन्दा मान्नेवाला पनि छैनन्। 

अझ विदेशमा हुने अन्तर्क्रिया कार्यक्रममा ताली बजाएर नेताका गुणगान मात्र नगरी सहभागीहरुले देशका बेथितिका चाङहरुबारे प्रश्न गर्दा नेताहरूलाई निकै अप्ठ्यारो हुने गर्छ। 

नेताहरूसँग हामीले यसो ग¥यौँ, उसो ग¥यौँ भनेर सुनाउने ठूला उपलब्धि केही छैन। बरु उल्टो तीखो आलोचनाको सामना गर्नुपर्छ। 

कुनै समय हङकङमा यस्तै परिस्थितिको सामना गरेका प्रचण्ड दोस्रोपटक चीन गएर फर्कंदा यहाँ नपसी सेन्जानबाट सिधै हङकङ एअरपोर्ट भएर नेपाल लागेका थिए। त्यसपछि कहिल्यै बाटो पारेका छैनन्। 

‘हङकङमा प्रचण्डको त्यो गोप्य बैठक’ भनेर एउटा मेरो लेख नेपालखबरमै आएको थियो त्यो बेला।

अहिलेका प्रधानमन्त्री ओलीले पत्नी सहित निकै पहिला अमेरिकाबाट नेपाल जान हङकङको बाटो पारेका थिए। एमाले उपनेताको हैसियतमा यहाँको पार्टी कमिटीले एउटा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम राखेको थियो हङकङमा। त्यो बेला माधव नेपाल एमाले पार्टी महासचिव थिए भने प्रचण्ड प्रधानमन्त्री। 

ओलीले भाषणको सुरुमै प्रचण्डलाई उहाँ त आजकाल एकडेढ लाखको पलङमा सुत्नु हुन्छ क्यारे भन्दै माओवादी र कांग्रेसलाई धाराबाहिक आलोचना र गाली गर्न थाले।

स्रोतामध्येकै तत्कालीन सक्रिय पार्टी सदस्य सङ्खुवासभाली लालबहादुर गुरुङले हात उठाएर ‘कमरेड, हामी अरुको पार्टीको कुरा सुन्न आएको हैन, हाम्रो पार्टीको कुरा गर्नुहोस्’ भन्दा सबैले होमा हो मिलाए। 

गुरुङको हालसालै निधन भयो। 

अर्का सहभागीले हाम्रो मन्त्रीको नाम मुछिएको यो चिनी काण्ड र पानी ट्याङ्कीको पैसाको कुरा के हो भनी प्रश्न सोधेपछि ओली त्यो दिन खासै मुडमा देखिएनन्, भनाइ छोट्याएर बिट मारे। 

अर्को मुख्य कुरा हङकङमा जनजाति मूलको महावाणिज्यदूत हुनुपर्ने मागले हङकङको नेपाली समाजलाई लामै समय गिजोल्यो। जसका कारण तत्कालीन एमाले नेताहरु माधव नेपाल र भीम रावलले पहिचानवादीहरुको कालो झण्डा र विरोधको नराम्रो सामना गर्नुपरेको थियोे। 

अर्का कांग्रेस नेता रामशरण महतलाई त कार्यक्रमस्थल पुग्नै हम्मेहम्मे परेको थियो त्यो बेला। यी घटनाहरुका कारण पनि ठूला नेताहरूको रोजाइमा हङकङ पर्न छाडेको थियो।

अर्को कुरा, विदेशमा बस्ने नेपालीहरुलाई एउटै मालामा उन्ने भनेर स्थापना भएको गैरआवासीय नेपाली संघको माला चुँडिएर बग्रेल्ती भएको छ। अनि यस संस्थाका अगुवाहरु स्वयं नै पार्टी कार्यालय र नेताको घरदैलो धाउनेदेखि न्यायालयमा समेत एकअर्काको विरुद्ध उजुरी हाल्न व्यस्त छन्। यस्ता क्रियाकलापले विदेशमा बस्ने नेपालीहरुको महत्त्व र इज्जत पहिलाभन्दा निकै खस्केको छ। 

कुनै खास समयसम्म विदेशमा बस्ने नेपालीहरुको इज्जत र साख बोकेको एनआरएनए अब लगभग हरेक देशमा पार्टीको भ्रातृसंगठनको रुपमा रुपान्तरण गर्न पार्टीका नेताहरू नै लागिपरेका छन्। 

यद्यपि मुखले चाहिँ गैरआवासीय नेपाली संघलाई दलीय राजनीतिबाट मुक्त गराउनुपर्छ है भन्न भने छाड्दैनन्। 

यो संस्थाको चुनावी नतिजा नै स्वदेशका राजनीतिक पार्टीको साख र अहंकारसँग जोडिएकोले अब यसमा सुधार वा संस्था एकढिक्का कहिल्यै नहुने ठोकुवा गर्छन् यी विश्लेषक। 

तुलनात्मक रुपमा राप्रपा अर्थात् राजावादीहरुको चहलपहल भने बढेको थियो हङकङमा पछिल्लो समय। 

यस्तै सेरोफेरोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपाका सभासद ज्ञानेन्द्र शाही फरकफरक समयमा हङकङ आएर कार्यक्रम गरेर गए गत साल। राप्रपाको हङकङ समितिले आयोजना गरेको शाहीको कार्यक्रममा राम्रै उपस्थिति थियोे। 

दुर्गा प्रसाईंको कार्यक्रमका आयोजक हङकङका युवा उद्यमी तथा नातेदार तुलसी उप्रेती थिए। अझ कार्यक्रम राजनीतिक नभएर ‘राज्यको बैंकिङ अनुचिततामा हाम्रो सामाजिक र न्यायिक भूमिका’ भन्ने थियो। यो अन्तर्क्रिया कार्यक्रममा पनि राम्रै समावेशी उपस्थिति थियोे। खासगरी आयोजकको मन राखिदिन, प्रसाईंका गृहजिल्लाबासीहरु र राप्रपामा आस्था राख्नेहरु समेत थिए। 

कहिले प्रचण्ड र केपी ओलीको बीचमा बसेर मार्सी चामलको पकवान पस्कने त कहिले पूर्वराजा र उनका परिवारको प्रमुख आतिथ्यतामा हिन्दु धर्म सहित पुनः राजतन्त्र स्थापनाको अभियान सुरु गर्ने प्रसाईं राजनीति बुझ्नेहरुका लागि फरक खालका चाखलाग्दो पात्र पनि थिए। 

त्यसपछि राप्रपाकै नेता राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रले हङकङको भूमि टेके। याउमातेइ कम्युनिटी हलमा उपस्थित जनसमूहबीच गणतन्त्र देशमा असफल भैसकेकोले संवैधानिक राजतन्त्र सहितको हिन्दु राज्य हुनुपर्छ भन्ने उनीहरूको भनाइमा कसैले औँला ठड्याएनन्। बरु मौन समर्थन पनि पाए त्यो सभाबाट। हङकङस्थित भ्रातृ संगठनको तेह्र सदस्यीय कार्यसमितिलाई शपथग्रहण समेत गराए यी नेताद्वयले।     

‘हैन कमलजी के हो यो? पहिचानवादीहरुको रणमैदानमा राजावादीहरुको परेडले पो धुलो उडाउँदै छ त?’ भनेर हसाउँदै थिए एकजना हङकङे भूपू कमरेड त्यो दिन। 

‘नेपालमा गुदीबिनाका शीर्षक बेच्ने पत्रिका वा अनलाइनले सुने भने यही शीर्षक बनाउँछन् है,’ मैले थपेँ। 

एकजना अर्का स्वतन्त्र सहभागीले चाहिँ ‘राप्रपा पार्टीको सपोर्टमा भन्दा पनि राजतन्त्र र हिन्दुराज्यको वकालत गर्ने जनजाति मूलको नेता पहिलोपटक हङकङमा यस्तो कार्यक्रम लिएर आएको र गणतन्त्रले चुलिएको चरम विकृति र निराशाले गर्दा पनि जनजाति बाहुल्य हङकङमा यत्तिको उपस्थिति स्वभाविक भएको’ बताए। 

त्यसपछि नेकपा एमाले हङकङ कमिटीको आयोजनामा नेता राजन भट्टराई निम्त्याइए यहाँ। बिनातामझाम याक एण्ड यती नेपाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा भट्टराईले हङकङमा पार्टी स्थापना गरेताककै पार्टीसँग आबद्धहरुको उपस्थितिमा आफ्ना भनाइ राखे र केही दिनको हङकङ घुमाइपछि नेपाल फर्के। 

त्यसपछि नेपाली कांग्रेसको हङकङस्थित भ्रातृ संगठनले ब्लु ओसन रेस्टुरेन्टमा राखेको नयाँ कार्यसमिति शपथग्रहण समारोहमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको उपस्थिति थियो। 

त्यसपछि भ्रातृ संगठनकै निम्तोमा गएको हङकङको पृथ्वी जयन्ती विशेष समारोहमा राप्रपाकै अर्का नेता विक्रम पाण्डे मुख्य अतिथिको रुपमा आएर गए। 

एमाले भ्रातृ संगठनकै निम्तोमा एमालेलेका पूर्वमन्त्री तथा सांसद पदम गिरी एउटा पदयात्रा तथा वनभोज कार्यक्रममा सहभागी हुन आएका थिए। 

हालसालै हङकङ सरकारको औपचारिक भ्रमण कार्यक्रममा यहाँ आएका पर्यटनमन्त्री बद्री पाण्डेको सम्मानमा यहाँको नेपाली कांग्रेसको भ्रातृ संगठनले सानो औपचारिक कार्यक्रम राखेको थियोे वानचाइको हिमालयन रेस्टुरेन्टमा। 

सबैभन्दा पछिल्लोपटक चीन सरकारको अगुवाइमा हङकङमा स्थापना भएको अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको उद्घाटनमा नेपालको प्रतिनिधित्व गर्दै पर्यवेक्षकको रुपमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी हुन आएकी थिइन्। 

नेपाली कांग्रेस हङकङको भ्रातृ संगठनमा सम्बद्घहरुसँग मात्र उनले एक बिहान ब्रेकफास्ट खाँदै भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा फैलियो। 

स्वदेशबाट नेतागण वा मन्त्रीहरु आउँदा अक्सर भेटघाटको जोहो गर्ने नेपाल चेम्बर अफ कमर्स हङकङ, गैरआवासीय नेपाली संगठन र हङकङ नेपाली महासंघले त्यस्तो भेटघाट गर्न चाहेन वा मन्त्री राणाले नै भेटघाट गर्न चाहिनन् वा उनीसँग समय थिएन त्यो थाहा भएन। 

परराष्ट्रमन्त्री पार्टीको मात्र हैन सिंगै देशकै हो, त्यस्तो व्यक्तिले कमसेकम यहाँका व्यापारी, बुद्धिजीवी र समग्र जनसमुदायसँग सामूहिक भेटघाट, अन्तर्क्रिया गर्नुपर्थ्यो भनेर निकै गाइँगुइँ भयो। 

तर यसमा मन्त्री राणा मात्रै अपवाद भने हैनन्। उनले पनि पुरानै चलनलाई निरन्तरता दिएकी हुन्।

समस्या हामीबीच पनि छ। यहाँ समग्र नेपालीहरुको नेतृत्व गर्ने संस्था कुन हो त भन्दा सबैले मै हो, हामी मात्र हो भन्छन्। 

हामी विदेशमा पनि सबै नेपाली हौँ भन्ने भन्दा जात, क्षेत्र, जिल्ला, राजनीतिक आस्था र विचारको घेराभित्र बाँडिएका, बाँधिएका छौँ। देशदेखि विदेशसम्म, यत्र तत्र सर्वत्र, अझ सामाजिक सञ्जालमा कोभन्दा को कमको जुँगाको लडाइँ देखिन्छ। 

मुख्य कुरा त देशको राष्ट्र प्रमुख वा मन्त्री, नेता वा पूर्वप्रमुख विदेश जाँदा उनीहरुको भ्रमण कार्यक्रम तालिका बनाउने, समन्वय गर्ने निकाय भनेको त्यो देशमा रहेको दूतावास वा महावाणिज्यदूतावास हो। 

तर मेरो पैँतीस वर्षे हङकङ बसाइमा महावाणिज्यदूतावास समेत नेताको सम्बन्धित पार्टीको भ्रातृ संगठनसँग समन्वय गरेर पछि लाग्नुपर्ने देखेको छु। 

राष्टपति रामचन्द्र पौडेल, अहिलेका प्रधानमन्त्री केपी ओलीदेखि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउवासम्मका पटकपटकको हङकङ भ्रमणको साक्षी हुँ म। 

यसमध्ये धेरैबारे विश्लेषणात्मक संस्मरण नेपालखबरमै लेखेको थिएँ। 

परराष्ट्रमन्त्रीकै हैसियतमा पहिला आएका केपी ओली, सुजाता कोइरालादेखि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, वर्षमान पुनः लगायत धेरैले भ्रमणमा भ्रातृ संगठनहरुलाई नै बढी महत्त्व दिएकै हुन्। 

निम्तो आए र फुर्सद भए मलाई यस्ता सभा समारोहमा रमिते, मौन सहभागी हुन रमाइलै लाग्छ, खासगरी मेरो लेखकीय विषयवस्तु र विश्लेषणको लागि। हङकङमा हरेक राजनीतिक पार्टीका भ्रातृ संस्थाको न्वारनदेखि वयस्कसम्मको उमेरलाई नजिकैबाट नियालेको छु मैले।

यो राजनीति भन्ने पनि व्यापार, व्यवसाय, गीतसंगीत, चलचित्रजस्तै रहेछ। कोही अति सफल, कोही वर्षौंको त्यागतपस्यापछि पनि असफल। कसैलाई नाम बचाउनै धौधौ, केही भन्नै नसकिने। कोही सधैँ टाकुरामा, कोही टिक्नै नसक्ने गर्ल्यामगुर्लुम जहाको तहीँ। बडो कुटिल खेल रहेछ यो। 

म सम्झन्छु– हङकङमा सबैभन्दा पुरानो एमाले पार्टी वा पहिलो नेपाली संस्था खोल्न आगो जोरजाम गर्न हौस्याउने वामदेव गौतम, मोदनाथ प्रश्रित र माधव नेपाल तीनैजना अहिले त्यो पार्टीमा छैनन्। 

‘यसरी जन्मियो हङकङमा पहिलो नेपाली संस्था’ भनेर नेपालखबरमै एउटा संस्मरण लेखेको थिएँ।

आजभन्दा करिब तेत्तीस वर्षअगाडि सायद चीन भ्रमणपछि नेपाल फर्कंदा हङकङलाई बाटो पारेका यी नेतात्रयमध्ये वामदेव गौतम अहिले ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास’ भन्दै पूर्वसहकर्मी कमरेडहरुको पार्टीको आँगनमा भट्याइरहँदा पनि ढोका खोल्नु त के, कसैले चोटाको झ्यालबाट पनि हेर्न छाडिसके। कुनै समय उनी पार्टीलाई सफलताको शिखरमा पु¥याउने निकै प्रभावशाली नेतामा गनिन्थे। 

मदन भण्डारीपछि एकचालीस वर्षको उमेरदेखि नै लगातार डेढ दशक एमालेको शीर्ष स्थान सम्हाल्दै प्रधानमन्त्रीसम्म बनेका माधव नेपाललाई यो त्रिहत्तर वर्षको उमेरमा टाउकोमाथि अख्तियारको तरबार झुन्डिएको वा झुन्ड्याउन लगाइएको छ। 

कुनै समय जेलमा बस्दा ज्यनमारा कैदीलाई नै कम्युनिस्ट बनाउने खुबी भएका भनेर चर्चित लेखकका रुपमा समेत नाम कमाएका पूर्वमन्त्री मोदनाथ प्रश्रित एमाले राजनीति र साहित्य दुवैबाट अस्ताए बराबर नै छन्। 

करिब दशकअगाडि नै निश्चित उमेर र समयपछि सक्रिय पार्टी राजनीतिबाट सबैले बिदा लिनुपर्छ भनेर स्वेच्छिक अवकाश लिएका प्रश्रितकै अगाडि उमेर हैन आवश्यकता अनुसार भन्दै अझै एकदुई कार्यकाल पार्टीलाई मै चाहिन्छ भन्न थालेका छन् त्रिहत्तर वर्षीय केपी ओली। उनको अगाडि यस्तो हुँदैन, हुनु हुँदैन भन्नेहरु निमिट्यान्न भएका छन् पार्टीमा पछिल्लो समय। 

पटकपटक हङकङ आएका अर्का पूर्वएमाले नेता तथा प्रधानमन्त्री झलनाथ खनाललाई झलनाथभन्दा ‘सर्पनाथ’ भनेर खिल्ली उडाइन्छ आजकल। पछिल्लो राजनीतिक जीवनमा निकै निम्छरो र पुरानो साख जोगाउन पनि मुस्किल बन्दै गएको देखिन्छ उनलाई।

एमाले विदेश विभाग प्रमुख र मन्त्री हुँदा समेत पटकपटक हङकङ आएका अर्का नेता भीम रावलले मलाई सक्रिय पार्टी सदस्य बन्न सुझाएका थिए त्यो बेला। ‘हेर्नुस्, म लेख्ने मान्छे, कुनै पार्टीको चौघेरामा बाँधिन चाहन्नँ। भोलि मेरो लेखन वा विचारले गर्दा तपाईंले नै मलाई कारबाही गर्नुपर्ने हुन्छ कुनै दिन,’ मैले भनेको थिएँ। 

तर आजको दिनमा उनै रावललाई ओलीले बार्टीबाट निष्कासन गरेका छन्।

हङकङमै एसियाली विद्यार्थी संगठन आशाको मुख्यालय वा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र एमाले पार्टी कमिटी र सुदूरपूर्वी प्रवासी नेपाल संघ (फियोना)मा रहेर पार्टीलाई उकेरा लाउनेमध्ये केशव पाण्डे, प्रेम दंगाल, सुजिता शाक्य, पार्टीका विभिन्न जिम्मेवारीमा रहेको सुनिए पनि खासै राजनीतिक चर्चा परिचर्चामा सुनिँदैनन्।

यस्तै हङकङ फियोनाकै कोअर्डिनेटर भएर बसेका अर्का एमालेद्वय लेखनाथ कोइराला र माधव नेपाल गुमनाम छन् अहिले। 

फियोना कोअर्डिनेटर भएर रहँदा कानुन विषयमा हङकङ विश्वविद्यालयबाटै एलएलएम गरेका प्रेमचन्द्र राई पार्टी छाडेर अहिले आफ्नै पेसा र कानुन सम्बन्धी पुस्तक प्रकाशनमा व्यस्त छन् भन्ने सुनिन्छ। 

हङकङमा नेपालीहरु सुरुमा विशेष रोजगार भिसामा आएकाहरु न्यून संख्यामा थिए। सन् नब्बेको दशकपछि जन्मदर्ताको आधारमा हङकङ आउने भूपू ब्रिटिस गोर्खाका सन्ततिहरुको लाइन लाग्यो। 

त्यही सेरोफेरोमा जनजाति बाहुल्य हुँदै गएको हङकङमा अब कोइराला, पाण्डे, दंगाल, नेपाल, भट्टराईभन्दा जनजाति मूलकै फियोना संस्थाको कोअर्डिनेटर र पार्टी हेर्ने मान्छे पठाउनु पर्छ भनेर एमालेले युवा नेता भक्त गुरुङलाई पठायो। 

हङकङपछि अहिले बेलायतलाई कर्मभूमि बनाएका भक्त गुरुङको सामाजिक सञ्जाल हेर्दा उनी पृथ्वीसुब्बा गुरुङभन्दा पनि बढी स्वदेशी सरकारको प्रवक्ता पो हुन् कि भनेर हङकङमा विशेष चर्चा हुन्छ उनका परिचितहरुमाझ। 

केपी बा र एमाले पार्टीको बचाउमा सामाजिक सञ्जालमा अहोरात्र लागेका छन् उनी। निकै नकारात्मक र निम्नस्तरका प्रतिक्रियाहरुलाई पनि निकै संयमित भएर एकएक जवाफ दिने उनको जाँगर र समयलाई मान्नैपर्छ। 

हङकङमा एमालेको जग हाल्ने अर्का नेता राजन भट्टराई पछिल्लो समय हङकङ आउँदा मैले सोधेको थिएँ, ‘खै त राजनजी, तपाईं मन्त्री, प्रधानमन्त्री बनेको हेर्न त म र तपाईं दुवै सय वर्ष बाँच्नुपर्ने हो?’

अझ बापछि काकाहरुले पनि त्यति नै कार्यकाल राज गर्न चाहे भने तपाईं–हाम्रो पुस्ताको पालो कहिले भनेर हाँसो गर्दा कूटनीतिक स्वभावका भट्टराईले समय आएपछि सबै भैहाल्छ भन्दै खासै जवाफ दिएनन्। 

उनका पार्टीका अन्य सहभागीले अब आउने चुनावमा गगन थापासँग भिड्नुभन्दा अरु सजिलो चुनावी क्षेत्र रोज्न पनि सुझाए त्यो दिन। 

एमाले र देशको राजनीतिमै पछिल्लो समय चर्चामा रहेकी युवा नेतृ विन्दा पाण्डे नब्बेको दशकको मध्यमा एउटा अन्तर्राष्ट्रिय महिला अधिकार सम्बन्धी गैरसरकारी संस्था अन्तर्गत हङकङ कार्यरत रहँदा हङकङ एमालेलाई निकै मलजल र गोडमेल गर्ने मध्येकी एक थिइन्। 

विद्यार्थीकालदेखि अहिलेसम्म एमालेमै कपाल फुलाएकी विन्दाले एउटा विवादास्पद व्यापारीले दिएको दान पार्टीले कदापि स्वीकार्नु हुँदैन, लाखौँ कार्यकर्ताहरुको शिर निहुरिन्छ भनिन्। उनको यो अडानले चर्चाको चुली छोए पनि उनको राजनीतिक यात्रामा भने नेता ओलीले ब्रेक लगाइदिएका छन् अहिलेलाई। तर पनि विन्दा पाण्डे आफ्नो भनाइ र विचारमा दृढ लाग्छिन् नेपालखबर लगायतमा उनका पछिल्ला अन्तर्वार्ताहरु पढ्दा।

आफ्नो ‘भुइँमान्छे’ पुस्तक लिएर देशभरिकै राज्यले बिर्सेका भुइँमान्छेहरुको घरघरको दौडाहामा व्यस्त देखिन्छिन् आजकाल उनी। 

हङकङ पटकपटक आएका अर्का पूर्वएमाले नेता तथा लेखक प्रदीप नेपालको हालसालै निधन भयो। 

पटकपटक शिक्षा र सञ्चारमन्त्री बनेका नेपालले एमाले पार्टीलाई यो उचाइमा ल्याउन भूमिगतकालदेखि जीवनको लामो समयम्म झण्डा समातेर फहराएका थिए। 

तर मृत्युपछि त्यो झण्डा ओढ्न मञ्जुर भएन उनलाई। 

जीवनको पछिल्लो समय गुमनाम नेपालको निधनपछि उनको आत्मस्वीकृतिको एउटा पानाले चर्चाको चुली छोयो। 

सामाजिक सञ्जालमा उनीप्रति बर्सिएका सच्चा श्रद्धासुमनका सन्देशहरु पढ्दा उनको स्वेच्छिक अन्त्येष्टि ठूलो तामझाम सहितको शवयात्रा, फूलको पर्खाल, सलामी, शोकसभाहरु भन्दा धेरै उचाइको थियोे। 

म धेरै पुराना कुराहरूमा बहकिएछु आज। लेखको बिट मार्दै गर्दा ओशोको एउटा भनाइको याद आयो। 

‘राजनीति नीति नहीँ है, अनीति है। न मालुम किन बेइमानोँ ने उसे राजनीतिका नाम दे दिया! नीति तो उसमे कुछ भी नहीँ है। राजनीति है : शुद्ध बेइमानी की कला!’

खास यही नै हो त? अन्त्यमा आफैँलाई प्रश्न गरेँ मैले?

हो, पक्कै हो। हङकङको आकाशमुनि बसेर देश र संसारलाई सरसर्ती हेर्दा यस्तै लाग्न थालेको छ मलाई पनि आजकल। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .