कथा: संस्थाको म ठूलो मान्छे

कथा: संस्थाको म ठूलो मान्छे

रत्नाखर काफ्ले
साउन १७, २०८२ शनिबार १२:३३, हङकङ

संस्थामा छिर्दा लाग्थ्यो- केही योगदान दिन्छु। तर सुरु भयो फोटो, ताली, माइक, पद, पैसा र प्रशंसाको यात्रा। ‘बजारमा जे चल्या छ, त्यही गर्ने हो, त्यही देखाउने हो’ भनेर साथीहरूले सुझाए। म पनि के कम? ल, ठिकै छ भनियो। अनि सुरु भयो मेरो ‘संस्थागत अभिनय यात्रा’।

पहिलो पटक हङकङमा कलाकार ल्याएँ- फिल्म देखाएँ। दर्शकले फिल्म हेरे कि मेरो अभिनय, त्यो त थाहा भएन, तर ताली भने राम्रै बज्यो। त्यसपछि गायक-गायिका ल्याएँ, गीत प्रस्तुत गराएँ। माइक समातेर उद्घोषण गर्दा म आफैँलाई ‘रेडियो नेपाल’ को पुरानो उद्घोषक सम्झिन थालेँ।

हँसाउने ल्याएँ, पत्रकार ल्याएँ, हाइकर, डुब्कर, खेलाडी-हङकङ ल्याउन कोही बाँकी राखिनँ। साहित्यकार, नेता, मन्त्री, सांसद-सबैलाई मञ्चमा उभ्याएँ। संस्थाको नाममा जो पायो, त्यही ल्याएँ। कार्यक्रमको नाम ‘संस्थागत बहुरुपियाँ महोत्सव’ राख्न मन थियो तर साथीहरूले ‘थोरै गम्भीर देखिनुपर्छ’ भनेपछि ‘सांस्कृतिक साँझ’ राखियो।

अब म खुसी छु। पद थामिएको छ। विदेशदेखि स्वदेशसम्म, तलदेखि माथिसम्म, सबैले चिन्छन्। उनीहरू यता आउँदा मलाई खोज्छन्, म उता जाँदा उनीहरूलाई खोज्छु। खोजी खोजी चिन्ने र चिनिने यो खेलमा म माहिर भइसकेको छु। फोटो खिचेको छु- धेरै। स्टेजको अगाडि उभिएर, माइक समातेर, खादा ओढेर, माला लगाएर, हात हल्लाएर। फोटो हेर्दा लाग्छ, म कुनै ‘संस्थागत सुपरस्टार’ हुँ। कतै कतै त फोटोमा मेरो छायाँमा मन्त्री नै परेका छन्।

विदेश मात्र कहाँ, स्वदेशका लागि पनि मैले थुप्रै कामहरू गरेको छु। परार साल नेपालमा ठूलै बाढी चल्यो। बाढीले सबै स्वाहा पार्‍यो। पैरो खसे। पैरोले गाउँका गाउँ खायो। डढेलो लाग्यो। डढेलोले बस्ती उजाड्यो। भूकम्प गयो, हजारौँ परिवारलाई निल्यो। गाउँ र बस्ती उजाडिए।

म त ठूलो मान्छे, केही त गर्नै पर्‍यो भनेर राहत उठाउन थालियो। उठाउन त थालियो, तर उठाउँदै जाँदा के के भयो के के। उठेको राहत पनि बुझाइयो। तर हिसाब बुझाइएन। किन बुझाउनु ज्युँका त्युँ हिसाब? म ठूलो मान्छे नि! ठूलो मान्छेले पनि कहीँ सानातिना हिसाब बुझाउँछ? 

अनि कतिपयले सोधे, ‘कता गयो त हिसाब?’ मैले पनि फ्याट्ट जवफ दिएँ, ‘दुलोभित्र पस्यो।’ ‘खै दुलो?’ उनीहरूले सोधे। मैले जवाफ दिएँ, ‘गाईले कुच्यो।’ ‘खै गाई?’ सोध्दै थिए सायद, सोध्न नपाउँदै मेरो जवाफ गयो, ‘खोलाले बगायो, बाढीले निल्यो, पैरो चल्यो, थिच्यो, जमिनमुनि भासियो।’

कामको प्रशंसा? त्यो त यति सुनिन्छ कि कहिलेकाहीँ कान थाक्छन्। पदक र मेडल पनि बेला बेलामा थापेकै छु। खादा त यति ओढेको छु कि अब त घरको दराजमा ‘खादा संग्रहालय’ खोल्न सकिन्छ। ‘नशाभित्र नअशा सरी...’ यो गीतको खुबै याद आउँछ। तर यो नशा रक्सीको होइन, माइक र स्टेजको हो। त्यो रौसीको नशा, त्यो तालीको नशा, त्यो फोटोको नशा अनि त्यो ‘पद’ को नशा।

कहिलेकाहीँ फलानो संस्थाको गरिमायम सदस्य पदमा बसिदिनुपर्‍यो भन्ने अफर पनि आइपुग्छ। म फिस्स हाँस्छु। अनि भन्छु- जब पद पहिल्यैदेखि गरिमामय छ भने त्यस पदमा म किन बस्नुपर्‍यो? पदको शोभा बढाउन लाटो, गाँडो जुनसुकै तन्नेरी ल्याएर राखिदिए पनि त भैगो। अनि उनीहरूको अफरले त्यहीँ विश्राम पाउँछ।

संस्थाको उद्देश्यले जे खोजोस्, बाल मतलब! बजारको मागअनुसार रंगीन कार्यक्रम गर्नुपर्‍यो। सबैसँग पैसा छ, सबै कमाउँछन्। खर्च गर्न चाहनेलाई ठाउँ दिनु पनि त संस्थाको धर्म हो। खादा, माला, मान, मनितो, पद, प्रशंसा, नाम, सम्मान, चिनाजान– यी सबै मेरो ‘संस्थागत करामत’ हुन्। म पनि के कम? बाठो मान्छे नि! ठाउँ ठाउँमा २–४ पैसा फाल्दिन्छु। अनि ठूलो मान्छे त चुड्किओ भराँ भैएकै छ!

अब त लाग्छ, संस्था भनेको कुनै सामाजिक उद्देश्य पूरा गर्नको लागि होइन, यो त एउटा रंगमञ्चको आयोजक हो, जहाँ मैले मुख्य भूमिका निभाउनु पर्छ। बाँकी सबै सहायक कलाकार! पर्दा उठ्छ, म बोल्छु। पर्दा झर्छ, म फोटो खिच्छु। अनि अर्को कार्यक्रमको तयारी सुरु हुन्छ। जदौ।

(रत्नाखर काफ्ले ‘हिमालयन यात्रा’ हङकङका पर्यटन व्यवसायी हुन्)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .