हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियसन (एचकेनुट्रा)ले एउटा यस्तो अवसर जुराइदियो, जसमार्फत अन्तर्राष्ट्रिय ट्रेल मैदानमा प्रतिस्पर्धा गर्न मलेसियाको राजधानी क्वालालम्पुर नजिकैको राज्य सिलिङ्गोरको गोम्बाक जिल्ला पुग्नु थियो।
जहाँ पुगेर सिङ्गो देश नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै १०० किलोमिटर दौडमा सहभागी हुनु थियो।
भिसा प्रक्रियाको सम्पूर्ण काम एचकेनुट्राका कोषाध्यक्ष लबिङ गुरुङले गरिरहनुभएको थियो। यता मलेसिया पुग्ने दिन छोटिइरहँदा मनमा एक किसिमको छटपटाहट बढ्दै थियो।
मैले ट्रेल दौडमा पुन: पाइला चाल्न सुरु गरेको छैटौँ महिनामा टेक्दै थियो। सम्भवतः एचकेनुट्राको टोलीमा सबैभन्दा कान्छो धावक थिएँ म।
हाम्रो भिसा प्रक्रिया पनि पूरा भएछ। मित्र लबिङ गुरुङले भिसा लिन आउनुहोला भनी भ्रमण टोलीको लागि बनाइएको ह्वाट्सएप ग्रुपमा म्यासेज पठाउनुभयो।
एअर एसियाको जहाजबाट १९ जुनको साँझ ६:५० बजेको उडान रहेछ। ४:३० बजे सबै जना एअरपोर्टमा भेट हुनुपर्ने सन्देश एचकेनुट्राका उपाध्यक्ष भेषराज भट्टराई (रमेश)ले राख्नुभएको थियो।
चेकलाप ककस्थित हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एअर एसियाको काउन्टर भिडभाडमुक्त थियो। हामी ५ जना बोर्डिङ पास लिएर डिपार्चर गेट प्रवेश गर्यौँ।

‘आज जहाजमा खाना पाइदैँन क-कसलाई के-के खान मन छ, ४ घण्टा धान्ने गरी स्न्याक ग्रहण गरौँ है’ भन्दै रमेश सर रेस्टुरेन्ट लाइन चहार्न थाल्नुभयो। अनि, हामी पनि लय मिलाउँदै उहाँको पछि लाग्यौँ।
दर्जन बढी रेस्टुरेन्ट चहारियो तर के खाने भनेर निर्णय गर्न सकिएन। अन्त्यमा, एचकेनुट्राका अध्यक्ष वेदराज सेलिङ दाइले सबैजना आज गोरा बन्नु पर्छ। भात मात्र कति खानु! भन्दै बर्गर/सलाद टेबलमा थुपार्न थाल्नु भयो।
तर, रविनकुमार तुम्बा भने टेबलमै आउनुहुन्न! अलि परैबाट भन्दै हुनुहुन्थ्यो, ‘अन्य केही खाऊँ न हो, बल्ल बल्ल विदेश भ्रमण हिँडिएको छ!’
‘टेबलमा छ त हो, खुरु खुरु चपाउन सुरु गरौँ न, के पुगेन हौ?’ भन्नुहुन्छ फेरि वेदराज दाइ! एकछिन माहोल रमाइलो बन्यो। तुम्बाको ध्यान भने चिसो होगार्डेन केनले तानेछ। लिएर पनि आउनु भयो। साथै, जहाजभित्रै बसेर मजाले पिउने विचार रहेछ उहाँको।
समयपूर्व नै एअरपोर्ट पुगिएकोले विमानस्थल परिसर घुमघाम गरेर फाइदा उठाइयो। समय भएपछि बोर्डिङ पास काउन्टरका कर्मचारीलाई देखाउँदै गर्दै जहाजभित्र प्रवेश गर्यौँ। परिचारिकाले हङकङ-क्वालालम्पुर नियमित उडान तालिकाअनुसार हामी उडान भर्ने तयारीमा छौँ कृपया सिटमा बसी सिट बेल्ट लगाउनुहोला भने अनाउन्स मात्र के गरेकी थिइन्, जहाज हलचल गर्दै धावन मार्गमा गुड्न थाल्यो।
नेपाल एअरलाइन्सबाट यात्रा गर्दा इन्ट्री हलदेखिको झन्झट, छिनभरमै डिले जस्ता खबर सुनिरहने बानी परेका हामीलाई एअर एसियाले श्वास बिसाउन नपाउँदै टेकअप गरायो।
संयोग भनौँ या साथीहरूले यस्तै टिकट मिलाएका हुन्, ५ जनालाई नै दुई साइडको झ्याल परेछ। रमिता हेर्दै जाने भइयो। साँझको ७:३५ बजेको थियो, हङकङ सहर चारैतिर झलमल्ल देखिन्थ्यो। हामी उडेको जहाजले ताइमो सानलाई शिर पारेर अकाशियो।
जहाजले उचाइ लिएपछि यात्रुहरू सिट बेल्ट खोलेर चहलपहल गर्न थाले। कोही किताब पल्टाउन थाले, कोही कोही वासरुमतर्फ लागे त कोही ल्यापटप खोल्न थाले भने कसैले मोबाइलको स्क्रिन अन गरे।
यसैबीच विमानका कर्मचारीबाट दोस्रो अनाउन्स हुन्छ। अंग्रेजी, मलेसियन र चिनियाँ भाषामा भनियो– सिट अगाडिको मेनु हेरेर खाना अर्डर गर्नुहोला।
रातो जामा लगाएकी अधबैँसे महिला भन्छिन्– भिसा कार्ड, मास्टर कार्ड, आलिपेबाट पनि तपाईँहरूले पे गर्न सक्नुहुन्छ। एक पटक मात्र होइन, घरी महिला त घरी पुरुष कर्मचारीबाट बारम्बार यसो भनिरहनुले चाहिँ जहाजमा बसेको हो कि कुनै रेस्टुरेन्टमा भनेर कन्फ्युज बनायो।
यति मात्रै होइन, कहिले जहाजको पुच्छरपट्टि त कहिले टाउकोपट्टि अल्लो छेउ र पल्लो छेउ गर्दै सिटसिटमै आएर ‘सर/मेडम केही सेवा गरौँ? के चाहनुहुन्छ?’ भन्दा चाहिँ साह्रै दिग्दारिलो वातावरण बनेको थियो।
यति ठूलो खाना व्यापार चलिरहँदा मलाई चाहिँ जहाजभित्र होइन, ताप्लेजुङ–काठमाडौँ बस यात्रा गर्दा सिराहा, सप्तरी, सर्लाहीका सडक पेटीका छाप्रे होटेलको याद दिलाइरहेको थियो।
जति जोड गर्दा पनि त्यो रातको उनीहरूको व्यापार भने त्यति फस्टाउन भने सकेन। उनीहरूको विज्ञापनअनुसार खाना खाने ग्राहक त्यति आकर्षित भएनन्। अनौठो माहोलभित्र छक्क परिरहेको मेरो कानमा छेउछाउ कतैबाट बियरको केन खोलेको आवाज आयो। दिलु दिदीको कानमा पनि परेछ। उहाँले को होला? भन्न नपाउँदै वेदराज दाइले सानो स्वरमा साथीहरूले सुरु गर्यो जस्तो छ है भन्नुभयो।
टाउको घुमाउँदै पछाडिको सिटमा आँखा पुर्याएको त एक चिनियाँका साथै हाम्रै टिमको रविनकुमार तुम्बाको हातमा अघि विमानस्थलमा परिसरमा किनेको होगार्डेनको केन देख्छु। तुम्बा हल्का रमाइलो भन्दै चेयर्स गरेर चुस्की मात्र के लाउँदै थिए ती रातो जामावाला महिलाको आँखा तुम्बाको हातको बियरमा ठोकिएछ।
‘हेलो, एक्सक्युजमी सर! नो अलाउड अल्कोहल। प्लिज गिभ मि।’

एक चुस्की मात्रै लगाएको बियर मागिएपछि तुम्बाले केही अनुरोध गरेको सुनियो। अन्य धेरै एअर बसमा प्यासेन्जरले बियर पिउने गरेको देखेको अनुभव सुनाउनुभयो। तर ती कर्मचारीले यो एअरलाइन्समा अल्कोहल मनाही छ भनिन्। यति मात्रै भनिनन्, अर्को अनाउन्स नै गरिन्– यो जहाजभित्र अल्कोहल पिउन अनुमति छैन। कृपया ध्यान दिनुहोस्, कोही प्यासेन्जरले मादक पदार्थ सेवन गर्दै हुनुहुन्छ भने तत्काल हामीलाई बुझाउनुहोस्। यदि यो सूचनापछि पनि मादक पदार्थ सेवन गरेको पाइएमा जहाज अवतरणपछि प्रहरीलाई जिम्मा लगाइनेछ।
यस्तो सूचनापछि हामीबीच केही खासखुस पनि भयो– उनीहरूको खाना खरिद नगरिएकै कारण त यस्तो गरिएको होइन? यदि अल्कोहल मनाही नै हो भने पूर्वसूचना किन गरिएन? तर, त्यहाँ हाम्रो यो जिज्ञासा मेटाइदिने कोही थिएन।
अन्तत: हामी पुग्यौँ राजधानी क्वालालम्पुर। अध्यागमन नजिकै पुग्न लाग्दा घुम्टो लगाएकी एक महिला सहयोगीले अनलाइन फारम भरेर मात्र अध्यागमन प्रवेश गर्न सम्झाइन्।
उनको आग्रह बमोजिम फारम भर्ने प्रयास गरियो तर सकिएन। अन्तत: उनकै सहयोगमा फारम सबमिट गरियो।
जुन १९ तारिखको मलेसिया यात्रा भए तापनि हाम्रो राहदानीमा मलेसिया अध्यागमनको आगमन छापमा २० तारिख प्रिन्ट भएको थियो। अध्यागमन गेट इन्ट्री गर्ने क्रममा अध्यागमन अफिसर बसेको डेस्क नजिक लाइनमा बसियो। हामी पाँचै जना लाइनमा थियौँ। गेटमा तीन जना अफिसर थिए। टोलीका अन्य सदस्य बाहिर निस्केर हात हल्लाउँछन् तर मेरो अगाडिको अफिसरले मतलब नै गर्दैन! अर्को अफिसरसँग बोलिरहन्छ मात्र।
मेरो अगाडि एक जना कोही थियो। ऊ पनि कुन अफिसर खाली हुन्छ र जाउँलाको हाउभाउमा थियो। त्यो गफाडीले त बोलाए पो? गफ टुङ्गिने छाँटकाँट थिएन। आफूलाई भने छटपटी भइरहेको थियो। त्यति नै खेर अर्को एक जना मानिस आएर अलि ठूलो स्वरमा त्यो गफाडी अफिसरतर्फ इशरा गर्दै ब्रोदर प्लिज गो भन्यो। अनि झनै ठूलो स्वरमा अफिसरसँग आँखा जुधाएर केही भने। त्यसपछि मात्र उक्त अफिसरले मलाई प्लिज कम भन्दै बोलाएको थियो। यसपछि म पनि एअरपोर्टबाट बाहिरिएको थिएँ।

विमानस्थलबाट बाहिरिनुअघि जहाजका कर्मचारीले ३२ डिग्री तापक्रम सुनाएका थिए तर पनि गर्मीको खासै अनुभव भएन। किनकि मौसम हङकङसँग मिल्दोजुल्दो नै थियो। वेदराज दाइले अघिल्लो दिन नै मलेसियामा कार्यरत आफ्नो बाजेलाई ट्याक्सी बुक गर्न लगाउनुभएको रहेछ। ट्याक्सीले हामीलाई १ घण्टा अघिदेखि नै कुरिरहेको रहेछ। अनि टोली ट्याक्सी चढेर होटल ह्याट हाउसतर्फ अघि बढ्यो।
ट्याक्सी प्रतिघण्टा १०० को स्पिडमा कुँदिरहेको थियो। बाटोमा जे देखिन्थ्यो, विकास गर्न बाँकी अब के रहेछ र जस्तो लाग्थ्यो। सडकमा ठूलो संख्यामा ट्याक्सी, नगरबस, नगर ट्रेन गुडिरहेका थिए तर कुनै चिच्याहट थिएन। भद्रगोल थिएन। बसका कर्मचारी यात्रुलाई तान्न आएनन्, बस सहचालकविना ड्राइभरकै भरमा मात्र चलिरहेका थिए।
हामी गुडिरहेको चार लेनको चिल्लो सडक मध्यरातमा पनि उत्तिकै व्यस्त थियो। अन्तत: एक घण्टा १५ मिनेटको यात्रापछि हामी गगनचुम्बी भवन भएको ह्याट होटल पुगेका थियौँ।
ट्याक्सीबाट सबै सामान झिकेर होटलका स्टाफ र सेक्युरिटीले लवी रूममा पुर्याए। सामान ओसार्नेमध्ये एक सेक्युरिटी निकै ज्यान परेका थिए, अग्लो र मोटोघाटो। अनुहार हेर्दा टर्किज हुन् कि भन्ने अनुमान लगाएँ। उमेर ५० को हाहारीमा लाग्थ्यो। खासै बोल्न चाहेजस्तो नलाग्ने तर शरीरको हाउभाउले भने निकै आतिथ्य सत्कार गरे।
हाम्रो नाम, ठेगाना र होटल बुकिङ समय आदिबारे पूर्ण जानकारी लिएपछि होटलले अटो चाबीको एउटा कार्ड थमायो। अनि मात्र ती सेक्युरिटी बोल्छन्– हजुरहरू नेपाली हो? कञ्चनपुर घर बताउने उनी मलेसिया आएको ४ वर्ष भएको रहेछ। उनीसँग सामान्य भलाकुसरी हुँदै गर्दा अघिल्लो दिन नै मलेसिया पुग्नुभएको सिनियर धावक दिनानाथ बगाले अङ्कल होटलको कोठाबाट बाहिर आउनु भयो। एअरपोर्ट आइपुग्नेबित्तिकै उहाँलाई भेषराज भट्टराई सरले हामी आइपुगेको जानकारी गराउनु भएको थियो।

हामी जहाँ बस्दै थियौँ, उक्त होटेलको संसारका धेरै देशमा शाखा विस्तार भइसकेको रहेछ। तिनैमध्ये हङकङमा रहेको होटलको कर्मचारी हुदुहुँदो रहेछ दिना काका। उहाँकै कारण हामीले पनि त्यहाँ भारी छुटमा छहारी पाएको बताउनुभयो।
हामीलाई भोक लागिरहेको थियो। रातको २ बज्नै लागेको थियो के खाने? दिना काकाले नै जुक्ति लगाइदिनुभयो– ल सबै जना मार्केट जाऊँ, म्याकडोनल्स खाँदा हुन्छ। यहाँ पनि हङकङमा जस्तै चौबिसै घण्टा बजार खुला हुँदो रहेछ।
दिना काकालाई लस्करै पछ्यायौँ। होटल साइडको दुई वटा भवन अगाडि रहेछ म्याकडोनल्स भएको बिल्डिङ। म्याकको परिकारभन्दा धरै ध्यानचाहिँ काम गर्ने मान्छेतिर गयो- हाम्रै मित्रराष्ट्र भारतीय मित्रहरूको अनुहार देखिन्छ। दर्जनौँ कर्मचारी छन्। घुम्टोवालीहरू पनि छन्। हिन्दी गीत मज्जैसँग घन्किरहेको थियो। अर्डर हिन्दीमै गर्न पाइयो। म्याकको सेट भात पनि पाउँदो रहेछ। सबैले भात र चिकेन विन्स खायौँ।

भोलिको भ्रमणबारे दिना काकाले रामयण केपको स्क्याजल दिइसक्नुभएको थियो। ८ बजे उठ्ने सर्त गर्दै रमेश सरले होटलकै बुफे ब्रेकफास्टमा रमाउने भन्दै ६ जनाको नाम दर्ता गर्नुभयो। त्यसपछि होटलको रुममा गएर सुत्यौँ।
लक्जरियस ४ तारे होटलको सुताइ सर्तबमोजिम समयमै उठ्न सकिँदैन भन्ने त मलाई सर्त राख्ने बेलैमा लागेको हो। किनकि गतवर्षको चीन भ्रमण अनुभव पनि यही थियो मेरो। तर बहुमतको अगाडि भने केही बोलिनँ।
नभन्दै बिहान उठ्दा त १० बजिहालेछ! बिहानीपख त झन् फ्वाँ फ्वाँ निदाएछु। लौन नि साथीहरूले मार्ने भए भन्दै हतारिएर कल घुमाउँछु त सबैको हाल ओछ्यानमै भएको सुइको पाएँ। त्यसपछि बिस्तारै फ्रेस भएर झरेँ ब्रेकफास्ट हलतिर।
फरक स्वाद, फरक परिकार। लन्चकै सट्टा खाने निधो गरेँ। साथीहरूले पनि कम खाएन मैलेभन्दा। तर, मैले जत्तिको मिठो गरिचाहिँ पक्कै खाएन!
हामी मलेसिया ४ दिनको लागि आएका थियौँ। मुख्य काम त अन्तर्राष्ट्रिय ट्रेल मैदानमा प्रतिस्पर्धा गर्नुथियो जुन सुरुआतीमै पनि उल्लेख गरिसकेको छु। यसबाट पाएको फुर्सदमा हामीलाई सकेजति ठाउँ घुम्नु पनि थियो। ती अविस्मरणीय घुमघाम र ट्रेल दौडको रमाइलो अर्को संस्करणमा पस्कनेछु।
Shares

प्रतिक्रिया