७२ को भूकम्प सम्झाउने हङकङको त्यो पहिलो क्रुज यात्रा

७२ को भूकम्प सम्झाउने हङकङको त्यो पहिलो क्रुज यात्रा

इन्दर पुन
भदौ २०, २०८२ शुक्रबार १६:५०, हङकङ

हरेक यात्राले एउटा कथा बोकेको हुन्छ र केही यात्रा केवल गन्तव्यमा पुग्नु मात्र होइन, आफैँभित्रको कुनै कुनामा लुकेर बसेको सम्झनासँग ठोकिन पुग्छ। मेरो लागि, २८ जुलाई २०१७ को दिन त्यस्तै एउटा अविस्मरणीय यात्राको सुरुआत थियो- जीवनकै पहिलो क्रुज अनुभव।

एक उद्यमीको खोजी : यात्राको सुरुआत
त्यो समय हङकङको बजार निकै चलायमान थियो। तर, यहाँ बस्ने अधिकांश नेपाली आफ्नो काम र दैनिकीभन्दा बाहिर वा हङकङभन्दा बाहिर खासै घुमफिरमा निस्किँदैनथे। यही सीमिततालाई तोड्न र नेपाली समुदायलाई यात्राको नयाँ अनुभव, नयाँ ज्ञान र यसबाट मिल्ने अनगिन्ती फाइदा दिलाउनु पर्छ भन्ने उद्देश्यले हामीले एउटा नयाँ कदम चालेका थियौँ।

सन् २००९ देखि सञ्चालनमा रहेको ‘अल्फा ट्राभल (एचके) लिमिटेड’ लाई ‘मिग अल्फा’ नामक नयाँ ब्रान्ड अन्तर्गत, अल्फा ट्राभलका निर्देशक ललित आङ्बुहाङ दाजु र मिगको प्रतिनिधिको रूपमा मैले संयुक्त रूपमा थप रचनात्मक र नयाँ प्रडक्टहरू सहित चलाउने निर्णय गरेका थियौँ।

यसै क्रममा, नेपाली बजारको लागि नयाँ ट्राभल प्रडक्टहरू विस्तार गर्ने र त्यसको प्रत्यक्ष अनुभव लिने हेतुले म ‘स्टार क्रुज’ को एक रातको यात्रामा निस्किएको थिएँ। यो मेरो लागि केवल घुमफिर थिएन, यो एउटा व्यावसायिक परीक्षण पनि थियो।

हामीले मिग अल्फामा एक चिनियाँ कर्मचारी पनि राखेका थियौँ, जसले ‘लोटस ट्राभल’ को सहायक एजेन्सी ‘मेमोरी होलिडेज’ मार्फत मेरो टिकट बुक गरिदिएकी थिइन्।

त्यतिबेला अहिलेको जस्तो धेरै अनुभव थिएन। तर, केही सिक्नुपर्छ, हेर्नुपर्छ र अनुभव गर्नुपर्छ, अनि मात्र समुदायलाई राम्रोसँग सेवा दिन सकिन्छ भन्ने बलियो दृष्टिकोण थियो र अझै पनि छ। आज सम्झिँदा लाग्छ, म त्यतिबेला धेरै कुरामा परिपक्व थिइनँ।

पहिलो पाइला: अलमल र उत्साह
सुरुआत नै अलमलबाट भयो, चिमसा चोईको हार्बर सिटीभित्र रहेको स्टार क्रुजको पोर्ट फेला पार्न नै मलाई केही समय लाग्यो। मैले सोचेको थिएँ, कुनै ठूलो काउन्टर होला। तर, त्यस्तो रहेनछ। सानो बोर्ड हेर्दै, सोध्दै बल्लतल्ल चेक-इन गर्ने ठाउँमा पुगेँ।

चेक-इन प्रक्रिया पनि अनौठो थियो। ठ्याक्कै एअरपोर्टमा अध्यागमन पार गरेजस्तै। पासपोर्ट बुझाएपछि एउटा रुमकार्ड दिइयो। जहाजमा गरिने सबै खर्च तथा शुल्क लाग्ने सेवा लिएबापतको हिसाब यसै कार्डमा अपडेट हुने रहेछ।

पानीजहाजभित्र छिरेपछि बल्लतल्ल आफ्नो कोठा भेटियो। क्रुज सुरु हुनुभन्दा अघि सुरक्षा ब्रिफिङ दिइने रहेछ। जसमा म सहभागी त भएँ, तर मेरो मन र मस्तिष्कमा भने ‘अब के हुन्छ होला?’, ‘के-के सेवा लिन पाइन्छ?’, ‘कतै केही समस्या त हुने होइन?’ जस्ता कौतुहलताले डेरा जमाएको थियो।

समुद्रमा तैरिएको संसार
सुरक्षा ब्रिफिङ सकिने बेलासम्म मलाई निकै भोक लागिसकेको थियो। त्यसैले सिधै माथिल्लो तल्लाको बुफेमा गएर पेटभरि खाएँ र कोठामा फर्किएँ।

मेरो कोठा ‘ओशनभ्यू स्टेटरुम’ थियो, जहाँबाट बाहिर हेर्न एउटा सानो झ्याल थियो। त्यो झ्याल हवाईजहाजको जस्तै, तर अलि ठूलो थियो र खोल्न भने मिल्दैनथ्यो।

साँझको ७ बजिसक्दा पनि क्रुज नहिँडेको देख्दा मनमा ‘कतै यत्तिकै त होइन?’ भन्ने प्रश्न पनि आयो। अधिकांश यात्रु चिनियाँभाषी भएकाले  सोधखोज गर्न सहज थिएन। खासमा राति ८ बजे मात्र क्रुजले आफ्नो यात्रा सुरु गर्दो रहेछ, त्यतिबेलासम्म बाहिर अँध्यारो भइसकेको थियो।

जब जहाजले बन्दरगाह छोड्यो, म पनि बाहिरको हावा खान टप फ्लोरतिर लागेँ। आत्मविश्वासको कमीले होला, मैले धेरै चहलपहल गर्न सकिनँ। केहीबेर बाहिर बसेपछि कोठामा आएर आराम गरेँ र फेरि एक चक्कर लगाउन निस्किएँ।

जहाजभित्र एउटा छुट्टै संसार रहेछ! रेस्टुरेन्ट, स्पा, मसाज सेन्टर, क्यासिनो र विभिन्न किसिमका खेल तथा मनोरञ्जनात्मक कार्यक्रमहरू। जहाजमा काम गर्ने कर्मचारीहरू विभिन्न देशका थिए र स्पष्ट अंग्रेजी बोल्थे।

मनमनै लाग्यो, ‘नेपालबाट पनि क्रुजमा काम गर्न जान्छन् भन्ने सुनेको थिएँ, सायद यहाँ पनि कोही नेपाली छन् कि?’ कुनै कुनै सुरक्षा गार्ड नेपाली जस्तै देखिन्थे तर मैले सोध्ने र बोल्ने आँट गर्न सकिनँ। सबै सुविधा झल्याकझुलुक हेरेँ तर उपयोग भने गरिनँ। क्यासिनोभित्र छिर्ने आँट त झनै आएन। कसरी खेल्ने भन्ने पनि थाहा थिएन।

त्यो रात, जब भूकम्पको सम्झना ब्युँतियो
यताउता हेर्दाहेर्दै रातको २ बजिसकेछ। अब सुत्नुपर्छ भनेर म आफ्नो कोठामा फर्किएँ र सुत्ने कोसिस गरेँ। तर निदाउनै सकिनँ।

जहाज समुद्रको पानीमा हल्का हल्लिरहेको थियो। त्यही कम्पनले मेरो दिमागमा एकाएक सन् २०१५ को महाभूकम्पको डरलाग्दो यादलाई ब्युँताइदियो।

भूकम्प जाँदा म नेपालमै थिएँ र एउटा आईएनजीओमा काम गर्थेँ। एसोसिएसन अफ आईएनजीओज् इन नेपाल (एआईएन) ले बर्सेनि आयोजना गर्ने फुटसल कपमा खेलिरहेको बेला आएको त्यो भूकम्प सायद कहिल्यै बिर्सन सक्दिनँ होला।

फुटसल ग्राउन्डभित्र हिँड्न खोज्दा, अरूलाई सहयोग गर्न खोज्दा बारम्बार लडेको थिएँ। पहिले पनि भूकम्पको अनुभव गरेको थिएँ भन्ने सम्झेर फेरि उठेर हिँड्न कोसिस गर्दा पनि सकेको थिइनँ। त्यो जस्तापाताको छानो र फलामको पोल भएको फुटसल ग्राउन्ड ठ्याक्कै तालको बीचमा डुङ्गा हल्लिएजस्तै भएको थियो।

त्यही यादले मलाई रातभर सताइरह्यो। त्यो क्रुजको कोठामा सुत्दा मेरो शरीरले त्यही त्रासदीपूर्ण कम्पन महसुस गरिरहेको थियो र निदाउनै सकिनँ।

बिहानी र एउटा नयाँ बोध
रात जसोतसो कट्यो। बिहान उठेर बाहिर हेर्दा क्रुज हङकङ फर्किसकेको रहेछ। हरेक दिन चल्ने यस क्रुजमा यात्रुको भिड राम्रै थियो। अधिकांश यात्रु भने पाका उमेरका थिए, युवाहरूको उपस्थिति निकै पातलो थियो।

पछि बुझ्दै जाँदा पत्तो पाएँ, यो एक रातको यात्राको मुख्य आकर्षण के रहेछ भन्ने। एक रातको लागि बस्ने ठाउँ, निःशुल्क खाना, अन्य सेवा-सुविधा र सबैभन्दा ठूलो कुरा- अन्तर्राष्ट्रिय समुद्रमा पुगेपछि कानुनी रूपमा क्यासिनो खेल्न पाउनु। अन्य सुविधाले टिकट खर्च उठ्ने भए पनि, त्यहाँ आएका अधिकांश पाका उमेरका मानिसको मुख्य उद्देश्य क्यासिनो नै रहेछ भन्ने मैले महसुस गरेँ।

बिहान ९ बजेतिर सबै सामान प्याक गरेर चेक-आउट गरी बहिर निस्किएँ। अनि सिधै अफिसतिर लागेँ।

यो अनुभव बटुलेपछि हामीले मिग अल्फामार्फत नेपाली समुदायमा क्रुज प्याकेज घोषणा गर्‍यौँ। तर, नेपाली समुदायका लागि ट्राभल बजार अत्यन्तै कलिलो हुनु र त्यसमाथि क्रुज एक भिन्न किसिमको प्रडक्ट हुनुले, हामीले केही सीमित समूहलाई मात्र यो अनुभव दिलाउन सफल भयौँ।

समग्रमा, यो मेरो पहिलो क्रुज यात्रा थियो। एउटा यस्तो यात्रा जसले मलाई व्यवसायको लागि नयाँ कुरा मात्र सिकाएन, एउटा पुरानो घाउलाई कोट्याएर जिन्दगीको फरक पाटो पनि देखायो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .