हङकङमा भेटिएका ती स्मार्ट सर्भर जो पार्ट टाइमर होइन, रेस्टुरेन्ट मालिक रै’छन्

जेनजी नेपाली रोबोटिक ट्रेनर जसले बनाए गिनिज बुक अफ द वर्ल्ड रेकर्ड
हङकङमा भेटिएका ती स्मार्ट सर्भर जो पार्ट टाइमर होइन, रेस्टुरेन्ट मालिक रै’छन्

कमल पौड्याल
पुस २७, २०८२ आइतबार १५:२०, हङकङ

हङकङमा जन्मे-हुर्केको, सुन्दर मुहार अनि सुगठित जिउडाल र बानीबेहोरा भएका एक जना जेनजी युवासँग छोटो साक्षात्कार भयो एक दिन।

पछि जब उनको बारेमा सुने/बुझेँ र अझ उनको समूहले एचकेयू अर्थात् हङकङ विश्वविद्यालयमा गरेको अनुसन्धान र उपलब्धिबारे थाहा पाएँ, गम खाँदै एउटा हिन्दी कहावत सम्झन पुगेँ, ‘जो दिख्ते है ओ है हि नहीँ, और जो है ओ दिख्ते नहीँ’ अर्थात् ‘जे देखिन्छ त्यो होइन, जे हो त्यो देखिन्नँ’।

हङकङका नेपाली, विदेशी र स्थानीय समुदायबीच चर्चित सुङवानको निकै पुरानो बास्मती रेस्टुरेन्टमा पारिवारिक रात्रीभोज समारोह थियो एक साँझ। फ्युजन परिकारको मेनु बनाइएको रहेछ। स्टार्टरमा साके भनिने जापानी मादक पदार्थ अनि ताजा वेस्टर (सामुद्रिक परिकार)सँग पिरो ट‍ोबास्को सस छम्केर मुख मिठ्याइय‍ो।

पछि खसीको भुटुवा, चिउरा, भटमास, माछा, अचार, सेल, चटनी पुनः तयारी प्लेटमै टेबलमा आएपछि मैले साहुजीलाई भनेँ– बरु बफेमै राखिदिएको भए भइहाल्थ्यो, हामी आफैँ लिइहाल्थ्यौँ, तपाईँहरूलाई दु:ख भो।

‘ठिकै छ, मेनकोर्स त बफे नै हो। तीन जना स्टाफ छन्, अहिले अरू पनि आउँदैछन्,’ उनले भने।

केही बेरपछि एक युवा आइपुगे अनि हामी सबैलाई र सहकर्मीहरूलाई पनि सामूहिक नमस्कार गर्दै आफ्नो काम सुरु गरे। एकदमै प्रोफेसनल लाग्ने। हङकङमा लामै समय रेस्टुरेन्ट व्यवसायको अनुभव भएर ह‍ोला जहिल्यै यस्ता स्टाफ देखेपछि ‘आहा! यस्ता कर्मचारी अनि मिठो खाना बनाउने सेफहरू भए रेस्टुरेन्ट चलाउन क्या मज्जा!’ भन्ने सोचाइ आउने। जन्त गएका विवाहित जन्तीलाई फेरि विवाह गर्न मनलागे जस्तो। ती युवाले बियर जगमा लिएर सबैलाई सर्भ गर्दै मेरो छेउ आइपुगेर ग्लासतिर इसारा गर्दै भने, ‘हजुरको ग्लास खाली भएछ, ड्रिङ्क्स के होला, थपौँ कि?’

‘थ्याङ्क यु बाबु। मलाई भोड्का लाइम। आइस सोडा चाहिँ बाँकी छ,’ क्यान देखाउँदै मैले भनेँ। तुरुन्तै ड्रिङ्क ल्याएर दुई हातले मेरो अगाडि राखिदिए।

मैले सोधेँ, ‘बाबुको नाम?’

‘पवन थापा,’ उनको उत्तर थियो।

‘यहाँ पार्टटाइम। अनि दिउँसो चाहिँ कता हो?’ मैले अर्को प्रश्न तेर्स्याएँ।

‘हजुर, दिउँसो फुलटाइम अर्को काम गर्छु,’ त्यो भन्दा बढी उनले भनेनन्, मैले पनि कोट्याइनँ।

चिरपरिचित पारिवारिक जमघट भएकोले एकआपसमा गफगाफ र गीतसङ्गीतमा व्यस्त भइयो। पछि उनै पवनले टेबल-टेबलमा पुगेर ‘बफेमा मेन कोर्स तयार छ, आ-आफ्नो अनुकूलतामा लिन सक्नुहुन्छ’ भने।

राति ढिलै भइसकेको थियो। घर फर्किने तरखर गर्दै गर्दा ‘ती पार्टटाइम काम गर्ने ह्यान्डसम बाबु खै त? देखिएनन् नि?’ भनेर साहुजीलाई सोधेँ।

‘उनी त गइसके। रेस्टुरेन्टमा चाप परेको दिन मात्र आउँछन्,’ साहुजीको जवाफ थियो।

‘को हुन् यी बाबु?’ मेरो अर्को प्रश्न थियो।

मसँगै बसेका एक मित्रले फ्याट्ट भनिहाले, ‘उनी त यिनै साहुजीका छोरा हुन् नि! बिहानै अफिस जानुपर्छ सायद त्यही भएर छिटो गएका होलान्।’

‘हो र?’ छक्क पर्दै मेरो मुखबाट यति मात्र निस्कियो।

‘उनले बेलायतबाट एड्भान्स रोबोटिक इन्जिनियरिङमा मास्टर्स गरेका छन्। हङकङ युनिभर्सिटीमा उनको टिमले रोबर्ट फिस बनाएर गिनिज बुक अफ द वर्ल्ड रेकर्ड बनाएको पत्रिकामै आएको थियो। अहिले पनि एआईलाई ट्रेनिङ गराउने हो उनको काम,’ मित्रले थपे।

‘रेस्टुरेन्ट व्यस्त हुँदा यहाँ हलमा मात्र होइन, भित्र किचनमा र अरू सेफको छुट्टिमा तन्दुरी, नान, बीबीक्यू बनाउनेदेखि सलाद, करी सबैतिर पोख्त छन्,’ अर्का मित्रले अझ बेलिबिस्तार लगाए।

छेउकै अर्का एक जना जेनजी युवाले आफ्नो स्मार्ट फोन खोलेर एउटा समाचारक‍ो हेडलाइन देखाउँदै भने, ‘ल हेर्नुस् अंकल।’ जसमा लेखिएको थियो, ‘हङकङ युनिभर्सिटी इन्जिनियरिङ टिम डेफ्लोप्ड रोबोटिक फिस सेट्स वर्ल्ड रेकर्ड फर द सेकेन्ड टाइम’। अनि उनले समाचारमा छापिएको सामूहिक फोटो देखाउँदै भने, ‘यो छेउको चाहिँ पवन।’

घर फर्कँदै गर्दा म मनोवादमा हराएँ। एकातिर दक्षिण एसिया खासगरी नेपाल र भारतमा सबैभन्दा नराम्रो कुरीति जातिप्रथा त भइहाल्यो, अर्को कामलाई सानो/ठूलो भनेर गरिने परम्परागत सोचाइ अझै जिवितै छ। तर, हङकङ, चीन र पूर्वी एसियामा भने बिल्कुल फरक छ। अझ भन्नुपर्दा, पश्चिमाहरू यो विषयमा एकदमै अग्रगामी छन्।

हङकङको म्याकडोनाल्ड वा अन्य रेस्टुरेन्टमा आमा-बाबाले काम गरिरहेका छन् भने पनि छोरा वा उनको प्रेमिका अथवा छोरी वा उनको प्रेमी पुगे भने पनि साधारण हाइ-हलो बाहेक कसैले पटक्कै अप्ठ्यारो मान्दैनन्। यहाँको सार्वजनिक शौचालयमा सरसफाइको काम गर्ने पाका उमेरका कर्मचारीहरू आउने-जानेलाई फूर्तीसाथ चौसान गुडमर्निङ गुडबाइ भन्दै आफ्नो काम गरिरहेका हुन्छन्। भलै त्यहाँ आफ्ना नातेदार वा साथीहरू नै किन नआउन्! तर यही कुरा हाम्रो समाजमा भने फरक छ। जो परिश्रमको काम गर्छ उसको इज्जत गर्ने संस्कार हाम्रो समाजमा नभएकाले ऊ खुम्चिन्छ।

परिश्रम गरेर आयआर्जन गर्दै स्वतन्त्रतापूर्वक जीवन चलाउनुलाई गर्व मान्छन् हङकङमा।

आफ्नै अनुभव भन्नुपर्दा– रेस्टुरेन्टमा व्यस्त हुँदा स्थानीय वा पश्चिमामूलका ग्राहकले ‘ह्वेर सुड आइ प्लेस दिस प्लेट?’ भन्दा ‘प्लिज गिभ इट टु मि’ भन्दा ‘थ्याङ्क यु सो मच’ भनेर दिन्छन्। तर, यदि कुनै नेपाली ग्राहकले ‘यो प्लेट कता राख्ने होला?’ भनेर सोद्धा ‘मलाई दिनुस्’ भनेपछि ‘आम्मै! साहुजी भएर प्लेट लिने?’ भनेर अप्ठ्यारो मान्छन्।

यदि कसैले रेस्टुरेन्ट व्यवसाय गर्छ भने प्लेट उठाउन मात्र त के, भाँडा माझ्न पनि तयार हुनु पर्छ। तर, नेपाल र दक्षिण एसियालीमा भने मालिक वा साहु भएपछि काम गर्ने होइन, बस्ने र अरूलाई काम लगाउने मात्र हो भन्ने सोचाइ विद्यमान छ, विशेषगरी पुरानो पुस्तामा।

यो परम्परागत सोचाइ र सानो या ठूलो कामको भाष्य नै परिवर्तन गर्ने, बास्मती रेस्टुरेन्टमा भेटिएका यिनै कर्मवीर र अग्रगामी जेनजी युवासँग एक बेलुकी पेटभरि भलाकुसारी गर्ने मेस‍ो मिलाएर सेन्ट्रलमा रहेको यस रेस्टुरेन्ट पुगेँ। ‘पवन अफिसबाट आउँदैछन्, बस्दै गरौँ’ भने उनै साहुजी प्रेमबहादुर थापाले।

‘बाबु नआइपुगुन्जेल तपाईँको पनि अतीतदेखि वर्तमानसम्म सुनौँ न त। हङकङ कसरी आउनुभयो र जम्नुभय‍ो त?’ मसला चियाको चुस्कीसँगै एकैछिन उनीसँग गफिने मेलो सोझ्याएँ।

उनको धाराप्रवाह बेलिविस्तारले मलाई लट्ठै बनायो। पैतृक थलो बागलुङको गल्कोट, हरिचौरका प्रेम थापाको जीवन कहानी सुन्दा विद्या चापागाईँको ‘हेर्ने कथा’मा चुर्लुम्म डुबेजस्तै भयो।

बास्मती रेस्टुरेन्टमा जोकोही पुग्दा उनलाई नचिनेकाहरूको लागि उनी कामदार मात्र लाग्छन् भने चिनेकाहरूलाई पनि मालिक कम र कामदार बढी। उनी आफ्ना सहकर्मीहरूसँगै किचनदेखि हलसम्म काममा व्यस्त देखिन्छन् सधैँ।

यद्यपि उनी स्कचको ग्लास लिएर सबैसँग चियर्स गर्न भने छुटाउँदैनन्।

सन् नब्बेको दशकमा हङकङको एउटा भोजनालयमा भाँडा माझेर सुरु भएको उनको जीवन यात्रा रेस्टुरेन्ट मालिक र व्यवसायीसम्मको चुचुरोमा त पुग्यो नै अझ पछिल्लो समय हङकङका उदीयमान घरधनी र घरबेटी नेपालीहरूमध्ये हङकङ सरकारलाई नोटिसेबल सम्पत्ति आम्दानी कर तिर्नेमा आफ्नो नाम दर्ज गरेका छन्। हङकङका स्थानीय र विदेशी भाडावालहरूबीच नेपालीमूलको ल्यान्डलर्ड बनेका छन्। त्यसैगरी, स्वअध्ययनबाट वित्तीय बजार अर्थात् स्टक मार्केटमा समेत अनुभव र लगानी दुवै छ उनको।

उनको सङ्घर्ष कथाले जोकोहीलाई पनि कर्मशील हुन र जीवन सङ्घर्षको सकारात्मक ऊर्जा एवं प्रेरणा दिन्छ।

सन् १९८९ ताक पृथ्वीनारायण क्याम्पस, पोखरामा स्नातक पढ्दै गर्दा खर्चको जोहो गर्न नेपालका व्यवसायीहरू नोटको बिट‍ो बोकेर काठमाडौँबाट हङकङ हुँदै कोरिया पुगेर सामान बोकेर आउजाउ गर्थे। उतिबेला नेपाली पासपोर्टवाहकलाई हङकङमा विमानस्थलमै एक महिने भिसा दिइन्थ्यो। हङकङ बसेको भिसा छाप देखेपछि कोरियाली अध्यागमनले पनि सजिलै भिसा दिन्थ्यो रे।

कोरियाका ब्लाङ्केटदेखि हङकङबाट बेरुवा सुनका औँठी र क्यामरासम्म भन्सार जाँच पास गराएर साहुजीको हातमा राखिदिएपछि बल्ल १८/२० हजार हात पर्ने गरेको उनी सम्झन्छन्।

त्यतिबेलै कोरिया जाँदा-आउँदा एक/एक महिना हङकङ बसेर काउलुन चुङकिङ मेन्सनको ए ब्लकमा रहेको नानक मेसमा मासिक तीन हजार हङकङ डलरको भाँडा माझ्ने काम पनि जोहो गरेछन्। कमाइ त बढ्यो तर अरूको सामान बोकेर देश-विदेश आउजाउ गर्नुपर्ने झन्झट र हङकङमा अतिरिक्त काम पाए पनि रोजगार अनुमति भिसा नहुँदा कानुनी जोखिम छँदैथियो।

त्यसपछि उनी कोरिया र हङकङभन्दा पश्चिमी नेपालका आमनेपालीजस्तै काम र अवसरको खोजीमा दिल्लीतर्फ लागे। जहाँ सैनिक ब्यारेकभित्र इलेक्ट्रिकल मर्मतसम्भार र स्याटलाइट डिस्क एन्टिना जडान गर्ने कम्पनीमा प्राविधिक सहयोगी भएर काम गरे, सिके र आय आर्जन लिए केही समय।

हङकङ-कोरिया आउजाउमा पटक-पटक काम गरेका उही हङकङका नानक मेसका पन्जाबीमूलका मालिक सङ्घारा सिङ उनको इमानदारिता र मिहिनेतबाट प्रभावित रहेछन्। एकदिन फोनवार्तामा कुक काम सिके भिसा लगाइदिने आश्वासन पाए उनै मालिकबाट थापाले।

अनि दिल्ली र देहरादुनका गल्ली गल्लीमा कुक काम गर्दै र सिक्दै गए। अन्ततोगत्वा सन् १९९२ मा हङकङको उही नानक मेसमा पुनः फर्किए। यसपालि भने पर्यटक भिसामा भाडा माझ्न होइन, सेफ काम र सेफकै भिसामा। यद्यपि, मासिक तलब भने रोजगारी कागजातमा लेखिएकोभन्दा आधा मात्रै पाउँथे रे।

त्यहाँ केही वर्ष काम गरेपछि अलि बढी तलब र सुविधा पाइने भएपछि हङकङ गोल्ड कोस्टनजिकै सामछेङ भन्ने ठाउँमा रहेको स्थानीय चिनियाँहरूले सञ्चालन गरेको ‘करि वेल’ रेस्टुरेन्टमा भिसा स्थानान्तरण गरे।

भरिया भएरै हङकङ-कोरिया आउजाउ गर्दाको बखत नै कुनै दिन व्यवसायी बनेरै छाड्छु भन्ने अठोट गरेका रहेछन् उनले। सामछेङमा काम गर्दैगर्दा नजिकैको इन्डियन हटपट करी रेस्टुरेन्ट बिक्रीमा भएको थाहा पाएछन्। उनको आँखा लाग्यो। अनि आफ्नो बचत र सरसापटी समेत गरेर साझेदारीमा किने। यसरी हङकङमा पहिलोपटक कामदारबाट स्वरोजगार उन्मुख बने सन् २००० ताका।

कडा मिहिनेत र भाग्यले पनि साथ दिएपछि २००८ र १२ मा क्रमशः मुख्य हङकङ द्वीपको सेन्ट्रलमा क्ले ओभन रेस्टुरेन्ट र अर्को बास्मती सुङवान पनि थपे।

छोरी पूजा उच्च शिक्षा अध्ययन सकेर हङकङको शिक्षा विभागबाट क्वालिफाइड शिक्षक उत्तीर्ण भई अध्यापन गराउन थालेकी र छोराको व्यस्तताले उनलाई एक्लै सबै रेस्टुरेन्ट हेर्न भने गाह्रो पर्‍यो। जीवन यात्राको मुस्किलको समयमा काँधमा काँध मिलाएर निकै खटेकी श्रीमती किरणलाई पनि अलकति आराम र फुर्सद दिन चाहन्थे उनी। अनि कोभिडपछि पूरै हङकङमा व्यवसाय पनि निकै सुस्ताएकोले अहिले भने दुईवटा रेस्टुरेन्टको स्वामित्व अरूलाई हस्तान्तरण गरेर सबैभन्दा ठूलो सुङवानको बास्मती मात्र राखेका छन्।

यद्यपि त्यही समयको सेरोफेरोमा लगानी गरेका प्रपर्टीका घरभाडाहरू र वित्तीय बजारको लगानीले समेत आफू र परिवारको भविष्य सुनिश्चित गरेका छन्।

छोटो समयमा यो व्यावसायिक उचाइ छुन विशेषत: श्रीमती किरण र छोराछोरीको समेत साथ, सहयोग र मिहिनेतले काम गरेको लाग्छ उनलाई। यसरी यी जेनजी युवाका बाबासँग छोटो अन्तरङ्ग कुराकानी गर्दैगर्दा पवन पनि टुप्लुक्क आइपुगे।

यसपछि भने म वार्तालापको मुख्य विषयतिर लागेँ।

‘अनि, त्यो साँझ मैले परिचय माग्दा साहुजीको छोरा, यहाँको मालिक नभनी पार्टटाइम काम गर्छु, दिउँसो चाँहि अन्तै काम गर्छु किन भन्नुभएको?’

‘रेस्टुरेन्ट त बाबाममीको मिहिनेतको प्रतिफल हो त्यसैले,’ उनले हाँस्दै भने, ‘यसमा मेरो र दिदीको लगानी भनेकै पार्टटाइम काम मात्र हो। यो पार्टटाइमको श्रेय पनि बाबालाई नै जान्छ।’

‘कसरी?’

उनले बेलीविस्तार लगाए, ‘दिदी पूजा र म जब स्कुल पढ्थ्यौँ, बाबाले सुरु गर्नुभएको सामछेङको पहिलो रेस्टुरेन्टनजिकै भिलेज हाउसमा हाम्रो बसाइ थियो। अरू व्यवसायी साझेदारले छोडेपछि बाबाममी सहकर्मीहरूसँगै दिनरात बेस्सरी खट्नुहुन्थ्यो। हामीलाई बाबाममीको कम समय मिल्थ्यो।

सामछेङको खेलकुद मैदानमा स्थानीयहरू मात्रै हुन्थे। हामी दिदीभाइमा क्यान्टोनिज भाषाको ज्ञान त्यतिबेला ठिकै मात्र थियो। स्कुलबाट फर्केपछि घरमा बस्न बोर हुन्थ्यो, अनि गृहकार्य सकेपछि रेस्टुरेन्टमै जान्थ्यौँ। विस्तारै बाबाममीलाई काममा सहयोग गर्न थाल्यौँ। महिनाको अन्त्यमा त बाबाले लाओ तिमीहरूको पार्टटाइम कामको तलब भनेर पैसा पो दिनुभयो र भन्नुभयो– पढाइ बिगार्न चाहिँ पाइन्नँ। परीक्षाको समय बाहेक दिदी र म सधैँ काम गर्थ्यौँ। पछि त हाम्रो बैंक एकाउन्ट नै खोलेर तलब जम्मा गरिदिन थाल्नुभयो।

बाबाको दिल्ली-देहरादुन र कोरिया-हङकङको कहानी सुनेपछि कस्तो हुँदोरहेछ त यो सेफ काम भन्दै किचेनको काम समेत सिकेँ। स्टाफहरूको छुट्टीमा रिलिभर समेत गर्थेँ। त्यो अझै पनि गर्छु फुर्सदमा।’

‘अनि, अहिले पनि तलब लिइन्छ कि?’ बीचमै रोकेर सोधेँ।

‘अहिले त दिदी र मेरो राम्रो आयआर्जन छ। त्यो बेलामा त रमाइलो लाग्थ्यो। काम सानो-ठूलो भन्ने हुन्न भन्ने बाबाको प्रेरणा र हङकङको वातावरणले गर्दा लगाव लाग्यो। अब त बाबासँग तलब लिए पनि आफ्नै नलिए पनि आफ्नै त हो भन्ने बुझिसक्यौँ।’

यसरी युवावस्थामै बौद्धिक उच्चतासँगै व्यावहारिक र परिपक्व लाग्ने पवन थापाले हङकङमा स्कुल भने साधारण नै पढेका थिए।

उनले बासस्थान नजिकैको चुनमुनस्थित सरकारी इस्लामिक प्राइमरी स्कुलबाट प्राथमिक शिक्षा उच्च अंक ल्याएर पास गरे। महङ्गो बोर्डिङ स्कुलमा राख्न सक्ने बाबाको हैसियत बनिसकेको थिएन त्यो बेला। अनि, नामचोङमा रहेको अर्को साधारण स्कुल ‘सर एलिस कादुरी’बाट सेकेन्डरी सके। त्यो पनि उच्च ग्रेडमै।

त्यसपछि एचकेयू अर्थात् हङकङ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरे। उनलाई स्नातक चौथो वर्षमा उक्त युनिभर्सिटीको इन्जिनियरिङ संकायले रोबोटिक फिस निर्माण र परीक्षणको लागि विशेष समूहमा चयन गर्‍यो, जसमध्ये उनी मात्र नेपालीमूलका विद्यार्थी थिए।

दिनरात नभनी एकदमै मिहिनेतपूर्वक उनी र उनको टिमले सन् २०२० मा एचकेयूकै पुरानो समूहले बनाएको गिनिज विश्व अभिलेख भन्दा अझै द्रुतगतिमा चल्ने उक्त कृत्रिम माछाको सफल परीक्षण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल भयो सन् २०२१ मा।

जब हङकङ विश्वविद्यालयले यसबारे औपचारिक प्रेस रिलिज गर्‍यो। सबै प्रोफेसरले ‘ह्युज कङ्‌ग्य्राचुलेसन, प्राउड अफ यु अल’ भन्दै हात मिलाउन आए। त्यो दिन नै आफ्नो जीवनको सबैभन्दा ठूलो खुसी भएको बताउँछन् पवन।

एचकेयूको सामूहिक तस्बिरमा पवन थापा (दायाँबाट पहिलो)

पवनले स्नातकपछि एक वर्ष हङकङको सातिन साइन्स पार्कमा रहेको एस्ट्री अर्थात् हङकङ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी रिसर्च इस्न्टिच्युटमा पेड रिसर्चरको रूपमा काम गरे। जहाँ उनले आफ्नो विज्ञता अझै बढाए र उच्च शिक्षाको लागि चाहिनेमध्ये केही रकमको जोहो समेत गरे। बाँकी रकमका लागि बाबाममीको सहयोग लिए।

उनलाई यस विषयमा अझै अध्ययन-अनुसन्धान गर्ने तीव्र आकांक्षा भयो। यसपछि कोभिडको कहरबीच क्विन मेरी युनिभर्सिटी, लन्डनबाट मास्टर्स इन एडभान्स रोबोटिक इञ्जिनियरिङ उत्तीर्ण गरेर हङकङ फर्किए।

अब भने उनलाई हङकङजस्तो अग्रगामी प्रविधियुक्त सहरमा काम पाउन ठूलो कुरा भएन। हाल उनी एचकेटिभी मल अर्थात् हङकङ टेक्नोलोजी भेन्चर मलमा एआई ट्रेनरको रूपमा कार्यरत छन्।

चौबीसै घण्टा खुला रहने हङकङको सबैभन्दा ठूलो यो डिजिटल मार्केट प्लेसको स्थलगत पसलहरू भूमिगत रेलका बिसौनीका दायाँबायाँ र अन्य स्थानमा पनि देख्न सकिन्छ।

सन् १९९२ मा स्थापित भएर बहुक्षेत्रीय व्यवसायमा झाँगिएको यो उद्योगले २०१५ बाट चाहिँ अनलाइन किनमेल क्षेत्रमा पनि व्यवसाय विस्तारको सुरुआत गरेको छ। उपभोक्ताको मागअनुसार अहिले हङकङमा आक्रामक रूपमा अनलाइन व्यावसाय विस्तार गरेको छ यो कम्पनीले।

हङकङ, यूएसए र जर्मनीको वित्तीय बजारमा समेत सूचीकृत यो कम्पनीको चुङक्वान ओ मुख्यालयमा उच्च प्राविधिक इन्जिनियरको दरबन्दीमा रोबोटिक ट्रेनरको रूपमा कार्यरत नेपालीमूलको पहिलो जेनजी युवा हुन् पवन।

‘अङ्ग्रेजी भाषामा ‘ले म्यान लङ्वेज’ भनिएजस्तै सरल भाषामा रोबोटिक इन्जिनियरिङ भनेको के हो र कसरी बुझ्ने, व्याख्या गर्ने त?’ मैले उनलाई सोधेँ।

जवाफमा पवनले भने, ‘यसको व्याख्या सयौँ छन्, जुन एकदमै लामो र स्थलगत अवलोकनसहित गर्नुपर्ने हुन्छ। हङकङमा हुने रोबोटिक टेक्नोलोजीसम्बन्धी व्यावसायिक मेला वा फ्याक्ट्री भिजिटमा यो देख्न सकिन्छ।

उदाहरणको लागि छोटकरीमा भन्नुपर्दा, हाम्रो स्टोरमा प्लेट, रुमाल, कप ससर, पेपर न्यापकिन, स्ट्र, कपडा आदिक‍ो रङ सेतो छ। रोबर्ट वा एआईले यो सबै सेतो रङ देख्छ। तर, यसलाई स्पर्श गरेर वा हेरेर कुन चिज के हो भन्ने छुट्याउने प्रविधि विकास गर्नु, सिकाउनु वा तालिम दिने प्रविधि नै एडभान्स रोबोटिक टेक्नोलोजी हो। ताकि भविष्यमा मानिसको काम कृत्रिम कामदारसँग बाँड्न सकियोस् र सहयोग लिन सकियोस्। अनि विना कुनै गल्ती माग गरिएको सही वस्तु उपभोक्ताको घरदैलोमा पुगोस्।’

वार्तालापको अन्तिम अन्तिमतिर, हङकङ युनिभर्सिटीको इन्जिनियरिङ संकायको प्रेस रिलिज पेजमा सोलिया लीले सम्पादन गरेको ‘हङकङ युनिभर्सिटी इन्जिनियरिङ टिम डेभलप्ड रोबोटिक फिस सेट्स वर्ल्ड रेकर्ड फर द सेकेन्ड टाइम’ भन्ने लेखबारे पवनलाई अझै प्रस्ट्याउन अनुरोध गरेँ।

उनले भने, ‘सन् २०२० मा एचकेयूको ब्रिड नामक रोबोटिक्स टोलीका संस्थापक टिमोथी अङ्को नेतृत्वमा ५० मिटरको दूरी २६.७९ सेकेन्डमा पार गरेर यो कृत्रिम माछाले विश्व अभिलेख बनाएको थियो, जुन मध्यम खालका पौडीबाजहरूको गति बराबर हो।

फेरि विश्वविद्यालयको इन्जिनियरिङ विभागले उहाँकै अगुवाइमा पुनः अझ द्रुतगतिमा पौडने उही कृत्रिम माछाको विकास गर्ने जिम्मा हाम्रो समूहलाई सुम्पियो। प्रयोगशालामा हामीले महिनौँ मिहिनेत र मगज लगायौँ। अन्ततोगत्वा हामीले उही ५० मिटर दूरी २०.९९ सेकेन्डमा पार गर्ने क्षमताको बनायौँ ८ अप्रिल २०२१ मा।

‘तामविङ फान इनोभेसन विङद्वारा प्रायोजित’ प्रोजेक्ट अन्तर्गतको हाम्रो यो उपलब्धि, यसको गति विश्व ओलम्पिक च्याम्पियन पौडीबाजभन्दा छिटो हो।

२.१८ सेकेन्ड प्रतिमिटर यसको गति थियो भने ओलम्पिक विजेता पौडीबाजहरूको गति २.१ सेकेन्ड प्रतिमिनेट दर्ज भएको थियो त्यो समय। हामीले यसको पुच्छरमा अझै लचिलो र नरम बनाउने प्रविधि प्रयोग गरेर यो सम्भव भएको हो। यद्यपि यसले प्राकृतिक माछाको गतिलाई भने अझै उछिन्न सकेको छैन।

हामीले ‘स्नाय्प’नाम दिएको यो कृत्रिम माछाले पहिल्यै हावर्ड विश्वविद्यालयले बनाएको ‘टुनाबोट’ नामक अर्को रोबोटिक फिसको गतिलाई पनि उछिनेको कारणले यसले बढी नै चर्चा पाएको हो।’

‘यसको खास उपयोगिता चाहिँ के हो त?’ मैले फेरि सोधेँ।

‘विश्व स्वास्थ सङ्‌गठनका अनुसार प्रत्येक वर्ष ३ लाख २० हजार मानिसको मृत्यु पानीमा डुबेर हुन्छ। नदी, तलाउ वा समुद्रमा हुने दुर्घटनामा रेस्क्यु अपरेसन अथवा ड्रोनसँग सहकार्यमा आपत्‌कालीन उद्दारमा यसको मद्दत लिन सकिन्छ।

अर्को तेल ट्याङ्कीहरू समुद्रमा डुब्दा हुने तेल चुहावट वा विभिन्न मानवीय गतिविधिको कारणले पानीको गुणस्तर र वातावरणीय अध्ययन-अनुसन्धानमा यो अति नै उपयुक्त हुन्छ। यो पातलो भएकोले पानीका साँघुरा खोचमा पनि सजिलै जान सक्छ। गोताखोरहरूलाई उद्दार कार्यमा सजिलो बनाउँछ र उनीहरूको जीवन जोखिम पनि कम हुन्छ।

अर्को कुरा, पृथ्वी ग्रहबाट लोप भएको डायनासोर हामीले प्रत्यक्ष देख्न नपाए पनि प्रविधिको विकासले यस्तो रहेछ भन्ने देखियो, बुझियो।

अहिले मानवीय कारणले बढ्दै गएको ग्लोबल वार्मिङले गर्दा कतिपय जलचर लोपोन्मुख अवस्थामा छन्। भविष्यमा यस्तै रोबोटिक विकासले आउने पुस्तालाई लोप भएका सामुद्रिक जीवजन्तु कृत्रिम नै भए पनि देखाउन सकिन्छ।

‘अनि, यति धेरै पढाइलेखाइ, खोजअनुसन्धान र उपलब्धिबारे किन कतै प्रचारप्रसार नगरेको? नसुनिएको त? न त बाबाममी न त आफूबाटै?’ मेरो अर्को प्रश्नमा पवनले भने, ‘बाबाममीको मिहिनेतले एउटा बलियो पूर्वाधार बनाइदिनुभयो र त म यो ठाउँमा उभिएको छु। अझ बाबाले दिदी र मलाई समेत हङकङको ल्यान्डलर्ड (घरबेटी) बनाइदिनु भएको छ।

तर, मेरो बुझाइमा यो भनेको अरूको पिठ्युँमा बोकिएर सगरमाथा चढेजस्तै हो। गर्व गर्न हकदार बाबा लगायतका पहिलो पुस्ता हुन्। जसले मिहिनेत गरी पिच सडक बनाइदिएर नयाँ पुस्तालाई गाडी दिई ल अब गुडाउनू भन्दैछन्। नयाँ पुस्ताले गाडी सही चलाउन सिक्नुपर्‍यो, सक्नुपर्‍यो।

बाबासँग केही थिएन, खाली हात हङकङ आउनुभएको थियो। कसरी गर्नुभयो यत्रो सृजना? गर्व गर्न, प्रचारप्रसार गर्न लायक त यो पो हो। फेरि आफैँले वा आफ्नाले गरिने आत्मप्रचारले त्यति महत्त्व राख्दैन।’

‘कुराकानीको बिट मारेर छुट्टिनै लाग्दा उनैले भने– एउटा कुरा भनौँ हजुरलाई?’

‘भन्नुस् न।’

‘जब म अहिलेको हाम्रो वासस्थान बेलाजी गार्डेनोको ६८ तलाबाट ओर्लेर हामी सानो छँदा बसेको/खेलेको भिलेज हाउस अनि बाबाममीले अति नै मिहिनेत गरेर हङकङमा पहिलो व्यावसायिक पाइला राखेको त्यो रेस्टुरेन्टको सेरोफेरो पुग्छु, बाबाको सङ्घर्षको अतीत सम्झिन्छु। अनि लाग्छ, म रोबोटिक इन्जिनियरिङमा प्रमाणपत्रसहितको मास्टर्स हो भने बाबा पनि अर्थशास्त्रमा विनासर्टिफिकेटको मानार्थ विद्यावारिधि हुनुहुन्छ बस्।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .