हङकङमा मैले भेटेका नेपाली सेनाका ती लियाजन अफिसर

हङकङमा मैले भेटेका नेपाली सेनाका ती लियाजन अफिसर

कमल पौड्याल
हङकङ, जेठ ३२

सन् ९० को दशकको सुरुवातमा हङकङबाट अन्तरदेशीय उडान नेपाल एयरलाइन्सको जीएसए र चिनियाँको स्वामित्वमा रहेको मीरा ट्राभलले मात्र गर्ने गर्थे। आउजाउ १ वर्ष समय सीमा भएको टिकटको मूल्य १८–२० हजार रुपैयाँ लाग्थ्यो। नेपाल जान क्याथे ड्रागन वा अरू वायुसेवा थिएनन्। गोर्खा सैनिक र उनीहरूको परिवारका लागि पनि नेपाल आउजाउ गर्न निगमका जहाज चार्टर्ड हुन्थे। हङकङ र बैंककको उडानपछि भन्सारसँग सेटिङ नमिल्दा कहिले शौचालय र कहिले कार्गो कम्पार्टमेन्टमा किलोका किलो बेवारिसे सुन भेटिएको समाचारले गर्दा जहाजले ‘सुनचरी’ को उपनाम पाएको थियो।

जहाज आधाभन्दा बढी विदेशीले नै भरिभराउ हुन्थ्यो। गणतन्त्रपछि ‘शाही’ काटिएको नेपाल वायुसेवा निगममा अहिले हामी सबैले देखेको/भोगेको दीर्घरोग त्यो बेला पनि उत्तिकै चर्को थियो। किर्ना, धमिरा, जुका जहाजका घाँटीभरि थिए र छन्। अहिले त्यतापट्टि नजाऊँ। त्यसबारे छुट्टै संस्मरण लेख्नेछु।

महावाणिज्यदूतावास नभएकाले ट्राभल एजेन्सीमा सामूहिक यात्रामा आबद्ध नभएकालाई नेपाल जाने भिसाका विषयमा केही द्विविधा र समस्या हुन्थे। उति बेलाको हङकङ सेन्ट्रलको ब्रिटिस सैनिक हेडक्वाटर एचएमएस तामर टावर (अहिलेको चिनियाँ जनमुक्ति सेनाको मुख्यालय) छेवैमा भिसासम्बन्धी कामका लागि बिहान १० देखि १२ बजेसम्म सानो काउन्टरमा दुई जना ब्रिटिस नेपाली सेनाका कर्मचारी बस्थे। ल्यान्डलाइन फोनबाहेक सञ्चारमाध्यमका अन्य कुनै साधन थिएन।

हङकङको पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी त्रिलोक विश्वकर्माले चलाएको चिम्साचोइ ४८ मोदी रोडको ‘सूर्य रेस्टुरेन्ट’ मा एकदिन दिउँसो युरोपियन मूलका नियमित ग्राहक पासपोर्ट बोकेर आए र भने, ‘वी विन टु सेन्ट्रल नेप्लिज लियाजन अफिस काउन्टर बट क्लोज अलरेडी। इट्स भेरिअर्जेन्ट फर अस। यु गाइज क्यान हेल्प अस?’

एक त नेपाल जान लागेका पर्यटक, त्यसमाथि पनि रेस्टुरेन्टका नियमित ग्राहक। त्रिलोकजीसँग राम्रो चिनजान रहेछ, तत्कालीन लियाजन अफिसर कर्णेल गोविन्दबहादुर गुरुङको। उनले तुरुन्तै फोन गरेर समस्या बताए।

गुरुङले भनेछन्, ‘भइहाल्छ, तल गेटमा एकजना सैनिक पठाइदिउँला, २०–२५ मिनेट कुर्नुपर्ला।’

ती ग्राहक अफिस जाने हतारोमा भएकाले मैले नै भिसा लगाएर ल्याइदिने निर्णय गरें। सेन्ट्रल पुग्दा एकजना सैनिक भाइ गेटमै कुरिरहेका रहेछन्। पासपोर्ट कागजात र दस्तुर लिएर गएँ। म स्टारफेरीतिर टहलिएँ। करिब २० मिनेटपछि नीलो ब्लेजर टाइ र प्यान्ट लगाएको एकजना गेटतिर आउँदै गरेको देखें। हातमा पासपोर्ट देखेपछि नमस्कार गरे र परिचय दिए।

त्यसपछि उनले भने, ‘ए म त विदेशी नै कुरिरहेका होलान् भनेर आफैं केही सूचना पनि दिऊँ भनेर ओर्लिएको त तपाईंसँग भेट भयो झनै राम्रो।’

पासपोर्टसँगै केही नेपालसम्बन्धी पोस्टर पनि थिए। संक्षिप्त कुराकानीमा उनी निकै सीधा भलादमी पाएँ। अझ नेपाल जाने पर्यटकलाई यसरी सेवाभावले सहयोग गर्ने कर्णेल गुरुङको शैलीले म धेरै प्रभावित भएँ।

त्यही सेरोफेरोमा चीन भ्रमणपछि पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हङकङ आउने कार्यक्रम रहेछ। त्यतिबेलाको लियाजन अफिस मूलतः बेलायती नेपाली सेना र उनीहरूका परिवार, विदेशीलाई नेपाल जान भिसा मात्र दिने भएकाले बजेट रहेनछ।

भर्खर देशमा प्रजातन्त्र आएको र बहुलवादी नेताको खातिरी वा खर्चको विवरण पठाउँदा सायद दरबारले रुचाउँथेन। उनीहरूसँगको सामीप्यताले पदोन्नतिमा समेत बाधा/अड्चन आउन सक्थे। हुन त त्यतिबेलासम्म प्रधान सेनापति दरबारको विश्वासपात्र वा सेनाको धेरै उच्च तहमा राणा, शाह, थापा, बस्न्यात, ठकुरी र सिंह थर वा मूलका मात्र हुन्थे। अन्य जातीय मूलका रोलक्रममा रहे पनि उनीहरूलाई विदेश वा अन्य कतै पठाएर आफ्ना विश्वासपात्रलाई मात्र अगाडि बढाइन्थ्यो।

राजाका सबैभन्दा विश्वासपात्र सैनिक बटालियनमा चाहिँ गुरुङ बाहुल्य कालीबहादुर गणलाई मानिन्थ्यो। नेपाली सेनाको क्याप्टेन जागिर छाडी हङकङ छिरेर व्यवसाय उन्मुख किशोर गुरुङचाहिँ यो कुरा मान्न तयार छैनन्।

‘विश्वासिलो पात्र होइन, विश्वासिलो पछुवाचाहिँ थियो- कालीबहादुर गण’, उनी भन्छन्, ‘यदि त्यसो हुन्थ्यो भने गुरुङ मूलका प्रधान सेनापति बन्न गणतन्त्र कुर्न पर्दैनथ्यो। पहिला जातका आधारमा, अब त राजनीतिक दलको आस्थाका आधारमा।’

अहिलेलाई यो विषय यहीं बिट मारौं।

जे होस्, चिनजानका आधारमा भट्टराईको सम्मानमा नेपाली लियाजन अफिसका तर्फबाट कर्णेल गुरुङले सूर्य रेस्टुरेन्टमा आयोजना गरेको रात्रिभोजको प्रायोजन त्रिलोक विश्वकर्माले गरेका थिए। यो विषयको संस्मरण यसअघि नै लेखिसकेको छु। त्यसपछि कर्णेल गुरुङसँग आक्कलझुक्कल भेटघाट भइरहन्थ्यो। जिन टोनिकको चुस्कीसँगै नेपालको परिवर्तित राजनीतिक घटना/परिघटनाबारे गफगाफ गरिन्थ्यो। २ सय ४० वर्षसम्म राणा र शाहको मात्र मातहतमा रहेको सैनिक संरचना अब के हुन्छ भन्ने चिन्ता थियो, प्रजातन्त्र आएपछि उनीलगायत सेनामा आबद्ध सबैलाई।

उनी नेपाल जानुअघिको दसैंमा पहिलोपटक तामी टावरकै २१ तलाको अफिसर मेसमा गुरुङको पाहुना भएर रात्रिभोजमा सरिक भएको सम्झना अझै छ। टाइसुटमा ब्रिटिस क्याम्पभित्र धेरै चल्ने सिंगापुरे टाइगर बियर र अफिसर मेसको नेपाली भोजमा सहभागी हुन पाउनु मेरा लागि नितान्त नौलो अनुभव थियो। ‘कमलजी, ल नेपाल आउँदा भेटौं है’ भन्दै बिदा गरेका थिए, त्यो रात।

उनी नेपाली सेनाको जनरलबाट अवकाश प्राप्त जीवन बिताइरहेछन्, अहिले। स्वास्थ्य त्यति अनुकूल छैन भन्ने सुनें, हालै। शीघ्र स्वास्थ्य लाभको कामना छ, पूर्वजनरल गुरुङलाई।

kamahk3
बायाँबाट क्रमशः लियाजन अफिसर कर्णेल उज्ज्वल विक्रम राणा, लेखक कमल पौड्याल र सीताराम ढुंगाना

गुरुङपछिका लियाजन अफिसर कर्णेल उज्वल विक्रम राणालाई उनैले परिचय गराइदिएका थिए, नेपाल फर्कनुअघि।

सन् ९३-९४ ताका हङकङमा अहिलेजस्तो नेपाली वकिल पाइन्थेनन्। आफ्नो कम्पनीको अध्यागमनसम्बन्धी काम आफैं गरिन्थ्यो। एकदिन काम सकेर स्टारफेरीबाट फर्किदै थिएँ, पानीजहाजमा। गर्मी असाध्यै थियो। यसैकारण सडक पेटीबाट भन्दा हार्बर सिटीभित्रबाट बाटो सोझ्याउँदै गर्दा कर्णेल राणासँग जम्काभेट भयो।

उनले हत्तपत्त भने, ‘कमलजी, सरकारहरू यहाँ सवारी हुँदैछन्, किनमेलका लागि। एकछिन पर्खौं, छोटो दर्शनभेट पनि गरौंला।’

मैले भनें, ‘ठीकै छ सर, म टाढा बसेर हेर्छु नि।’

म ३९-४० सालतिरै अखिलको झन्डा उचालेको विद्यार्थी भन्ने राणालाई के थाहा? अखिलको धङधङी पूरै उत्रिसकेको थिएन, अलिअलि बाँकी नै थियो। ती सरकार अरू कोही नभएर तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र युवराज दीपेन्द्र शाह थिए। चीनको भ्रमण (निजी) सकेर हङकङ हुँदै नेपाल जान लागेका उनीहरू होटल पेनेनसुलामा बसेका रहेछन्। यति भन्दै राणा दुईजना सादा पोसाकका गोर्खा सैनिकसहित डनहिलको सोरुमतर्फ लागे। म अलि परै उभिएँ। केहीबेरमा ज्ञानेन्द्र र दीपेन्द्र- चार हङकङे प्रहरी अघिपछि लगाएर सोरुमभित्र छिरे, म आफ्नो बाटो लागें।

भोलिपल्ट दिउँसो राणाले सूर्य रेस्टुरेन्टमा आएर भने, ‘सरकारहरू भोलि घरमा ज्यूनारका लागि सवारी हुने हुकुम भएकाले विशेष नेपाली खाना अर्डर गर्नुपर्ला।’

मैले सोधें, ‘स्टाफ पनि पर्छ कि?’

उनले भने, ‘तामी टावरको ब्रिटिस अफिसर मेसबाट दुई जना भनेको छु।’

राणाका एक छोरा थिए। श्रीमतीको कम्मरमुनिको भाग चल्दैनथ्यो। श्रीमतीलाई उनी असाध्यै माया गर्थे। सम्भव भएसम्म कार्यक्रमहरूमा समेत श्रीमतीलाई ह्विल चेयरमै लिएर उपस्थित हुन्थे। त्यसको केही दिनपछि धारोको बियर पिऊँ भन्दै रेस्टुरेन्ट छिरेका राणाले चुरोटको सर्को तान्दै भने, ‘लौ, त्रिलोकजी सरकारहरूलाई खाना असाध्यै मनपर्‍याे।’

मैले थपें, ‘सरकारकै सोल्टी होटलमा काम गरेका सेफले बनाएको भन्नुपर्ने थियो नि!’

जे होस्, नेपाली सेनाका कर्णेल लियाजन अफिसर राणा वंशका भए पनि उनमा त्यसको घमण्ड बिलकुल देखिन्थेन। सहयोगी, व्यावहारिक, मिलनसार राणा फुर्सद हुँदा हुँदा गफ्फिन आउँथे। विषय भने नेपालको राजनीति नै हुने गर्थ्यो। राणाकैबारे चर्चा गर्दा यौटा घटना उल्लेख नगरे आलेख अपुरो रहन्छ।

त्यतिबेला झोलामा अफिस भएको नेपालीको पहिलो संस्था फियोनाको यौटा मिटिङमा एक युवक नमस्कार हजुरहरू सबैलाई भन्दै छिरे।

अनि अगाडि भने, ‘हजुर, फियानो भन्ने संस्थाले अन्यायमा परेका नेपाली मजदुरलाई सहयोग गर्छ भन्ने सुनेर आएको।’

‘के भयो?’

‘चुङकिङ मेन्सनको बी ब्लकको १६ तलाको अनारकली मेसमा सेफको काम गर्छु। भिसा लागेर आइडी बने पनि पासपोर्ट, नागरिकता र आइडी मालिक्नीसँग छ। तलब माग्यो भने कुट्न आउँछिन्। हिजो पनि पासपोर्ट आइडी, नागरिकता माग्दा हातपात गरिन्। मसँग छैन तैंसँग छ भन्छिन्। बरु पासपोर्ट पाए पनि नेपाल फर्किन्थें।’

मगर थरका, पुर्ख्यौली घर गोर्खा भएका उनको मुखमा केही नीलडाम र कोपरिएका घाउ थिए। उनको भनाइको सत्यता उनको मुखाकृतिले नै प्रस्ट पार्थ्याे। 

त्यतिबेला फियोनामा घरेलु कामदारका यस्ता समस्या थुप्रै आउँथे। तर कुक भिसाको भने यो पहिलो थियो। अब पासपोर्टका लागि लियाजन अफिसलाई आग्रह गर्नुबाहेक उपाय थिएन। अफिसर राणासँग व्यक्तिगत सम्बन्ध भएकाले सबैले यो कामको जिम्मा मलाई दिए। अब नागरिकता नभएको पासपोर्ट कसरी बनाउने? राणालाई फोन गरेर सविस्तार सुनाएँ।

उनले भने, ‘कमलजी, हिजोआज नेपालमा यो नागरिकता र पासपोर्ट काण्डले धेरै प्रमुख जिल्ला अधिकारीको जागिरै धरापमा परेको छ। म त अझ सेनाको परें, तलमाथि परे कोर्टमार्सलसम्म हुन्छ। नागरिकताको प्रतिलिपि भए नेपाल जाने ट्राभल डकुमेन्टसम्म बनाउँला। बरु पहिला पुलिस रिपोर्ट लेखाऊँ।’

ती युवकलाई लिएर चिमसाचोइ पुलिस स्टेसन पुगें। समस्या बताउँदा रिपोर्ट लेख्ने प्रहरी उल्टो जंगिए। हुन पनि त्यतिबेला नेपालको फ्लाइटमा अवैध लागुपदार्थ र डलर बरामद भएको समाचार आउँथे। केही व्यक्तिको बदमासीले नेपाली नागरिकप्रति यहाँको प्रहरी डिपार्टमेन्ट सकारात्मक थिएन। साउथ एसियन भनेपछि अलि हेयको दृष्टिले पनि हेर्थे।

समस्या बताउँदै गर्दा अफिसरले प्रतिप्रश्न गरे, ‘हाउ आइ क्यान आइडेन्टिफाई हिम? नो पासपोर्ट नो आइडी!’

मैले भनें, ‘द्याट्स ह्वाइ वी आर हेयर, हिज बोस टुक इट। ह्वेन हि आस्क फर ह्वाट सि डिड। सि हिट हिम। लुक एट हिज फेस।’

त्यसपछि ती अधिकृत केही नम्र भए। वाकिटाकीमा कतै कुरा गरेपछि चुङकिङ मेन्सनको मेन गेटमा दुईजना पुलिस अफिसर देखिए। उनीहरूले तिम्रो मालिक्नीबाट तिम्रो कागजात लिन सहयोग गर्नेछन्, नभए मात्र रिपोर्ट बनाउँला भनेपछि उनलाई लिएर त्यता लागें।

चुङकिङको गेटमा भेटिएका ती दुई अफिसर, म र ती युवक १६ तलाको अनारकली मेसमा उक्लियौं। कुर्सीमा पलेटी कसेर चुरोट तान्दै सुप पिइरहेकी ती महिलाले हामीलाई पुलिससँग देख्नेबित्तिकै खाउँलाझैं गरी हेरी।पुरानो हिन्दी सिनेमाकी खलनायिका बिन्दुजस्तै देखिने ती भारतीय मूलकी मालिक्नीलाई प्रहरीले नम्र भएर सोधे, ‘एक्सक्युज मि मेडम, डु यु नो हिम?’ 

उनले च्याँठिँदै भनिन्, ‘अफकोर्स आइ नो हिम, हि इज माइ सर्भेन्ट। लास्ट नाइट हि टुक फो थाउजन्ड डलर एन्ड क्यासेट प्लयेर देन रन अवे। आइ अलरेडी मेक पुलिस रिपोर्ट यु बेटर एरेस्ट हिम।’

हामी हेरेको हेर्‍यै। ती युवकले तररर आँसु खसाले।

प्रहरीले वाकिटाकीमा कन्ट्रोल रुममा सम्पर्क गर्दा हो रहेछ। त्यसपछि प्रहरीले भने, ‘योर फ्राइन्ड इज अन्डर एरेस्ट।’

मैले भनें, ‘हि इज इनोसेन्ट।’

उनले जवाफ दिए, ‘वि ह्याभ टु फलो प्रोसिजर लेट्स गो टु पुलिस स्टेसन।’

मैले जाँदाजाँदै ती मालिक्नीलाई हिन्दीमा भनें, ‘आपने जो भी किया बहुत गलत किया। यिसको लेके मै लेबर डिपार्टमेन्ट जाउङ्गा। ओ आपको महङ्गा पडेगा, याद रख्ना। हमारा एसोसिएसन है, ऐसे कामके लिए।’

त्यसपछि उनको हाउभाउ अलि खस्कियो।

चुङकिङको गेटमा रहेको पुलिसको भ्यानमा बसेर पुलिस स्टेसन पुग्यौं। मलाई बाहिर कुर्न भनियो। उनलाई भित्र लगे। मैले उच्च अफिसरसँग कुरा गर्न चाहें। उनी आएपछि मैले ‘यी युवक निर्दोष छन्, उनकी मालिक्नीले फसाइन्’ भन्दै सहयोग गर्न आग्रह गरें।

उनले स्पष्टीकरण दिए- ‘हाम्रा अफिसरले पनि यो कुरा भनिसके। हामीले बुझेका छौं, मालिक्नीको पुराना केस पनि छन्। हाम्रो पनि कानुनी प्रक्रिया हुन्छ, दोभासे आउँदै छन्, बयान लिएपछि साथी लान सक्नुहुन्छ।’

यति भनेर मेरो नम्बर मागे।

अमिताभ बच्चनको पुरानो फिल्म ‘अन्धा कानुन’ सम्झिँदै रेस्टुरेन्ट फर्किएँ। राति ११ बजेतिर फोन आयो– ‘५ सय डलर लिएर आउनु र साथी लैजानु।’

उनलाई निकालेर खानपिन गराएपछि म घरतर्फ लागें। उनी मिराडोर मेन्सनमा ‘चिनेको साथीकोमा बस्छु’ भन्दै बिदा भए। त्यसको १ हप्तापछि पुलिसले कागजात हराएको रिपोर्ट र डिपोजिट लैजान भनेर फोन गरेर बोलाए। कुरा बुझ्दा मालिक्नीले केस फिर्ता गरेकी रहिछन्।

संयोगले उनका पासपोर्ट र नागरिकताको प्रतिलिपि साथीकोमा रहेछन्। भोलिपल्ट इमिग्रेसन डिपार्टमेन्टको ७ तलामा पुगेर अक्सर सूर्य रेस्टुरेन्टको केस हेर्ने लाम थरका अफिसरलाई सबै बताएँ। उनले खोज्दा त्यही अनारकली मेसबाट ६ महिनाका लागि उनको सेफ भिसा लागेको ३ महिना भइसकेको रहेछ। नयाँ पासपोर्ट लिएर आए, भिसा ट्रान्सफर र आइडी बनाएपछि ३ महिनाभित्र नयाँ रोजगारदाता खोज्नुपर्ने सुझाए, ती अफिसरले। अब पासपोर्ट कसरी निकाल्ने? राणाले पहिल्यै जवाफ दिइसकेका थिए।

संयोगले त्यतिबेला चिमसाचोइको हार्बर टनलका इन्जिनियर नरेश कोइराला हङकङ छाडेर क्यानडा जाँदै थिए। फियोनाले उनको बिदाइको सानो कार्यक्रममा प्रमुख अतिथिका रूपमा लियाजन अफिसर राणालाई निम्त्याएको थियो। अन्तिम प्रयासस्वरूप ती युवकलाई राणासँग आमनेसामने भेट गराइदिएर दुखेसो पोख्ने मेसो मिलाइदिने विचार आयो। कार्यक्रम सकिएपछि राणासँग समय लिएर सबै बेलिविस्तार लगाइयो, फियोनाका सबै साथी मिलेर। अन्त्यमा राणाले ‘लौ मान्छे जेनयुन लाग्यो, तपाईंहरू सबैको विश्वासका आधारमा पासपोर्ट नै बनाइदिन्छु’ भने।

नभन्दै राणाले भोलिपल्टै पासपोर्ट जारी गरदिए भने पर्सिपल्ट अध्यागमनले नयाँ पासपोर्टमा भिसा ट्रान्सफर र अस्थायी आइडी दियो। ती युवकले मलाई अँगालो हाले र ‘सरको यो गुन नमरुन्जेल बिर्सिन्नँ’ भन्दै आँसु झारे।

मैले भनें, ‘फियोना, चिमसाचोइ पुलिस, इमिग्रेसन र अझ मुख्य त कर्णेल राणा हुन्। म त यौटा साधन मात्रै हुँ।’

सात वर्ष विभिन्न रोजगारदातासँग काम गरेर हङकङको स्थायी परिचयपत्र पाएका ती युवक अहिले पनि आक्कलझुक्कल बाटामा भेटिन्छन्। सेनाको जनरलबाट रिटायर्ड राणा केही वर्षअगाडि हृदयाघातबाट स्वर्गे भए भन्ने सुनें। मचाहिँ कोभिड-१९ ले जुराएको फुर्सदमा हङकङको आकाशमुनि बसेर पुराना तस्बिर हेर्दै संस्मरणको गुन्द्री बुन्दै छु।

 

जेठ ३२, २०७७, आइतबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .