हङकङमा गिरिजाप्रसाद र जियाङ जमिनसँगका ती अविस्मरणीय भेट

हङकङमा गिरिजाप्रसाद र जियाङ जमिनसँगका ती अविस्मरणीय भेट

कमल पौड्याल
हङकङ, असार १८

मेरो जीवनको संयोग नै भन्नुपर्छ- राजनीतिक सामाजिक वा साहित्यिक संघ/संस्थामा म ‘उप’ भन्दा माथि कहिल्यै पुगिनँ। ४०/४१ सालको ताहाचल क्याम्पसको स्ववियु चुनावमा अखिल पाँचौँबाट उपसभापतिमा जितिएको थियो। क्याम्पस प्रमुख सिद्दिविक्रम जोशी थिए। चुनाव प्रचारप्रसारको अन्तिम दिन क्याम्पस प्रशासनले नै यौटा कार्यक्रम राखेर सबै उम्मेदवारलाई आआफ्ना भनाइ राख्न ५ मिनेटको समय दिन्थ्यो। पाँच मिनेटमा अखिल र नेविसंघका विद्यार्थी उम्मेदवारले एकअर्कालाई सकेजति जन्मपत्री पल्टाएर खसाल्थे, झ्याँको झार्थे। त्यो बेलाको तस्बिर हेर्दै ५ मिनेटमा भनेका कुरा सम्झिँदा आफैंलाई अचम्म लाग्छ, हाँसो उठ्छ।

अखिल छैटौं भए पनि खासै प्रभावशाली थिएन। क्याप र पातलो दारी/जुँगा पालेका अहिलेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र हिसिला यमी झोला बोकेर बेलाबेला सैद्धान्तिक क्लास दिन आउँथे, छैटौं-समर्थित विद्यार्थीलाई। अखिल पाँचौलाई टंक कार्की, भीम न्यौपाने र गौरी प्रधानले प्रशिक्षण दिन्थे। नेविसंघका प्रभावशाली हर्ताकर्ता भाष्कर राजकर्णिकार थिए। ‘ताहाचल क्याम्पस’ नाममा बिहान मात्र सञ्चालन हुने यो कलेज अखिलको गढ मानिन्थ्यो। दिउँसो भने महेन्द्ररत्न क्याम्पस भनिन्थ्यो, ‘शिक्षा’ विषयको पढाइ हुन्थ्यो। अहिलेका पर्यटनमन्त्री योगेश भट्टराई पनि विद्यार्थी राजनीति गर्दै त्यहीं अध्ययन पनि गर्थे।

त्यतिबेलै क्याम्पसको विद्यार्थी युनियनले पाक्षिक रूपमा प्रकाशन गर्ने ‘उज्यालो’ भित्ते-पत्रिका (हातले लेखेर बोर्डमा टाँस्ने पत्रिका) मा मेरा सहपाठी ओमी शर्मा सम्पादक र म सहसम्पादक थिएँ।

हङकङ आएपछि सबैभन्दा पहिले खोलिएको नेपाली संस्था सुदूरपूर्वी प्रवासी नेपाली संघ (फियोना) को उपाध्यक्ष भएँ। त्यसपछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हङकङ च्याप्टरको पनि उपाध्यक्ष नै जुर्‍याे। हुँदाहुँदा नेपाल च्याम्बर अफ कमर्स हङकङको पनि उपाध्यक्षबाट स्वेच्छिक अवकाश लिएपछि नामपछाडि विभिन्न पदको पुच्छर जोड्ने रहर सेलायो। हङकङका झन्डै आधा दर्जन संघ/संस्थाले भने मलाई सल्लाहकारमा राखेका छन् अझै, सल्लाह नलिए पनि।

अब भने मोक्ष प्राप्त गरें। विगत केही वर्षदेखि साहित्य लेखनमै हराइरहेको छु। यो मैले धेरै पहिल्यै सबै छाडेर गर्नुपर्ने रहेछ भन्ने लाग्न थालेको छ, अहिले। तर ‘उप’ पद पनि राम्रै हो, खास जिम्मेवारी वा काम हुँदैन, प्रमुखले नभ्याएका बेला गइदिनेबाहेक। तर कहिलेकाहीं कागताली पनि पर्दोरहेछ, अध्यक्ष नहुँदा/नभ्याउँदा कार्यकारी हैसियतले दुइटा कार्यक्रममा मेरो सहभागिता अविस्मरणीय रह्यो। पहिलो- नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हङकङमा भेट्दा र दोस्रो– हङकङ, बेलायतबाट चीनको सम्प्रभुतामा विलिन हुँदाको पहिलो वार्षिकोत्सव, जसमा जनवादी गणतन्त्र चीनका दशौं राष्ट्रपति जियाङ जमिन प्रमुख अतिथि थिए।

कुरो सन् ९७/९८ तिरको हो। त्यतिबेला रोजगारी भिसामा हङकङमा रहेका फियोनाका तत्कालीन अध्यक्ष कुलबहादुर पाण्डे नेपाल गएर भिसाको समस्याले आउन नपाउँदा दुवै कार्यक्रममा मैले सहभागिता जनाएको थिएँ।

सुरु गरौं, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट। हङकङ चीनलाई हस्तान्तरणपछि नेपाल सरकारका तर्फबाट पहिलो महावाणिज्यदूत प्रद्युम्नविक्रम शाह आएका थिए। चिम्साचुइको क्यामरनरोडमा पहिलो कार्यालय थियो। सन् १९९७ सेप्टेम्बरको कुनै दिन हुनुपर्छ, कोइराला हङकङ हुँदै जापानको भ्रमणमा जान लाग्दा हङकङमा एकरात बसाइरहेछ। दूतावासले नै हङकङमा रहेका संघ/संस्थाका प्रतिनिधि र गन्यमान्यसँग भेटघाट कार्यक्रम आयोजना गरेको थियो, होटल होलिडे इनमा।

जहाँ कोइरालासहितको भ्रमण टोली बसेको थियो। नेपाली कांग्रेसको उतिबेला भ्रातृ संस्थाका रूपमा रहेको प्रवासी नेपाली मञ्चका तर्फबाट प्रेम सापकोटा र अन्य साथी थिए। संखुवासभा समाजका अध्यक्ष रमेश गुरुङ, एसियन स्टुडेन्ट एसोसिएसन हङकङमा नेपालको प्रतिनिधित्व गर्ने केशव पाण्डे, भूपू ब्रिटिस गोर्खा संघका प्रतिनिधि र अन्य गरेर जम्माजम्मी १०-१२ वटा संस्थाका प्रतिनिधि थिए, सबैको नाम यकिन भएन। कोइरालासँग विदेश विभाग प्रमुख डा. सुरेश चालिसे, सुजाता कोइराला, उनका स्वकीय सचिव र अन्य केही व्यक्ति थिए।

Kamal Girija2
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग हङकङका नेपाली (सौजन्यः कुलप्रसाद गुरुङ)

होलिडे इनको बैंक्वेट हलमा यू आकारमा बनाइएको टेबलमा सबै बस्यौं। सबैले आआफ्नो छोटो परिचयसहित प्रतिनिधित्व गरेको संघ/संस्थाबारे बताउँदा गम्भीर भएर सुने, कोइरालाले। परिचयक्रममा सुनिएका १०–१२ वटा संस्था धेरै लाग्यो होला उनलाई, मन परेनछ। अब उनको पालो आयो। कम बोल्ने र भन्न खोजिएका कुरा स्पष्टसँग बताउने उनको बानी नै थियो। अनि उनले आफ्नो भनाइ सुरु गरे, आफ्नै शैलीमा।

‘हेर्नुस्, म तपाईंहरूलाई के भन्छु भने पहिला त आज हङकङमा यतिका नेपालीबीच बोल्न पाउँदा खुसी लागेको छ, तर सानो ठाउँमा यति थोरै नेपालीबीच यति धेरै संघ/संस्था किन? तपाईं झापाको भए पनि, मकवानपुरको भए पनि, कैलाली–कञ्चनपुर वा नेपालका जुनसुकै ठाउँको भए पनि, जुनसुकै जात वा राजनीतिक पार्टीमा आस्था राखे पनि, सबभन्दा पहिला तपाईंको परिचय भनेको मात्र नेपाली हो। प्रद्युम्न शाह महावाणिज्यदूत भए पनि तपाईंहरू सबै अघोषित राजदूत हुनुहुन्छ देशको। विदेशमा राम्रो काम गरे पनि नेपाली, नराम्रो काम गरे पनि नेपाली। सबैले राम्रो काम गर्नुस् र सबभन्दा पहिला नेपाली भएर बाँच्नुस्, पछि मात्र अरू। म तपाईंहरूमाझ आज नेपाली कंग्रेसको अध्यक्ष भएर होइन, नेपालको पूर्वप्रधानमन्त्री भएर भेटिरहेको छु, बोलिरहेको छु।’

यसरी बडो सटिक भनाइ राखिसकेपछि कोइरालाले देशमा विकसित राजनीतिक परिस्थिति र चुनौतीबारे संक्षेपमा चर्चा गरे। उनको भनाइसँगै कार्यक्रम सकियो र जलपानतिर लागियो। जलपानमा पनि निकै अनौपचारिक र हर्षित ‘मुड’ मा प्रस्तुत भए, कोइराला। अहिलेजस्तो सबैका हातहातमा मोबाइल थिएनन्। भए पनि क्यामरा थिएन। सामूहिक/एकल फोटो सेसन भए। सोचाइको ‘केमेस्ट्री’ मिलेर हो कि, डा. शुरेश चालिसेसँग भने लामै गफ भयो मेरो र अन्त्यमा सबै जना बिदाबारी भइयो।

दोस्रोपटक भने पदविहीन अवस्थामा सन् २००४ सेप्टेम्बर ७ को बेलुकी पनि कोइरालासँग चीन भ्रमणपछि हङकङ हुँदै नेपाल जान लाग्दा भेटघाटको संयोग जुर्‍याे। जतिबेला तत्कालीन जनसम्पर्क मञ्चका अध्यक्ष सन्तोष घलेको कार्यसमितिले सःशुल्क रात्रिभोज आयोजना गरेको थियो, जोर्डनको नाथन होटलमा।

ग्वाङजोङ सेन्जेनको बाटो हुँदै हङकङ प्रवेशपछि डा. चालिसेले मित्र कुलप्रसाद गुरुङलाई सोधेछन्, ‘कमलजी पनि आउनुहुन्छ नि?’

‘आउनुहुन्छ’ भनेछन् उनले।

अझ बेलुका साम्रक होटलबाट फोन आयो– ‘कमलजी, म शुरेश चालिसे, बेलुका आउनुहुन्छ नि?’

‘आउँछु सर, अवश्य।’

त्यो बेलाको हङकङको माहोल अलि अर्कै थियोजस्तो लाग्छ। व्यापारी, बुद्धिजीवी, कांग्रेस, गैरकांग्रेस– निम्ता पाउने सबै उपस्थित थिए। त्यतिबेला राजा ज्ञानेन्द्रले शासन हातमा लिएका थिए। दरबार हत्याकाण्डपछि देशको राजनीति निकै जटिल मोडमा थियो। अर्कातिर देश सशस्त्र युद्धमा होमिएको थियो। कोइराला खासै मुडमा थिएनन्। तर पनि उनको अडानले प्रसिद्धिको शिखर चुम्दै थियो। अनौैपचारिक परिचय कार्यक्रम र तस्बिर खिचाइयो सबैले। ‘लामो यात्राले म थाकेको छु’ भने र थोरै खाना र एक ग्लास वाइनसँग यौटा चुरोट तानेपछि ‘तपाईंहरू बस्नुहोस्’ भन्दै साम्रक होटलतिर लागे उनी।

सुजाता कोइराला, शुरेश चालिसे र अन्य सहयात्रीसँग अलि अबेरसम्म गफगाफ भएथ्यो, त्यो साँझ।

कोइरालाको पूरै राजनीतिक जीवन यात्राको विभिन्न पाटो केलाउँदा लेख लामो हुन सक्छ। दुर्गा सुवेदीको ‘विमान अपहरण’ पढिसकेपछि मलाई यो संस्मरण लेख्ने जाँगर चल्यो। यो लेख्दै गर्दा सुवेदीको संस्मरण र बीपी संग्रहालयमा अहिले राखिएको ४७ वर्ष पुरानो नेपाल एयरलाइन्सको नाइन एनएडीबी ट्विनअटर जहाजसँगै विराटनगर र फारबिसगन्जको सेरोफेरोको कल्पनामा हराएँ, केहीबेर। वसन्त भट्टराई, नरेन्द्र ढुंगेल र दुर्गा सुवेदीको त्यो साहस कुनै विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने यौटा योद्धाले अग्रपंक्तिमा भिड्नुभन्दा पनि कडा र अति जोखिमपूर्ण थियो, प्रजातन्त्रका लागि।

संसारका सबै जहाज अपहरणमा आतंकवाद जोडिएको हुन्छ। तर संसारको यौटा यस्तो जहाज अपहरण भयो, जुन प्रजातन्त्रका लागि थियो। पुस्तकमा दुर्गा सुवेदीले कतिपय कुरामा कोइरालासँग विमति राखे पनि यसको कमान्डर भने कोइराला नै रहेको भनेका छन्। वि. सं. २०४६ को परिवर्तनपछि टुँडिखेलको भाषणमा कोइरालाले ‘यो जित राजाको, पञ्चको र हामी सबैको हो’ भन्दा उनलाई ‘आउट’ भन्दै हुटिङ भयो। वास्तवमा उनले सही भनेका रहेछन् भन्ने कुरा अहिले बुझ्दैछन्, सबै जना। राजतन्त्रले प्रजातन्त्रलाई आफ्नो पनि जित बुझिदिएको र त्यहीअनुरूप कदम चालेको भए राजतन्त्र अन्त्य हुँदैनथ्यो। प्रजातन्त्रपछि प्रजातन्त्रवादी पार्टीहरूले पटकपटक पूर्वपञ्चहरूलाई काँधमा बोकेर सिंहासनमा राखेकै हुन्। ज्ञानेन्द्र शाहले कार्यकारी अधिकार लिएपछि उनले स्पष्ट रूपमा राजाले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दैछन् भन्दै आफ्नै कारण नेपालबाट राजतन्त्र अन्त्य हुने उनले गरेको भविष्यवाणी यथार्थमा परिणत भयो।

प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा १ इन्चपछि हटेनन्, कोइराला। जसले जे भने पनि नेपाली कांग्रेस वा कोइरालाले राजतन्त्र, काँधबाट झारेर भुइँमा नराखेको भए यति चाँडै नेपालमा गणतन्त्र आउने थिएन। गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति मधेसी मूलका मानिस हुनु स्वागतयोग्य कुरा हो। अहिले पनि विद्यादेवी भण्डारीलाई दोहोर्‍याउनुभन्दा जनजाति मूलका कसैलाई अवसर दिएको भए राम्रै हुन्थ्यो।

त्याग, तपस्या र बलिदानका हिसाबले गिरिजाप्रसाद कोइराला, नेपालको त्यो आलंकारिक पदको पहिलो हकदार हुन् भन्ने मेरो बुझाइलाई सबैले ताली बजाउनुपर्छ भन्ने छैन। त्यतिबेलै उनलाई त्यो पद नदिन मुख्य भूमिका खेलेका राजनेता, आफूहरूले कोइरालाप्रति अन्याय गरेको कुरा भावुक हुँदै स्वीकार्छन्, अहिले। जे होस्, नेपालको इतिहासको परिवर्तनको यौटा ठूलो ऐतिहासिक खम्बा थिए, कोइराला। कोही पनि व्यक्ति सर्वगुण-सम्पन्न हुन सक्तैन र कोइरालाले पनि गल्ती गरेकै थिएनन्, भन्नचाहिँ मिल्दैन। अनुभव र उमेरसँगै राजनीतिक जीवनको उचाइ उच्च बिन्दुमा पुग्दै गर्दा उनको निधन भयो। संसारका सबै समाचारमा विश्व र दक्षिण एसियाकै यौटा प्रमुख राजनेताको पगरी पाए, कोइरालाले। अहिलेका राजनेताले पनि यसैगरी प्रशंसाको चुचुरोबाट बिदा लिन सक्नुपर्छ। गिरिजाप्रसाद कोइरालाप्रति पुनः एकपटक भावपूर्ण श्रद्धासुमन!‍

Kamal Jang
बेलायती उपनिवेशबाट हङकङको साँचो लिन १ जुलाई १९९७ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिन (बायाँ) आफैं हङकङ आएका थिए

त्यस्तै अर्को प्रसंग- राष्ट्रपति जियाङ जमिनलाई धेरै नजिकबाट सुन्न र हेर्न पाइएको थियो, सन १९९८ जुलाई १ तारिखको बिहान। इतिहास र राजनीतिको विद्यार्थी भएकाले विश्व राजनीतिमा चाख राख्थें, सधैं। होचो कद, गम्भीर व्यक्तित्व, बाक्लो मोटो पावरवाला चस्मा, कहिल्यै नहाँस्ने जियाङ जमिन मेरा लागि चाख लाग्ने विश्व राजनीतिका यौटा प्रमुख नेता लाग्थे। अघिल्लो वर्ष बेलायती उपनिवेशबाट हङकङको साँचो लिन उनी आफैं आएका थिए। यो टुंगोमा पुग्न तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र उनको सरकारसँग धेरै रोटी बेल्नुपरेको थियो। अझ चीनलाई अप्ठ्यारोमा पार्न बेलायती प्रशासनका फलामका च्युरा मानिने क्रिस प्याटनलाई अन्तिम गभर्नरका रूपमा हङकङ खटाइएको थियो।

सार्वजनिक रूपमा आफ्नोबाहेक अरू भाषा नबोल्ने चिनियाँ नेताको नियम त छँदै छ। फ्रान्सका राष्ट्रपति ज्याक फिराकको निम्तोमा औपचारिक भ्रमणमा रहेका बेला जियाङ जमिनले पत्रकारलाई दिएको जवाफ त्यतिबेला सञ्चारमाध्यममा निकै चर्चित रह्यो। म पनि हेरेको हेर्‍यै भएथें।

अमेरिका र पश्चिमा शक्तिले चीनसँग जहिले अत्तो थापेर निहुँ खोज्ने तीन कुरा हुन्– ताइवान, तिब्बत र मानव अधिकार। पछिल्लो समय यसमा हङकङ पनि थपिएको छ। हुन त यो पंक्ति लेख्दै गर्दा अमेरिकाको एलए मिनियापोलिसमा गोरा प्रहरीद्वारा घाँटी थिचेर मारिएका काला जातिका जर्ज फ्लोएडका दाजुले संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगमा बोल्दै अमेरिकामा अश्वेत जातिको मानव अधिकारबारे चासो र निगरानी गरिदिन अनुरोध गरेका छन्। त्यतिबेला फ्रान्समा पनि स्वतन्त्र तिब्बतको माग लिएका केही प्रदर्शनकारीले जियाङ जमिनको भ्रमणमा सानोतिनो विरोध जनाएका थिए। त्यो बेलाको सञ्चार क्षेत्रमा एकपक्षीय वर्चस्व जमाएका सीएनएन, बीबीसीलाई बस् के चाहियो र!

राष्ट्रपति ज्याक सिराकसँग रात्रिभोज सकेर बाहिर निस्किँदा राष्ट्रपति जियाङ जमिनलाई पत्रकारले घेरेर सोधे, ‘मिस्टर प्रेसिडेन्ट, क्यान यु हेअर पिपुल आर साउटिङ आउटसाइड एन्ड आस्किङ फर फ्रि तिब्बत?’

आक्कलझुक्कल केही छोटा मात्र अंग्रेजी शब्द प्रयोग गर्ने जियाङ जमिनले सायद पहिलोपटक विदेशी मिडियाअगाडि अंग्रेजीमै मुख खोले, ‘आइएम ७२ यर वल्ड। माई एयर स्टिल भेरी गुड। आई क्यान हेयर भेरी क्लियर्ली। इफ यु वान्ट टु मि साउटिङ एट देम स्टिल आई क्यान साउट मोर लाउडर देन देम’ (नेपाली भवानुवाद– म ७२ वर्षको भएँ। मेरा कान एकदमै ठीक छन्। म राम्रोसँग सुन्न सक्छु। यदि तपाईंहरू मलाई चिच्याउन भन्नुहुन्छ भने म उनीहरूभन्दा पनि ठूलो स्वरले चिच्याउन सक्छु अझै)।

पत्रकार केहीबेर नाजवाफ भए।

यिनै राष्ट्रपतिको विशेष उपस्थितिमा हङकङ चीनलाई हस्तान्तरण समारोहमा फियोनालाई आमन्त्रण गरिएको थियो, हङकङ सरकारका तर्फबाट। फियोनाका तत्कालीन कोअर्डिनेटर लेखनाथ कोइरालाले विशेष कार्यक्रम भएकाले निमन्त्रणा-पत्रमा लेखिएबमोजिम समयमा पुग्न सुझाएका थिए। बिहान ७ बजे चिमसाचुई साइन्स म्युजियममाथिको हलमा सुरक्षा जाँचका लागि लाइन लागियो। यति कडा सुरक्षा जाँच पहिला र पछि कहिल्यै अनुभव गरिएन। ततपश्चात् गाडीमा अगाडि र पछाडि हङकङ प्रहरीको मोटरसाइकलको स्कर्टिङसहित हुङहामको हङकङ कल्सियमको समारोहस्थलको मुख्य द्वारमा ओरालियो। त्यसपछि परम्परागत चिनियाँ पहिरन लगाएका अतिथि सत्कार विभागका युवतीले सिटसम्मै पुर्‍याएर कार्यक्रम तालिकासहित उपहार दिएरै छाडे।

निमन्त्रणा-पत्रमै लेखिएबमोजिम ठीक समयमा आइपुगे, जियाङ जमिन। क्यान्टोनिज, मेन्डारिन र अंग्रेजी भाषामा समेत उल्था गरेर कार्यक्रम उद्घोषण गरे, एकजोडी युवा-युवतीले।

हङकङका तत्कालीन कार्यकारी प्रमुख तोङ चीवाले स्वागत मन्तव्यसहित हङकङको १ वर्षको प्रगति विवरण सुनाए। हङकङ मूल भूमिमा फर्किएपछि तोङ चीवाको एकबर्से कार्यकालको प्रशंसा गर्दै करिब २५ मिनेटको सम्बोधन गरे राष्ट्रपति जियाङ जमिनले। चीन र हङकङका चर्चित राष्ट्रिय र अन्य गीतमा ज्याकी चेन, एन्डी लाउसहित हङकङका अन्य चर्चित चलचित्रकर्मीले प्रस्तुति दिएका थिए। मूल भूमि चीनको अपेरा गीत/नृत्य त अझ विशेष थियो।

ठीक समयमै कार्यक्रम सकियो। हङकङ आएपछिको यौटा विशेष नौलो अनुभव बोकेर घर फर्किएँ। उस्तै परे आफ्नो जात/थरसमेत ‘कम्युनिस्ट’ राख्न पछि नपर्ने हाम्रो देशका राजनेताजस्तो मरणोपरान्त सत्ता लिप्सा र धनको मोह छैन, चिनियाँ उच्च नेतामा। सन् १९९३ मा कार्यभार सम्हालेका जियाङ जमिनले आफ्नो कार्यकालपछि हु जिन्ताओलाई सत्ता हस्तान्तरण गरे, सन् २००३ मा।

हरेक वर्ष अक्टोबर १ तारिखको बिहान चीनको राष्ट्रिय दिवसमा विशेष चहलपहल हुन्छ, तियानमेन स्क्वायरमा। त्यहींको ऐतिहासिक घरको बरन्डामा परम्परागत चिनियाँ हल्का हरियो सुटमा चिनियाँ जनमुक्ति सेनाको विशेष परेडलाई ताली बजाइरहेका ९२ वर्षीय जियाङ जमिनलाई अझै उस्तै देख्दा अतीतमा हराउँछु, केहीबेर।

 

असार १८, २०७७, बिहीबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .