हङकङमा प्रचण्डको त्यो ‘गोप्य बैठक’

हङकङमा प्रचण्डको त्यो ‘गोप्य बैठक’

कमल पौड्याल
साउन २७, २०७७ मंगलबार ५:४१,

सन् २००२ तिर हुनुपर्छ। हङकङमा नेपालका अरू राजनीतिक पार्टीको भगिनी संस्थाजस्तै पूर्वमाओवादीको पनि संगठन थियो- संयुक्त नेपाली समाज। भित्र को को थिए कुन्नि, बाहिर देखिनेमा अहिलेका फोटो पत्रकार जगत अम्बु गुरुङ र अर्का एक जना थिए, खुलेरै हामी माओवादी भन्ने। बाँकी मुखले ठीक्क पारे पनि अधिवेशन र माओवादीका र्कायक्रममा सहभागी हुन डराउँथे। पार्टी प्रतिबन्धित रहेको अवस्थामा माओवादीका सबै नेताको टाउकाको मूल्य तोकिएको थियो, नेपालमा। हङकङमा माओवादी पार्टीमा आबद्ध व्यक्ति वा सहयोगी कसैले सुराकी दिएको पाइएमा काठमाडौं ओर्लिएपछि जे पनि हुन सक्थ्यो।

त्यतिबेला म हङकङबाट प्रकाशित हुने पत्रिकाहरूमा स्तम्भ लेख्थें– घुमन्तेको डायरी। अरू नेताभन्दा डा. बाबुराम भट्टराई पिताजीसँग धेरै हिमचिम भएकाले ‘हङकङको चिट्ठी बाबुरामलाई’ भन्ने मेरो लेख छापिएको थियो- नेपाल पोस्टमा। तत्कालीन माओवादीका दुवै मित्र पत्रिका बेच्ने जोर्डनको यौटा स्टोरमा पुगेछन् र सोधेछन्– यसपालि बाबुरामलाई चिट्ठी भनेर कसले लेखेछ हँ, नेपाल पोस्टमा?

पसलेले पत्रिकाअगाडि सारिदिएपछि पल्टाएर हेर्दै ‘ए कमल पौड्याल रहेछ, यल्ले त राम्रै लेख्या होला’ भनेर हिँडेछन्।

पहिलो युद्धविरामका बेला कुनै माओवादी नेता हङकङमा देखिएनन्। तर माओवादी पार्टी शान्ति प्रक्रिया एवं खुला राजनीतिमा आएपछि, अझ माओवादीले चुनावमा ठूलो जित प्राप्त गरेपछि भने हङकङमा तिनको आउजाउ हुन थाल्यो। हुन त हङकङ आउजाउ गर्नाको कारण उनीहरू विदेशमा पनि संगठन विस्तार गर्न चाहन्थे। खैर, कारण जे भए पनि केही अपवाद छाडेर उनीहरू रक्तचन्दन, यार्सागुम्बा वा बैकिङ कारोबारमा संलग्न हुन आएका भनेर आरोप लगाइएका समाचार आउँथे।

सबभन्दा पहिला औपचारिक कार्यक्रम नै लिएर सन् २००७ नोभेम्बरतिर त्यसबेला माओवादीका प्रभावशाली नेता देव गुरुङ र जयपुरी घर्ती हङकङ आए। हङकङ जनजाति बाहुल्य नेपाली समाज भएर पनि हुन सक्छ, पार्टीले उनिहरूलाई पठाएको। काउलुन जोर्डननजिकैको पाकिस्तानी क्लबको खुला ठाउँमा औपचारिक समारोह आयोजना गरिएको थियो। आइतबार परेको र पहिलोपटक माओवादी नेताहरू आएकाले हुन सक्छ– हङकङमा माओवादी समर्थक, माओवादीमा प्रवेश गर्न खुट्टा उचालेका, गैरमाओवादी र मजस्ता राजनीतिका रमितेको बाक्लो भीड लाग्यो।

Prachanda HK4

‘पहिलो लोकतान्त्रिक गणतन्त्र भेला हङकङ’ ब्यानर टाँगिएको मञ्चमा रोल्पा-रुकुमकै झल्को दिने गरी रातो टाईमा सजिएर दायाँबायाँ हङकङे माओवादी कमरेड उभिएका थिए- सुरक्षा पहरा दिन। हङकङजस्तो सुरक्षित र फोन गरेको ६ मिनेटमै प्रहरी आइपुग्ने ठाउँमा यो जरुरी छ त भनेर चर्चा/परिचर्चा भयो। अझ मसँगै बसेका हङकङमा निजी सुरक्षाकर्मी ‘सप्लाई’ गर्ने व्यवसायी (पूर्वब्रिटिस गोर्खा) ले चस्मा खोल्दै लाउँदै मञ्चमा नेताहरूकै हारमा बसेका एक जनालाई हेर्दै थिए।

मैले सोधें, ‘के हेर्नुभएको हो, त्यसरी?’

उनले भने, ‘हैन, यिनी त मेरोमा पो काम गर्छन्। कहिलेदेखि माओवादी बनेछन्?’ 

मैले हाँसो गर्दै भनें, ‘ल हेर्नुस्, कम्युनिस्ट वा असली गणतन्त्र भनेको यो पो हो त, कामदारले आसन ग्रहण गर्ने, मालिकले ताली बजाउने!’

सँगै बसेका अर्का मित्रले थपे, ‘अब अफिसमा उनीसँग सतर्क हुनुहोला है, अलिकति पनि तलमाथि भए नेपालको जग्गाजमिन र सम्पत्तिमा वाईसीएलका कमरेडले झण्डा गाड्लान् फेरि!’

उनी हेरेको हेर्‍यै भए।

दुवै अतिथि र अन्य स्थानीयले सम्बोधन गरिसकेपछि घरतिर लागियो ।

भोलिपल्ट दुवै नेता र पार्टीका हङकङे अगुवा दिउँसोको खाना खान कंगन रेस्टुरेन्टमा आएका रहेछन्। देव गुरुङ र जयपुरी घर्तीसँग परिचय र छोटो भलाकुसारी भयो, मेरो पनि।

त्यसपछि पार्टीको विदेश विभाग हेर्ने मनोज थापा, हङकङ निकैपटक आएका थिए। तर अहिले उनी गुमनाम छन्। अरू नेता पनि आउन थाले। मेरा पिताजीलाई राम्रै चिन्ने भएकाले हङकङ आएका बेला सीपी गजुरेलसँग एकदिन दिउँसो संक्षिप्त भेटघाट भएको थियो। उनले मलाई आफ्नो यौटा पुस्तक उपहार दिएका थिए।

नेपाल र नेपालीलाई उज्यालो बाँड्ने कुलमान घिसिङसँगै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा पनि हङकङ आएका थिए, एकपटक। अर्का नेता वर्षमान पुनको हङकङ आउजाउ निकै बाक्लो थियो, उतिबेला। सुरेश आले मगर आएर गए पनि खासै चर्चा भएन। माओवादी समर्थित यौटा सिनेमा लिएर हङकङ आएका प्रकाश दाहाल लामो समय यहाँ बसे। एकदिन दिउँसो रेस्टुरेन्टमा आइपुग्दा सहकर्मीहरूले को हुन् भन्दै इशाराले सोधे।

‘प्रकाश दाहाल क्या त, प्रचण्डका छोरा।’

हङकङकै परिचयपत्रबाहक एक जना महिला थिइन्, उनीसँग खाना खाँदै। खानापछि प्रकाश आफैं काउन्टरमा आएर ‘दाइ हाम्रो बिल कति भयो होला’ भन्दै पर्स निकाले चिनेजस्तै गरी।

मैले हाँस्दै भनें, ‘यति सानो बिल के दिने तपाईंलाई। त्यो पनि देशमा परिवर्तनका लागि लडेको मानिसलाई?’

‘हैन, जति भए पनि दिनुस् न।’

मैले भनें, ‘ठीकै छ अर्कोपटक।’

मैले सुझाव पनि दिएँ, ‘देशमा बाबालाई संविधानसभा चुनावको चटारो छ, तपाईं हङकङमा व्यस्त हुनु भएन नि, सहयोग गर्नुपर्‍याे, देशमा गएर।’

‘हो दाइ। यौटा सिनेमा लिएर आएको बसाइ अलि लामै भयो। अब फर्किने।’

उनले अगाडि भने, ‘तपाईंको बाबा (केवलपुरे किसान) का क्रान्तिकारी गीत/कविता जनयुद्धकालमा कतिपय कमरेडले कण्ठै पारेका थिए। हिजो मात्रै हङकङका एक जना कमरेडले उहाँको छोराको त हङकङमा रेस्टुरेन्ट छ भनेर सुनाएका थिए। खबर नगरी यसो खाना खान आएको।’

उठेरै छोटो वार्तालाप भयो।

त्यसपछि प्रचण्ड र कृष्णबहादुर महराको हङकङ आगमनचाहिँ निकै चर्चित रह्यो, हङकङ र नेपाल दुवै ठाउँमा। एनआरएनए हङकङका तत्कालीन अध्यक्ष त्रिलोक गुरुङलाई हङकङ एनआरएनएका तर्फबाट निमन्त्रणापत्र पठाइदिन छोटो समयमै अनुरोध आएको रहेछ, प्रचण्डको सचिवालयबाट। त्यतिबेलाका प्रचण्ड, अझ अहिल्यै भए पनि हुँदैन, मिल्दैन भन्ने कसले? त्रिलोक गुरुङका ठाउँमा जो भए पनि त्यही नै गर्ने हो। अर्थात् उनीहरूलाई व्यक्तिगत कारण हङकङ आउनुपरेको तर पार्टीले सोधेका खण्डमा त जवाफ चाहिने।

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को निमन्त्रणामा अन्तरक्रिया कार्यक्रममा भाग लिने बहानामा क्याथे ड्रागनबाट हङकङ ओर्लिए, ७ जनवरी २०१० मा नेताद्वय। होलिडे इन होटलमा केहीबेर विश्राम गरेपछि चिमसाचुइकै मेरिनार्स क्लबमा बिहानको नास्तासहित मिटिङ राखिएको थियो, हङकङका गन्यमान्य र चल्तापुर्जाहरूसँग। जे होस्, प्रचण्डसँग भेटघाट र अन्तरक्रिया गर्न पाइने भएपछि निर्धारित समयमै आइपुगे, निम्ता पाएका जति सबै जना।

प्रसन्न मुद्रामा आइपुगेका प्रचण्ड र महरालाई कसैले पुष्पगुच्छा, खादा त कसैले नमस्कार गरेर स्वागत गरे। सबैले आआफ्नो परिचय दिएपछि उनले देशको विकसित राजनीतिक परिस्थितिबारे आफ्ना भनाइ राखे। अझ उनले नेपाल पुगेपछि चाँडै यौटा खुसीको खबर सुन्न पाउनुहुनेछ भन्दै बाँकी भनाइ सबैको कुरा सुनेपछि राख्ने भन्दै बिट मारे। 

Prachanda HK2

तब सानो अन्तरक्रिया सुरु भयो।

प्रचण्डको छोटो भनाइप्रति लक्ष्य गर्दै एक सहभागीले प्रश्न गरे, ‘अहिले तपाईंहरू माधव नेपालको सरकार ढलाउने योजना बनाउँदै हुनुहुन्छ, सायद। तपाईंहरू सत्तामा गएपछि उहाँहरूले पनि त्यस्तै गर्नुहुन्छ। यसले जनता वाक्कदिक्क भइसके। यसरी सरकार ढाल्ने र बनाउने खेल कहिलेसम्म?’

अर्का सहभागीले हात उठाए र सोधे, ‘कम्तीमा यो नेपाल बन्दचाहिँ बन्दै गरे कसो होला? हङकङको जिम हलमा चिनियाँले हाम्रो देशको समाचार भएको चाइनिज पत्रिका नाकअगाडि ल्याएर देखाउँछन्। पर्यटकहरू ठेलागाडा र रिक्सामा विमानस्थल आउन बाध्य छन्, नेपाल बन्दका दिन। अनि कसरी हुन्छ विकास? यो कहिलेसम्म!’

अर्का सहभागीले हात उठाए। उनले ‘किन सबै नेता हङकङ आउँदा आफू र आफ्नो पार्टी ठीक, अरू सबै बेठीक भन्छन्। खै, राजनीतिक स्थिरता? अनि कसरी आउँछ विदेशी लगानी?’ 

हुन त प्रचण्ड यो अन्तरक्रियाका लागि आएका थिएनन्। बस्, आउने एउटा निहुँ चाहिएकाे थियो। हङकङको गैरआवासीय नेपाली संघले पठाएको पत्र उनका पुत्रले त्यतिबेला सामाजिक सञ्जालमा राखेपछि तर्क/वितर्क छताछुल्ल भइसकेका थिए, उनी हङकङ ओर्लिंदासम्म। उनले यो खालका प्रश्न वा आलोचना सोचेका थिएनन्, सायद।

परिस्थिति र वातावरण हेरेर मान्छेहरूलाई ‘कन्भिन्स’ गर्न खप्पिस प्रचण्डले मुखमा आँ गरिसकेको खानाको चम्चा प्लेटमा राखेर भने, ‘विदेशमा बसेर पनि देशप्रतिको तपाईंहरूको चिन्ता देखेर म असाध्यै प्रभावित भएँ, मने तपाईंहरूको यो शुभेच्छा खेर जान दिने छैन। प्रतिगामी र पश्चगामी हामीलाई बारम्बार प्रहार गर्दै छन्। उनीहरूविरुद्ध संघर्ष गर्दै अगाडि बढ्नु आजको ठूलो चुनौती हो।’

छोटो भनाइ राखेपछि उनले भनाइको बिट मारे। महरा खासै बोलेनन्।

नेपालमा त्यतिबेला जहाँ पनि किलोका किलो फूलका माला, जयजयकार र जिन्दावाद सुनेका प्रचण्डलाई हङकङको यो अन्तरक्रिया अलि खल्लो महसुस भइरहेको उनको मुखाकृतिले देखाउँथ्यो, बिदा हुने बेला।

मेरिनार्स क्लबबाट बिदाइको करिब ४ घण्टापछि लावालस्कर लिएर जोर्डन रोडको चाइना बैँककाे बिल्डिङको सत्रौं तलामा उक्लिए प्रचण्ड र महरा। जहाँ प्रचण्डको हातको अबिर लगाएर माओवादी पार्टीमा प्रवेश गर्न आतुर हङकङेली नेपाली प्रतिक्षारत थिए। अरू राजनीतीक पार्टी वा विचारमा आस्था राखे पनि प्रचण्डलाई हेर्न र उनका भाषण सुन्न मात्र चाहनेहरूको पनि बाक्लै भीड लागेको थियो।

साठी-सत्तरी जना जतिले हात उठाएर मुट्ठी कस्दै अबिर लाए, उनको हातबाट। जसमा पूर्ववामपन्थी पार्टीमा आस्था राख्नेको जमात थियो। नवप्रवेशीमध्येबाट एक जनाले प्रतिबद्धता र भनाइ राखिसकेपछि प्रचण्डको भाषणसँगै कार्यक्रम सकियो। त्यसपछि दुवै नेता कालो सिसाको गाडी चढेर अज्ञातस्थलतर्फ लागे भनेर निकै चर्चा/परिचर्चा भए। सामाजिक सञ्जाल र व्यक्तिगत अड्कलबाजीमा कसैले चिनियाँ अधिकारीसँग विशेष गोप्य भेट भनेर चर्चा गरे, कतिले त हङकङको बैंकमा पैसा राख्न आएको भनेर दाबी गर्न पनि छाडेनन्।

त्यतिबेला चीन र हङकङबाट नेपालको नागरिक दैनिकमा रिपोर्टिङ गर्थे, पूर्ण बस्नेत। काठमाडौं फर्किन हङकङको एयरपोर्ट जाने क्रममा प्रचण्ड र महरा चढेको कारको बीचमा बसेर उनले प्रचण्डसँग गरेको अन्तर्वार्ता भोलिपल्ट नागरिक र रिपब्लिका दैनिकमा छापियो। बस्नेतले चिनियाँ अधिकारीसँग प्रचण्डले गरेको गोप्य भेटघाटबारे सोधेनन् वा सोधेर पनि खुलाउन चाहेनन्, उनै वा प्रचण्ड जानुन्। यसरी बिहान आएर बेलुका नै काठमाडौं फर्के प्रचण्ड र महरा।

दोस्रोपटक ३ अगस्ट २०१६ मा चीनको भ्रमणपछि हङकङ हुँदै नेपाल जान लागेका प्रचण्ड विमानस्थलबाट बाहिर आएनन्। बरु उनलाई स्वागत र बिदाइ गर्न ६ जना हङकङेली नेपालीको समूह विमानस्थलस्थित होटलको सभाहल पुगेको थियो।

Prachanda HK3

२०१६ अक्टोबर ३० का दिन तत्कालीन माओवादीका पूर्वनेता ड. बाबुराम भट्टराईले पनि चीनको सेन्जेनबाट नेपाल फर्कने क्रममा हङकङको बाटो पार गरेका थिए। तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक भट्टराईसँग याउमातेई कम्युनिटी हलमा साक्षात्कार कार्यक्रम राखेका थिए, उनकै पार्टीका हङकङेली अगुवाहरूले।

कतिपयले मूल पार्टी छाडेर भट्टराईले गल्ती गरेको भने पनि प्रधानमन्त्री हुँदा उनले गरेका केही राम्रा काम र बौद्धिक व्यक्तित्वका कारण सबै तह र तप्काका मानिसको राम्रै भीड थियो। पार्टीमा नवप्रवेशीलाई खादा लगाइदिनाका साथै आफ्ना विचार राखेका थिए, भट्टराईले। त्यतिबेलाको उनको नयाँ शक्ति विभिन्न मोड हुँदै अहिले आएर अरू शक्ति र नेतासँग मिल्दै जसपा अर्थात् जनता समाजवादी पार्टी बनेको छ।

प्रचण्डको माओवादी पार्टी र एमाले मिलेसँगै हङकङमा पनि पार्टी एकीकरण भएको छ, अहिले। कुनै बेला कांग्रेस भनेकै कोइराला र कोइराला भनेकै कांग्रेस भनिएजस्तै प्रचण्ड भनेकै नेकपा माओवादी र नेकपा माओवादी भनेकै प्रचण्ड भए पनि अब त्यो स्थिति रहेन।

हालसालै जीवराम भण्डारीसँगको ‘सत्य संवाद’ कार्यक्रममा कुनै समय प्रचण्ड र माओवादी पार्टीलाई मान्ने लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाको भनाइ म यहाँ उधृत गर्न चाहन्छु, ‘नेपालको इतिहासमा प्रभाव पार्ने व्यक्तित्वहरू पृथ्वीनारायण शाह, जंगबहादुर राणा, महेन्द्र शाह, बीपी कोइराला पछि प्रचण्ड विलक्षण प्रतिभाका लाग्थ्यो। तर संयोग दुर्योग वा कागतालीले त्यहाँ पुगेका प्रचण्ड अहिले दूरदर्शीता, बौद्धिकता, नैतिकता तथा दृढतामा धेरै निम्छरो लाग्छन्। जनयुद्धताक र पछिसम्म पनि उनका माग र बुँदामा कठोर आलोचक केपी ओलीलाई पार्टीको सिरीखुरी सम्पत्ति बुझाएको दिनदेखि नै प्रचण्डको पतन सुरु भएको हो।’

गीटीको थुप्रोजस्तै कहिल्यै एक नभएको र नहुने नेकपा पार्टी फुट्ने चिन्ता र हल्लालाई संग्रौला इतिहासकै ठूलो ‘जोक’ मान्छन्। जे होस्, आआफ्नो अर्थ्याइ हो। यौटै विचार, सबै व्यक्ति र पार्टीलाई यौटै नलाग्न सक्छ।

म भने हङकङमा तिनै पुराना दिन सम्झिँदै र तस्बिर हेर्दै देशबारे सोचमग्न छु। विकसित राजनीतिक घटनाक्रम हेर्दा प्रचण्ड अहिले बाढी आएको ठूलो नदीको भंगालोबीचमा छन् जस्तो लाग्छ, मलाई। न अगाडि बढ्न सजिलो छ न पछाडि फर्किन नै।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .