हङकङमा सुशील कोइरालासँग प्रस्ताव- राजालाई अब भुइँमा राखिदिए हुन्न?

हङकङमा सुशील कोइरालासँग प्रस्ताव- राजालाई अब भुइँमा राखिदिए हुन्न?

कमल पौड्याल
काठमाडौं, असोज २३

हङकङबाट करिब ५ वर्षअगाडि बसाइँ सरेर अस्ट्रेलियाको मेलबर्न जानुभएका पुराना मित्र हरि कार्कीसँग प्राय: बिहानको चिया पिउँदै फोनमा कुराकानी हुन्छ। विषयवस्तु भने विश्व राजनीति र अर्थतन्त्र हुने गर्छ, खासगरी अहिलेको परिप्रेक्ष्यमा।

विश्व राजनीति र अर्थतन्त्रमा विशेष प्रभाव राख्ने अमेरिकाकाे चुनावबारे चर्चा हुँदा मैले भनेँ, 'ट्रम्पभन्दा पनि पाका उमेरका जो बाइडन शारीरिक रूपमा निकै कमजोर र अशक्त  देखिन्छन्। अमेरिकाकाे निर्वाचन आयाेगले आयाेजना गर्ने  दुई उम्मेदवारबीचकाे बहसमा, हिलारी क्लिन्टनलाई समेत आच्छुआच्छु पारेका ट्रम्पसँग बाइडनले कसरी विवाद जितेर मतदाताहरूलाई प्रभाव पार्लान्, गाह्राे देख्छु म त।’

ट्रम्प कूटनीतिमा परिपक्व राजनेता वा राष्ट्रपतिभन्दा पनि बढी सन्काहा कुस्तीबाजजस्ता लाग्छन् मलाई। पत्रकार सम्मेलनमै आफूलाई मन नपर्ने प्रश्नकर्तालाई 'यु आर फेक जर्नलिस्ट, फ्रम फेक न्युज’ भन्दै कोटको टाँक फुकालेर झम्टिन खोज्ने उनको बानी सबैले देखेकै हो।

बरू याे नाेभेम्बरमा हुन लागेकाे राष्ट्रपतीय निर्वाचनमा न्युयोर्कको सिनेटर एन्ड्रयु कोमोजस्तो कोही उठाएको भए राम्रो हुन्थ्यो। कमसेकम अहिलेको विश्व, ट्रम्पशैली वा दादागिरीबाट मुक्त भई अलि शान्ति त हुन्थ्यो कि? अझ आफूलाई अर्कै ग्रहबाट आएको जस्तो गरेर विवादास्पद बयान दिँदै मास्क नलगाई हिँड्ने उनी र उनकी पत्नीलाई समेत हालसालै संक्रमण भएपछि विश्व सञ्चार झनै ट्रम्पमय भएको छ। अझ उनले भारतमा बनेकाे क्षयरोगको औषधिले निको भयो भने पनि आश्चर्य मान्नुपर्ने छैन।

मभन्दा विश्व राजनीति र अर्थतन्त्र राम्रोसँग बुझेका हरि कार्कीले भने, 'कमलजी 'त्यहाँको डेमोक्रेटिक पार्टीमा पनि क्लिन्टन, बाइडनलगायत यौटा सभ्रान्त समूह छ, जो सकभर आफ्नै वरिपरि सत्ता घुमाउन चाहन्छ। एन्ड्रयु कोमो मात्रै हैन, एकसे एक सक्षम डेमोक्र्याट अधबैँसे र युवा प्रशस्तै छन्। तर उनीहरू नेतृत्व सुम्पन चाहँदैनन्। अर्को मूल कुरा सम्भ्रान्त व्यवसायी, धनीमानी आफ्नो स्वार्थ मिल्ने उम्मेद्वार नभए पार्टी र चुनावका लागि प्रमुख आवश्यकता आर्थिक सहयोग गर्दैनन्।’

हो, अमेरिका मात्र हैन, विश्वकै राजनीतिमा राम्रो मान्छेभन्दा हाम्रो मान्छे हावी थियो र छ। दक्षिण एसियाकै कुरा गर्दा श्रीलंकामा बन्दरा नाइके, कुमारतुंगा परिवार हुँदै पछिल्लाे समय राष्ट्रपति र प्रधानमन्त्री दुवै पद राजपाक्षे दाजुभाइको वरिपरि घुमिरहेकाे छ।

छिमेकी मुलुक भारतकै सत्तामा लामो समय गान्धी परिवारकाे वर्चस्व रह्याे।  मोदीको उदयपछि मात्र क्रमभंग भएको हो। तर पनि गान्धी परिवारको विरासत भने अन्त्य भएको छैन। बंगलादेशमै पैतृक विरासतमै शेख हसिना र बेगम खालिदा जियाको वरिपरि सत्ता घुमेको दशकौं भइसक्यो।

उनीहरूले जोडतोडले आफ्ना पारिवारिक उत्तराधिकारी तयार गर्दै छन्। राजनीतिमा अघोषित भित्री र बाहिरी रूपमै सैनिक हस्तक्षेप भइरहने पाकिस्तानमा भने भुट्टो र सरिफ खानदान पाखा लागेको छ। पाकिस्तानका लागि सेनाको आशीर्वादबाट सत्ता परिवर्तन भइरहनु नयाँ कुरा हैन। 

शाह, राणा र फेरि शाह हुँदै गणतन्त्रमा प्रवेश गरेको नेपालमा पनि हरेक राजनीतिक पार्टीको शक्ति विकेन्द्रीकरणमा राम्राेमा भन्दा हाम्रामा मात्रै पार्ने चरम होडबाजी जगजाहेर छँदै छ। पारिवारिक विरासतमै वामपन्थीहरूको वर्तमान हेर्दा हाल राष्ट्रपति विद्या भण्डारी, नेतृ साहना प्रधान र पछिल्लो समय पोखराबाट निर्वाचित सांसद विद्या भट्टराईसम्म आइपुगेको छ। सत्तरी वर्षको हाराहारीका सबै पार्टीका नेताको विरासत ५० कटेका युवा पुस्ता वा आफ्नै शाखा सन्तानका नातेदारमा जान्छ, हेर्न बाँकी छ।

शाखा सन्तान, नातेदारमै भागबन्डा दिने सबैभन्दा अग्रगामी छलाङमा नेता प्रचण्ड देखिन्छन्। त्यसैगरी दक्षता, योग्यताभन्दा पनि आफ्नो शक्ति सुदृढीकरणमा कसले सहयाेग गर्छ, उसलाई काखी च्यापिराख्नु अहिलेका प्रधानमन्त्रीको विशेषता हो। नेपाली कांग्रेसमा भने कोइराला परिवारको क्रमभंग भएको लामै समय भयो।

नेपालको इतिहासमै  विशेष प्रभाव पार्न सफल कोइराला परिवारकाे विरासत कृष्णप्रसाद कोइरालादेखि मातृका, बीपी, सरोज, कमल, प्रकाश, गिरिजा हुँदै सुशील कोइरालासम्म आइपुग्दा करिब-करिब अन्त्य भएजस्तो लाग्छ। पिताको राजनीतिक रगजगमा उपप्रधान तथा परराष्ट्रमन्त्रीसम्म भएकी सुजाता कोइरालाको पुनरागमन त्यति सम्भव देखिन्न। पछिल्लो समय हङकङ आउँदा लोहास पार्कमा मित्र दुर्गा गुरुङले आयोजना गरेको रात्रिभोजमा उनीसँग लामै कुराकानी भएथ्यो, उपस्थित सबैसँग। उनी अब राजनीतिमा भन्दा जीपी फाउन्डेसनतिरै  समय बिताउने सोचमा देखिन्थिन्।

SushilKoirala hk2

यस्तै डा. शंशाक काेइराला हङकङ आएका बेला उनीसँग राति अबेरसम्म रमाइलो गफगाफ भएथ्यो, कंगन रेस्टुरेन्टमा। त्यो रात जम्मा भएका लगभग सबैले सुनेका तर नदेखेका उनका पिता बीपी कोइरालाबारे धेरै रोचक कुरा सुनाए। छोटो बसाइमै पनि उनले फेरि कोइराला परिवारबाटै नेपाली कांग्रेसको नेतृत्व लेलान् जस्तो लाग्दैन। कोइराला परिवारकै अर्का नेता शेखर कोइरालासँग भने हङकङ आउँदा छोटो भेटघाट भएथ्यो। देउवाका समकालीन रामचन्द्र पौडेलजस्तालाई समेत भीमसेनले हनुमानको पुच्छर उचाल्न नसकेझैँ भएको अहिलेको कांग्रेस राजनीतिमा शेखरको पुनरागमनको सम्भावना कम देखिन्छ।

कोइराला परिवारकै अर्का सबैभन्दा पछिल्ला उच्च नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग हङकङको भेट भने अवीस्मरणीय रह्यो। जसले जे भने पनि उनकै कार्यकालमा देशले यौटा ठूलो राजनीतिक निकास पायो। तत्कालीन प्रधानमन्त्रीको हैसियतले विदेशी दबाबका बाबजुद संविधान जारी गर्ने जुन आँट गरे त्यो प्रशंसायोग्य छ भन्ने कांग्रेसइतरका पनि प्रशस्तै छन्।

अब लागौं,  संस्मरणतर्फ। सन् २००० तिर हङकङमा जागिरे जीवनबाट व्यावसायिक जीवनमा वामे सर्दै गर्दा चिम्साचुई मस्जिदको पारिपट्टि 'हेम्फ्री  एभिन्यु'को पहिलो तलामा सानो रेस्टुरेन्ट चलाउँथे, साझेदारीमा। कुलप्रसाद गुरुङ फुर्सदमा फोन गरेर चिया पिउन आउँथे। नेपालसहित विश्व राजनीतिबारे गफ गर्थे।

एकदिन उनकाे फोन आयो- ‘सर नमस्कार!’

‘नमस्कार!’

‘फुर्सद भए चिया पिउन आउँ त्यतातिर भनेर।’

‘हुन्छ आउनुस् न खाली नै छु।’

केही बेरपछि आइपुगे, तर अरू दुई जनासहित।

ढोकाबाट पस्नेबित्तिकै मैले चिनिहालेँ। नमस्कार गरेँ। अग्लो कद, साधारण पहिरन, सेतै फुलेका दारी, चाउरी पर्दै गएको मुहार, चस्माभित्रका चम्किला आँखा। केही समयअगाडि मात्र राजा ज्ञानेन्द्रको तानाशाही शासनविरुद्ध आन्दोलन गर्दा रत्नपार्कमा चिसो पानीको फोहराले हानेपछि उनको कामेको जीउ र अनुहार सजीव भएर आयाे।

आफ्नो परिचय दिँदै हात मिलाएँ। 

‘अनि उहाँचाहिँ?’

‘डा. सुरेश चालिसे। उहाँचाहिँ पार्टीको विदेश विभाग प्रमुख।’

सबै बस्याैँ।

‘के खाउँ खाना या चिया?’

‘यौटा कालो चिया मलाई। यौटा प्लेन सलाद पनि। चाइनिज खाना त खाइयो, तर नेपालको भन्दा अलि फरक, पेट अलि कस्तो-कस्तो भयो।’

मैले हवस् भनेँ।

अरूले मसला चिया रोजे। चिया र सलादको अर्डरसँगै गफ सुरु भयो।

‘अनि कमल बाबुचाहिँ हाम्रो जनसम्पर्कमा के पदमा हुनुहुन्छ,’ कोइरालाले सोधे।

मैले उत्तर दिन नपाउँदै कुलप्रसादले भनिदिए, ‘उहाँ कहीँ कतै हुनुहुन्न। बरु लेख/कविता/ साहित्य लेख्नुहुन्छ।’

मैले थपेँ, ‘विद्यार्थीकालमा ४०/४१ सालतिर अखिलको झण्डा उचालेकै हो। तर अहिले सम्झँदा सतही बुझेर/नबुझेर लहैलहैमा लागिएछजस्तो लाग्छ। कुनै राजनीतिक पार्टीमा सदस्यता वा सक्रियता छैन। पार्टी जुनसुकै भए पनि मान्छेकाे सिद्धान्तजस्तै व्यवहार पनि असल हुनुपर्छ भन्ने मान्यता राख्छु। एकपटक मात्रै नेपालको चुनावमा जनपक्षीय उम्मेदवार भनिएका पद्मरत्न तुलाधरलाई सूर्यमा भोट पनि हालेको हो। त्यसपछि विदेशको विदेशमै भइयो। बरु अहिले नेपाल जाँदा चुनावताका परे तपाईंहरूकै पार्टीको फलानोलाई यौटा भोट हाल्न मन छ।’

मैले नाम दिएका मान्छेबारे उनले घुमाउरो तरिकाले असन्तुष्टि जाहेर गरे। र, भने, ‘बाबु हङकङ बस्नुभएको १५ वर्ष भएछ। देशको राजनीति र नेताको चालढाल व्यवहार तपाईंहरूले विदेशबाट हेरेरबुझेजस्तो छैन्। सबै पार्टीभित्र ठूलठूला खुंखार राष्ट्रवादी र निकै ठूलो स्वरले यौटा भाषण गर्ने र विदेशी दूतावासमा हाजिरी जनाउँदै भत्ता खाने पनि छन। गाह्रो छ काम गर्न र जनताले बुझ्न।’ 

यति भन्दा उनको मुहारमा कुनै बनावटीपन थिएन। बरु प्रजातन्त्र र लोकतन्त्र भन्दै गर्दा अलि कतै हराएजस्तो। निराश र थकितजस्तो देखिए।

मैले जिज्ञासा राखेँ, ‘तपाईं‌ त प्रजातन्त्ररलोकतन्त्र भनेरै पूरै जीवन बिताउँदै हुनुहुन्छ। यौटा कुरा भन्न मन लाग्यो, भनौँ?’ 

अवश्य, उनले भने।

मेरो थोरै बुझाइमा नेपाली कांग्रेसले जहिले पनि राजतन्त्र वा राजालाई काँधमा बाेक्याे। तर राजाले कांग्रेसलाई सधैँ लात्ताले हाने। यस्तो राजालाई भुइँमा राखिदिए हुन्न र?

उनले भने, हो, बाबुले एकदम सही भन्नुभयो। अब त्यो बेला आएको छ।

धेरै सुन्ने, कम बोल्ने स्वभावका डा. चालिसेलाई पनि मेरो भनाइ घत परेछ। उनले बीपीको जीवनकाल, राष्ट्रिय मेलमिलाप, राजतन्त्र र नेपाली कांग्रेसबारे छोटो चर्चा गरे।

आज थाकियो, अब लागौं होला, कोइरालाले भने।

भोलि के छ प्रोग्राम छ? मिल्छ भने बेलुका खाना खान यहीँ आउँन, मैले अनुरोध गरेँ।

अरू निम्ता पनि छ। हेरौं, के कसो हुन्छ भन्दै बिदा भए त्यो रात।

भोलिपल्ट दिउँसो फोन आयो कुलप्रसादको।

ल कमलजी, दिउँसो र बेलुकाको भेटघाट सकिएपछि खाना खानचाहिँ कमल बाबुकोमै जाने भन्नुभाको छ सुशीलदा र डा. चालिसेले। तपाईंको गफ मनपर्‍याे रे!

ल राम्रो।बेलुका भेटौँला।

बेन्जु पनि फुर्सदिली थिइन्, त्यो दिन।

‘लौ आज सुशील कोइराला खाना खान आउँदै हुनुहुन्छ, तिमी पनि हिँड है,’ मैले उनलाई भनेँ। 

‘खै, म राजनीति त्यति बुझ्दिनँ। मन पनि पर्दैन,’ उनले अनिच्छा प्रकट गरिन्। 

मैले कर गरेँ, राजनीति भन्दा पनि व्यक्तिगत जीवन र स्वार्थभन्दा प्रजातन्त्र/लोकतन्त्र भन्दाभन्दै निधारमा चाउरी र  कपाल फुलाएका नेता हुन्। पहिले कुरा सुनन तिमी पनि!’ 

अन्तत: पिता वियोगको शोकमा डुबेकी उनले सहमति जनाइन्।

बेलुका कोइराला पुनः आइपुगे। रातिको खानासँगै लामै गफगाफ भयो त्यो दिन। पिताजी 'केवलपुरे किसान' भन्ने थाहा पाएपछि वनारस प्रवासको आक्कलझुक्कल भेट भएको स्मरण गरे, केवलपुरमा पिताजीको हलो क्रान्तिबारे पनि सुनेका रहेछन्।

अझै खुलेर विचार विमर्श भयो।निकै आत्मीयतापूर्वक नेपाल आउँदा भेट्न अनुरोध गर्दै बिदाबारी भइयो।

अन्ततोगत्वा नेपाली कांग्रेसले समेत वामपन्थीसँग मिलेर काँधका राजालाई भुइँमा राखिदियो र गणतन्त्र आयो देशमा।

गणतन्त्रपछि पनि लामो समय देशले राजनीतिक निकास पाएन। अन्त्यमा उनकै नेतृत्वको सरकारले देशको पहिलो गणतान्त्रिक संविधान जारी गर्‍याे। यसका कमीकमजोरी पनि होलान्। आशा गरौं- जुन बिस्तारै सच्चिँदै जाला।

नेपालको इतिहासमा कृष्णप्रसाद भट्टराईपछि प्रधानमन्त्री निवासबाट दुइटा पुराना नोकिया माेबाइल, हातका औंठी, केही जोर कपडासहित यौटा बाकस बोकेर निस्किने उनी दोस्रा नेता थिए। त्यसपछि आफ्ना भतिज डा. शशांककाे घरको डेरामै उनकाे निधन भयाे। उनको रहस्यमय मृत्युबारे शंका/उपशंकाका खबर पनि आए। 

सुशील कोइरालाप्रति मेरो धारणा सबैलाई चित्त नबुझ्न सक्छ। कतिकाे बुझाइमा उनी धेरै ठूला राजनेता नलाग्लान्। तर उनी जीवनभर लोकतन्त्र भन्दै अविवाहित जीवन बिताउने र निजी सम्पतिकाे पटक्कै लोभ नगर्ने देशका एक इमान्दार सपुत अवश्य थिए।

गत महिना उनको स्मृति दिवस थियो।

पुनः हार्दिक श्रद्धाञ्जली श्रद्धेय नेतालाई!

असोज २३, २०७७, शुक्रबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .