हङकङमा ओलीले ५० डलरको कोट लगाएपछि

हङकङमा ओलीले ५० डलरको कोट लगाएपछि

कमल पौड्याल
हङकङ, मंसिर १७

आजसम्म कसैले नचालेको नयाँ-नयाँ कदम खोजी खोजी चाल्दै छ
उसलाई थाहा छ, समृद्धिले बाच्छी पाउनै आँट्यो
दूध दुहुन बाल्टिन पखाल्दै छ
उसलाई थाहा छ, खरानी बेचेपछि पैसा आउँछ त्यसैले ऊ घर बाल्दै छ
सरकारलाई गाली नगरन जनता हो
ऊ कात्रोमा खल्ती हाल्दै छ

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संस्मरणको सुरुमै यस्तो कविताका हरफ देख्दा पाठकलाई लाग्न सक्छ- पक्कै यो (पंक्तिकार) नेकपाभित्रकै अहिलेको घनघोर प्रतिपक्षी हुनुपर्छ।

तर त्यस्तो पटक्कै हैन। जीवनको आधाभन्दा बढी समय विदेशमा बसे पनि देश भ्रष्टाचारमुक्त, सुशासनयुक्त, समृद्ध होस् भन्ने शुभचिन्तकचाहिँ पक्कै हो।

हालसालै टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ अन्तर्गत तिहार शृंखला अलि फरक ढंगले प्रस्तुत गरे। जसमा वरिष्ठ कवि अर्जुन पराजुली र युवा गजलकार प्रदीप ‘रोदन’ को प्रस्तुति विशेष थियो।

माथिको व्यंग्य कवितांश मेरा प्रिय कवि अर्जुन पराजुलीले लेखेका हुन्।

रवि लामिछानेसँगको वार्तालापमा कवि पराजुलीले भने, ‘सैद्धान्तिक रूपमा व्यवस्था प्राप्त गर्यौं तर व्यवस्थापक चुन्न चुक्यौँ। घडेरी राम्रै किन्यौं, तर इन्जिनियरले घर गलत बनाइदिए। भोटोमा खल्ती हाल्न नपाउने जनताको कात्रोमा नेताले खल्ती हाल्दै छ।’

तर पनि कवि पराजुली आशावादी छन्।

अगाडि भन्छन्, ‘गणतन्त्रको विकल्प छैन, तर अब खराब नेताको विकल्प खोज्नुपर्छ र नयाँ चुन्नुपर्छ जनताले।’

यसमा दोषी केपी ओली मात्रै हुन् त? इतिहासका विविध कालखण्ड र अझ पछिल्ला केही वर्षयता प्रधानमन्त्री खड्गप्रसाद ओली विविध कारण राजनीतिक चर्चाको शिखरमा छन्। शाहीतन्त्रको अन्त्यपछि कुनै बेला गिरिजा र प्रचण्डजस्तै अहिले ओली राजनीतिको मियो बनेका छन्। उनले यसो गर्नुपर्ने, यसो नगर्नुपर्ने एकदम सही वा एकदम गलत भन्ने, उनलाई देवत्वकरण वा दानवीकरण गर्ने र निष्पक्ष विश्लेषक आआफ्ना कित्तामा त छँदै छन्।

देशमा, एकपछि अर्को काण्डको खुल्लमखुला ढाकछोप र जनताका दुःखकष्ट हेर्ने नेताहरूको ध्यान राजनीतिक कुर्सीको किचलोमा देख्दा जो कोही नेपालीलाई दुःख लागेर आउँछ। यसबारे पछि चर्चा गरौंला। पहिला संस्मरणतर्फ।

समय समयमा ओलीको राजनीतिक ग्राफको उतारचढावसँगै हङकङका सामाजिक सञ्जालमा उनीसँगका तस्बिर र भनाइ हेर्दा उनी ५/६ पटक हङकङ आएको देखिन्छ। दुईपटकको उनको भ्रमणचाहिँ मलाई पनि राम्रैसँग याद छ।

पहिलोपटक उनी हङकङ आउँदा पार्टीमा माधव नेपाल र उनका पक्षधरको हालीमुहाली थियो। ओली अल्पमतमा थिए। जतिबेला प्रचण्डको नेतृत्वमा माओवादीको सरकार थियो। ओलीले सायद जापानबाट नेपाल फर्किने क्रममा हङकङको बाटो पारेका थिए। जोर्डनस्थित शिवबहादुर केसीले सुरुवात गरेको तत्कालीन ‘नाचघर’ रेस्टुरेन्टको माथिल्लो तलामा हङकङको पार्टी कमिटीले राखेको भेटघाट/अन्तरक्रियामा म पनि रमिते थिएँ।

उतिबेला ओली, माओवादीका कट्टर आलोचक मानिन्थे। ‘कुन्साङ काका’ आफ्ना हरेक लेखमा उनको धज्जी उडाउँथे। तर केही राजनीतिक विश्लेषक र एमालेमा उनका खेमा पार्टीमा ओली नभएका भए माओवादीले एमालेलाई उहिल्यै निलिसक्थ्यो भन्थे/भन्छन्।

खचाखच भरिएको हलमा सबैको परिचय आदानप्रदानपछि उनले आफ्ना धारणा राख्न सुरु गरे। आधाभन्दा बढी सयम उनले माओवादीको खरो आलोचनामा खर्चिए।

क्रमशः ‘खै उहाँहरू त एक लाखको पलङमा सुत्नुहुन्छ क्यारे आजकल’ भन्दै गर्दा एकजना हङकङे कमरेडले बीचमै हात उठाए र भने, ‘कमरेड अरूको पार्टीको मात्र हैन, हाम्रो पार्टीको पनि कुरा गरौं।’

अहिलेका ओली भए ठाउँको ठाउँ त्यही बेलै प्रश्नकर्ताको झ्याँको झार्थे होालन्। तर उनले विषयवस्तु मोड्दै भनाइको बिट मारे।

त्यसपछि अन्तरक्रियामा पार्टीभित्र गुट/उपगुटको जुहारीदेखि एक जना उतिबेला मझौला र अहिले ठूलै एमाले नेता तथा मन्त्रीले चिनी आयातमा गरेको भ्रष्टाचारबारे प्रश्नको ओइरो नै लाग्यो।

गोलमटोल जवाफ दिँदै कार्यक्रम सके र दूतावासको मोटरमा अन्य भेटघाट, घुमघामका लागि निस्किए। त्यो दिन दिउँसो भएको अन्तरक्रियाबारे निकै चर्चा/परिचर्चा भए, पछिसम्म। त्यत्रो जेलनेल भोगेका, त्याग/तपस्या गरेका नेतालाई त्यसरी प्रश्न गर्न नहुनेदेखि कार्यकर्ता भनेको नेताको अन्धभक्त मात्रै हैन, यस्तो आँट गर्नुपर्छ भन्नेसम्मका तर्क/वितर्क भए।

केही राजनीतिक बुज्रुकलेचाहिँ ती विवादित मन्त्री ओली पक्षका र प्रश्न गर्ने हङकङे कमरेडचाहिँ माधव नेपाल पक्षका भनेर अर्थ्याए।

दोस्रोपटक उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा सायद चीनबाट नेपाल फर्किंदै थिए। तत्कालीन महावाणिज्यदूत माधवप्रसाद घिमिरे पदोन्नति भएर नेपाल गएपछि अरू कोही नआउँदा किंग्स पार्क भिल्लास्थित उनको निवास लामै समय खाली रह्यो।

हेमलाल भट्टराई कामु थिए। ओलीसँग हङकङका व्यापारी/बुद्धिजीवीको भेटघाट र अन्तरक्रिया गराइदिने मनसायले भट्टराईले खानाको क्याटरिङबारे कुरा राखेका थिए, मसँग। मैले भनें, ‘क्याटरिङ त गरौंला, तर त्यो महावाणिज्यदूत निवास खाली छ, झन्डै ३० हजार हङकङ डलर भाडा रद्दीको टोकरीमा फालेझैं भइरहेको छ, कुरा राख्नुस् न मन्त्रीज्यूलाई।’

हेमलाल थपे, ‘काँ, घरभाडा मात्रै हो र! सित्तै पाए पनि कसैले नलानेजस्तो पुरानो मोडलको टोयोटा पनि छ। मासिक पार्किङ शुल्क २ हजार हङकङ डलर छ। कैयौंपटक महावाणिज्यदूत नआउने भए घर/पार्किङ किन ओगटिरहनु भनेर मन्त्रालयलाई पत्र लेख्यो, जवाफ आउँदैन। कार फालिदिउँ भने बेचेर खायो भन्लान्। गरिब देशको धनी चाला !’

बेलुकी किंग्स पार्कको क्लब हाउसमा कोहीले फूलका गुच्छा, कोहीले खादा र मजस्ता कतिपयले नमस्कार गर्दै स्वागत गर्‍याैँ, ओलीलाई। सबैले आआफ्ना परिचय दिए। औपचारिक भनाइपछि पनि ओली निकै बेर गफिए ठट्यौली पारामा। पार्टी कमिटीका सबै कार्यकर्ता र अन्य चिनेजानेका व्यक्तिलाई छुट्टै भेटे क्यारे अर्को दिन, ओलीले।

२०६८ असोजमा पिताजीको निधनपछि काममा बस्दै गर्दा अन्तिमपटक भेट भएथ्यो, ओलीसँग। पार्टीमा उनको निकै नजिकका धादिङ केवलपुरकै एक जना गाउँले नेता भाइले फोन गरे- कमरेड बेलुकातिर आउँदै हुनुहुन्छ, तपाईंहरूलाई समवेदना दिन।

सुरक्षाकर्मी र दलबलसहित उनी आइपुग्दा टेलिभिजनमा बेलुकाको समाचार आउँदै थियो। ओली बस्नासाथ टेलिभिजनमा देखिएका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र सरीता गिरीप्रति कटाक्ष गरे। अनि शोक पुस्तिकामा समवेदना लेखे र हामीतिर हेरे। भाइ विमलले मौनता चिर्दै ‘आराम हुनुहुन्छ, अनि स्वास्थ्य ठीक छ तपाईंको’ भन्दा निकै बेर मौन रहे र एक्कासि भने, ‘ठीक छ, चाहिनेभन्दा पनि धेरै।’

HK Oli2

उनलाई स्वास्थ्यबारे सोधेको सायद राम्रो लागेको थिएन वा अन्य कुनै कारण त्यति खुसी देखिन्थेनन्। केही बेर नेपालको आन्दोलनमा पिताजीले प्रगतिशील कविको हैसियतमा खेलेको भूमिकाबारे संक्षिप्त चर्चा गर्दै बिदा भए।

नेपालमा जस्तै हङकङमा पनि उनीबारे विभिन्न टीकाटिप्पणी सुनिन्छन्। महाकाली सन्धिकै सेरोफेरोमा रामनाथ ढकालसहित विदेशबाट हङकङ हुँदै नेपाल जान लागेका ओली एक दिन बेलुका चुङकिङ मेन्सनको डी ब्लकको १६ तलामा निम्तो मान्न पुगे। खाना खाँदै गर्दा घीउको कुरा चलेपछि उनले घीउ खान मनाही गरेनन्। घनश्याम ज्ञवालीले सोधे, ‘कस्तो लाग्यो घीउ?’

ओलीले भने, ‘मीठो छ, तर यो गुल्मीको चाहिँ हैन। गुल्मीको घीउको स्वाद मलाई थाहा छ।’

अतीत सम्झिँदै ज्ञवाली भन्छन्, ‘नभन्दै काठमाडौंबाट मगाइएको घीउ नेपाल डेरीको थियो। मनमा कुरा नराख्ने, स्पष्ट वक्ता र पार्टीलाई यो स्थितिसम्म ल्याउन गरेको योगदानका कारण मलाई ओली मन पर्छ।’

सन् ९८ तिर हङकङमा रहँदा जोर्डन नाइट मार्केटनजिकै आफ्नो डेरामा ओलीलाई करिब ११ दिन राखेका इलामेली वसन्त राई (विपिन) लाई अहिलेको राजनीतिक परिवेशमा ओलीबारे खासै ठूलो गुनासो छैन।

त्यतिबेला भिक्टोरिया पिक घुम्न जाँदा ओलीलाई जाडो भएपछि फर्केर नाइट मार्केटमा ५० हङकङ डलरमा कोट किनिदिएको स्मरण गर्दै राई सुनाउँछन्, ‘अहिलेजस्तो भए राम्रो महँगै किनिन्थ्यो होला, तर पनि कोट लगाएपछि उहाँले भन्नुभयो- ल हेर्नुस्, जति परे पनि हङकङमा किनेको पो हो त!’

हङकङमा पटकपटक पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका वसन्त राईलाई, मनमोहन वा मदन भण्डारीसँग दाँज्न नसकिए पनि ओली निर्णय क्षमता र अडान भएका नेता लाग्छन्। राष्ट्रियताको सवालमा पनि लडेका हुन्, तर अहिल्यै पूर्णांक दिन नसकिने विचार राख्छन्, राई।

हङकङका पूर्वमाओवादी नेता तथा पार्टी एकीकरण कार्यदलका पूर्व सदस्य रविन लिङदेनको बुझाइचाहिँ फरक छ, ओलीबारे।

उनी भन्छन्, ‘राजनीतिक इतिहासमा जहाँनिया राणा शासनविरुद्ध जनताले गरेको सशस्त्र संघर्ष, ०२८ को झापा विद्रोह, ०३६ को जनमत संग्रह, ०४६ को जनआन्दोलन, १० वर्षे जनयुद्ध र ०६२-६३ को जनआन्दोलन सबै सर्वसत्तावादी निरंकुश तानाशाहीविरुद्धका संघर्ष थिए। त्यत्रो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि रक्षा गर्दै लोकतान्त्रिक समाजवादतर्फ लाग्नुपर्ने ठाउँमा भएको ‘सिस्टम’ मान्दिनँ भन्नु, पार्टीले निर्णय गरे कडा कदम चाल्छु भन्नु अधिनायकवादी चरित्र हो। पार्टीको निर्णयमा सांसदद्वारा निर्वाचित प्राधनमन्त्रीले सीधै जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आशय पोख्नु अधिनायकवादी चरित्र देखाउनु हो। अधिनायकवादी होइन, नीति, सिद्धान्त, विधि, पद्धति र विधानअनुसार चल्ने जनवादी केन्द्रियताको चरित्र भएको अध्यक्ष तथा प्रधानमन्त्री देशलाई चाहिएको छ।’

जनता समाजवादी पार्टी नेपाल प्रवास विशेष समितिका सचिव हङकङवासी मनोज गौतम महाकाली सन्धि र संशोधनबिनाको एमसीसी पास गर्न गरिएको बलमिच्याइँ नै ओलीको राष्ट्रवाद तौलिने तराजु मान्छन्।

उनका अनुसार संघीयता, १२ बुँदे समझदारी र गणतन्त्र ओलीको चाहना होइन, पद वा फाइदाका लागि उनी बाध्यतावश लतारिएका मात्र हुन्। उनी आफैं राष्ट्रवादी हैनन्, तर कुटिल क्षमताले देखिन खोज्छन्। प्रोपागाण्डामा माहिर ओलीलाई उखानटुक्कासँग मात्रै जोडेर हल्का रूपमा लिनुभन्दा पनि उनले कुन बेला कसरी कुन पत्ति राख्छन् र कुन पत्ति फाल्छन् वा चपाउने र देखाउने दाँत बुझ्न जरुरी छ।

देशको परिस्थिति अहिले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं छ। ओली मरे कुर्सी नछाड्ने अनि अरू कुनै हालतमा उनलाई कुर्सीबाट नहटाई नछाड्ने अहिलेको माथापच्ची हेर्दा उनै कवि अर्जुन पराजुलीको यो कवितांश ऐनाझैं लाग्छ।

राजनीति तिनीहरूको देशमा पनि हुन्छ
राजनीति मेरो देशमा पनि हुन्छ
तिनीहरूको देशमा भाइरसबाट आफ्नो ज्यान जोगाउन राजनीतिले मास्क लगाएर हिँड्छ
मेरो देशमा राजनीतिबाट आफ्नो ज्यान जोगाउन भाइरसले मास्क लगाएर हिँड्छ

बस्। 

 

मंसिर १७, २०७७, मंगलबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .