काठमाडौंको भुइँ छाडेर हङकङ उडेको ३१ वर्षपछि ...

काठमाडौंको भुइँ छाडेर हङकङ उडेको ३१ वर्षपछि ...

कमल पौड्याल
हङकङ, फागुन २२

भिजिट भिसामा हजुर भिजिट भिसामा
भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा !

हालसालै हेर्ने फुर्सद जुरेको चलचित्र ‘दाल भात तरकारी’ को यो गीत निकै चर्चित छ। म आफैं त अझ पर्यटक भिसा पनि हङकङ विमानस्थलमै लिने भनेर कठमाडौंको भुइँ छाडेर पूर्वतिर उडेको ३१ वर्ष भइसकेछ।

यता जति हाड घोटे नि ठिक्क हुन्छ लाउन खान
उता काम गर्‍याे भने पाइन्छ है राम्रो दाम !

हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, आँचल शर्मा र वर्षा राउतलगायतले अभिनय गरेको हास्यप्रधान चलचित्रको उल्लिखित गीतले सबैको मन छुन्छ। जसले अहिलेको पुस्ता विदेशिनुपर्ने बाध्यता उजागार गरेको छ। विदेश मोह, त्यसमा पनि खासगरी अमेरिका मोहमा केन्द्रित छ, त्यो चलचित्रको मूल कथावस्तु।

विदेशिएका सबै नेपालीको एउटै उद्देश्य हो– स्वदेशमा भन्दा बढी कमाउने। त्यसपछि तपसिलका कारण आउन सक्छन्। लामो त्याग, तपस्या, संघर्ष र बलिदानपछि देशमा बल्दै गरेको आशाको दियोमा तेलको सट्टा पानी खन्याउन विश्वास गरिएका राजनेता नै उद्यत देखिएपछि आगामी पुस्ता पनि यसैगरी विदेशिने क्रम जारी रहनेमा शंका छैन।

कोरोना महामारीले बितेको १ वर्षमा लाखौं मानिसले आफ्ना आत्मीयजन गुमाए। बाँच्नेले पनि अकल्पनीय अनुभूति गरे। यसबीच मृत्युको जोखिम, त्रास, चिन्ता के धनी के गरिब सबैलाई बराबर भयो। भारतका खर्बपति उद्योगी मुकेश अम्बानीदेखि बिहार/पन्जाबका गरिब किसानसम्म उही प्रकार र मूल्यको औषधि (खोप) को पर्खाइमा छन्। अझ त्यो सबैभन्दा धनीले होइन, गरिब र ज्येष्ठ मानिसलाई पहिला दिने नीति छ।

जो बाइडेन, भ्लादमिर पुटिन, एन्जेला मर्केल, बोरिस जोनसन, जस्टिन ट्रुडो र एमानुएल म्याक्रोनजस्ता विशिष्ट र शक्तिशाली भनिएका मानिसले पनि हामी सर्वसाधारणले जस्तै मास्क लगाएको टेलिभिजनमा देखियो। बिल गेट्स, विनोद चौधरी, मार्क जुकरबर्ग, ज्याकमादेखि उनीहरूका कम्पनीमा काम गर्ने कनिष्ठभन्दा कनिष्ठ कर्मचारी/कामदारसम्मलाई उस्तै चिन्ताले सतायो– कोरोना संक्रमणले मरिन्छ कि भन्ने।

बितेको वर्षमा कोरोना महामारी नआएको भए, सबैको त्यही बैंक बचत बढ्थ्यो होला, तर उमेर त एक वर्ष घट्थेन। यसरी किन सोचिन्न? अपवाद छाडेर पूरै जीवनलाई धनार्जनकै निम्ति बन्धक राख्ने अहिलेको पुस्तालाई पनि अद्भूत अनुभूति गरायो, कोरोनाले।

मेरो भने यो वर्ष हङकङका लगभग सबै वनजंगल, खोलानाला र खेतबारीमा पदयात्रा, लेखन र परिवारसँग बित्यो। हप्तामा एकदिन हुने छुट्टीलाई ‘बाबा–छोरी डे’ भन्ने सानी छोरी अहिले हरेक दिन ‘बाबा–छोरी डे’ मनाउन पाउँदा दंग छिन्। महामारी नआएको भए भलै खातामा रकम बढ्थ्यो होला, तर त्यसले यो अमूल्य खुसीको पल पक्कै किन्न सकिन्नथ्यो। अझ पहिलोपटक बिनायोजना/उद्देश्य केवल घुम्न र छुट्टी मनाउनकै लागि जन्मघर (नेपाल) सम्म पुगेर आएको एक वर्ष हुन लागेछ।

हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि?

दीप श्रेष्ठले गाएको यो गीतजस्तै ४ दसकपछि ७ समुद्रपारि बस्दा पनि अक्सर सपनाचाहिँ किन जन्मगाउँकै आउँछ अझै ! जन्मभूमि जान्छु, पुग्छु, धित मरुन्जेल घुम्छु भन्दा पनि वर्षमा मुस्किलले ३/४ पटक मात्र पुग्थेँ। सामाजिक सञ्जालले गर्दा गाउँघरका धेरै इष्टमित्रसँग वार्तालाप, पुराना दिन सम्झिँदा, सुन्दा त्यहीँ पुगेको अनुभूति हुन्थ्यो। पछिल्लोपालि भने गाउँ गएर अतीतका एकएक पाना पल्टाउँछु भन्ने सोचेथेँ।

काठमाडौं पुगेको हप्तापछि फुर्सद लिएर भाइ विमल र नजिकका आत्मीय नातेदार एनआर हुमागाईंसहित बिहानै घरबाट हिँड्यौं। ‘केवलपुर जाने भए मलाई पनि नछुटाउनू है’ भनेका थिए, प्राध्यापक साहित्यकार नरनाथ लुइँटेलजीले। कुनै बेला प्रगतिशील भनिने पाक्षिक/मासिक पत्रिकाहरूमा मेरा पिताजी र यी कविबीच परेका कवितात्मक जुहारी निकै चर्चित बनेका थिए। पिताजीको साहित्यिक जीवनीबारे परिवारले भन्दा बढी जानकारी राख्ने र ‘केवलपुरे किसान स्मृति ग्रन्थ’ को सम्पादन यिनै लुइँटेलजी र डा‍. मुकेश चालिसेले गरेका थिए।

काठमाडौंको कलंकीस्थित खड्का गाउँबाट उनलाई लिएर जिप नागढुंगाबाट अघि बढ्यो। गोगनपानी, भिरपानीको डाँडामुनि लम्पसार परेको केवलपुर डाँडो देखियो। म अतीतमा हराएँ, निकैबेर। मुग्लिन–नारायणघाट सडक खुलिसकेको थिएन। तराई वा पूर्वी नेपाल जान त्रिभुवन राजपथ मात्र थियो। फाट्टफुट्ट काठमाडौंबाट पोखरा जाने बसले छोटो दूरीका यात्रु लान मान्थेनन्। लगिहाले पनि भाडा निकै महँगो। एक/डेढ रुपैयाँ भाडामा टाटा ट्रकको छतमा वा पछाडि बसेर नौबिसे वा धार्केमा ओर्लिएर झन्डै ३ घण्टा हिँडेपछि बल्ल घर पुगिन्थ्यो।

गाउँको पुर्ख्यौली सम्पत्ति बेचेर काठमाडौं बसाइँ सरेकै ३७ वर्ष भइसकेछ ! मजस्ता लाखौं मानिस पृथ्वीको यौटा थोप्लो जति यो भूभागमा जन्मिए र मरे, जुन क्रम जारी छ। हाम्रा पुर्खा कहाँबाट कहिले आए? खोरिया खने, बस्ती बसाले? बा, आमा, हजुरआमा छैनन्। पुराना र चिनेका मानिसले फलानाका छोरा भन्नलान्, नयाँ पुस्ताले त चिन्दैनन्। तर पनि किन यो ठाउँसँग यति धेरै माया र मोह छ मलाई ! मन उहिलेको जत्तिकै चञ्चल छ, कतिबेला घर पुगिन्छ भन्ने हुटहुटी उस्तै छ।

नागढुंगामुनि खत्रीपौवा, खानीखोला नौबिसे छिचोल्दै धार्केमा जिप रोकियो। ३२/३३ सालतिर होला, रामकृष्ण श्रेष्ठको यौटा मात्रै ढलानको घरमा कपडा पसल थियो। बाँकी सबै चिया/खाजा पाइने ससाना छाप्रा थिए। अहिले त सानोतिनो सहरै भइसकेछ !

यत्रो वर्ष हङकङ बस्दा पनि धार्केले सिकाएको चियामा पाउरोटी वा बिस्कुट चोपेर खाने बानी ज्यूँका त्यूँ छ। आमाले सिकाएको सकिन लागेको टुथपेस्ट निचोरेर नआएपछि कैंचीले काटेर मञ्जन निकाली दाँत माझ्ने, खिएर बचेका साबुनका टुक्राटाक्री जोडेर नुहाउने बानी अझै देख्दा हङकङमै जन्मिएका मेरा छोराछोरीलाई अनौठो लाग्छ। म व्याख्या गर्छु, उनीहरू छक्क पर्छन्।

खाना खाएरै जाने सोचाइ राख्दै अलि सफासुग्घर देखिने भोजनालय छिर्‍याैँ।

‘साहुनी, खाना तयार छ?’ ‘भैसक्यो अब एकैछिन, बस्दै गरौं न, भात भर्सिंदै छ, दालमा सिट्ठी लाग्नै लाग्यो।’

अनि हत्तपत्त तरकारी, अचार, चटनी रहेका भाँडाका बिर्काे खोलिन्। भोकाएका छोराछोरीलाई आमाले मायाले फकाएझैँ गरी देखाइन्। उनका पति होलान्, ‘लौ यता बसौं न’ भन्दै कुर्सी तान्न थाले। अर्को सानो केटोले तुरुन्तै पानीले भरिएको बोतल र तारेको पापड चटनी राखिदियो टेबलको बीचमा। विदेशमा कहीँ कतै कहिल्यै नपाइने मात्र नेपाली जातिको विशेष आत्मीय आतिथ्यता हो यो। होटलवाला दम्पती जीवनपुरपारि नुवाकोटको चाउथे घर भएका रहेछन्।

खानपिनपछि जिप महेश खोलाको पुलतिर हुइँकियो। धेरै त दसैंमा घर फर्किएको याद आयो : लहलहाउँदो पहेँलपुर धान भएको फाँटबीच बगिरहने कुला र पानीघट्टका नामोनिसान छैनन्। क्रंक्रिटका जंगलले पो ढाकेछन् ! हिउँदमा पनि जँघार परेको ठाउँबाट मात्रै तर्न सकिने ‘महेशखोलो’ त सुकेर ‘महेशकुलो’ पो भएछ ! बर्खामा त सधैँ घटेरा दाइलाई बोलाएर तारिदिन अनुरोध गर्नुपर्थ्यो। विचरा ! भोटो,  इस्टकोट र कछाडमा लागेको पीठो टक्टक्याउँदै वारि आएर च्याप्प पाखुरामा समाई ‘ल पर पर हेर है’ भन्दै खोला तारिदिन्थे। त्यो पनि निःशुल्क।

मानव जातिले अर्थोपार्जन मात्र सोच्ने, पर्यावरणबारे नसोच्ने हो भने आउने पुस्ताले यहाँ त महेशखोला थियो अरे भन्ने दिन नआउला भन्न सकिन्न। पानी परेका बेला चार हातखुट्टा टेकेर हिँड्नुपर्ने रातमाटेको डाँडो र भुजेल गाउँलाई बायाँ पार्दै जिप कच्ची सडक उक्लिँदै गर्दा दोबाटो आइपुग्यो। मोटरबाटो यकिन नभएपछि हिँडिरहेका एकजना बाबुलाई सोधेँ, ‘बाबु ! केवलपुर जाने बाटो कुन हो?’

‘ऊ... यता’ भन्दै हात तेर्स्याए। र, तुरुन्तै भने, ‘पछाडि ठाउँ खाली रेछ म पनि उतै जाने हो। मलाई पनि लैजानुहुन्छ?’

‘बस न, भैहाल्छ नि,’ मैले भनेँ।

खुसी हुँदै गाडीमा बसे।

यी बाबुको उमेरमा कुनै बेला काठमाडौं जान धार्केमा दिनभरि गाडी कुरेको सम्झिएँ। सिट खाली भएका निजी सवारीसाधन हेर्दै नहेरी हुइँकिन्थे। त्यो बेला म सोंच्ने गर्थें–मलाई पनि लगिदिए पाप त लाग्दैनथ्यो, धर्मै हुन्थ्यो।

वरपीपलका रूखमुनि छापको चौतारो, छलछले धारो देखियो। म पथप्रदर्शकजस्तै सहयात्रीलाई बताउन थालेँ।

केवलपुरकै एकजना धनी व्यक्ति बास्कोटाको काजकिरियामा अधिकारी थरका रैथाने पण्डितले सोचेभन्दा धेरै दानदक्षिणा पाएका थिए अरे ! चाहिनेभन्दा बढी दान राख्न हुन्न भन्ने सोचेर उनैले त्यो थकाइ मार्ने चौतारोमा धारो जोडिदिएका हुन् रे !

सबै ब्राह्मण लोभी कहाँ हुन्छन् र ! अहिले देश चलाउँछु भनेर साँचो हातमा लिएका खराब १०/२० जना ब्राह्मणले बदमासी गरे भन्दैमा ब्राह्मण जातिलाई नै गाली गर्ने गलत चलन छ।

नरनाथजीले थपे, ‘त्यति मात्रै कहाँ हो र कमलजी ! अचेल त सडक दुर्घटना भयो भने चालक कुन जातको हो? मृत्यु हुने कुन जातको हो? अझ पुलिसले अपराधी समात्यो वा कारबाही गर्यो भने पुलिस अफिसर कुन जातको, अपराधी कुन जातको !?’

यिनै वार्तालापका साथ हामी, ७० वर्षअगाडि ‘जातपात मुर्दावाद’ भन्दै जनै फालेर पिताजीले हलो क्रान्ति गरेको जन्मभूमीतिर नजिकिँदै थियौं। उकालोको अर्को बिन्दु एक्लेर नजिकैको पुरानो पानीट्यांकीको धारो हुँदै पण्डित पौवातिर सोझिँदै थियौं। जुन धारोमा दलितले पानी थाप्दा पूरै ट्यांकीको पानी बिटुलो हुन्छ भनेर आफूलाई उच्च जात/थरका ठान्नेहरूले ट्यांकीमा विष हालिदिए भनेर पिताजीले दुखेसो गरेको सुनेको थिएँ, सानो छँदा।

एकैछिनमा पण्डितपौवा आइपुग्यो। मैले ७ कक्षासम्म पढेको ज्योति निमावि उच्च माध्यमिक भएछ। विशाल आधुनिक भवन। हामीले त ७ कक्षा पुगेपछि मात्र डेस्क/बेन्चमा बस्न पाएका थियौं। हामीले पृथ्वी राजमार्गको पाँचकिलो भन्ने ठाउँबाट बोकेर ल्याएका सल्लाका रूख सारेको ठाउँ त खेलमैदान बनेछ ! केही रूख भने बाँकी रहेछन्।

स्कुलको चउरमा बिहानीको ‘सतर्क’, ‘गोडाफाट’, ‘श्रीमान् गम्भीर नेपाली’, दिउँसो छुट्ने बेला ‘एक एक एघार’, ‘दुई एकान दुई’ देखि ‘बीस एकान बीस’सम्म भट्याएको ताजा भएर आयो। वार्षिक परिक्षा त चौरमा छरिएर लेख्नपर्थ्यो। हाजिरी जवाफ, वादविवाद, निबन्ध प्रतियोगितामा पुरस्कार पाइने बत्तीसपाने वैशाली कापी, फ्लेम कलम, डटपेन, पार्क मसी, आहा ! हुन पनि सामान्यज्ञान पल्टाएर संसारका सबै देशका राजधानी, मुद्रा सबै कण्ठ गर्न कस्तो जाँगर लाग्थ्यो !

उतिबेला स्कुलले मनाउनैपर्ने पुस १ गते संविधान दिवस (पञ्चायती), पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सव र फागुन ७ गते प्रजातन्त्र दिवस। विद्यार्थीका तर्फबाट मन्तव्य राख्नपर्दा मुटु ढुकढुक हुन्थ्यो।

‘आदरणीय गुरुहरू कृष्णप्रसाद ढकाल, शंकर पण्डित, बखतबहादुर थापा, विमल पाण्डे, नरेन्द्रभक्त शालिके, देवचन्द्र रूपाखेती, बलदेव अधिकारी ‘गाउँले’ले पढाउँदा ‘कमल प्रथम हुनुपर्छ है’ भनेर दिएका प्रेरणा आलो भएर गुञ्जिए कानमा, एकपटक फेरि उही भूमिमा।

स्कुलनजिकै हाफ टाइममा ५ पैसामा ५ गेडी पिपलमेट, १० पैसाको कागती पिपलमेट र एक सुकामा बिस्कुट किन्ने गरिएका पसल त आधुनिकताले विस्थापित भइसकेछन्।

नजिकैको भीमसेनथानमा खासगरी नेवार समुदायका मानिसले मंसिरे जात्रा लगाउँथे। सिट्ठी बजाउँदै, बेलुन फुक्दै, सलाईका काँटीजस्तै बारुद पड्काउँदै १० पैसामा थाल जत्रो पापड टोकिन्थ्यो। धुनीबेंसीका नेवार मूलका साहुहरूले अस्थायी चुलामा जेरी पकाएको चाहिँ हेरिन्थ्यो मात्र। किनकि किन्न पैसै हुन्थेन। अहिले पैसा त छ, तर गुलियो खानै हुन्न भन्छन्, चिकित्सक।

हरेक दिन आउजाउ गर्न २ घण्टा लाग्ने स्कुल जाने बाटो दायाँबायाँ मौसमअनुसार फल्ने आँप, अम्बा, मेवा, चिउरी, चुत्रो, मेवा र मधेसी सिउँडीको फल हाम्रा खाजा हुन्थे।
०००

गाडी वासुदेव पौवा, पाण्डेपौवा, एक्लेपीपल, बांगेपीपल, चिउरी पाटी हुँदै ठूलो पोखरीमा पुगेपछि ओर्लियौं सबै।

०००
करिब २ वर्षअघि चैतमा पिताजीको ९४औं जन्मजयन्तीका अवसरमा धादिङ सिर्जना प्रतिष्ठानको अगुवाइमा चिउरीपाटी स्कुलमा साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो। कतिपय वक्ताले उहाँलाई देशले बिर्सिए पनि जिल्लावासी, गाउँलेले बिर्सन नहुने भनेछन्।

उहाँको जन्मभूमिमा उहाँको सम्झना र योगदानको कदर गर्दै तुरुन्तै केही गर्ने अठोट गरेछन्, थाक्रे गाउँपालिका र वडाका अगुवाले। सोहीअनुरूप पिताजीको अर्धकदको सालिकसहित ठूलो पोखरीको आधुनिकीकरण तथा पार्क निर्माण गरिँदै रहेछ। योजनाबारे संक्षिप्त जानकारीसहित नाम ‘केवलपुरे किसान मिनी पार्क’ राखिएको भन्ने सुनेपछि म अलि भावुक भएँ। 

KamalPoudyal Kebalpur2

रहरभन्दा पनि बाध्यताले काठमाडौं बसाइँ सरिएको थियो। अझ पिताजीले ‘केवलपुर छाड्दा’ शीर्षकमा कवितै लेख्नुभएथ्यो। मलाई पटकपटक अवत गाउँमा अलिकति जमिन किनेर पुर्खाको चिनारी राख्ने विचार आउँथ्यो, हङकङ आइसकेपछि पनि। पिताजीको शालिक राखिएको भूमि अवत गाउँ, धादिङ जिल्ला र केवलपुरभरिकै महँगो ठाउँ अनि शालिक हङकङका गगनचुम्बी भवनभन्दा अग्लो अनुभूति गरेँ। 

पुराना, चिनेजानेकासँग भलाकुसारी गरेपछि जन्मघरतिर ओर्लियौं। वर्ष बिराएर लटरम्मै फल्ने आँप र महांकालथानको छेउमा ओर्लिंदा बाल्यकालमा हराएँ, केही बेर। रूखमा चढ्न सिपालु साथीहरूले हाँगा हल्लाएपछि पाकेका आँप तल झर्थे। नभए पाकेको झुप्पो ताक्दै झटारो वा ढुंगा हानिन्थ्यो। महांकालथानमा पुजारी हुँदैनथे। खासगरी दसैं–तिहारमा श्रद्धालुले भेटी चढाएका २, ५ र १० पैसा टिप्न र नैवेद खान हामी रैथाने साथीबीच प्रतिस्पर्धा हुन्थ्यो। 

०००

झिङटी घर, ठूलो घर हुँदै वरपीपलका बोटमुनिको पातालको पँधेरोमा पुगियो। आमाको स्वर्गवासपछि उहाँको सम्झनामा रातभरिको पानी जम्मा हुने दुईवटा ट्यांकी नागको मूर्तिसहित देवल आकारको संरचना बनाइदिएको थिएँ, सानो शीलालेखसहित। १५ सालको भूकम्पपछि मूलै सुकेछ ! जाडोमा मनतातो र गर्मीमा चिसो पानी आउने यो पँधेरोमा आमाले लाइफब्वाय साबुनले नुहाइदिएको याद आयो। घरपछाडि गोठ खोरअगाडि सारिएछ। गाई, भैंसी, पाडा, बाच्छी र बाख्राहरूले गोठभित्रबाट चिनेझैं गरी हेरे हामी सबैलाई। भैंसीलाई सिङको बीचमा र गाईलाई गर्धनमुनि कन्याइदिँदा मुन्टो ठाडो गरेर सञ्चो मानेको सम्झना भयो। माउवरिपरि उफ्रिँदै गरेका बाख्राका पाठापाठी देखेपछि मन थामिएन। बोकेर मुसारे निकै बेर। साँच्चिकै भन्ने हो भने हङकङका अत्याधुनिक किनमेल केन्द्रमा पस्दा आउने अत्तरको बास्नाभन्दा गोठको गन्धले मनमस्तिष्क तान्यो।

आँगनमा उभिएर पाली, पिँढीदेखि माथिसम्म हेरेँ। बुइकलचाहिँ भूकम्पले निमोठिदिएछ। बुइकलमा मकैको कुनिउँ, आमाले गर्मी महिनामा तरकारी खान भनेर राख्ने गरेको सिन्की, चाना, सुकेका खुर्सानी, गेडागुडी, गुन्द्रुक राखिएका घ्याम्पो/घैँटा, घीउको सिङमाङ, छालाले मोरिएको भोटेताल्चा लगाएको पेटारो, पुराना तामा–पित्तलका गाग्री, खँडकुला सम्झिएँ। यौटा काठको कन्तुरमा औषधिमूलो हुन्थे। अहिलेको ‘फस्ट एड’ भनिनेजस्तै तालिम लिएको बताउनुहुन्थ्यो, आमा। काटेको, पोलेको, घाउखटिरा आएकाहरू मास्टरनीकाँ गयो भने सित्तै औषधि लाउन पाइन्छ भन्थे। अब त न आमा न बुइकल, केही छैनन्।

जे होस्, हाम्रो घरबारी किनेर बसेका हाम्रै थरका साहिँला दाइ र भाउजूलाई त्यहीँ भेट्दा थोरै भए पनि बाबाआमाको न्यास्रो मेटिन्छ।

‘ल हेर १२ बज्न लागिसक्यो ! कति भोक लागेको होला, म भात बसाल्न गएँ,’ भाउजूले भनिन्।

‘हैन, भाउजू ! हामीले धार्केमै खाएर आएको।’

‘अनि यहाँ आउँदा होटलमा खाएर आउने हो त? अचेल त सप्पैका हाताँ फुन छन्। बिहान फुन गर्या भए म पकाएर राख्थीँ नि !’

‘ठीकै छ, भाउजू ! अब खाजा खाउँला नि। खाजाचाहिँ मकै, भटमास, मोही है। बरु हामी आज सप्पै गाउँ घुमेर आउँछौँ पहिला।’

यसरी दैलाको सँघारमा उभिएकी भाउजूसँग वार्तालाप गर्दा आमाको प्रतिबिम्ब देखेँ, पटकपटक। घरमुनिको गैराघर, दसैंमा रोटे र लिंगे पिङ खेलिने तल्लो चौर, बसाहा डाँडो, साउने पानीसम्मका चिनेजानेका घरघरमा पस्दै छोटो भेटघाट गर्दा समय बितेको पत्तै भएन।

बाबा–आमाका समकालीन त औँलामा गन्ने मात्र बाँकी रहेछन्।

‘लौ बाबु पनि गाउँ सम्झ्यौ, आयौ खुसी लाग्यो, कहिल्यै नबिर्सनू, ठ्याक्कै बाजस्तै पो देखिँदारहेछौ, बाको शालिक बनाउनेभो गाविसले ठूलो पोखरीमा। आज एकरात त हाम्रैमा बस्नुपर्छ।’

‘हैन, आज जानुपर्छ पछि आउँदा...’ भन्दा ‘लौ ! त्यसोभए जुठो मुख नगरी जान पाइन्न,’ सबैको यौटै बोली।

केवलपुर गाउँको आत्मा जीवित रहेछ, पुराना पुस्तामा मात्र नभएर नयाँ पुस्तामा पनि। घरको आँगनमा फर्किंदा हाँडीमा भुटेका मकै/भटमासको बास्ना आइरहेको थियो, बाहिरैसम्म।

‘यता बसौं,’ साहिँला दाइले काठको फलैंचातिर देखाए।

‘हैन दाइ म त पिँढीमा बस्ने हो।’

मूलढोकाको माथितिर हेरेँ। जहाँ आमाले दसैंको टीकाटालो गर्नुअघि अक्षताको रातो टीका लाउनुहुन्थ्यो। थपिँदै थपिँदै रहेछन्, अझै। आमाले लगाएको चाहिँ कुन कुन होला? म गम्न थालेँ। पिँढीको सतह हातले मुसारेँ। आमाले पोतेका राँटा पत्रपत्र देखेँ। तर आमा छैनन् !

खाजा खाएपछि घरभित्र पसेँ। माटोले छापेको चोटो, खाट, धानका भकारी, मकैको कुनिउँ, मोही पार्ने मूलथाम, हाँडी राख्ने तखातो, खोपा, आँखीझ्याल, चुलो, अँगेनो, ओदान, आट, दलिन, मझेरी, जाँतो सबै उस्तै।

नाति कति बेला आइपुग्ला भनेर ढोकातिर हेर्दै टाँडमा बसेकी हजुरआमा, चुलोमा दाउरा जोतेर फूफू गर्दै मलाई मनपर्ने परिकार पकाउँदै गरेकी आमा अनि ‘छोरा तिमी आइपुग्यौ?’ भन्दै अँगेनाको डिलमा आगो ताप्दै गरेका बा भने थिएनन् !

 

फागुन २२, २०७७, शनिबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .