ब्लग


ए ससुरा बा ! मलाई देवर मन पर्‍यो

ए ससुरा बा ! मलाई देवर मन पर्‍यो

शितल दाहाल
काठमाडौँ, साउन ६

लेखको शीर्षक देखेरै धेरैले जिब्रो निकाल्लान् भन्ने आशंका लाग्दालाग्दै पनि मैले ‘आपत्तिजनक र अशोभनीय’ शीर्षक चयन गरेँ। माफ गर्नुहोला, युगौँदेखि ‘सुन्दर, शान्त र पवित्र’ यो समाजको कुवामा मैले एउटा ‘चरित्रहीन’ ढुंगा फालेँ।

कुटुमा कुटु, छोरीको मुटु 
केही वर्षअघि एउटा गीत यति धेरै चर्चित भयो कि युट्युबमा मात्रै त्यसको म्युजिक भिडिओ १५ करोडभन्दा बढीपटक हेरियो। गीत हो– ‘कुटुमा कुटु सुपारी दाना।’ हामी कूल नेपालीभाषीको संख्या ४ करोड पुगनपुग होला, तर त्यो गीत युट्युबमा १५ करोडभन्दा बढीपटक हेरिनु आफैंमा आश्चर्यजनक हो। करोडौँले मन पराएको त्यो गीतले आम नेपाली छोरीहरूको मनोदशालाई सचित्र वर्णन मात्र गरेको छैन, त्यसमा छोराहरूको स्थापित आत्मविश्वासलाई समेत अझ उँचो राखेको छ।  

केटी भन्छे, ‘खैनी चुरोट खान्छौ कि दाँतै कालो छ, दिदीको मगनी भैसक्यो, मेरै पालो छ।’

केटो प्रतिउत्तर दिन्छ, ‘राजाको हात्ती मैसित, सौ तोला सुन छ ल्हासाको, पढाइलेखाइमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको।’

फेरि केटी भन्छे, ‘हेर्दामा ज्युज्यान खाइलाग्दो, जागिरे मर्द बलियो, इमान्दार केटोलाई जोवन दिने मन थियो।’ 

उसो त ‘बजारका गीतका शब्द पनि केलाएर साध्य हुन्छ र, यस्तै खालका गीत त अरू पनि छन् नि!’ प्रश्न गर्न सकिएला। तर हाम्रा गीतले हाम्रो समाजको चेतना र मनोदशा प्रतिबिम्वन गर्छन्। गीत बजारमा आएसँगै तिनले समाजमा पर्याप्त प्रभाव पनि छाड्छन्। तर करोडौँले सुनेको सो गीतले समाजमा के सन्देश दिन खोज्दै छ? छोराहरू राजाको जस्तै हात्ती पाल्ने हिम्मत राख्छन्, सय तोला सुनसमेत साथमा राख्छन्। उनीहरू पढाइमा अब्बल हुन्छन् र नासाको वैज्ञानिकसमेत बन्ने आत्मविश्वास राख्छन्। 

उता, केटीको केटोप्रति मात्रै चासो छ र भन्छे, ‘ए केटो, तिमी खैनी र चुरोट खान्छौ कि खाँदैनौ? विवाहका लागि मेरो त उमेर पुगिसक्यो, अब यस जन्मघरमा बसिरहन उचित रहेन। फेरि दिदीको मगनी पनि भैसकेकाले अब मैले कुन पुरुषको पछि लागेर उसको घर जानुपर्ने हो, म जान तयार भइसकेको छु।’

यही गीतको आशयलाई यसरी पनि बुझ्न सकिन्छ, ‘अब दुलही भएर जसको भरोसामा आफू पालिन जान लागेको हो, त्यो मानिसको ज्युज्यान खाइलाग्दो हुनुपर्छ। ऊसँग राम्रो जागिर हुनुपर्छ र ऊ बलियो पनि हुनुपर्छ, किनभने ऊ मेरो संरक्षक हो। मलाई त्यस्तो एउटा ‘मर्द’ चाहिएको छ, जसको सेवामा मेरो बाँकी जिवन बिताउन चाहन्छु।’

यो ‘सुपरहिट गीत’ जबजब भोजभतेर, पिकनिक, पार्टीलगायतमा बज्छ, तब मलाई एक प्रकारको उकुसमुकुस हुन्छ। अझ ससाना छोरी र बहिनीलाई पुतलीझैँ सिँगारेर जब यो गीतमा नाच्न स्टेजमा उतारिन्छ, तब म झनै हतोत्साही हुन्छु। सोच्छु– यी साना छोरीहरूको बाल हृदयमा यो गीतका शब्द र अर्थले कस्ता प्रभाव पार्लान्? संगीतको सुरमा गोडाले तालमा ताल मिलाइरहँदा गीतको बोल पनि त उसैगरी मनमस्तिष्कमा नपर्ला र?

‘दिदीको मगनी भैसक्यो मेरै पालो छ’ भनेर साना छोरीहरूले स्टेप चालिरहँदा यता सानो केटो पनि उफ्रिँदै छ, ‘राजाको हात्ती मैसित, सौ तोला सुन छ ल्हासाको, पढाइलेखाइमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको।’ यस गीतको मूल सन्देश यही हो– छोरो वैज्ञानिक वा उसले जे मन लाग्यो, त्यही बन्छ, छोरी भने अर्काको घर जान्छे। पोइको घर जानकै लागि यस धर्तीमा छोरी जन्मेको हो। यो विषादको पनि विषय हो कि आफ्ना छोरी जुन गीतमा छमछम नाच्दै छन्, बाउआमा पनि हौसीहौसी बच्चालाई त्यस गीतमा नाच्न प्रोत्साहन गरिरहेछन्। 

अन्य धेरै मान्यता र कथनजस्तै यो गीत पनि छोरीहरूको सपनाको हत्यारा हो। केटी मानिसले ‘म पाइलट बन्छु, डाक्टर बन्छु या म वैज्ञानिक बन्छु अर्थात् मलाई जे मन लाग्यो, त्यो बन्छु’ भन्ने भाष्य हाम्रो समाजले बनाएकै छैन। यस्ता खालका गीतै हामीले रचेका छैनौँ। कथंकदाचित् छोरी मान्छेका सपना र योजनाका गीत कसैले सिर्जना नै गरेका भए पनि हाम्रो समाजको रुचिमा परेनन् र सुपरहिट भएर हाम्रा स—साना नानीबाबुलाई पार्टीमा नचाउन लायक बनेनन्। त्यस्ता गित गाइएका भए पनि तिनका म्युजिक भिडिओले करोडौँ दर्शक/स्रोता पक्कै पाउने थिएनन्। 

हामीले छोरीहरूलाई कहिलेसम्म अरूको सम्पत्ति, अरूको बल र अरूको भरोसामा सुम्पिन हतार गराइरहने? हामीले यस्ता कथन कहिलेसम्म सुनाइरहने र यस्ता गीत कहिलेसम्म गाइरहने? कहिलेसम्म ‘म तिमीलाई मेरो जोवन दिन्छु, बदलामा मलाई सिन्दुर देउ न है’ भन्दै सम्पत्ति र आश्रयको भिख माग्न सिकाइरहने?

साली नानी
पछिल्लोपटक हिट बनेको अर्को चर्चित गीत हो– जसलाई युट्युबमा ७ करोड पटकभन्दा बढी हेरिएको/सुनिएको छ– कहिले गोरी मन पर्‍यो, कहिले काली मन पर्‍यो, ससुराली टेकेपछि साली मन पर्‍यो, ए ससुरा बा मलाई साली मन पर्‍यो, लौन ससुरा बा मलाई साली मन पर्‍यो। उसो त ‘साली’ लामो समयदेखि हाम्रो समाजमा रोमाञ्चकता र यौनिकताको सजिलो बिम्व हो। केही दशकअघि ‘ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ गीतबाटै गायक बद्री पंगेनीले काठमाडौँमा राम्रै सम्पत्ति जोडेको चर्चा उतिखेर मिडियाले गरे। 

श्रीमतीको बहिनी साली हुन्, जसरी लोग्नेको भाइलाई देवर भनिन्छ। लोग्ने र स्वास्नीको दर्जा एउटै मान्ने हो भने स्वास्नीकी बहिनी, आफ्नी पनि बहिनी। तर त्यही बहिनीलाई भिनाजुको पद पाएको पुरुष निसंकोच भन्छ, ‘ससुराली टेकेपछि साली मनपर्यो।’ प्रचलित कानुनले बहुविवाहमा बन्देज लगाएको भए पनि यस गीतमा भिनाजु अर्को साल सालीलाई बिहे गर्ने रहर व्यक्त गर्छ। युगौँदेखि हाम्रो समाजमा बहुविवाहको प्रचलन थियो, सालीलाई दोस्री श्रीमतीका रूपमा ल्याउने परम्परा थियो। सोही फेन्टासी यस गीतमा पनि आएको छ। यता, सालीका मुखबाट पनि भिनाजुको आँट मन परेको भनाइएको छ। 

साली मन पर्दै जानुको अर्थ हो– ‘दिदी मन पर्न छाडिन्।’ त्यसले विवाहपछिको पुरुष यौन रोमाञ्चकतामा ह्रास आउने कुराको संकेत पनि गर्छ र भिनाजुले सालीमा त्यो रोमाञ्चकता खोज्छ। र, विचित्रको कुरा– न सालीलाई आपत्ति छ न त सासू–ससुराको सिंगो परिवारलाई! बरु धेरै परिवार निसंकोच यी र यस्तै खालका गीतमा जमेर नाचिरहेको देख्छु। निरन्तरको लामो बसाइले लोग्ने र स्वास्नीका यौन रोमाञ्चकतामा ह्रास आउनु स्वाभाविकै हो। तर लोग्नेले स्वास्नी छाडेर साली ताकेजस्तै यौन रोमाञ्चकताका लागि स्वास्नीले पनि देवर ताक्न थालिन् भने यो शान्त र सुन्दर कुवामा कस्तो तरंग आउला? त्यसरी सोच्न मिल्ला? तपाईंका पवित्र शास्त्र के भन्छन्? 

समाजशास्त्र भन्छ, ‘साहित्य समाजको ऐना हो।’ र, हाम्रो समाजको ऐना हेर्दै गर्दा देख्छौँ– केटाले चाह्यो भने स्वास्नीका बहिनी पनि अरू भौतिक सम्पत्तिसरह भोगचलन गर्ने सांस्कृतिक सामर्थ्य राख्छ। ससुरा र सासूसँगै निर्धक्क ‘तिम्री अर्की छोरीलाई पनि म स्वास्नी बनाउन सक्छु’ भनेर हाँक दिन सक्छ। तर समाज यस्ता मान्यताप्रति कहिल्यै प्रश्न गर्दैन, उल्टै मलजल गरिरहन्छ। यी गीतबारे पनि बिरलै सार्वजनिक रूपमा प्रश्न गरिएका छन्। बजारको पार्टी-प्यालेसको स्पिकरमा गीत बजिरहन्छन्, उता सासू-ससुरा, स्वास्नी र सालीसँगै भिनाजु पनि रक्सीको तालमा ‘साली मन पर्यो’ गाउँदै छिल्लिरहन्छ। 

चाखलाग्दो कुरा के छ भने हाम्रो समाजले विवाहसँग जोडेर अनेकौँ पवित्रताका रोमाञ्चक कथा र शिलोक कथेको छ। लोग्ने र स्वास्नीको सम्बन्धलाई जन्मजन्मको सम्बन्ध भनेर उत्तिकै महिमामण्डन गरिएको छ। तर तथाकथित पवित्रताको लक्ष्मणरेखा केवल सीताहरूका लागि रचिएका छन्। त्यही भएर हाम्रा देवता पनि भेष बदलेर अरूका स्त्रीको बलात्कार गर्छन्, बहुस्त्रीगमन गर्छन्। साधना गर्ने भनिने ऋषिसमेत बहुपत्नी राख्छन्। अनि भिनाजुहरूले साली ताक्ने कुरा के नौलो भयो र!

दोष ज्वाइँको मात्र होइन, ससुरा बा, सासू, श्रीमती वा सालीको पनि होइन। किनभने उनीहरू लामो समयदेखि समाजले जस्तो बनायो, त्यस्तै बने। र, असन्तुलित लैंगिक अभ्यास र व्यवहारका लागि कोही दोषी छ भने त्यो हाम्रै समाज हो। यसको बोधो चेतना। र, यो समाजको बोधो चेतना बौरिन्छ कि भन्ने ठान्दै म यस्तो प्रतिउत्तर ‘प्यारोडी’ रच्न पुग्छु :  ​

कैले बदाम मन पर्‍यो, कैले काजु मन पर्‍यो, 
ए सासूआमा मलाई जेठाजु मन पर्‍यो
तिम्रो ठामै मन पर्‍यो, तिम्रो कामै मन पर्‍यो 
ए झिल्के देवर तिमी अति मन पर्‍यो

साँच्चै, यिनै शब्द हामीले सुरिलो स्वर र मधुर संगीतमा गीत बनाउने हो भने सुपरहिट बनेर नेपाली बजारमा सर्वप्रिय होला या नहोला? अनि यसमा लोग्ने र सासू-ससुराहरूले आफ्ना भाइ र स्वास्नी सँगसँगै चम्कीचम्की नाचेको दृश्य निर्धक्क स्वीकार्न सक्लान्? देवरसँग भाउजू नाच्ने कुरा सम्झिँदा तपाईंलाई दिगमिग लाग्छ भने स्त्रीलाई अनेक रूपमा ‘कमजोर र केवल भोग्या’ ठान्ने परम्परागत रुग्ण धारणा त्याग्न तयार हुनुहुन्छ त? एकलकाटे र स्त्रीभोग्या समाजका भाष्य भत्काउन तयार हुनुहुन्छ?

साउन ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .