ad ad

ब्लग


नागपञ्चमीः मानव–सर्प सम्बन्धको महत्त्व

नागपञ्चमीः  मानव–सर्प सम्बन्धको महत्त्व

दिलीप सुवेदी
साउन २९, २०७८ शुक्रबार ८:१७, काठमाडौँ

आज नेपाल–भारतलगायत संसारभर रहेका हिन्दु धर्मावलम्बी नाग देवताको पूजाअर्चना गरेर नागपञ्चमी मनाउँदै छन्। हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन नाग देवतालाई पूजा–आराधना गर्नाले नियमित वर्षा हुने, सुख–समृद्धि बढ्ने र अनिष्टबाट बचिने विश्वासका साथ नागपञ्चमी मनाउने परम्परा छ। 

पौराणिक कथनअनुसार आफ्ना पिता महाराज परिक्षित (हस्तिनापुर नरेश) लाई तक्षक नागले डसेर मृत्यु भएपछि क्रोधले चुर राजा जन्मेजयले सम्पूर्ण नागको संहार गर्ने उद्देश्यबाट यज्ञ आयोजना गरी सबै नाग (सर्प) लाई यज्ञ कुण्डमा भष्म गर्न लाग्दा नागदेवी मनसापुत्र ऋषि आस्तिकले राजा जन्मेजयलाई मनाएर उक्तनाग संहार रोकेको दिनलाई नागपञ्चमीका रूपमा मनाउने गरिन्छ। नागस्थान स्थापना गर्ने, नागको प्रतिमालाई पूजाआजा गरी दूले नुहाउने, जीवित सर्पलाई दूध चढाई पूजा गर्ने, घरको ढोकामाथि नवनागका चित्र टाँसेर पूजा गर्ने आदि गरेर नेपालमा नागपञ्चमी मनाइन्छ। 

नागलाई उच्च श्रद्धाका साथ पूजा गर्नाका साथै कुनै स्थानलाई फोहोरमैला मुक्त राख्ने उपायका रूपमा नागस्थान स्थापना गर्ने चलन नेपाली समाजमा छ। हिउँदयाममा निष्क्रियजस्तै हुने सर्पहरू वर्षातको समय सक्रिय हुने गर्छन् र यही मौसममा सर्पदंशका धेरै घटना हुने हुनाले सर्पको टोकाइबाट बच्न चेतनामूलक बिम्बका रूपमा समेत नागपञ्चमी मनाउने गरिएको अनुमान गर्न सकिन्छ।

सर्पलाई नाग देवताका रूपमा पुज्ने र सम्मान गर्ने गरिएको धार्मिक चलन रहे पनि प्रायः मानिसले दुष्ट जीव सोचेर उनीहरूलाई दु:ख दिने, घाइते बनाउने र देख्नेबित्तिकै मार्न तम्सिने दोधारे प्रवृत्तिले मानिस–सर्प सम्बन्ध जटिल देखिन्छ। हरेक वर्ष सयौंको संख्यामा मानिसद्वारा सर्प  मारिएका दृश्य समाजमा देखिन्छन् भने अर्कातिर सर्पको टोकाइबाट नेपालमा बर्सेनि एक हजार  हाराहारीमा मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको आँकडाले देखाउँछ। 

प्रायः सर्पको टोकाइबाट हुने मृत्युका मुख्य कारणमा समुदायस्तरमा सर्पदंश रोकथामका उपायबारे चेतना नहुनु, सर्पले टोकिसकेपछि गरिने गलत परम्परागत उपचार विधि (धामी–झाँक्री, झारफुक, टोकेको ठाउँमा कसेर बाँध्ने, आफैं घाउ चिरफार गर्ने, घाउ चुसेर विष निकाल्न खोज्ने आदि) र स्वास्थ्य संस्थाहरूमा भएका स्वास्थ्यकर्मीसँग सर्प दंश उपचारको पर्याप्त तालिम नहुनु आदि हुन्। 

नेपालमा सर्पदंशको उपचार गर्न आवश्यक एन्टिस्नेक भेनम सर्वसुलभ एवं पर्याप्त नहुनु सर्पको टोकाइबाट मान्छे मर्ने अर्को कारण हो। ग्रामीण भेगमा सर्पले टोकिसकेपछि भौगोलोक विकटताले गर्दा बिरामीलाई समयमै अस्पताल पुराउन नसकी ज्यान गएका घटना छन्। समाजमा विद्यमान सर्पसम्बन्धी अन्धविश्वासले गर्दा पनि मानिस र सर्पबीच द्वन्द्व सिर्जना हुने गरेको छ। 

विश्वभर रेकर्ड भएका करिब ३९०० प्रजातिका सर्पमध्ये नेपालमा ८९ प्रजाति पाइन्छन्, जसमा इलापाइडी र भाइपेरैडी परिवारका १७ प्रजाति मात्र विषालु सर्प छन्। कोब्रा र करेत इलापाइडी परिवारमा पर्ने विषालु सर्प हुन्, जसको विषमा न्युरोटकसिन भन्ने तत्त्व  हुनाले स्नायु मा असर गरी क्षति गर्छ भने हरेउजस्ता पिट भाइपरहरू भाइपरैडी परिवारका विषालु सर्प हुन्, जसको विषमा हेमाटकसिन हुनाले रगतमा असर गरी क्षति गर्छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को संरक्षित वन्यजन्तुको अनुसूचीमा सर्पको एउटा मात्र प्रजाति अजिंगर समावेश गरिएको छ। साइटिसको अनुसूची–१ (दुर्लभ वन्यजन्तु) मा अजिंगर र अनुसूची–२ (लोपोन्मुख वन्यजन्तु) मा अन्य ७ प्रजातिका सर्प सुचीकृत गरिएका छन्। त्यस्तै आइयुसीएनको रातो किताबमा नेपालमा पाइने ५ प्रजातिका सर्प समावेश गरिएका छन्। 

सर्पलाई देख्दा धेरै मानिस डराउने गर्छन् र विषालु हो हैन एकिन नगरी र सर्पले आक्रमण नै नगरेको अवस्थामा पनि मारिहाल्ने प्रवृत्ति धेरै मानिसमा पाइन्छ। सर्पलाई लट्ठी वा अरू हतियारले कुटेर, मट्टीतेल/पेट्रोल छर्किएर, प्वालमा लुकेको सर्पलाई धुवाँ लगाई निसासिएर र बाटो काटिरहेको सर्पलाई सवारीसाधनले कुल्चिएरजस्ता अमानवीय र क्रूर तरिकाले मार्ने गरेको पाइन्छ। 

सर्पले हानि नपुर्याएको अवस्थामा पनि उनीहरूलाई दुःख दिनु, घाइते बनाउनु, मार्नु गैरकानुनी काम हो। नेपालमा वन्यजन्तु संरक्षण गर्न बनेको विशेष कानुन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाँचौं संशोधन २०७३) ले बिनाइजाजत कुनै पनि वन्यजन्तु जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दुःख दिने, मार्ने वा सो गर्न प्रयत्न गर्नुलाई चोरी–सिकारका  रूपमा लिने गरिएको छ। उक्त ऐनको दफा ५ ले कुनै वन्यजन्तु मार्ने वा वन्यजन्तुका कुनै अंग (आखेटोपहार) ओसारपसार गर्ने कार्यलाई निषेध गरेको छ।

कसैले संरक्षित सूचीमा रहेको अजिंगर सिकार गरी मरेमा वा घाइते बनाएमा १ लाखदेखि ५ लाख रुपैयासम्म जरिवाना वा १ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने र अन्य सर्प मार्ने वा घाइते बनाउनेलाई  २० हजारदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा गरिएको छ। सर्पको वैज्ञानिक अध्ययन/अनुसन्धान गर्न  वा  पालन प्रजनन गर्न नेपाल सरकारबाट लिखित अनुमति लिएर सोबापतको दस्तुरसमेत तिर्नुपर्ने कानुनी प्रावधान छ। अजिंगरबाहेक सबै सर्पजाति पालन गर्न पाइने वन्यजन्तुको सूचीमा छन्। 

सर्पहरू वातावरण, पारिस्थितिकीय प्रणाली र खाद्य शृंखलाको एक महत्त्वपुर्ण हिस्सा हुन्। अन्नबालीमा लाग्ने किरा–फट्यांग्रा र मुसाजस्ता हानिकारक जीवको सिकार गरेर सर्पले किसानलाई सहयोग गर्छन्। अन्य संकटापन्न स्तनधारी जनावर र चरा सर्प खाएर बाँचिरहेका हुन्छन्। यसरी सिकारी र सिकार दुवैको भूमिका निर्वाह गरेर सर्पले पारिस्थितिक प्रणालीमा आफ्नो महत्त्वपूर्ण योगदान पुर्याइरहेका हुन्छन्। प्लेग, स्यालमोनेला, स्क्रबटाइफस, लाइम आदि जस्ता मुसाबाट सर्ने रोगलाई मुसाको संख्या नियन्त्रण गरी कम गर्न सर्पले महत्त्वपूर्ण भूमिका खेल्छन्। सर्पको औषधीय योगदान पनि उल्लेखनीय पाइन्छ। 

सर्पको विषबाट क्यान्सर, थ्रोम्बोसिस, आर्थित्रिस आदि रोग उपचार गर्ने गरिन्छ। विभिन्न रोगको अध्ययन÷अनुसन्धान गर्न, औषधि र भ्याक्सिन टेस्ट गर्न र औषधि बनाउन सर्पको विष उपयोगी सिद्द भएको छ। दुखाइ कम गर्ने, रक्तश्राव नियन्त्रण गर्ने र हातखुट्टा एवं छाला झमझमाउनेजस्ता समस्या कम गर्न पनि सर्पको विषबाट बनेका औषधिको प्रयोग गर्ने गरिन्छ। 

बढ्दो जनसंख्याका कारण सिर्जित समस्याजस्तै प्राकृतिक वासस्थानको विनास, खेतबारी मासेर गरिने संरचना निर्माण, अत्यधिक विषादीको प्रयोगले सखाप पारेको सर्पको खाद्यचक्र, ओहोरदोहोर गर्न अप्ठ्यारा मानव निर्मित संरचना (पिच सडक), अन्धाधुन्ध सर्प मार्ने, सर्पको चोरी–सिकार तथा अवैध ओसारपसार, अन्तर्राष्ट्रिय कालो बजारमा सर्पको छालाबाट बनेका सजावट र पहिरनका समानको अत्यधिक माग, विष बेच्न सपेराले गर्ने सर्प तस्करीजस्ता कारणले सर्पको संख्या व्यापक मात्रामा घटेका कारण धेरै सर्प प्रजाति लोपोन्मुख बनेका छन्। संरक्षणमा काम गर्ने सरकारी, गैरसरकारी एवं सामुदायिक सबै क्षेत्रको प्राथमिकतामा नपर्नु सर्प संरक्षणको अर्को चुनौती बनेको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संरक्षित वन्यजन्तुको सूचीमा एउटा अजिंगर मात्र पर्नुले पनि सर्प संरक्षणप्रतिको उदासीनता दर्शाउँछ।

​सर्प प्रकृतिको सुन्दर र रोचक जनावर हो। बिनाकारण मानिसलाई दुःख दिने, लखेट्ने, टोकेर विष फाल्ने काम सर्पले गर्दैनन्। विष सर्पको एकदमै दुर्लभ हतियार हो, जुन उसले आफ्नो सिकार पक्रन, पचाउन र आफ्नो सुरक्षाका लागि मात्र प्रयोग गर्छ। तसर्थ हामी मानिसले पनि सर्पलाई बिनाकारण हानी पुराउने काम गर्न हुँदैन। घरबारी, वस्तीमा सर्प देखिएमा सकेसम्म आफू सतर्क बनेर बसी सर्पलाई आफ्नो बाटो जान दिनुपर्छ। लामो समयसम्म पनि सर्प त्यहाँबाट नगए नजिकैको संरक्षित क्षेत्रको कार्यालय वा वन कार्यालय वा व्यावसायिक सर्प उद्धार गर्ने मानिसलाई खबर गर्नुपर्छ। सर्प उद्धारकर्ताले सर्पलाई अनि स्वयम् आफूलाई पनि असर नपुग्नेगरी वैज्ञानिक तरिकाले सुरक्षित रूपमा सर्प उद्धार गरी प्राकृतिक वासस्थानमा छाड्नुपर्छ। सम्बन्धित वन वा संरक्षित क्षेत्र कार्यालयमा सर्प उद्धार गर्न आवश्यक सामग्री व्यवस्था गरिनुपर्छ।

सर्पको पहिचान र आनीबानी, सर्पदंश हुन नदिन अपनाउनुपर्ने सावधानी र सर्पले टोकिसकेपछि पालना गर्नुपर्ने कुराहरूबारे जनचेतनामूलक अभियानहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। स्वास्थ्यकर्मीहरूलाई सर्पदंश उपचार गर्ने तालिम र आवश्यक औषधि–उपकरणको नियमित व्यवस्था भएमा स्थानीयस्तरमै सर्पदंशको उपचार गर्न सजिलो हुनेछ, जसले सर्पको टोकाइबाट हुने मानव क्षति कम गर्न सकिन्छ। नेपाल सरकारले सर्प संरक्षणलाई प्राथमिकतामा राखी संरक्षण साझेदार संघ–संस्था र सर्प संरक्षणकर्मीहरूलाई अध्यन–अनुसन्धान गर्न लगाई तथ्यका आधारमा संरक्षित सूचीमा अरू सर्प प्रजातिलाई पनि समावेश गर्नेतर्फ पहल गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। 

मानिस र सर्प हामी सबै एकै पारिस्थितिक प्रणाली र वातावरणका हिस्सा हौं। एक पक्षलाई असर पर्दा अर्को पक्ष स्वतः प्रभावित बन्छ। मानिस र सर्पबीच सहअस्तित्व कायम गरी अगाडि बढ्नुको विकल्प छैन। सर्पलाई उसको प्राकृतिक वासस्थानमा जिउने वातावरण मानिसले नै निर्माण गरिदिनुपर्छ। हरेक जीवको आफ्नै महत्व र विशेषता हुन्छन्। एउटा जीवको लोपले लाखौं मानिसको भविष्यलाई अनिश्चिततातर्फ धकेल्ने सम्भावना हुन्छ। तसर्थ आजैदेखि सर्पको अस्तित्वलाई स्वीकार गरी उनीहरूको प्राकृतिक वासस्थानमा बाँच्न पाउने अधिकार सुनिश्चित गरौं। सर्प संरक्षण गरे आफ्नो अनि भावी पुस्ताको संरक्षण हुन्छ भन्ने भावनाको विकास गरौं। नागपञ्चमीको सबैलाई शुभकामना!

(सुवेदी सर्प अनुसन्धानकर्ता एवं उद्धारकर्ता हुन्।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .