ad ad

ब्लग


म हिन्दु हुँ तर हिन्दुवादी होइन

म हिन्दु हुँ तर हिन्दुवादी होइन

मिलन पाण्डे
असोज २६, २०७८ मंगलबार १२:२०, काठमाडौँ

बडादसैंको सबैलाई धेरै–धेरै शुभकामना! माता दुर्गे भवानीको आशीर्वादले हामी सबैमा थप सकारात्मक ऊर्जा प्राप्त होस्। 

म जन्मजात हिन्दु हुँ, जसमा मलाई गौरव छ। मेरो हिन्दु धर्मप्रतिको आस्था औसत हिन्दुहरूको भन्दा कट्टर होला भन्ने लाग्छ मलाई। त्यसको पछाडि मेरो पारिवारिक पृष्ठभूमि छ।

मेरो परिवार, आफन्त र घर–मावली हेर्ने हो भने मेरो इतिहास र वर्तमान पण्डित र पुरेत अर्थात् धार्मिक पृष्ठभूमिबाट आएको छ। म अहिले पनि जनै लगाउने, पूजापाठ गर्ने, नित्य कर्म गर्ने गर्छु। 

मेरो परिवार पनि धार्मिक रूपमा कट्टर नै छ। म मेरो धर्मलाई सम्मान गर्छु। तर यो मेरो व्यक्तिगत आस्थाको कुरो हो। कुनै दलको राजनीतिक विषय होइन।

धर्मको विषय राजनीतिक बहसको विषय मात्र पनि बन्नु हुँदैन। धार्मिक स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक हक हो भनेर संविधानले नै भनिसकेको छ। सदियौंदेखि नेपाली समाजले धार्मिक स्वतन्त्रताको मुद्दा अँगालेको छ। प्रत्येक नागरिकले आफ्नो धर्म र आफ्नो आस्थामा विश्वास गर्न पाउनुपर्छ। तेरो आस्था ठूलो की मेरो आस्था भनेर समाजमा बहस गर्ने र समाजलाई विभाजित गर्नु हुँदैन। र, राज्यको कुनै पनि धर्म हुनुहुँदैन। र, कुनै पनि पार्टीले धर्मको नाममा राजनीति गर्नु हुँदैन। अबको राजनीति मानवताको मुद्दामा केन्द्रित हुनुपर्छ।

विवेकशील नेपाली र पछि विवेकशील साझा पार्टी सुरु गर्दा नै हामी यो कुरामा स्पष्ट थियौँ। हामी धार्मिक स्वतन्त्रताको मुद्दाबारे २०७१ माघ ८ गते सार्वजनिक गरेको संविधानको खाकामै लेखेका थियौँ। हाम्रो संस्कृति र देशभक्तिप्रतिको अडान पनि स्पष्ट थियो।

त्यही भएर हामीले विवेकशीललाई ‘मध्यमार्गी’ शक्ति भनेका थियौँ। मध्यमार्गी शक्ति भनेको जुन कुरामा पनि आधाआधा वा बीचको लाइन भन्ने होइन। हामीले बनाउन खोजेको शक्ति नागरिकलाई केन्द्रमा राखेर सही मुद्दामा कहिले ‘राइट’ अनि कहिले ‘लेफ्ट’ ढल्कन सक्ने शक्ति हो। 

हाम्रो व्याख्या थियो– मध्यमार्गी अर्थात् शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारीजस्ता मुद्दामा हामी ‘लेफ्ट’ ढल्केका छौँ। हाम्रो संस्कृति, सम्पदा संरक्षण र देशभक्तिमा हामी ‘राइट’तिर ढल्कन्छौँ। हामी लेफ्ट–राइट, लेफ्ट–राइट गर्दै फरवार्ड जाने शक्ति हौँ। त्यसैले हाम्रा अभियानहरू, घोषणापत्रहरू पनि त्यहीअनुसार अघि बढे।

म हिन्दु भएकै कारणले के भन्छु भने जसरी राज्यले मेरो आस्थालाई सम्मान गर्नुपर्छ, त्यसरी नै प्रत्येक नागरिकको आस्थालाई सम्मान गर्नुपर्छ। यो देशमा एक जना मानिस मात्र पनि कुनै एउटा धर्म मान्छ भने पनि राज्यले उसको आस्थालाई संवैधानिक रूपमा सम्मान र बराबरको अधिकार दिनुपर्छ। मलाइ मेरो धर्मले सिकाएको कुरा यही हो। त्यसैले म अर्को धर्म मान्ने मानिसको आस्थाको सम्मानको मुद्दा उठाउँदै छु।

यति भनिरहँदा मलाई थाहा छ– हाम्रो धर्म/संस्कृतिमा केही विचलन आइरहेको छ। यसलाई रोक्न जरुरी छ। हाम्रो धर्म–संस्कृतिका नकारात्मक पाटाहरू फाल्दै हामीले हाम्रो संस्कृति र परम्परालाई संरक्षण गर्न जरुरी छ। 

यसका निम्ति हामीले हाम्रो धर्म–संस्कृति(परम्परामा गर्व गर्न सिकाउनुपर्छ। संसारमै पृथक हाम्रो संस्कृतिलाई हामीले माया गरेर गर्वसाथ यो मेरो पहिचान हो भन्न सके संसारले पनि हामीलाई मान्नेछ।

यसका निम्ति हामीले हाम्रो शिक्षा, पारिवारिक अभ्यास र सामाजिक संस्कृति र सम्पदा संरक्षण गर्न नीतिहरू लागू गर्न सक्छौँ। नयाँ पुस्तालाई हाम्रो संस्कृति र सम्पदाबारे गर्व महसुस गराउने अभियान सञ्चालन गर्न सक्छौँ।

अर्को हाम्रोमा देखिएको विकृति भनेको प्रलोभनका आधारमा हुने धर्म परिवर्तन हो। यस क्रियाकलापलाई भने हामीले कडा कानुन बनाएर, बनेको कानुन लागू गरेर रोक्न सकिन्छ। रोक्न पर्छ।

धर्मसँगै मेरो कला संस्कृति संरक्षणमा पनि अगाध लगाव छ। कला संस्कृतिको स्वर्ग काठमाडौंको वसन्तपुरनजिक जन्मिएकोले सांस्कृतिक र सम्पदा संरक्षण मेरो सामाजिक र राजनीतिक उद्देश्यै हो।

मलाई केही साथीहरू, ‘तँ धर्म संस्कृतिको बारेमा अलि कन्जरभेटिभ नै छस्’ भन्छन्। म छुजस्तो पनि लाग्छ।

म त काठमाडौंलाई संस्कृति र सम्पदाका हिसाबमा लिभिङ संस्कृति म्युजियमका रूपमा संसारमा चिनाउन सकिन्छ भन्नेमा विश्वास गर्छु। नेपाललाई पुनः शान्ति भूमि घोषणा गरेर विश्वमै भइरहेका द्वन्द्व, अशान्तिको समाधानका निम्ति नेपाल वार्ता भूमि हुनसक्छ भनेर वकालत गरिरहेको छु। 

हिन्दु धर्मावलम्बी, बौद्ध धर्मावलम्बी, किरात धर्मावलम्बीका निम्ति हाम्रो पावन भूमि अध्ययन केन्द्र बन्न सक्छ भनेर लेख्दै आइरहेको छु। करोडौं हिन्दु भारतीयका निम्ति पशुपतिनाथ र करोडौं चिनियाका बौद्ध धर्मावलम्बीका निम्ति लुम्बिनी सबैभन्दा ठूलो तीर्थस्थलका रूपमा स्थापित गरेर करोडौं धार्मिक पर्यटन भित्राउन सकिन्छ भन्ने ठान्छु।

हामीले २०७० सालदेखि नेपाललाई ‘गुरु राष्ट्र’ बनाउनपर्छ भनेर आवाज उठाइरहेका छौं। तर  हामी स्पष्ट छौं– धर्मका नाममा राजनीति गर्न हुँदैन। यो धर्मको राजनीतिको बहस नै अनावश्यक बहस हो।

त्यसैले त म भन्छु– म हिन्दु हुँ तर हिन्दुवादी होइन। 

(लेखक पाण्डे विवेकशील साझा पार्टीका संयोजक हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .