ad ad

ब्लग


माओवादीमा तेस्रो पुस्ता किन स्थापित भएन? अब कस्ता युवा ‘अपग्रेड’ गर्ने?

माओवादीमा तेस्रो पुस्ता किन स्थापित भएन? अब कस्ता युवा ‘अपग्रेड’ गर्ने?

पुष्प न्यौपाने
पुस ७, २०७८ बुधबार १८:२, काठमाडौँ

शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको डेढ दशकपछि माओवादी पार्टीमा पहिलोपटक युवा सहभागिताबारे बहस भएको छ।​

युद्धकालीन संरचनामा विपक्षीहरूबाट बालसेना बनाएको आरोप खेप्नुपर्ने माओवादीमा शान्ति प्रक्रियापछि केन्द्रीय कमिटीभित्र युवा उपस्थिति कम छ। खासगरी ३५ देखि ४५ वर्षसम्म उमेरका कार्यकर्ताको एउटा विशाल समूह नेतृत्वको ‘रिङ’बाट बाहिरिने गम्भीर खतरा छ। ५०–७० उमेर समूह नेतृत्वमा छ, २५–३५ उमेर समूह सोझै पहिलो र दोस्रो पुस्तासँगै अन्तरघुलनमा जम्दै छ।

जसले १८, २० वर्षको उमेरदेखि माओवादी जनयुद्धमा योगदान गरे, तीमध्ये धेरैजसोले शान्तिपूर्ण राजनीतिमा आउँदा पनि लाभको पद वा मुनाफाको बाटो पाएनन्। आफ्नो जीवनको ऊर्जाशील समय पूर्णकालीन राजनीतिमा बिताएका उनीहरूसँग यतिबेला आर्थिक, राजनीतिक र सामाजिक हैसियत औसतभन्दा माथि छैन। जोखिम मोलेर अवसर नपाएको यो उमेर समूहका अगाडि चुनौती थुप्रै छन् र त्यस अनुपातमा सम्भावना कम। 

संविधानअनुकूल हुनेगरी पार्टी विधान र नेताहरूको आर्थिक भरणपोषण वा राजनीतिक महिमामण्डनअनुरूप कार्यकर्ताहरूको मूल्यांकन गर्ने परिपाटी हामीकहाँ नजानिँदो ढंगले प्रवेश गरिसकेछ। पहिलोपटक ‘डमी ब्यालेट’ बोकेर स्थानीय तथा प्रदेश सम्मेलन हलमा प्रवेश गरेका हामीले लोकतान्त्रिक अभ्यासको भोलिको ‘प्यार्टन’बारे आभाससम्म गर्न सकेनौं। तल्लो तहका हाम्रा सम्मेलन न बुर्जुवा शैलीको प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासमा जान सके न कम्युनिस्ट शैलीको कार्यकर्ता मूल्यांकन विधिका हुन सके। बरु यी सम्मेलन पहुँचवालहरूको राजनीतिक जमात अझ बढी बलियो बनाउने औजारमा सीमित बन्ने खतरा देखियो। आफूसँग असहमत हुनेहरूलाई स्थानीय तहदेखि नै किनारा लगाउने क्रम सुरु भयो र प्रदेश सम्मेलनसम्म आइपुग्दा त्यो क्रम रोकिएन भन्ने कार्यकर्ताहरूको गुनासो वा असन्तोषलाई हामीले निकै गम्भीरताका साथ लिनैपर्छ।

विभिन्न क्लस्टरदेखि युवाहरूलाई कमिटीमा ल्याउँदा पनि कसको कोसँग सम्बन्ध र कसलाई ल्याउँदा आफूअनुकूल हुन्छ भन्ने कुराको मसिनो हिसाब–किताब गरियो भन्ने बुझाइ बन्नु संगठनको मामिलामा कहीँ न कहीँ समस्या छ भन्ने निचोडमा पुग्नु हो। यही तरिका हो भने हामीले लोकतान्त्रिक विधि, पद्धति र अभ्यास खासगरी बुर्जुवा र कम्युनिस्ट दुवै शैली ‘ह्यान्डल’ गर्न सक्दैनौं। यसमा सबैभन्दा बढी युवाका सीमा छन्। हामीले विभिन्न तहमा युवा नेतृत्वका लागि दाबी गर्यौं, तर हाम्रो आजको वामपन्थी एजेन्डा के हो? मजदुरले मालिकसँग आराम मागेको छैन, बरु ‘ओभर टाइम जब’को सुनिश्चितता चाहेको छ। मालिकहरू मानवश्रम भन्दा मेसिन श्रममा बढी लालायित छन्। भनाइको तात्पर्य समस्याहरू निकै नयाँ रूपमा देखा परेका छन् र समाधानको आशा गर्नेहरूलाई हामी सय वर्ष पहिलेका ‘रेडिमेड’ कथन दोहोर्याउँछौँ।

समग्रमा आजको युवा पुस्ताले नयाँ एजेन्डा लन्च गर्नसक्नुपर्छ र सामाजिक बदलावका क्रममा देखापरेको निराशालाई सम्बोधन गर्ने तरिका खोजी गर्नुपर्छ। 

प्रचण्डको पुस्ताले गणतन्त्र ल्यायो, सामाजिक परिवर्तनका लागि जागरणको लहर सिर्जना गर्यो, प्रगतिशील राजनीतिक एजेन्डाहरूलाई अनिवार्य सामाजिक स्वीकृतिको हैसियत दिलायो, अब हाम्रो भूमिका के हो? गणतन्त्रको मोडल, परिवर्तित सामाजिक मूल्यहरूको आधार तय, प्रगतिशील राजनीतिक एजेन्डाहरूको कार्यान्वयनका लागि दबाब र प्रभावकारी संरचना आदिबारे कुनै विचार प्रस्तुत गर्ने हैसियत नभएको उमेरको मात्रै युवाले कसरी मुलुक र जनताको भाग्य र भविष्यको दिशा निर्देश गर्नसक्छ? यी टड्कारा प्रश्नका जवाफ त परै जावस् अबका प्रश्न यी हुन् भन्ने कुराको छेउटुप्पो भेट्टाउन तयार नहुने युवा पुस्ताले समाजको नेतृत्वदायी भूमिका निर्वाह गर्न सहज छैन।

आवश्यकताका हिसाबले व्यापक युवाको उपयोग र परिचालन हरेक राजनीतिक पार्टीको अनिवार्य दायित्वको हिस्सा बन्दै छ। देशका मूल राजनीतिक पार्टीमा सशक्त युवा पंक्ति, जो नीति निर्माणमा अग्रणी र कार्यान्वयनको तहमा आक्रामक औजारको भूमिकामा अनिवार्य हुनुपर्छ। त्यसकारण राजनीतिलाई जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरणको नीतिगत सोपानक्रम अनुसार अघि बढाउने कोसिस गरिनुपर्छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनले जुन म्यान्डेट दियो, त्यो आशालाग्दो उभार मात्र होइन, पुस्ता हस्तान्तरणको जबर्जस्त धक्का पनि हो।

युवा नेतृत्व सम्हाल्न सक्षम छन्?
माओवादी केन्द्रले अहिले नै युवालाई नीति निर्माण तहसम्म जिम्मेवारी दिने वा नदिने बहस सुषुप्त रूपमा सुरु भएको छ। युद्ध र शान्तिपूर्ण राजनीतिका दुवै कालखण्डमा पहिलो र दोस्रो पुस्ताका नेताहरूसँगै सहकार्य गरेका युवाहरू केन्द्रीय कमिटीमा ‘अपग्रेड’ गरेर  युवाहरूको आवश्यकता र भूमिका स्वीकार गर्ने वा उमेर र भूमिगतकालीन राजनीतिको वरीयताकै निरन्तरतामा संगठनको विविधताविहीन संरचना घिसार्दै डोर्याउने? यसमा पर्याप्त छलफल, बहस आवश्यक छ। गएको डेढ दशकमा एक जना पनि युवा नेता पार्टीपंक्तिमा स्थापना हुन नसक्नु विडम्बना हो। 

माओवादी आन्दोलनको युद्धकालीन समय सम्झिने हो भने त्यतिबेला विविध प्रकृतिका क्षमतावान् नेताहरूको विकासलाई निकै गम्भीरताका साथ लिइएको थियो। पहिलो पुस्तापछि दोस्रो पुस्ताको नेतृत्वपंक्ति तयार गरिने क्रम तीव्र गतिमै थियो। तर दोस्रो पुस्तापछि तेस्रो पुस्ताको सम्भावित नेतृत्व पंक्तिका लागि कुनै पात्र सार्वजनिक फोरम, आम जनता र कार्यकर्ता वा बुद्धिजीवीहरूका बीच कहीँ कतै स्थापित देखिँदैन। जहाँसम्म कमान्ड सम्हाल्ने कुरा छ, युवाहरू त्यस तहसम्मको सामथ्र्य राख्छन् भन्ने कुरा विश्वका थुप्रै मुलुकको बागडोर सम्हाल्ने युवाहरूको कार्यसम्पादनले दर्शाउँछ।

​२०१७ अक्टोबर २६ मा ३७ वर्षीया ज्यासिन्डा अर्डन न्युजिल्यान्डको ४०औं प्रधानमन्त्री बनिन् र उनको कार्य सम्पादन पूर्ववर्तीको तुलनामा राम्रै देखियो। विपक्षीहरूको सामान्य आलोचना त राजनीतिको स्वाभाविक धर्म नै हो। त्यसैगरी अस्ट्रियाका ३१ वर्षीय सेबेस्टियन क्रुज संसारका सबैभन्दा कम उमेरका राष्ट्राध्यक्ष बने। त्यसअघि २७ वर्षको उमेरमै उनी त्यहाँको प्रभावशाली विदेशमन्त्री बनिसकेका थिए। 

सेन म्यारिनोमा एनरिको काट्र्टोनीले ३२ वर्षकै उमेरमा मुलुकको प्रमुख पदभार सम्हाले। त्यसैगरी ३३ वर्षकै उमेरमा मुलुकको नेतृत्व हातमा लिएका उत्तरकोरियाली नेता किम जोङ उनले विरासत मात्रै धानेनन्, कहिले वार्ता र कूटनीति, कहिले आणविक परीक्षणद्वारा संसारलाई नै त्रासको पराकम्पनमा हल्लाइरहे। ३७ वर्षकै उमेरमा भुटानका राजा जिग्मे खेसर नामग्यालले शासनको बागडोर हातमा लिए। उनका लागि त्यो कुलीनतन्त्रको वरदान र विरासतको उपहारस्वरूप प्राप्त पैतृक सम्पत्तिझैं भए पनि उनले आफ्नो शासनको सुरुवातदेखि नै घरेलु मामिलामा केही सुधारका कदम र वैदेशिक मामिलामा मौन कूटनीतिको शक्तिद्वारा आफ्नो परिपक्वता पुष्टि गरे। 

३८ वर्षको उमेरमा आयरल्यान्डको शासन सम्हालेका लियो वराडकरको ‘पर्फर्मेन्स’ उनका पूर्ववर्तीहरूको तुलनामा पारदर्शी र असल रह्यो। ३८ वर्षका सालेह अली अल समदले यमनको सत्ता हातमा लिए। उनको शासनकालसँगै आएका जटिलता र चुनौतीको तुलनामा रक्तपातपूर्ण संघर्षको स्केल कम भयो। तर यमन निकै लामो समयदेखि हुथी विद्रोहीहरूको निशानामा छँदै छ। एस्टोनियाका प्रमुख ३९ वर्षीय जुरिस रेटसले पूर्वी युरोपको त्यस सानो मुलुकमा आंशिक रूपमै भए पनि सुधारका कदम अघि बढाए र अपारदर्शितालाई क्रमशः नियन्त्रण गर्ने अभ्यासको जमर्को गरे। युक्रेनबाट क्रिमिया अलग भएपछि देशको बहुमत हिस्सामा आएको शासकहरूप्रतिको असन्तोष र असन्तुष्टिका बीच ३९ वर्षीय बोलोडिमिर ग्रोजम्यान सत्ता हातमा लिन सफल भए। तर रुस र पश्चिमाहरूका बीच कूटनीतिक सन्तुलन मिलाउन उनी अपेक्षाकृत सफल हुन नसके पनि युक्रेनलाई पूरै विलयको खतराबाट तत्कालका लागि जोगाएको श्रेय उनलाई जान्छ। 

फ्रान्सका चर्चित राष्ट्रपति ३९ वर्षीय इमानुयल म्याक्रोले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सन्कीपूर्ण हर्कत र धम्कीपूर्ण क्रियाकलापबाट आजित विश्व जनमतलाई थोरै भए पनि राहत दिए। ट्रम्पको रवाफपूर्ण भड्काव र बाँकी युरोपलाई आफूबाट अलग गर्ने लन्डनको निर्णयले विचलित हुने अवस्थामा पुगेको युरोप र पश्चिमा गठबन्धनलाई एकताको धागोमा झुन्ड्याइरहन म्याक्रोको भूमिका महत्त्वपूर्ण रह्यो।

नेपालकै सन्दर्भमा युवा अवस्थामै मुलुकको बागडोर सम्हालेका राजा महेन्द्रले मुलुकलाई बलियो राजतन्त्र, निर्दलीय व्यवस्था र अपेक्षाकृत विकासका तीनवटा रणनीति एकैसाथ अख्तियार गरी घरेलु राजनीति र बाह्य कूटनीति दुवैमा आफूलाई परिपक्व शासकका रूपमा चिनाए। महेन्द्रको जगमा खडा भएको मजबुत राजतन्त्रको विस्थापन प्रक्रियाका लागि पनि बीपी, पुष्पलाल, मदन भण्डारी र उनीहरूको कमान्डका युवा नेताहरूले आफ्नो समयमा जुन स्केलको संघर्ष, बलिदान, त्याग र नेतृत्वशैली प्रदर्शन गरे, त्यो सराहनीय नै थियो। 

तर पछि सिंहदरबार परिवर्तन गर्न आएका उनीहरूलाई सिंहदरबारले नै परिवर्तन गरेपछि मुलुकले घुम्दै फिर्दै रुम्जाटारको घुम्ती झेल्नुपर्यो। कांग्रेसबाट परित्यक्त किसुनजी र गणेशमानहरू निरीह बन्ने, रामहरी जोशीहरू किनारामा धकलिने अनि पार्टी केही विजय... बहादुर.. हरूले चलाउने अवस्था सिर्जना भयो भने एमालेमा मोहनचन्द्र अधिकारी, धुलाबारीस्थित सानो छाप्रोमा सीमित सानो दुर्गा अधिकारी र बल्खुस्थित एमाले मुख्यालयमा आत्महत्या गर्ने डिकेन्द्र राजवंशीहरूले भोगेका राजनीतिक र मानसिक यातनाको कुनै सीमा छैन। 

मदन भण्डारीकै भाषामा भन्नुपर्दा एमालेकै केही नेताहरूको संरक्षणमा हुर्किएका सुन्डमुन्डहरूले उदाउँदो सूर्यमा ग्रहण लगाउँदै गए। जसका कारण स्थापनाका ५ वर्ष पूरा नहुँदै बहुदलीय व्यवस्था अप्रिय बन्यो। त्यसलाई पूर्ण रूपमा विस्थापनका लागि सशक्त धक्का दिन अर्का चतुर र फूर्तिला युवा प्रचण्ड राजनीतिको नयाँ खेलाडीका रूपमा गुरिल्ला युद्धमार्फत मैदानमा आए। उनले राजतन्त्रलाई पूर्ण रूपमा विस्थापन गर्दै गणतन्त्र स्थापना गरे। तर गणतन्त्रको संस्थागत विकाससँगै मुलुकको समग्र विकासका लागि उनी अग्निपरीक्षामै छन्। उनका अघि यतिबेला कुनै नयाँ खेलाडी डरलाग्दो चुनौतीका रूपमा मैदानमा आइपुगेको छैन र पुराना खेलाडीहरूको पुनरागमनका लागि पनि समय अनुकूल बनेको देखिँदैन। समकालीन राजनीतिका समकक्षी खेलाडीहरू प्रचण्डकै वरिपरि छन् र प्रचण्ड ‘किङ मेकर’को भूमिकामा छन् मात्रै, तर माओवादी पार्टीले उठाएका एजेन्डा उनको पार्टीले स्वामित्वमा लिन सकेको छैन र संगठन विस्तारका केही सीमाले उनी आफैं मुलुकको कार्यकारी बन्ने अवसरबाट चुक्नुपरेको छ।

माओवादीले व्यवस्थापन गर्न नसकेका कैयौं घाइते योद्धा डिकेन्द्र राजवंशी बन्ने छैनन् र हामी नीति निर्माणको तहमा आउँदा आन्दोलनको स्वामित्व लिँदै घाइते योद्धा, ज्येष्ठ नागरिक, सहिदका परिवार, विपन्न, असहायहरूको वैधानिक रूपमै जिम्मा लिनेछौं र राज्य उनीहरूको संरक्षक बन्ने कुराको ग्यारेन्टी गर्नेछौं भन्ने आँट र हिम्मत भएका युवाहरू पार्टी नेतृत्वदायी भूमिकामा आउनुपर्छ। 

हामी निसंकोच घोषणा गर्न सक्छौं– मुलुकको निरंकुश चरित्र परिवर्तनका लागि संघर्ष गर्ने र शारीरिक वा मानसिक रूपले कमजोर समाजका सबै मानिसको भविष्यको जिम्मा हामी लिन्छौं। सकिन्छ, राज्यको प्रतिनीधि बनेर आम मानिसको सहज जीवन यापनका लागि लोक कल्याणकारी कार्यक्रमहरू अघि सार्छौं, सकिँदैन दबाब समूहद्वारा पनि सामाजिक परिवर्तनका एजेन्डा र ती एजेन्डालाई स्थापना  गर्नेहरूको न्यूनतम आवश्यकता पूरा गर्न राज्यलाई बाध्य पार्छौं। जनयुद्धले उठाएका, शान्ति प्रक्रियाले स्वीकारेका र संविधानले स्वामित्व लिएका ती एजेन्डालाई अलपत्र छाडेर अन्य कुनै खुसामद हुँदैन र कसैसँग सम्झौता गरिँदैन। 

माओवादी पार्टीको संगठन विस्तार हुन नसक्नुका अरू थुप्रै कारणमध्ये पार्टीको कार्यशैली र कार्यकर्ताको व्यवहारमा देखिएको प्रतिद्वन्द्वीहरूकै देखासिकी मुख्य हो। समान कार्यशैली, आचरण र व्यवहारका तीनवटा पार्टी देशलाई आवश्यक छैन। पार्टी आफ्नो घोषित लक्ष्य, उद्देश्य, एजेन्डा र दृष्टिकोणका आधारमा सामाजिक क्रियाकलापमा सहभागी हुन सकेन र संगठनका सदस्यहरू आर्थिक लाभ–हानिमा केन्द्रित हिसाब–किताबमा सीमित हुन खोजे भने व्यवस्थाको दुर्भाग्य त्यही बिन्दुबाट सुरु हुन्छ। त्यो खतरा माओवादी केन्द्रका अघि पनि छ। त्यसकारण पार्टीलाई भ्रष्ट, ठेकेदार, बिचौलिया र माफिया चरित्रका कार्यकर्ताहरूको हालिमुहालीबाट बचाउनुपर्छ।  

कस्ता युवा ‘अपग्रेड’का लागि योग्य हुन्छन्?
जनताको मनोविज्ञानसँग ज्ञान, विवेक र साहस जोड्न सक्ने महत्वाकांक्षी देशभक्त, मुलुकको विकासका लागि हृदयदेखि नै लागिपर्ने, कमिसनको ब्रिफकेसभन्दा कामको गुणस्तरका लागि प्रतिबद्ध, धन दौलत, वैभव र सम्पन्नताको व्यक्तिगत लालसाबाट मुक्त र सामाजिक विभेद एवं साम्प्रदायिक मनोविज्ञानबाट मुक्त युवाहरू नै अपग्रेडका लागि योग्य हुन सक्छन्।

खासगरी आफ्नो युवा अवस्थामै कूटनीतिक भाषाको प्रयोग गर्ने, संगठनभित्रै समकक्षी वा सहकर्मीहरूसँग दाउपेच र षड्यन्त्र गर्ने, सामाजिक जडता, रूढिवाद र अन्धविश्वासविरुद्ध हातमा मसाल बोक्नुको साटो दुई गुच्छा फूल लिएर नेताहरूको जन्मदिन मनाउन पुग्ने, नेतृत्वको वरिपरि भक्तिभाव शैलीमा प्रार्थना गर्ने, सत्ता र शक्तिका लागि चाकडीको जुनसुकै हद पार गर्ने युवाहरूलाई संगठनको महत्त्वपूर्ण जिम्मेवारीमा ल्याउँदा पार्टीभित्रैका बहुल शक्तिकेन्द्रहरूलाई त फाइदा पुग्ला, तर मुलुकले विवेकशील र स्वच्छ नेतृत्व प्राप्त गर्न सक्दैन। पार्टी र संगठनलाई त झन् त्यसबाट ठूलै नोक्सानी हुने निश्चित छ।

युवा छनोटका आधार
सामान्यतया संगठनमा अपग्रेडका लागि एउटा निश्चित कार्यदल बन्छ र कार्यदलले निष्पक्ष मूल्यांकन गरिदियो भने त्यस पार्टी दिगो जीवनको दिशामा डोरिन पनि सक्छ। हरेक संगठनको दीर्घायू, चीरायू र लोकप्रियताका पछाडि त्यसको संरचनामा रहेका अनुहार र सोपानक्रम अनुसार उनीहरूले निर्वाह गर्ने दायित्व नै महत्त्वपूर्ण पक्ष बनेर आउँछ। युवाहरूलाई नीति निर्माणको तहमा ल्याउँदा राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांगठनिक हिसाबले क्षमतावान्, योग्य, परिपक्व र सबै खाले विचलनविरुद्ध लड्नसक्ने अठोट भएको गुणस्तरलाई प्राथमिकता दिनुपर्छ। 

इमानको राजनीतिक पृष्ठभूमि, विषय बुझ्ने र बदल्न कोसिस गर्ने, अरूको खुट्टा तान्न लागिपर्ने भन्दा आफ्नो पाइला लम्काउन अभ्यस्त युवाहरू नीति निर्माणको तहमा आउनुपर्छ। मन पर्नेहरूलाई बुई चढाएर ल्याउँदा गुटहरू त बलिया होलान्, तर पार्टी संरचना जीर्ण बन्दै जाने र आफ्नो विकासको उत्कर्षकाल र प्रभावपूर्ण समयको अनुभूत गर्न नपाउँदै पार्टी बूढो बन्ने खतराबाट जोगाउन सक्षम युवाहरूलाई पार्टीमा जिम्मेवारीको वातावरण बनाउँदै लैजानु उचित हुन्छ।

(पुष्प न्यौपाने नेकपा माओवादी केन्द्रका युवा नेता हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .