ad ad

ब्लग


जब सर्वशक्तिमान देउवाले भने– मलाई मत नदिनेको पनि सभापति मै हुँ

जब सर्वशक्तिमान देउवाले भने– मलाई मत नदिनेको पनि सभापति मै हुँ

विजयराज अधिकारी
पुस १७, २०७८ शनिबार १२:५०, काठमाडौँ

नेपाली कांग्रेस विधि–विधान अनुसार चल्नुपर्यो भनेर धेरै बहस भएको पाइन्छ। कांग्रेसका सभापति शेरबहादुर देउवालाई आलोचना गर्नेहरुले पनि विधानअनुसार पार्टी नचलाएको भन्ने आरोप लगाउने गर्दछन्।

हुन पनि अघिल्लो कार्यकालमा देउवाले पार्टीको हरेक निर्णय सहमतिकै आधारमा गरेको देखिन्छ। केन्द्रीय समितिको बैठक बस्नुअघि शीर्ष नेताहरुसँग छलफल गर्ने, पदाधिकारी तथा पूर्वपदाधिकारीसँग अनौपचारिक धारणा बुझ्ने र त्यसैअनुरुप पार्टीको एजेण्डा तय गर्ने विधि देउवाले अपनाएका थिए। 

केन्द्रीय समितिमा भारी बहुमत हुँदाहुँदै पनि देउवाले सहमतिको राजनीतिलाई अघि बढाउने बाटो रोजे। त्यसैको फलस्वरुप पार्टी निर्णयमा सबैको स्वामित्व र अपनत्वको भावना वृद्धि हुदै गयो। देउवाको जतिसुकै चर्को आलोचना र विरोध भए पनि कांग्रेस समग्रमा एकढिक्का रह्यो। पार्टीभित्र टुटफुट र विग्रहको अवस्था आएन। 

दोस्रो कार्यकालका लागि निर्वाचित भएलगत्तै देउवाले फेरि पनि सहमतिकै बाटोमा अघि बढ्ने स्पष्ट संकेत गरेका छन्। 

‘मलाई मत नदिनेको पनि सभापति मै हुँ’ भन्ने देउवाको भनाइले यो कुरा स्पष्ट हुन्छ। हुन त चौधौं महाधिवेशनले देउवालाई थप सर्वशक्तिमान बनाएको छ। सिंगो केन्द्रीय समितिमा तीन चौथाइभन्दा बढी देउवापक्षको बर्चस्व स्थापित भएको छ। ३३ जना मनोनयनपछि त्यो संख्या अझै बढ्नेछ। तर, पनि विधानलाई टेक्ने र सबैको भावना समेट्ने नीति देउवाले अवलम्बन गर्ने निश्चित छ।

‘कानूनको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस्’ भन्ने बिपी कोइरालाको मार्गदर्शन नै देउवाको अबको बाटो रहने छ। किनकि कांग्रेस बलियो बनाउने, देश र जनताको पक्षमा आमूल सुधारका कामहरु गरेर इतिहास रच्नेबाहेक अन्य कुनै स्वार्थ अब देउवासँग रहने छैन भन्ने विश्वास आमकांग्रेस कार्यकर्ताले लिएका छन्। 

कांग्रेसको विधानले सभापतिलाई धेरै अवशिष्ट अधिकार दिएको छ। समग्रमा पार्टीको मियोको रुपमा सभापति अडिग र अविचलित रहनुपर्दछ। मियो कमजोर भयो या हल्लिन थाल्यो भने कांग्रेस बलियो बन्न सक्दैन। लामो लोकतान्त्रिक इतिहास भएको कांग्रेसको विधानले सभापतिलाई निकै शक्तिशाली बनाइदिएको छ।

इतिहासका विभिन्न कालखण्डका आरोह–अवरोह अभ्यास र व्यवहारबाट सभापतिलाई अधिकारसम्पन्न बनाउने वैधानिक व्यवस्था कांग्रेसले गरेको देखिन्छ। नेपाली कांग्रेसको विधान २०१७ लाई विभिन्न समयमा संशोधन र परिमार्जन गर्दै नवौं संशोधन २०७५ अनुसार विधानको धारा २५ ले सभापतिलाई निम्न अधिकारहरू दिएको छ। 

१) पार्टीको समग्र नेतृत्व गर्ने।

२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय संसदीय समितिको अध्यक्षता गर्ने।

३) कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने।

४) केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र प्रवक्ता तोक्ने।

५) पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने, राख्न लगाउने तथा पार्टीलाई सबल र सक्षम संगठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने।

६) पार्टीका तर्फबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने, गराउने।

७) पार्टीका अगाडि तत्काल परिआएका कार्यहरू गर्ने र त्यसको जानकारी केन्द्रीय कार्यसमितिलाई दिने।

८) पार्टीका केन्द्रीय निकायद्वारा भएका निर्णयको कार्यान्वयन भए/नभएको रेखदेख गर्ने, गराउने।

९) केन्द्रीय विभाग एवं अन्य केन्द्रीय निकायका प्रमुख, उपप्रमुख, सचिव र सदस्यको नियुक्ति, मनोनयन वा हेरफेर गर्ने।

१०) केन्द्रीय कार्यालयका लागि आवश्यक कर्मचारीको नियुक्ति र हेरफेर गर्ने। 

११) केन्द्रीय सभापतिले पार्टीको निकाय, पदाधिकारी वा सदस्यका सम्बन्धमा परेको उजुरी र गतिविधिका सम्बन्धमा छानबिन समिति गठन गरी छानबिन गर्न सक्नेछ। त्यसरी जाँचबुझ गरिएको अवस्थामा केन्द्रीय कार्यसमितिले छानबिन समितिको प्रतिवेदनका आधारमा वा तत्कालको आवश्यकताअनुसार पार्टीको कुनै पनि निकाय वा पदाधिकारी वा सदस्यलाई पदबाट निलम्बन गर्न सक्नेछ।

१२) केन्द्रीय कार्यसमितिले पार्टीको कुनै पनि निकायलाई निलम्बन गर्दा त्यस्तो निलम्बन भएको पार्टीको निकायको कार्यसम्पादन गर्न निलम्बन भएको अवधिसम्मका लागि कुनै समिति वा सदस्य वा व्यक्तिलाई तोक्न सक्नेछ।

१३) सभापतिले आफू विदेश गएको अवस्थामा वा आवश्यकताअनुसार उप–सभापतिलाई कार्यवाहक सभापति तोक्नेछ। 

१४) केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने। 

१५) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने। .
१६) अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

यसरी विधानले कांग्रेस सभापतिलाई १६ वटा अधिकारहरू स्पष्ट रुपमा तोकिदिएको छ। त्यस अतिरिक्त दुईजना उपसभापतिमध्येबाट केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख तोक्ने, दुईजना महामन्त्रीलाई प्रस्ताव पेस गर्न तथा कार्यालय सञ्चालन व्यवस्थापनदेखि पार्टीको निर्णय कार्यान्वयनसम्मका निर्देशन र जिम्मेवारी दिने अधिकारसमेत विधानले सभापतिलाई नै दिएको छ। कांग्रेसको संगठन परिचालनका लागि गठन हुने २८ वटा विभागको प्रमुख, उप–प्रमुख, सचिव र सदस्य तोक्ने अधिकारसमेत सभापतिलाई रहेको छ। 

समग्रमा कांग्रेसको हरेक निर्णय र काम–कारबाहीमा सभापतिकै मूल भूमिका विधानले स्थापित गरिदिएको छ। कांग्रेसलाई विश्वब्रह्माण्ड मान्ने हो भने सभापतिलाई मूल ग्रह र अन्य निकायहरूलाई उपग्रहका रुपमा बुझ्न सकिन्छ। 

विधानअनुसार गठन हुने कार्यसम्पादन समिति र संसदीय समितिको नेतृत्वसमेत सभापतिले नै गर्ने तथा सदस्य मनोनयन गर्ने अधिकारसमेत सभापतिलाई प्राप्त छ। पार्टी बैठकको एजेण्डा तय गर्ने तथा एउटा बैठक र अर्को बैठकको बीचमा कुनै महत्वपूर्ण निर्णय लिन गठन हुने कार्यसम्पादन समितिमा पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था छ भने अन्य ३१ जना सदस्य सभापतिले मनोनयन गर्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने प्रावधान छ। 

त्यस्तै संघीय, प्रदेश र स्थानीय तहको चुनावमा टिकट बाँड्न गठन हुने केन्द्रीय संसदीय समितिमा पनि पदाधिकारीहरु पदेन सदस्य रहने र ११ जना सदस्य सभापतिले मनोनयन गर्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने प्रावधान छ। यसरी वैधानिक व्यवस्थाअनुसार हेर्दा समग्र केन्द्रीय समिति, कार्यसम्पादन समिति र संसदीय समितिको सम्पूर्ण बागडोर सभापतिकै हातमा अन्तरनिहीत रहेको छ। 

यस्तो सर्वशक्तिमान कांग्रेस सभापति अनुभवी र परिपक्व व्यक्ति नहुने हो भने सिंगो राष्ट्रिय राजनीति, लोकतन्त्र र अन्तर्राष्टिय सम्बन्धमा समेत प्रतिकूल प्रभाव पर्न जाने कुरालाई विश्लेषण गरेर नै कांग्रेसको चौधौं महाधिवेशनले पुनः देउवाको काँधमा यो जिम्मेवारी सुम्पिएको हो। यो ऐतिहासिक जिम्मेवारीलाई पुरा गर्दै बलियो कांग्रेस र समृद्ध देश निर्माणमा देउवा सफल बन्नसक्नु पर्दछ। 

वडा तहदेखि केन्द्रीय समितिसम्म स्थापित युवा नेतृत्वको जोश र ऊर्जा देउवाको सफलताको आधार बन्ने नै छ। यसो भए मात्र राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्वर्द्धन गर्दै लोकतान्त्रिक समाजवादको आदर्शअनुरुप समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने नेपाली कांग्रेसको लक्ष्य हासिल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .