ad ad

ब्लग


तपाईं पहिले पत्रकार भएर नेता भएको हो या ‘नेता–पत्रकार’ हो?

तपाईं पहिले पत्रकार भएर नेता भएको हो या ‘नेता–पत्रकार’ हो?

झलक सुवेदी (फाइल फोटो)


झलक सुवेदी
चैत २०, २०७८ आइतबार ७:३७, काठमाडौँ

गत फागुन २७ गते प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गरिएको थियो। उक्त महाधिवेशनका समयमा हामी केही लेखक तथा पत्रकारलाई चौतारीले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय पहिले नै गरेको थियो। प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मलाई अग्निशिखा सम्मान (सम्मान हो या पुरस्कार भन्ने चैं मैले बिर्सें) प्रदान गर्नुभएको थियो। 

उक्त कार्यक्रममा मैले पनि केही बोल्ने समय पाउँला कि भनेर कार्यक्रमको दुईदिन पहिले नै चौतारीका अध्यक्ष गणेश बस्नेतजीलाई सोधेको थिएँ। उहाँले ‘तपाईंलाई सम्मानित हुनेहरुका तर्फबाट पाँच मिनेट बोल्ने समय मिल्छ’ भन्नुभयो। मैले पनि उतै बोल्न भन्दा केही लेखेर लानु र पढ्नु ठीक होला भन्ने ठानेर सोही दिन बिहान एउटा छोटो मन्तव्य जस्तो लेखेर लगेको थिएँ। 

मलाई मादी गाउँपालिकाको कार्यक्रममा पुग्नु पर्ने थियो, त्यसैले हतारमा थिएँ। सम्मानित भइसकेपछि मैले उद्घोषक राजेश राईसँग ‘मैले बोल्ने समय छ कि’ भनेर सोधेँ। उहाँले ‘नेताहरु नै धेरै हुनुहुन्छ, तपाईंलाई समय मिलाउन सकिएला जस्तो छैन’ भन्नुभयो। 

यति भएपछि कमरेड ओलीले बोल्दै गर्दा म पछाडिबाटै निस्केर याङ्जाकोटतिर हिँडेँ। पछि मलाई बोल्न भनेर खबर त गयो तर ढिलो भइसकेको थियो। सो दिन पढ्न लगेको यो आलेख पाठकहरुसम्म पुगेकै राम्रो भन्ने लागेर यहाँ प्रस्तुत गरेको छु: 

गत पुष महिनाको आखिरीतिर घरमा यसै अलमलमा परेर बसिरहेको कुनै दिउँसो प्रेस चौतारी नेपालका अध्यक्ष गणेशजीले अग्निशिखा सम्मानका लागि मेरो स्वीकृति माग्न फोन गर्नुभयो। प्रस्ताव अप्रत्यासित थियो। मलाई त अग्निशिखाका नाममा कुनै सम्मान या पुरस्कार छ भन्ने पनि सम्झना थिएन। 

एकाध मिनेट जति गणेशसँग कुरा भए। तर मेरो मनमा त्यही बीचमा अनेक कुरा खेल्न थाले। लिनु कि नलिनु भन्ने दोधार पनि उत्पन्न भयो। म अलिकति पार्टी गतिविधिमा सामेल हुन थालेपछि मात्र यस्तो पुरस्कारको लागि योग्य देखिएको होला भनेर आफैँ हासेँ पनि। गणेशले पुरष्कृत गर्ने प्रस्ताव राख्दा मेरो मनमा ’पार्टी राजनीतिमा हैन, तेरो स्थान लेखन र पत्रकारिता मै हो’ भनेर थान्को लाउन खोज्या’ पो हो कि भन्ने षडयन्त्रको सिद्धान्त पनि प्रवेश गरेको थियो एकछिन। 

अनि सम्झें अग्निजीको नाम। अग्निलाई पढ्न थालेदेखि उहाँप्रति मनमा एकप्रकारको श्रद्धा थियो। मृत्युभन्दा केही घण्टा अघिसम्म कमलपोखरीस्थित हामीले काम गर्ने कारखानाको छतमा उस्तै शान्त, गम्भीर र तर्कशील रुपमा हामीसँग कुरा गरिरहेका थिए। माझी र चोर औंलाको बीमा सूर्य चुरोट च्यापेर फुसफुस धुवाँ उडाउँदै उनले आफ्नो लेखनका विषयमा कुरा गरेका थिए। 

सज्जन र भलाद्मी तिनले पार्टीका लागि भनेर पेन्सन पाक्नु केही महिना अघि मात्र स्थायी जागिर छाडेका थिए। एकप्रकारले अघोषित पूर्णकालिन कार्यकर्ता थिए पार्टीका। एकजना क्रान्तिकारी थिए, सच्चा कम्युनिष्ट थिए। विश्वभरका क्रान्तिकारी युवा–युवतीका जीवनी र आन्दोलनका अनेक पाटाबारे खोजी–खोजी लेख्थे र हामी पाठकहरुलाई परिचित गराउँथे। 

अचानक उनको मृत्युको खबर सुनेर स्तब्ध हुनेमा म पनि थिएँ। भोलिपल्ट आर्यघाटमा उहाँको छोराले ‘मेरो बाबुको शवमाथि पार्टीको झण्डा नराख्नू’ भन्दै रोक्न बल गरेको सम्झें। त्यसले पार्टीमा योगदानहरुको मुल्य हुँदैन भन्ने मान्यतालाई बल पुग्ने एकप्रकारको विद्रोह र असन्तुष्टिको विम्व देखाएको थियो। उहाँको नाममा राखिएको पुरस्कार, सम्झेर सम्मान गर्न खोज्ने नयाँ पुस्ताको प्रस्ताव, सम्मान अस्वीकार गर्नु अग्निजीका प्रति पनि अपमान जस्तो हुन्थ्यो। दिनेको पनि र आफ्नै पनि अपमान होला भन्ने लाग्यो। 

यस अर्थमा पनि अग्निशिखा पुरस्कार (सम्मान) का लागि योग्य सम्झेकोमा प्रेस चौतारीलाई म धन्यवाद दिन चाहन्छु।

पुरस्कार सत्ता हुनेले या धन हुनेले दिन्छन्। एमाले एकप्रकारको सत्ता हो। ‘पुरस्कारको अर्थ हुन्छ, पाउने मान्छे आफ्नो हो’ भन्ने स्थापित गर्नु या उसलाई पुरस्कार दिनेका पक्षमा नैतिक बन्धनमा राख्नु। म आफ्नो चेतनाले अर्थ–राजनीतिमा विद्यमान विभेदहरु महशुस गर्न थाले देखि सत्ताको विरुद्ध छु। आफैँले मत दिएर, प्रचार गरेर जिताउन सघाएको सरकार भएपनि आलोचना गर्छु। सत्तासँग एकप्रकारको दुरी राख्नु आवश्यक जस्तो ठान्छु। 

केही वर्ष पहिले मेरो पुस्तक ‘ब्रिटिश साम्राज्यका नेपाली मोहोरा’ का लागि दिइएको ‘किराँत एकेडेमी पुरस्कार’ प्रदान गर्न आउनु भएका माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई मैले भनेको थिएँ, ‘तपाईं सरकारमा हुँदा मट्याङ्ग्राँले हानुँहानुँ झैं लाग्छ, प्रतिपक्षमा हुँदा सहयोग गरुँ गरुँ लाग्छ।’ 

यता कमरेड केपी ओली पनि अहिले प्रतिपक्षमा हुनुहुन्छ। एमाले प्रतिपक्षमा छ। म त प्रतिपक्षकै भइहालें। यस्तोमा पुरस्कार लिनु त्यति नराम्रो हुँदैन भन्ने लाग्यो। उहाँ प्रधानमन्त्री हुनुभएकै समयमा गणेशले प्रस्ताव गरेको भए सम्भवतः मलाई यो पुरस्कार स्वीकार गर्न मुश्किल पर्ने थियो। यसअघि सरकारले दिएको ‘जनसेवाश्री पदक’ अस्वीकार गरेकै हो। ठीक–बेठीक जे जस्तो भएपनि म यस्तै छु। हामी यस्तै त छौं ब्रो!  

प्रेस चौतारीका साथीहरु, 
राजनीतिक नेताहरुलाई त एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्म केही नारा र केही वाचा–कसमले टिकाइरहन सक्छ। चाहिए मार्क्र्सको नाम लिन्छन, गान्धी या बुद्धको नाम लिन्छन्, कहिले ‘रहिम’ भनेर राजनीति बचाउँछन् त कहिले ‘राम’ भनेर शक्ति आर्जन गर्छन्।

कहिले ‘सिंगापुर बनाउने’ भन्छन्, कहिले ‘स्वीट्जरल्याण्ड बनाउँला’ भनेर पनि तिनको जीवन चल्छ। कहिले पार्टी एकता गरेर राजनीति टिकाउँछन्, कहिले विभाजन गरेर शक्ति आर्जन गर्छन्। केही नभए ‘देशी–विदेशी प्रतिक्रियावादीले यसो गरे, उसो गरे’ भन्दा पनि हुन्छ। 

तर पत्रकारका रुपमा तपाईंको व्यक्तित्व निर्माण गर्न भने मेहनत चाहिन्छ। भ्रम छरेर हुँदैन। म चौतारीमा आवद्ध पत्रकारका पत्रिका के निस्कन्छन् भन्नेमा कम जानकारी राख्छु। गणेशजीको अनलाइन पोर्टल छ भन्ने थाहा छ तर नाम बिर्सें। अरु अरु नेताका पनि होलान्। 

मुश्किल के छ भने, तपाईं पहिले पत्रकार भएर नेता भएको हो या ‘नेता–पत्रकार’ हो भन्ने द्धिविधामा म जहिले पनि पर्छु। 

यो लेखिरहँदा बाहिर फेवातालको पानी र त्यस माथिको आकाश दुबै घुर्मैैलो–घुर्मैलो देखिएको छ। अगाडि चौरमा काग र मान्छे आफ्ना–आफ्ना धुनमा यताउता गरिरहेका छन्। चाँपका केही अग्ला रुख विना उत्साह उभिइरहेका छन्। पर आरुवखडामा नयाँ पालुवा पलाएर वसन्तको स्वागत गरिरहेको छ। माथि आकाशमा केही मानिसहरु चिलले कावा खाएझैं प्याराग्लाइडिङको आनन्द लिइरहेका छन्। र, म हाम्रो विगत सम्झिरहेको छु। हामीले बिगारेको संस्कृति र हामीलाई बिगार्दै लगेको संस्कृतिका कुरा मनमा खेलिरहेका छन्। 

अस्तिमात्र एकजना स्थानीय युवासँग अर्को एउटा साथीले ‘कृष्णराज बर्माका बारेमा थाहा छ कि’ भनेर सोधेका थिए। थाहा पाउनु पर्ने हैसियत बनाइसकेका जनसंगठनको केन्द्रीय नेतृत्वमा पुगेका ती युवाले ‘नाम त सुनेको हो, उनका बारेमा भन्न चाहिँ सक्दिनँ’ भन्ने जावफ दिएका थिए। (कृष्णराज बर्मा नेपालका पुराना कम्युनिष्ट नेता हुनुहुन्थ्यो। उहाँको निधनसँगै एउटा समय र विचारले पनि विसौनी भेटेको छ। उहाँप्रति म हार्दिक श्रद्धान्जली दिन्छु।)

उक्त सवाल–जवाफले हाम्रो आन्दोलनमा हुर्कँदै गरेको नेतृत्वका सीमाहरु बताउँछ। कुनै पनि घटनाको ऐतिहासिकता हुन्छ। आजको एमाले बनेको अहिलेको पुस्ताको सक्रियताले मात्र होइन। यसको पनि ऐतिहासिकता छ। कुनै दिन यो इतिहासको कडी टुट्यो भने एमाले पनि रहँदैन। त्यसैले पनि चौतारीका साथीहरुलाई आत्मचिन्तन र अध्ययनतिर लाग्न म आग्रह गर्छु।

एउटा कुरा, चौतारीमा सक्रिय पत्रकारहरुको पत्रकारिता कमजोर रहेको पक्का हो। पत्रकारितामा ‘फेक’ या काल्पनिक समाचार र सूचनाको खेती गरेर शक्ति आर्जन हुन्न। अस्थायी रुपमा तपाईंले सहयोग गरेको पार्टीलाई सहयोग होला, दीर्घकालिन हुँदैन। मूल कुरा, तथ्यमा आधारित समाचार– विचार लेख्छ कि लेख्दैन– विरोधीको आलोचनाका लागि पनि र आफ्नो पक्षको समर्थनका लागि पनि षडयन्त्रका सिद्धान्तको पछि लाग्छ कि तथ्य, ऐतिहासिकता, विचारको पक्षधरताका आधारमा आफ्ना कुरा राख्छ भन्ने हेरिन्छ। चौतारीका पत्रकारले जति सत्य र तथ्यका आधारमा आफ्नो अलग पहिचान बनाउँछन्, जति उनीहरु समाजमा सुनिने र पढिने बन्छन्, विरोधीहरुलाई जति तर्कले जित्न खोज्छन्, त्यति तपाईं संलग्न दलको प्रचार बलियो हुन्छ। 

तपाईं एमाले हो र एमालेको पक्षमा जनमत बनाउन चाहनुहुन्छ भने एमालेको जस्तोसुकै निर्णयको पनि बचाउ गरिरहनु पर्दैन। आलोचना पनि गर्न डराउनु पर्दैन। आलोचना र विरोध भनेका फरक कुरा हुन् भन्ने कुरा पार्टीले पनि बुझ्नुपर्छ, पत्रकारले पनि। तपाईंहरुको अलग पहिचान सहितको सामाजिक व्यक्तित्व बन्यो भने र त्यस्तो व्यक्तित्वसहित चौतारीमा लाग्नु भयो भने मात्रै चौतारीको प्रतिष्ठा बढ्छ। हल्ला गरेर, चर्को बोलेर, धेरै जना जम्मा गरेर मात्र संगठन बलियो बन्दैन। एउटा चुनाव जित्दैमा जीवन सकिँदैन। लगातार मानिसहरुको विचार निर्माणमा काम गर्ने सामाजिक इञ्जियिरिङको कार्य पनि हो लेखन या पत्रकारिता। सूचना उही भएपनि, तथ्य उही भएपनि त्यसका अर्थहरु फरक हुन्छन् राजनीतिमा। त्यहि फरक केलाउने हो र आफ्नो पक्षमा तर्क निर्माण गर्ने हो। 

कांग्रेस, एमाले, माओवादी, समाजवादी कसैको आलोचना गर्नका लागि गलत या ‘फेक’ कुरा नै चाहिँदैन। ती पार्टीहरुको जीवन र इतिहासमा बग्रेल्ती कमजोरीहरु छन् त्यसैलाई समाते पुग्छ। एमालेको समर्थन गर्न वा त्यसको पक्षमा जनमत निर्माण गर्नका लागि पनि कुनै काल्पनिक कुराको हल्ला गर्नुपर्दैन। यसले गरेका राम्रा काम मात्र खोजेर व्यवस्थित प्रचार गर्दा पनि पुग्छ। मलाई चाहिँ चौतारीको पहिलो काम नै आफू आवद्ध सदस्यहरुलाई देशको राजनीति, इतिहास, यसको भू–राजनीतिक चुनौती, अर्थ–राजनीतिक अवस्था, ऐतिहासिक भौतिकवाद पढाउनु हो भन्ने लाग्छ। 

आजकल एमालेका पत्रकारको रिपोर्ट र कांग्रेसका पत्रकारको रिपोर्टमा कुनै भिन्नता देखिन्न। कांग्रेसलाई समाज बदल्नु छैन भनेर मान्ने हो भने एमालेवाला पत्रकारले पनि कांग्रेसकै जस्तो विचार पस्कँदा उसलाई फाइदा पुग्छ। ‘जबज’ या ‘मार्क्र्सवाद’ लाई स्वीकार गर्नेहरुको कुनै घटना या सन्दर्भमा आउने रिपोर्ट या टिप्पणी र उदारवादलाई आधार मान्नेको रिपोर्ट या विचार उस्तै आउँदा उदारवादी पक्षलाई सहयोग पुग्छ। 

किनभने हाम्रो समाज र अर्थव्यवस्था विश्व अर्थतन्त्रकै एउटा हिस्सा हो, विश्व समाजकै एउटा हिस्सा हो। अहिलेको विश्व व्यवस्था उदारवादका नाममा, लोकतन्त्रका नाममा अमेरिकी दृष्टिकोण थोपरिएको व्यवस्था हो। विश्वभर हुने लडाइँ, विश्वभरका देशहरुमा लागू गरिने नवउदारवादी आर्थिक कार्यक्रम, त्यस्तो कार्यक्रमका कारण बढ्दै गएको धनी र गरिब बीचको खाडल, बृत्तमा पर्ने देशहरुको दुर्दशा सबैमा यही विश्वव्यवस्था जिम्मेवार छ। 

तपाईं या यस्तो विश्व व्यवस्थाको पक्षमा लाग्न सक्नुहुन्छ या विरुद्धमा। मलाई मार्क्र्सवादले पनि र ‘जबज’ ले पनि ‘यस्तो विश्व व्यवस्था ठीक होइन, बदल्नु पर्छ’ भनेको छ भन्नेमा विश्वास छ। तपाईंहरु आफुलाई ‘जबजवादी’ भन्नुहुन्छ, मार्क्र्सवादी भन्नुहुन्छ भने त वर्तमान विश्व व्यवस्थाको विरोधमा उभिनुपर्ने हुन्छ। 

भारतमा संसदीय लोकतन्त्र छ। तर त्यो क्रमशः फासिवादतिर जाँदै गरेको छ। अमेरिका अहिले भारतीय लोकतन्त्रको लक्षिणपन्थीकरणलाई भरथेग गर्ने सबैभन्दा ठूलो शक्ति हो। संसदीय लोकतन्त्र र भारतमा पन्पँदो फासिवादका बीच फरक छुट्याउनु भएन भने तपाईं प्रकारान्तरले नेपालमा पनि दक्षिणपन्थी राजनीतिलाई प्रोत्साहित गर्ने पंक्तिमा पर्नुहुनेछ। अर्थात् तपाईं मार्क्र्सवादी पनि भन्ने र भारतीय सत्तारुढ दलको दक्षिणपन्थी बाटोलाई पनि ठीक मान्ने एकैपटक हुनसक्नु हुन्न।

नेपाली कांग्रेस वर्तमान विश्व प्रणालीलाई जोगाउन चाहन्छ। यसबारेमा म तपाईंहरुलाई गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनका समयमा महामन्त्रीका उम्मेदवार गगन थापाजीले पेश गर्नुभएको राजनीतिक प्रस्ताव हेर्न अनुरोध गर्छु। 

त्यो प्रस्ताव नेपाली कांग्रेसले बीपी कोइरालाको समयपछि अघि सारेको सबैभन्दा प्रष्ट वैचारिक अवधारणा हो। र, त्यो सबैखाले समाजवादी बाटोको विपक्षमा उभिएको उदारवादी विचार हो। तपाईंले यदि आफूलाई ‘उदारवादी होइन’ भनिरहनु भएको हो, आफूलाई ‘जबजवादी’ भन्नु भएको हो भने उक्त विचार बोक्नेसँग समान धारणा बनाएर पत्रकारिता गर्न सक्नु हुन्न। 

मैले चुनावमा गरिने होहल्लाको कुरा गरेको होइन, वैचारिक संघर्षको कुरा गरेको हो। हैन भने विश्व बैँक या अन्तर्राष्ट्रिय श्रम सम्बन्धका विषयमा कलम चलाउँदा, नेपालका किसान र श्रमिकका बारेमा समाचार बनाउँदा नेपाली कांग्रेससँग सम्बद्ध प्रेस युनियनमा सम्बद्ध पत्रकार र प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको एउटै अर्थ बोकेको रिपोर्ट आउँछ भने त्यसमा गडबड हुन्छ नै। 

यति कुरा पत्रकारले बुझे भने प्रेस चौतारीको एउटा पहिचान बन्न सक्छ। प्रेस चौतारीका पत्रकारलाई एमाले या उसको समर्थकले मात्र पत्रकार मानेर हुन्न। समाजले चौतारीका पत्रकारका कुरा सुन्न थाल्यो भने, उनीहरुको व्यक्तित्वबाट प्रभावित भयो भने, पार्टी बृत्त बाहिरबाट चौतारीका पत्रकारलाई विश्वासका आँखाले हेर्न थालियो भने चौतारीको सदस्य संख्या घटेर पनि केही हुन्न। 

लौ त साथीहरु, अर्ति धेरै भयो। यो सम्मानका लागि प्रेस चौतारीप्रति आभार प्रकट गर्छु। 

सम्मान प्रदान गर्नुभएकोमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय केपी ओलीजिलाई धन्यवाद!  

साथी अग्निशिखाप्रति हार्दिक श्रद्धान्जली!!


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .