ad ad

ब्लग


म भ्रष्टाचारीलाई हराउन राजनीतिमा आएँ

म भ्रष्टाचारीलाई हराउन राजनीतिमा आएँ

मनोज पण्डित
बैशाख १४ , काठमाडौँ

मेरो पेशा सिनेमा हो । सिनेमामार्फत कथा भन्छु। तर, जब मेरो सिनेमा हेर्ने दर्शकको जीवन व्यथा नै व्यथाले भरिएको छ र त्यसको मूल कारण राजनीति, भ्रष्टाचार र अराजक प्रवृत्ति हो भन्ने स्पष्ट भयो, तब सिनेमाभित्र कथा बनाएर मात्रै पुग्दैन । अब त वास्तविक जीवनमै परिवर्तन लेख्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हुँ। म अहिले राजनीतिमा बाध्य भएर आएको छु।

हाम्रो राजनीतिक प्रणालीमा भ्रष्टाचार, निरंकुश प्रवृत्ति तथा छाडापनका कारण मभित्र आक्रोश, छटपटी र बेचैन जन्मिरहेको छ। त्यसकारण विद्रोहका लागि राजनीतिक पाइला अघि बढाएको हुँ। हाल भैरहेको घृणित राजनीतिक खेललाई रोक्नुपर्ने आवश्यकता छ। केही हदसम्म यो क्रमलाई रोक्न सकिन्छ कि भनेर बाध्य भएर राजनीतिक मैदानमा उत्रिएको हुँ।

हामी कथाकार, साहित्यकार मान्छे कल्पनाशील हुन्छौँ। अब नेपालको राजनीतिमा कल्पनाशीलता र सिर्जनशीलता प्रवेश र प्रभाव पार्ने हो। राजनीति पेशा होइन, राजनीति योगदान हो। पेशाका रुपमा म सिनेमा कहिल्यै छाड्दिनँ, तर यो देश लुटेको टुलुटुलु हेरेर पनि बस्न सक्दिनँ।

नेपाली चलचित्रको संसारमा मेरो अस्तित्व राजनीतिक सिनेमा बनाउने एक विद्रोही चलचित्रकर्मीको रुपमा छ। यथास्थितिवादसँग जहिले पनि असहमत हुँदै आफ्ना सिनेमालाई राजनीतिक कलमका रुपमा सामाजिक चेतना र तथ्य निर्माणका लागि सधैं लागि परिरहेको छु।

वास्तवमा म सिनेमासँग आवद्ध भएकै कारण राजनीतिक पाइला चाल्न सक्षम भएको हुँ। किनकि हाम्रो दायित्व मानव समाजको चेतना विकाससँग सम्बन्धित छ। र, आजको समयले हरकोही संवेदनशील नागरिकलाई आफ्नो राजनीतिक भूमिका खोज्न घाँटी अठ्याइरहेको छ। मान्छे गतिशील हुनुपर्छ, जम्नु हुँदैन । म जम्ने मान्छे परिनँ। त्यसैले सिनेमामा वैचारिक चेत र कथ्यको स्थापनाका लागि नयाँ प्रयोग गरिरहेँ।

सिनेमा मेरा लागि विज्ञान हो । म सिनेमा ल्याबभित्र नयाँ खोजी गर्दै, नयाँ कथाको खोजी गर्दै यो जीवनभर प्रयोग भइरहनेछु । अब म सिनेमाको सौन्दर्य र विशेष चरित्र नेपाली राजनीतिमा भित्र्याउने छु। र, त्यो हो नेपाली जनतालाई आफ्नो देशको र आफ्नो जीवनको कथा आफैं लेख्ने उत्प्रेरणा दिने । अब नेपाल र नेपालीले एक विशेष परिवर्तनको कथा लेख्न पाउने छन्। र विश्वले हाम्रो कथा सुन्नेछ, देख्नेछ, पढ्नेछ र भन्नेछ नेपाली उत्कृष्ट मानिस हुन्।

२०४६/४७ साल होस् अथवा ६२/६३ सालको राजनीतिक परिवर्तनको इतिहासलाई हेर्ने हो भने केही दलहरुले भन्दा धेरै स्वतन्त्र र सामान्य जनताले ठूलो भूमिका खेलेको छ। आम नागरिक सडकमा नआई कुनै पनि ठूलो राजनीतिक परिवर्तन भएको छैन। दलहरुको एकल प्रयासले परिवर्तन सम्भव छैन्। तर दलहरुले परिवर्तनमा साथ दिएका स्वतन्त्र नागरिकहरुको भूमिकालाई वेवास्ता गर्दै परिवर्तन आफूले मात्रै ल्याएको र त्यसको अहममा उनीहरु दलीय निरंकुशताको व्यवहार लाद्न क्रियाशील भए। उनीहरुले जनता सबैलाई आफ्नो कार्यकर्ता हुन भन्ने भ्रम बोक्न थाले।

जनता कसैको पेवा होइनन्। जनता स्वतन्त्र हुन्छन् र जनता आफ्ना आवश्यकता पूरा भएको हेर्न चाहान्छन् भन्ने मूल कथ्यलाई उनीहरुले बिर्सिदिएका छन्। त्यसैले अब स्वतन्त्र नागरिकले आफ्नो अस्तित्वका लागि स्वतन्त्र रुपमा राजनैतिक मैदानमा उठ्ने आँट गरिरहेका छन्।

म मात्रै होइन, स्वतन्त्ररुपमा चुनावी मैदानमा आउन आँट देखाउने नागरिकको सूची निक्कै लामो भैसकेको छ। राजनीति केही राजनीतिक दल र कार्यकर्ताको पेशा भएको छ।  उनीहरु आफूलाई त्यसको मतियार पाएको घमण्ड गरिरहेका छन्। तर राजनीति मानव समाजको समस्या समाधान उन्मुख शक्तिको इन्जिनियरिङ हो । यसमा देशका हरेक नागरिकले आफ्नो क्षमता र दृष्टिकोण अनुसार योगदान गर्न पाउँछ।

हाल दलहरुले राजनीतिको अर्थ बिर्सिएका छन्।  उनीहरु मात्तिएको साँढे जस्ता भएका छन् र नेपाली जनतालाई हान्दै हिँडिरहेका छन्। यो उन्मुक्त साँढेलाई तह लगाउन एकपटक सबै पेशा र क्षेत्रका मानिसहरु जागरुक हुनुपर्ने अवस्था आएको छ। यसको अर्थ आफ्नो पेशा र कर्म छोड्नु पर्छ भन्ने होइन। आफ्नो पेशा र कर्ममा रमाउनकै लागि देशमा राम्रो वातावरण बनाउनका लागि राजनीतिक प्रदूषणलाई हटाउन प्रयत्न गर्ने भन्ने हो।

म एउटा कथा सुनाउँछु, एकादेशमा एकजना राजा थिए। उनी भव्य दरबारमा बस्थे। दरबारका वरिपरि छाप्राहरु थिए। जहाँ गरिब दुःखी बस्थे। उनीहरु राजाबाट अत्यन्तै पीडित थिए। एकदिन केही मानिसहरु आए र राजा हटाइ पाउँ भने र त्यसपछि विद्रोह गरे ।

राजाले विद्रोह दबाउने नाउँमा थुप्रै सोझा जनता मारे। अन्त्यमा सबै मानिसहरु राजाको विरुद्धमा उत्रिए र राजाको विरुद्धमा उत्रिएका मानिसहरुलाई साथ दिए। दरबार घेरे र राजालाई दरबारबाट निकाले। पीडितहरुले उनीहरुलाई महान बनाए। माला लगाइदिए। नाचे, उत्सव मनाए। दरबारको चाबी हस्तान्तरण गरे। ती मानिसहरुले दरबारभित्र प्रवेश गरेपछि अनौठो शक्तिको महसुस गरे।

भोलिपल्ट बिहान महाराजधिराजको परमादेश जारी भयो र ती छाप्राका मानिसहरुलाई सुनाइयो ‘अब कसैले दरबारतिर हेरेर कसैले यसका विरुद्ध सोच्न पनि पाउने छैन।’

वास्तवमा राजाले दरबार बनाउने होइन रहेछ, दरबारले राजा बनाउने रहेछ। दरबार रहुञ्जेल कोही न कोही राजा बनिरहन्छ। समस्या दरबारमा छ। उपचार राजामा खोजिरह्यौ। जबसम्म दरबार भत्काइन्न तबसम्म दासत्व, निरंकुशता र अराजकता कायम भइरहन्छ।

म दरबार भत्काउन चाहान्छु। अब को राजा बन्ने भन्ने प्रतिस्पर्धा नै हटाउनु पर्छ। र त्यसका लागि दरबार हटाउने लक्ष्य राख्नुपर्छ। यसका लागि हामी जस्तै भुइँमान्छेहरुको क्रान्तिकारी प्रतिनिधित्व हुनु जरुरी छ। म दरबार नै भत्काउनुपर्छ भन्ने लक्ष्यका साथ राजनीतिमा आएको हुँदा राजा बन्नु मेरो कथामा लक्ष्य छैन।

काभ्रे क्षेत्र नम्बर २ मा मेरो घर पर्छ। र संयोगले भ्रष्टाचारको हाकाहाकी प्रवचन दिने गोकुल बाँस्कोटा मेरो क्षेत्रका माननीय हुन्। हाम्रो काभ्रेको नियति पीडादायी छ। भ्रष्टाचारीको राष्ट्रिय प्रतिभा जन्माउने ठाउँका रुपमा अपमानित हुनुपर्ने नियति भोग्नुपर्ने अवस्था छ। म काभ्रे यो इमेज हटाएर काभ्रेलाई भ्रष्टाचारीको अखडा बन्न दिनबाट जोगाउन चुनावी मैदानमा उत्रिएको छु। काभ्रेबाट जोगाउने प्रयत्न सफल भयो भने त्यसको प्रभावमा यो देशलाई भ्रष्टाचारी चरित्र र भ्रष्टाचारी पात्र दुवैबाट जोगाउन सबैजना उत्प्रेरित हुने मेरो अपेक्षा छ। काभ्रे परिवर्तनको प्रतीक बन्न सक्छ आगामी संसदीय चुनावको परिणामपछि।

काभ्रेमा गोकुल बाँस्कोटा राजनीतिक बाघ हुन्। उनलाई भोट संख्याले हराउन अत्यन्तै चुनौतीपूर्ण छ। मेरो सन्र्दभमा मेरो लक्ष्य वास्तवमा बास्कोटाको हार हो। गोकुल बास्कोटाको हार नै मेरो जीत हो। मेरो जीत मैले पाउने भोट संख्याले निर्धारण गर्दैन। वास्तवमा भन्दा आजको दिनसम्म मैले १० भोट पाउने सम्भावना छ। सुन्दा अपत्यारिलो लाग्ला र प्रश्न पनि उठ्छ १० भोट पाउनेले ५० हजार भोट ल्याएर अघिल्लो चुनावमा जित्नेलाई कसरी हराउन सक्ला, यो कस्तो चुनौती हो।

तर मुल कुरा अर्कै छ, उत्प्रेरणा र साहसको ।  त्यो हो मानिसका निराशा, आक्रोश र राजनीतिज्ञको लाचारी र बदमासीबाट आजित भएर जनतामा जन्मिँदै गरेको परिवर्तनको भित्री चाहाना। अब राजनीतिमा मैले धेरै भोट ल्याउनु भन्दा परिवर्तनको चाहाना राखेका जनताको मुक्तिको मार्ग बन्नु बढी अर्थपूर्ण हुन्छ।

संघीय संसदको चुनावका लागि मेरो एक मात्रै चुनावी एजेन्डा भ्रष्टाचारी गोकुल बास्कोटाको हार हो। भ्रष्टाचार गरेको भ्रष्टाचारी आफैंले खुलमखुला स्वीकार गर्दा पनि भ्रष्टाचार विरुद्ध काम गर्ने सम्पूर्ण संस्थाहरु मौन बसेको देख्दा मभित्र अझै बढी आक्रोश जन्मिएको छ । म गोकुल बास्कोटालाई भ्रष्टाचारको मुद्दामा कारबाही भएको देख्न चाहान्छु।

मेरो चुनावी एजेण्डामा उनको कारबाहीको माग छ। म उनले भ्रष्टाचार गरेका कारण चुनावमा उठ्न नपाउने स्थितिको निर्माण गर्ने  प्रयत्न गर्ने छु। उनले चुनाव उठ्न पाएनन् भने भ्रष्टचार विरुद्धको अभियानले ठूलो जीत हात पार्छ र भ्रष्टाचारीको मुटु काँप्न सुरु हुन्छ।

(कुराकानीमा आधारित)

बैशाख १३, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad