ad ad

ब्लग


हेपिएको गोरखा र अबको गोरखाली राजनीति

हेपिएको गोरखा र अबको गोरखाली राजनीति

राजदीप न्यौपाने
बैशाख २८ , काठमाडौँ

गोरखा आफैँमा एउटा गर्विलो इतिहास बोकेर आएको छ। फरक पहिचान बनाएर बसेको छ। इतिहासका कयौँ पानाहरू गोरखा राज्यको कथा गाथाहरूले भरिएको छ। गोरखाली वीरहरूसँग कयौं विश्वविजेताहरु डगमगाएका कथाहरु छन्। आज पनि गोरखाली इतिहासले हरेक नेपालीको शिर झुक्न दिएको छैन, वीरतामा कमी हुन दिएको छैन। 

आधुनिक नेपालको जग बसाउने द्रव्य शाह देखि पृथ्वीनारायण शाह, बहादुर शाहसम्म, मुख्तियार भीमसेन थापा, सरदार कालु पाँडे, कुलानन्द ढकाल, शक्तिवल्लभ अर्याल, माथवर सिंह थापा, जंगबहादुर राणा, लखन थापा, थमन सिंह गुरुङ, गजे घले, भानुभक्त गुरुङ लगायत कयौ वीर वीरङ्गनाहरुले गोरखाली इतिहासलाई सदैव जीवन्त बनाइराखेका छन्। 

सामान्य पहाडी राज्य गोरखाका राजा पृथ्वीनारायण शाहलाई हरेक जात वर्णका गोरखालीहरुको साथ थियो तब न उनले नुवाकोट, काठमाडौ हुँदै अन्य बाइसे-चौबीसे राज्यहरु जित्न सफल भए। तर गोरखाली जनताहरूले आफनो सरकार आफूबाट टाढा गएको चाहिँ पक्कै महसुस गरे जब राजधानी नुवाकोट हुँदै काठमाडौं र देश नेपाल भयो।

तर पनि पृथ्वीनारायण शाहको दूरदर्शिता, राजनीतिक चातुर्यता, काठमाडौ उपत्यकाको वैभव, विशाल राज्य हुने महत्वकाङ्क्षाको लागि गोरखाले आफूलाई समर्पित गरिदियो। बदलामा राजादेखि रैतीसम्मलाई भुलाउने अलौकिक शक्ति बोकेको काठमाडौंले, पुरानो राज्य गोरखालाई झन् झन् टाढा धकेलिदियो। आफ्नै राजाबाट गोरखाले हेपिएको महसुस गर्यो। वैभवशाली हुने गोरखाली सपना पूरा हुन सकेन। 

राणा शासनको बेला सम्पूर्ण देश नै जर्जर बनेको बेला गोरखा किन बनेन् भन्ने प्रश्न नै रहेन। तथापि राणाहरू गोरखाली खानदान हुँदा पनि गोरखामा केही विकास गरेको भेटिँदैन। समृद्ध बन्ने गोरखाको सपना त्यतिबेला पनि अधुरै रह्यो। हिमाली र पहाडी क्षेत्रहरुले भरिएको गोरखाले  नेपालको हरेक परिवर्तनमा अतुलनीय भूमिका खेलेको छ। 

२००७ सालसँगै हरेक क्रान्तिको लडाईमा गोरखा जिल्लाले कयौं शहिदहरु दिएको छ र आफूलाई परिवर्तनको  पक्षमा उभ्याएको छ। विश्वयुद्धमा विश्व विजेता बन्ने बहादुरहरू पनि गोरखाले जन्माएको छ। तर विडम्बना गोरखा हिजोदेखि आजसम्म बलिदानको भारी मात्र बोकिरहेको छ। गोरखाली बलिदानलाई हिजोदेखि आजसम्म राज्यमा आफ्नो स्वार्थ सेक्नेहरूबाट अवमूल्यन हुँदै आइरहेको छ।

गोरखाले इतिहासदेखि वर्तमानसम्म हरेक क्षेत्रमा अव्वल जनशक्ति निकाल्दै देशलाई समर्पित गरेको छ। २००७ सालको प्रजातन्त्रपछि पनि कयौं गोरखालीहरुले राज्यको उच्च तह र तप्कामा नेतृत्व गरिरहेका छन्। तर पनि गोरखा किन विकास र उन्नतिको मार्गमा अव्वल बन्न सकेन? विश्वलाई गोरखाली बहादुरीसाामु झुकाए झैँ विकास एवम् सिर्जनाको नेतृत्व लिन किन सकेन? 

लामो समय गोरखाली राजा एवम् अन्य उच्च नेतृत्वबाट नै राज्य संचालन हुँदा पनि किन गोरखा उनीहरुको केन्द्र बन्न सकेन? प्रश्न सिंगो नेपाल नै समुन्नत हुनुपर्ने हो तर कम्तिमा पनि गोरखालाई किन महत्व दिइएन? उनीहरुबाट नै किन उपेक्षामा पर्यो?सोचनीय विषय रहेको छ। हामीले अहिले पनि विभिन्न राजनीतिक विभाजनमा परि गोरखालाई विकासको दौडमा सामेल गर्न सकेका छैनौ। हाम्रो कछुवा गतिको परिवर्तनले रकेटको गतिमा भइरहेको विश्वको विकासलाई कहिले र कसरी भेटन सक्छ? यसबारे बृहत् बहस एवम् छलफलको कुनै गुन्जायस छैन अझै पनि।

पूर्वमा बूढीगण्डकी, पश्चिममा चेपे तथा मर्स्याङ्दी नदी, दक्षिणमा त्रिशुली नदीबीच नेपालकै चौथो ठूलो जिल्लाको रुपमा अवस्थित छ, वर्तमान गोरखा। उत्तरमा मनास्लु, हिमालचुली, बौद्ध, नादीचुली लगायत हिमालहरू, धार्चे डाँडा, गुम्चेडाँडा, सिरान डाँडा, सिङ्गला, बारपाक, लाप्राकजस्ता ठाउँहरु लोभ लाग्दो पर्यटकीय आकर्षको केन्द्रमा रहेका छन्। लिगलिगकोट, अजिरकोट, सिरान्चोक, माझकोटहरु ऐतिहासिक कोटको रुपमा परिचित छन्। मनकामना, अकला, गोरखकाली, अन्नपूर्ण मन्दिरहरू, बौद्ध गुम्बाहरू धार्मिक तथा सांस्कृतिक महत्व बोकेर रहेका छन्। 

गोरखा दरबार, गोरखा दरबार संग्रालय, भीमसेन स्मारकस्थल बोर्लाङ, लखन थापा स्मारकहरू हाम्रो इतिहासका धरोहरका रुपमा रहिरहेका छन्। ऐतिहासिक महत्वसँगै प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको दृष्टिकोणले पनि गोरखा उत्तिकै महत्वपूर्ण रहिआएको छ। गोरखाको वृहत्तर विकासको लागि सम्वद्ध सबै पक्षहरू कत्ति पनि ढिला नगरी विशेष सक्रियता देखाउन आवश्यक छ।

वैशाख ३० गते हुने चुनावको लागि गोरखामा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा, एमाले, राप्रपा लगायत दलहरूको चुनावी सरगर्मी बढेको छ। सबै दल तथा उमेद्वारहरु आफू र आफनो दल जित्ने एकोहरो होडबाजीमा देखिन्छन्। जनता सुशासन, समुन्नति तथा सम्मानपूर्ण जीवनको आशामा छन्। गणतन्त्रपछि साच्चै अब देश बन्नेछ, जनताका रोजीरोटीको समस्या सकिनेछ, उज्याला दिन आउनेछ भनेर चुनावमा जनताहरूले भोट दिदै नेतृत्व छानेको पनि झण्डै दुई दशक भइसक्यो। 

प्रधानमन्त्रीमा डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत कयौँ मन्त्री, सांसद गोरखाले पाइसक्दा पनि हाम्रो समस्या उस्तै छ। हामी कछुवा गतिको पूर्वाधार विकास तथा स्वाभाविक विकासको गतिलाई चमत्कारपूर्ण बदलाव भन्दै स्तुति गाइदिनु पर्ने अवस्थामा पुगेको छौं। यसबारे निर्मम समीक्षा हुनु जरुरी छ।

हामी आधुनिक गोरखालाई वास्तवमै कस्तो बनाउँदै छौ न त कसैसँग स्पष्ट योजना छ न त छलफल नै। ३० वर्षअगाडि बन्न थालेको योजनाहरु अझै कति वर्षपछि पुरा हुनेछन्, कुुनै जवाफ छैन। शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटोको अवस्था चिन्ताजनक छ। आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी प्राप्त गर्न नसकेर जनताहरु पलायन हुन परि रहेको छ भने विश्वस्तरको शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गर्ने कुरा कल्पना पनि गर्न नसक्ने अवस्था रहेको छ। 

विभिन्न जातजाति तथा तहतप्काका जनतासँग जोडिएका, उत्पादनसँग, श्रमसँग जोडिएका दीगो कार्यक्रम कसरी तर्जुमा गर्ने, लागु गर्ने स्पष्ट खाका बनाउन सकेका छैनौँ। हामीले हाम्रा यावत समस्याहरु समाधानको अल्पकालीन, दीर्घकालीन योजनासहित समग्र गोरखाको खाका कोर्न सकेका छैनौं। 

गोरखा जिल्लामा दिगो विकासको लागि कृषि, पशुपालन, पर्यटन, खनिज, जडीबुटी, जलविद्युत्, वनपैदावार लगायत अन्य क्षेत्रहरु पहिचान गरी दीगो कार्यक्रमहरु बनाउन आवश्यक देखिन्छ। हाम्रा स्रोत साधनलाई उच्चतम प्रयोग गर्दै गोरखालाई समृद्धिको मार्गमा दौडाउन सबैले आफ्नो धरातलीय स्वार्थभन्दा माथि उठेर सोच्नै पर्छ। यसको लागि सम्पूर्ण राजनीतिक, बौद्धिक लगायत सम्बन्धपक्ष बीच गहन छलफल तथा बहस हुनुपर्ने होइन? यसको लागि सबै राजनीतिक दलहरूको साझा अवधारणा आउनुपर्ने होइन?

बरु उल्टो राजनीतिको नाममा फैलिँदो भ्रष्टाचार झन् विकराल बन्दै गइरहेको छ। कनिका छरे जसरी स्थानीय तहको बजेट आएको गएको पत्तो नहुने भएको छ। गाउँगाउँसम्म सिंहदरबार विकास भन्दा भ्रष्टाचारका  सिद्धान्त बोकेर जनतालाई झन् तर्साउन थालेको छ। 

यी यावत प्रश्नहरुको खोजी सँगसँगै समुन्नत गोरखा बनाउन सबै जनता एक हुन आवश्यक देखिन्छ। तर, हाम्रा अनेकौँ बलिदानीका बाबजुद हाम्रो अवस्था उस्तै रहँदा नेतृत्वले आफ्नै दाउपेचको राजनीति कहिलेसम्म गर्ला? गोरखाले फेरि एकपटक जुर्मुराएर गोरखाको मात्र होइन सिंगो नेपालको लागि परिवर्तनको खाका कोर्ला? गोरखालीजनले व्यवहारमै उत्तर दिनुपर्नेछ।

बैशाख २८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad