ad ad

ब्लग


प्रेस युनियनमा भाउजूले जित्दा...

प्रेस युनियनमा भाउजूले जित्दा...

चन्दा क्षेत्री
साउन १६, २०७९ सोमबार ८:१०, काठमाडौँ

बिहान जुम्बा सकेर नुहाउँदै थिएँ, फोनको घण्टी बज्यो। 'मामु, सरिता भाउजूको फोन आइराछ', छोराले भन्यो। बाथरूमबाट बाहिर निस्किनेबित्तिकै कल ब्याक गरें। भाउजूले उत्साहित हुँदै भन्नुभयो, 'मैंया, प्रेस युनियनको अधिवेशनमा मैले पनि सदस्यमा उम्मेदवारी दिनुपर्यो।'

भाउजूको कुरा सुनेर म पनि उत्साहित भएँ। करिब दुई हप्ता मात्रै थियो अधिवेशन आउन। फेसबुकका भित्तातिर युनियनको यो पदमा र ऊ पदमा उम्मेदवारी घोषणा भइरहेका देखिन्थे। नन्द–भाउजूको कुराकानी पछि हाम्रो पनि तयारी सुरु भयो।

पत्रकारितासँग कुनै साइनो नरहेको मलाई पनि प्रेस युनियनको चुनाव लाग्ने भयो। नवौं महाधिवेशनमा भाउजू खुला महिला केन्द्रीय सदस्यको उम्मेदवार बनेसँगै म पनि चुनावी माहोलमा होमिएँ। यस्तोखालको चुनाव बिल्कुलै नौलो र फरक थियो मेरा लागि। मनले पनि अनेकथरि सोच्न थाल्यो।

भाउजूलाई उम्मेदवार बन्न धेरैले हौसला दिनुभएको थियो। सबैले तपाई अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो। हामी पनि भाउजूलाई अगाडि देख्न चाहन्थ्यौं। कारण हो, दाइले देखाएको बाटो।

दाइ सूर्यकुमार क्षेत्री प्रेस युनियनको सचिव हुनुहुन्थ्यो। आठौं महाधिवेशनबाट सचिवमा निर्वाचित दाइले कार्यकाल पूरा गर्न पाउनुभएन। ०७३ वैशाखमा हामी सबैबाट सदाका लागि टाढिनुभयो। यो संगठनमा दाजुको केही न केही योगदान थियो। भाउजूले त्यही संगठनमा अगाडि बढ्छु भन्दा हामीलाई उत्साहित बनायो।

प्रेस युनियनको नवौं महाधिवेशन मेरो लागि नितान्त नयाँ र फरक मात्रै थिएन, जिम्मेवारी नि थपिएको महसुस गरिरहेकी थिएँ। अघिल्ला महाधिवेशनहरुमा मैले सतहीरुपमा मात्रै जानकारी राख्थेँ।

समाचारहरुमा पढ्थेँ, क–कसले जितेछन् भन्ने कुरामा मात्रै चासो रहन्थ्यो। अघिल्लो (आठौं) महाधिवेशनबाट दाइ खुल्ला सचिवमा विजयी भएपछि हो प्रेस युनियनको बारेमा अलि चासो बढेको। तर अहिलेजतिको चासो भने त्यतिबेला पनि थिएन।

भाउजू उम्मेदवार भएकाले उहाँलाई बढी चुनाव लाग्नु स्वाभाविक नै थियो। तर, मैले पनि फूल टाइम चुनावमा खटिने निर्णय गरेकी थिएँ। साउन २ गतेदेखि अफिसमा छुट्टी मिलाइसकेकी थिएँ। त्यसअघि काठमाडौंमा भएका युनियनका भेला र छलफलमा भाउजूसँगै म पनि सहभागी भएँ।

साउन ५ गते हेटौंडा जानु थियो। हेटौंडामा धेरै गर्मी हुन्छ भन्ने जान्दाजान्दै पनि यात्रा तय गरियो, गर्नु नै थियो। भाउजू कार्यरत रेडियो नेपालको टिम सँगै जाने तयारी भयो। कलंकीमा भेट्ने योजना अनुसार बिहान साढे ११ बजे म पुगेँ। २/३ जना दाजुहरु आउन बाँकी भएकाले केहीबेर कुरेर करिब १२ बजे हेटौंडातर्फ बाटो लाग्यौं। लगभग २ घण्टाको जाम पछि ३ बजे नौबिसे पुग्यौं।

 नौबिसेबाट दामन, पालुंग हुँदै हेटौडा जाने नयाँबाटो थाहा पाएपछि त्यतैबाट जाने सल्लाह भयो। नयाँ ठाउँ हेर्न पाइने कुराले मन उत्साहित थियो। रेडियो नेपालका अग्रजहरुसँग बोल्दै, हाँस्दै, फोटो खिच्दै यात्रा रमाइलो भयो।

नौबिसेबाट करिब २५ सय मिटरको उचाइमा रहेछ पालुङ दामन। हुस्सु लागेर दिउँसै गाडीको हेडलाइट बाल्नुपर्ने अवस्था थियो। दामन पुगेर खाजा खाइसकेपछि थाहा भयो, हेटौंडा पुग्न अझै आधा बाटो छ।

ठाउँठाउँमा घुम्ती बाटो, साँघुरो, दायाँ बायाँ पुरै घना जंगल। आफूलाई भने एकातिर चिसोले गाह्रो बनाइरहेको थियो।  घुम्ती बाटो, टाउको दुख्न थाल्यो। गाडीमा गाह्रो पनि हुन थाल्यो। तर अगाडि बढ्नुको विकल्प थिएन।

भीमफेदी पुग्दा एकदमै ठूलो पानी दर्कियो। झमक्कै साँझ पनि परिसकेको थियो।  बेलुका साढे ८ बजेतिर हेटौडा पुग्यौं। पानी परिरहेको थियो। कार्यक्रमस्थलकै मेसमा खाना खाएर हाम्रो टिम अमलेखगञ्जतर्फ लाग्यो, जहाँ हाम्रो लागि आयोजकले बासको व्यवस्था गरेका रहेछन्।

 हेटौडाबाट करिव १७ किलोमिटर टाढा अमलेखगञ्ज पुग्दा रातको १० बजेको थियो। हामी बस्ने होटल व्यवस्थित, सफा सुग्धर पनि।

भोलिपल्ट बिहान ८ बजे तयार भएर हामी कार्यक्रमस्थलतर्फ लाग्यौं। जिल्लातिरबाट आइपुगेका प्रतिनिधिहरु त्यहाँ जम्मा भइसकेका रहेछन्। हामीले पनि ब्यागबाट भिजिटिङ कार्ड निकाल्यौं। घाँटीमा भाउजू उम्मेदवार भएको फोटो झुण्ड्यायौं। त्यसपछि चिनजान गर्न र भोट माग्न थाल्यौं।

दिन छिप्पिँदै जाँदा घाम चर्किंदै गयो। जमिनबाट हफहफ बाफ आएजस्तै, माथिबाट राप उस्तै। छालाको रुप रंगनै बदल्दिने सामर्थ्य राख्ने हेटौंडाको घामले पनि हामीलाई चुनावी माहोलमा रोक्न भने सकेन। दिनभरको चर्को घाम, तर ‘ननस्टप’ अभियान। साँझ त शरीर फतक्क गलेर चल्न नसक्ने भएको थियो। त्यसमाथि म त खुट्टा फ्याक्चर भएर राम्रोसँग टेक्न नि नसक्ने।

ब्यागमा बिस्कुट र एन्टिबायोटिक, हातमा पानीको बोतल बोकेर ७ गते बिहान पुनः कार्यक्रमस्थल पुग्यौं। पहिल्यै दुई प्यानलले उम्मेदवारी घोषणा गरिसकेकाले चुनाव हुने निश्चित नै थियो। अघिल्लो दिन केही बाहेक सबै पदमा उम्मेदवार हुने पक्का भो। त्यही अनुसार निर्वाचन तालिका सार्वजनिक भएको थियो।

बिहान ९ बजे नै सुरु हुने भनिएको मतदान ११ बजिसक्दा पनि सुरु हुन सकेन। खराब व्यवस्थापनको असर चुनावी मैदानमा देख्न सकिन्थ्यो। मैदानमा कोही आफ्ना उम्मेदवारको पक्षमा नारा लगाइरहेका देखिन्थे। कोही बाहिर सडकका पेटितिर चिया र चिसोमा भुलेका। कोही भने सडक किनारका रुखमा शीतल खोजिरहेका भेटिन्थे।

हामी तिनै भीडमा एक–एक भोट खोजिरहेका थियौं। दाइ पहिले सचिव बन्दा पनि त्यो पदको महत्व नबुझेकी मैले यस पटक राम्रैसँग महसुस गरेँ। थाहा पाएँ मेरो दाइ कति मेहनतले सचिव बन्नु भएको रहेछ।

मतदानस्थलको बाहिर भीडले पुगिसक्नु थिएन। खराब व्यवस्थापनकैबीच दिउँसो २ बजे बल्ल सुरुभएको मतदान सकिँदा राति ९ बज्यो। हामी खाना खाएर होटल फर्कियौं।

पदाधिकारीको भने रातिबाटै मत गणना सुरु भयो। तर भाउजूको भने भोलिपल्ट मात्रै हुने भयो। सदस्यको मत गणना गर्न ढिलो हुने भएपछि हामी भने काठमाडौं फर्किने तयारी गर्‍यौँ।

सँगै गएको टिम हेटौंडाबाट फर्किँदा फुरुङ्ग थियौं। हाम्रो मिसन पूरा गरेर फर्किए जस्तै भान भइरहेको थियो। गर्मीले आलस तालस बनाउने हेटौंडा छाडेर भीमफेदी छिचोल्दा चिसो सिरेटो सुरु भयो। कुलेखानीको बाटो हाइड्रो पावर हेर्दै, फोटो खिच्दै, रमाइलो गर्दै फर्कियौं।

साँझबाटै मतगणना सुरु भएको थियो। मत गणनास्थलमा हुने दाइहरुले हामीलाई म्यासेज/फोनबाट मत गणनाको अपडेट गराइरहनुभएको थियो। गणनाको सुरुदेखिकै परिणामले हामीलाई उत्साहित बनायो। 

चुनावमा भोट माग्दै गर्दा धेरैले उत्साहित हुँदै भन्नुहुन्थ्यो सरिता भाउजूलाई एक भोट त दिनैपर्छ।

परिणाम पनि त्यस्तै आउँदै थियो। राति अबेरसम्म पनि मतगणना नसकिएपछि हामी सुत्यौं। भोलिपल्ट बिहान ५ बजे ब्युँझेर मोबाइल हेर्दा धेरै म्यासेज आइसकेका थिए। सुरुमा दीपेन्द्र कुँवर दाइको म्यासेज क्लिक गरेँ। म्यासेजमा दाइले लेख्नुभएको थियो, ‘बहिनी बधाई छ, भाउजू सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएछ।’

 कूल खसेको १३९३ मतमा भाउजूले १०२१ मत पाउनु भएछ। नवौं महाधिवेशनमा सबै भन्दा धेरै मत भाउजूले नै पाउनुभयो। म्यासेज पढिसकेपछि मैले भने दाजु (सूर्यकुमार)लाई सम्झेँ। आँखा रसाए।

कतिबेला भाउजूलाई भेटेर बधाइ दिउँ जस्तो भयो। दिउँसो बानेश्वरमा बधाई दिन अबिर र खादा लिएर पुगेँ। त्यहाँ बधाई दिन अरु पनि आफन्त जम्मा हुनुभएको थियो। मैले भाउजूलाई बधाइ दिइरहँदा भाउजूको अनुहारमा दाइको तस्बिर देखिरहेकी थिएँ।

शुक्रबार प्रमाणपत्र र पदभार ग्रहणका लागि खबर आयो। भाउजूले त्यहाँ जानुपर्छ भन्नुभयो। भाउजूसँगै पुगेँ। त्यहाँ खुसीको माहोल थियो। जित्नेहरु खुशी साटासाट गरिरहेका थिए। 

हार्नेहरुले पनि बधाई दिइरहेको देखिन्थ्यो। छुट्टै उत्साहित माहोल थियो। भाउजूलाई पनि खादा र माला लगाइदिइरहेका थिए। तर, भाउजूले आफ्नो खादा निकालेर मलाई लगाइदिनुभयो। त्यो भीडमा मेरा आँखाले भने मेरो दिवंगत दाजुलाई खोजिरहे।

भीडमा टोलाएँ। जब भाउजूको आँखामा हेरेँ, दाजुको तस्बिर देखेँ। माहोल खुसीको थियो, म भने भावुक भएँ। भाउजू र हामीमाथि जिम्मेवारी थपिएको जस्तो लाग्यो। अनि सम्झेँ, हिजोका ती कहाली लाग्दा दिन।

जुन समयमा पनि हामी सँगै सम्हालिएर अगाडि बढेका थियौं। आज त यो सफलता हो, खुसी हो, जिम्मेवारी थपिएको न हो। अठोट गरेँ, यो जिम्मेवारी पूरा गर्न पनि म भाउजूसँगै प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिवद्ध भएर लाग्छु। जसले हामीलाई यो जिम्मेवारी सुम्पिन योग्य ठान्नुभयो, सबैप्रति नमन। तपाईहरुको विश्वास टुट्न दिने छैनौं। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .