ad ad

ब्लग


बालेनको नाममा त्यो हुटहुटी र यो संयोग

बालेनको नाममा त्यो हुटहुटी र यो संयोग

अनिता पुन
साउन २०, २०७९ शुक्रबार १६:१९, काठमाडौँ

स्थानीय तहको निर्वाचन सकिएसँगै सबैको मनमा हर्ष छाएको थियो। खासगरी काठमाडौँ महानगरपालिकाबासीको मनमा। जब मतगणना हुन थाल्यो र बालेन शाहको अग्रता बढ्दै गयो, तब राष्ट्रिय सभागृहमा बालेन शाहका समर्थकहरु दिनरात, भोकनिद्रा केही नभनी जोसका साथ कराइरहेका थिए।

त्यसरी जोसिनेमध्ये धेरै युवाहरु थिए, जो काठमाडौँलाई कर्मथलो मानेर बसिरहेका छन्। उनीहरु त्यसरी जोसिनुको कारण थिए। तिनले विभिन्न आशा राखेका थिए, जो धेरै वर्षदेखि पुरा हुन सकेका थिएनन्। र, ती आशा युवा मेयर बालेन शाहबाट पुरा हुनेमा उनीहरु विश्वस्त थिए।

अरुजस्तै मेरो मनमा पनि एउटा छुट्टै किसिमको हर्ष छाएको थियो, नयाँनयाँ आशाहरु पलाएका थिए। त्यसैले आफ्नो नगरपालिकाको खासै वास्ता नहुँदा पनि काठमाडौं महानगरपालिकाको मत गणना हुँदा राति २/३ बजेसम्म बालेनको मत कति आयो भनेर हेर्ने हुटहुटी चल्थ्यो। अन्ततः बालेन शाहले विजय प्राप्त गर्नुभयो।

मेयर निर्वाचित भएपछि आफ्नो पहिलो काम काठमाडौँको फोहोर व्यवस्थापन गर्नु हो भनेर बालेन स्वयंले भन्नुभएको थियो। मेयरसाबको यो कुरा साँच्चिकै सराहनीय थियो। काठमाडौँमा थुप्रिएको फोहोरले गर्दा आम नागरिकहरुले सास्ती खेप्नुपरिरहेको थियो। घरबाट बाहिर निस्किँदा जता पनि फोहोरले दुर्गन्धित बाटोमा मुख छोपेर हिँड्दा सास रोकिएला जस्तो हुन्थ्यो।

मेयर बालेन शाहले जितेको पाँच दिनपछि कलेज जाने क्रममा सुन्धारा हुँदै बागबजार जाँदै गर्दा म खुसीले गदगद भएँ। किनभने सोही दिन बागबजारको सडकमा धेरैदिनसम्म सडेको फोहोर उठाइएको थियो। मलाई लाग्यो, मेयर बालेन शाहको काम सुरु भयो। अब हामीले मुख थुनेर हिँड्ने दिन गए। 

अर्को दिन वसन्तपुर जानेक्रममा सफा सडक, सडकवारिपारि लगाइएको बार देखेरत ढुक्क भएँ। तर, त्यो संयोग मात्र रहेछ।

समय बित्दै जाँदा पहिले पलाएका आशाहरु मर्दै जान थाले। म सधैँ हिँड्ने सुन्धारादेखि बागबजारसम्मको बाटो हिँड्दा लाग्छ, संसारकै प्रदुषित ठाउँ यही हो। बाटाबाटामा थुप्रिएको फोहोरले गर्दा खुट्टा टेक्ने ठाउँ पनि हुँदैन। मुख थुनेर हिँड्दा एकदमै गाह्रो हुन्छ। 

एक तरिकाले हेर्ने हो भने त्यसमा कहीँकतै हामी सबैको दोष छ। सुरुमा हामी आफैँले फोहोर व्यवस्थापन गर्नुपर्छ। तर, हामी कुहिने र नकुहिने फोहोर समेत नछुट्याइ सडकमा फाल्छौँ। जे खायो, त्यसको खोल बाटैमा छोड्छौँ। तर, अर्कोतिर सडकमा फोहोर फाल्नुपर्ने बाध्यता पनि छ। फोहोर लिने गाडी तीनचार हप्तासम्म आउँदैन। त्यो फोहोर सडकमा नलगेर कहाँ लैजाने?

त्यसैले मेयर साब! जनताले काठमाडौँलाई केही समयमै सुन्दर, स्वच्छ अनि हराभरा बनाउनुहोस् भनेका होइनन्। तर, समयमा फोहोर उठाउने गाडीको व्यवस्था त गर्न सकिन्छ नि होइन? काठमाडौँ महानगरपालिकामा फोहोर व्यवस्थापनका लागि भनेर कामदारहरु बढाइएको छ। यो राम्रो काम हो। तर, त्यतिले मात्रै सडकको फोहोर उठ्दैन। 

यी यावत कुराहरुले गर्दा मेयर साबको सुरुसुरुमा देखिएको जोस सुक्दै गएको हो कि भन्ने शंका आम नागरिकमा उत्पन्न भएको छ। जनताले टन्न कर तिर्ने अनि नगरपालिकाले फोहोर उठाउने गाडी पनि पठाउन नसक्ने भन्ने प्रश्नले सबैलाई पिरोलेको छ।

न त फोहोर व्यवस्थापनमा केही सुधार आएको देखिन्छ, न फोहोर किन उठ्न सकिरहेको छैन भनेर सूचना नै आएको छ। जसले गर्दा आम नागरिकको स्वच्छ वातावरणको हकसँगै सूचनाको हक पनि हनन भइरहेको छ।

मेयरसाब आखिर किन उठाउन सकिएको छैन त काठमाडौंको फोहोर?  कहिले उठ्छ सडकमा थुप्रिएको फोहोर? यी प्रश्नको जवाफ आम नागरिकलाई चाहिएको छ।

(रुकुम पश्चिमकी अनिता पुन काठमाडौँ मोडेल कलेजमा कानुनकी विद्यार्थी हुन्) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .